२०८३ बैशाख १३

अब ओलीको अनुहार बिक्दैन, पार्टीको नेतृत्वबाट निकाल्नु पर्छ: द्धारिकालाल चौधरी

काठमाडौं । नेकपा (एमाले)का नेता द्धारिकालाल चौधरीले पार्टीलाई पुनर्गठन गर्दै अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीको नेतृत्वबाट निकाल्नु पर्ने बताएका छन् ।

वर्तमान एमालेको पुनर्गठन नभएसम्म अहिलेकै अवस्थामा ओलीको अनुहार देखाएर जनताकोबीचमा जान सक्ने अवस्था नरहेकाले सक्षम व्यक्तिलाई नेतृत्वमा ल्याएर ओलीलाई विश्राम दिनुपर्ने बताए ।

नेपाली रेडियो नेटवर्कसग कुरा गर्दै उनले भने, “आजसम्म पनि एमाले अध्यक्षबाट ओली हट्न चाहेका छैनन् । ओली अध्यक्षबाट किनारा नलागे आगामी फागुन २१ गते हुने निर्वाचनमा सहभागी हुन सकिदैन् । अव ओलीले राजीनामा नदिए उनलाई हटाउनुपर्छ ।’

ओलीले तत्काल अध्यक्षबाट राजीनामा दिएपछि पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिने र जनतामा सकारात्मक प्रभाव पार्ने भएकाले जेनजी आन्दोलनले देखाएको सन्देश र जनअपेक्षालाई सम्बोधन गर्न, पार्टी पुनर्गठनको स्पष्ट सन्देश दिन ओलीले राजनीतिबाट बिश्राम लिनुपर्ने उनको भनाई छ ।

ओलीले पार्टी भित्र मात्रै नभएर देश र जनताबाट विश्वास गुमाई सकेको अवस्थामा अव पनि उनलाई मुल नेतृत्व मानेर अगाडी बढ्न नसकिने बताउँदै नेता चौधरीले पार्टी सुदृढिकरणका लागि केन्द्रीय समितिको पुनरगठन बाटै पार्टी पुनरगठनमा लाग्नुपर्ने बताए ।

उनले भने, ‘अहिले पार्टी भित्र आएको संकट समाधान गर्न, पार्टी भित्रको लोकतन्त्रलाई सम्मान गर्न र अन्तर पार्टी जनवादलाई सम्मान गर्न ओलीले राजीनामा दिनुपर्छ । मार्ग प्रशस्त नगरे केन्द्रीय कमिटिको वैठकको अध्यक्षता बरिष्ठ उपाध्यक्षको हैसियतमा ईश्वर पोखरेलले बैठकबाट निर्णय गरेर ओलीलाई पदमुक्त गर्नुपर्छ ।”

बरिष्ठ उपाध्यक्ष पोखरेलको नेतृत्वमा वर्तमान केन्द्रीय कमिटी विगठन गरेर महाधिवेशन आयोजक कमिटी गठन गर्नु पर्ने उनको भनाई छ । पार्टीमा सचिव, महासचिव, उपाध्यक्षको उमेर ४५ देखि ६० वर्षसम्म रहेकाले एमाले भित्र युवासम्म नेतृत्व हस्तारण गर्न समय लाग्ने देखिएको उनले बताए ।

ओलीलाई देवता मान्ने, ओलीको दास बन्न खोज्ने मानसिकता भएका मान्छेले पार्टी निर्माणको काम, संगठन विस्तार गर्न नसक्ने बताउँदै अझै ओलीको जय-जयकार गर्दै हिड्ने नेताका कारण फागुन २१ गते हुने निर्वाचनमा जान नसक्ने समेत उनले दाबी गरे । अहिलेको अन्तरिम सरकारलाई सबैले सहयोग गरेर निर्वाचनमा जानुको विकल्प नरहेकाले सरकारले पनि चुनावको सबै तयारी गरेर नागरिक सरकारलाई सत्ता हस्तान्तरणमा ढिलाई गर्न नहुने उनको भनाई छ ।

नेता चौधरीले समय र जेनजी पुस्ताको माग अनुसार प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका लागि संविधानमा व्यवस्था नरहेकाले अहिलेको संविधान खारेज गरेर अन्तरिम संविधान जारी गर्नुपर्ने बताए ।