२०८३ बैशाख १३

भारतीय पर्यटकले नेपालमा ल्याउन पाउने पैसाको सीमा १८ गुणा बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकलाई नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने व्यवस्था गरेपछि सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन्।

यसअघिसम्म भारतीय नागरिकलाई २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन दिने प्रावधान रहेकोमा पर्यटन व्यवसायीले लगातार गुनासो गर्दै आएका थिए। सङ्घीय सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हवाई वा स्थलमार्गबाट नेपाल प्रवेश गर्ने यात्रुलाई पाँच हजार अमेरिकी डलर बराबरको विदेशी मुद्रा वा ट्राभलर्स चेक ल्याउन पाउने व्यवस्था गरेको थियो। राष्ट्र बैंकले यही भदौ १० गते सूचना जारी गरी यस प्रावधानलाई स्पष्ट पार्दै नेपाली वा विदेशी नागरिक दुवैले अमेरिकी पाँच हजार डलरसम्म नगद विदेशी मुद्रा ल्याउन सक्ने व्यवस्था गरेको हो।

होटल तथा पर्यटन व्यवसायी सङ्घ वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार राष्ट्र बैंकको नयाँ व्यवस्थाले भारतीय पर्यटकलाई सहज हुने र व्यवसायीलाई राहत मिल्ने विश्वास गरिएको छ। उनले भने, “यसअघि भारतीय पर्यटकले सीमित रकम ल्याउन पाउँदा यहाँको होटल तथा पर्यटन उद्योग प्रभावित थियो। नयाँ प्रावधानले यहाँको पर्यटन प्रवाहलाई थप सहज बनाउनेछ।”

वीरगञ्जमा चारवटा तारे होटेलसहित ८५ भन्दा बढी होटल सञ्चालनमा छन्। तर, अपेक्षाकृत रूपमा पर्यटकको बसाइँ लम्ब्याउन नसकिएको व्यवसायी बताउँछन्। सीमावर्ती शहरको पर्यटन आन्तरिक पर्यटकसँगै भारततर्फबाट आउने यात्रुमै निर्भर रहँदै आएको छ। नयाँ नीतिले भारतीय पर्यटकले बढी खर्च गर्न सक्ने भएकाले स्थानीय पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।