काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जेन–जी आन्दोलनको क्रममा प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालिएको पुष्टि गर्न चुनौति दिएको छ ।
आज प्रचण्डको सचिवालयको तर्फबाट गोविन्द आचार्यले विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलन पूर्व दुईवटा ट्रकमा पैसा लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको, गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको लगायतको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।
‘हामी सम्बन्धित सञ्चार माध्यमहरूलाई संयोजक प्रचण्डको निवासबाट जेन जी आन्दोलन पूर्व दुई ट्रकमा दुई करोड रुपैयाँ लगिएको, सुरक्षाकर्मीलाई घरेलु कामदार बनाइएको भन्ने जस्ता निराधार आरोप तथा गंगा दाहालको घरमा आठ जना सुरक्षाकर्मी खटाइएको दाबीको सत्यता प्रमाणित गर्न चुनौती दिन्छौं,’– प्रचण्डको सचिवालयले भनेको छ ।
केही सञ्चार माध्यमहरुमा जेन–जी आन्दोलनभन्दा अघि प्रचण्डको निवासबाट दुईवटा ट्रकमा पैसा निकालेर लगिएको वक्तव्यहरु आएका थिए । सोही वक्तव्यको खण्डण गर्दैै प्रचण्डको सचिवालयले आरोप प्रमाणित गर्न चुनौति दिएको हो । प्रचण्डको सचिवालयले नेतृत्वविरुद्ध नियोजित ढङ्गले तथ्यहीन र चरित्रहत्या गर्ने सामग्री प्रवाह गरिएको भन्दै खेद प्रकट गरेको छ ।




