२०८३ बैशाख १३

अन्तर्राष्ट्रिय हवाई उडानको पहिलो अनुभव: मिशन हाईटीको आत्मकथा

श्रीहरि के.सी.
प्रहरी वरिष्ठ नायब निरीक्षक
प्रहरी प्रधान कार्यालय, नक्साल

रहरको पंखामा चढेर…
सानैदेखि मेरो मन भित्र एउटा रहर थियो – परदेशको आकाश हेर्ने, नयाँ ठाउँ चिन्ने, बिभिन्न संस्कृति बुझ्ने ।
गाउँघरतिर आफन्त, नातागोता, छर-छिमेकीका छोराछोरी शान्ति सेना गएर आएको देख्दा सुनिँदा मन भरिन्थ्यो, “म पनि कहिले जाने होला?” । रहर, जसले मलाई अध्ययन र प्रयासको बाटोमा लग्यो । मैले राजनीति शास्त्र, अन्तर्राष्ट्रिय शान्ति, द्वन्द्व, विकास सम्बन्धी विषय पढेँ । एलएलबी गरेर कानुनको ज्ञान पनि आर्जन गरेँ । अनि ओसिस ल्याङ्ग्वेज सेन्टर र विश्वभाषा क्याम्पसबाट अङ्ग्रेजी र फ्रेन्च भाषा पनि सिकेँ- मनमा एउटै सपना थियो, “म एकदिन शान्ति मिसनमा जान्छु ।”

सपना पूरा हुने ढोका
करिब ४-५ वर्षको जागिरे अनुभवपछि नेपाल प्रहरीको तर्फबाट मैले एफपियु (Formed Police Unit) आठौं टोलीमा शान्ति सेनाको रुपमा ‘मिशन हाईटी’ का लागि छनोट हुने सौभाग्य पाएँ । मेरो ब्याचका ३८२ मध्ये अन्तर्राष्ट्रिय मिसनमा जाने म नै पहिलो थिएँ, त्यो पनि निकै कम उमेरमा । त्यो समय मेरो लागि केवल जागिरको अवसर थिएन, त्यो त जीवनको टर्निङ पोइन्ट थियो, जहाँबाट म अन्तर्राष्ट्रिय भूमिमा आफ्नो अस्तित्व चिनाउन निस्किएँ ।

तालिमका ती कठिन तर उत्साहपूर्ण दिन
हामीले सामाखुसीस्थित केन्द्रिय प्रहरी कार्यदलबाट ६० दिनको कडा तालिम लिएँ । बिहान शारीरिक अभ्यास, दिउँसो शान्ति मिसनसम्बन्धी अध्ययन, साँझ हातहतियार तालिम – तालिमका हरेक क्षणमा अनुशासन, नेतृत्व, सहकार्य, कानुनी ज्ञान, मानव अधिकार, महिला-शिशु अधिकार आदिको गहिरो शिक्षा पाइन्थ्यो । हामीलाई तालिमकै क्रममा काठमाडौंका विभिन्न बन्द, जुलुस र आन्दोलन नियन्त्रणमा पनि खटाइन्थ्यो – सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अनुभव पनि थुपारियो ।

बिदाइको त्यो भावुक क्षण
२०६५ साल, पहिलो अन्तर्राष्ट्रिय हवाई यात्रा – ‘मिशन हाईटी’ । तत्कालिन प्रहरी महानिरीक्षक ओम बिक्रम राणाबाट अपरेशन हलमा बिदाइको शुभकामना, त्रिभुवन विमानस्थलबाट अन्तिम बिदाइ । रसियन विमानमार्फत हाम्रो टोली पाकिस्तान, नर्वे, क्यानाडा हुँदै हाईटी पुग्यो । क्यानाडामा लामो ट्रान्जिट हुँदा संस्कृति, समय तालिका, खानपान फरक – तर, हाम्रो उत्साह उस्तै। हामी ‘रेडी टु मुभ’ थियौं, हाम्रो मन भने ‘रेडी टु एक्स्प्लोर’ ।

अफ्रिकन भूमिमा नेपाल
पोर्ट-ओ-प्रिन्सबाट क्यापाहाइसियन पुगेपछि हाम्रो काम सुरु भयो । अफिसियल ड्युटी, गस्ती, जेल सुरक्षा, सार्वजनिक सुरक्षादेखि शान्ति स्थापनासम्म – हामी सबै खटियौं । कामको बाँडफाँड, समन्वय, नेतृत्व सबथोक व्यवस्थित थियो । हामी एउटै परिवारजस्तै थियौं – बेस क्याम्पको नाम नै थियो “स्वर्गद्वारी क्याम्प” – नाम जस्तै स्वर्गजस्तै लाग्ने वातावरण ।

मिसन मात्र होइन, आत्मिक अनुभूति
हामीले केवल कागजी ड्युटी गरेनौं, हामीले त मनले काम गर्यौं । स्थानीयहरुसँग आत्मीय सम्बन्ध बनायौं । अफ्रिकन माटोसँग हामीले आत्मा जोडेँ । हाईटीको संस्कृति, रंग, भेषभूषा, पीडा र संघर्ष – सबैलाई आत्मसात् गर्यौं । त्यो भुइँले हामीलाई ‘ब्लु हेल्मेट’माथिको ‘मानवता’ बोध गराउँथ्यो । हामी त्यहाँ सैनिक मात्र होइन, शान्तिका सन्देशवाहक थियौं ।

मेडल परेड: मेहनतको पुरस्कार
मिशनको अन्त्यमा युएनद्वारा आयोजित ‘मेडल परेड’ हाम्रो मेहनत र समर्पणको प्रतिफल थियो । युएन पदक, सम्मान र हार्दिक बिदाइ – ती भावुक क्षणहरू आज पनि मेरो आँखामा सजिलै झल्किन्छन् । जब मैले युएनको झण्डा समाएर परेड खेलेँ, त्यो क्षण मेरो जीवनको एक शिखर थियो।

मिशनपछि बुझेको जीवन
हाईटीले मलाई सिकायो – जीवन केवल आफू बाँच्नु होइन, अरूका लागि पनि केही गर्नु हो । मानवता, सहकार्य, अनुशासन, संघर्ष र सम्भावनाको पाठ सिकेर फर्किएँ म । मैले बुझेँ – “जीवन इतिहास बन्ने कुरा हो”, केवल समय बिताउने होइन ।


मिशन हाईटी मेरो लागि जागिरको अवसर मात्र होइन, त्यो आत्मिक यात्रा थियो । जहाँ मैले नेपालीको पहिचान संसारलाई देखाउन पाए । जहाँ मैले आफैंलाई पनि चिनेँ । जुन मिसन पूरा गरेर फर्किँदा म केवल एक युएन शान्ति सैनिक थिएन, म एउटा कथावाचक थिएँ – म त्यो कथाका पात्र थिएँ, जसले आँखा चिम्लिएपछि अझ गहिरो अनुभव देख्दछ, अनुभव लेख्दछ ।

हाइटीमा बिताएका ती पलहरु, त्यो यात्राको हर एक मोड – आज पनि मेरो आत्मा भित्र झल्किरहन्छ । र म गर्वका साथ भन्छु, म नेपाली हुँ, शान्तिको दूत हुँ ।

क्रमश…