काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश पारित गर्नका लागि आगामी कात्तिक ३० गते चौबीसौँ वार्षिक साधारणसभा बोलाएको छ। बैंकले उक्त सभा आइतबार बिहान १० बजे आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा सञ्चालन गर्ने जनाएको छ।
बैंकको सञ्चालक समितिको निर्णयअनुसार सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सो बोनस शेयर वितरणका कारण लाग्ने कर प्रयोजनका लागि ५.५३ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्तावमा छलफल गर्नेछ।
त्यसका साथै, सभामा बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई आवश्यक अख्तियारी दिने, सञ्चालक नियुक्ति, सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत खर्च स्वीकृति, र आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्ताव पनि पेश गरिनेछ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि बैंकले कात्तिक १७ गते एक दिनका लागि बुकक्लोज मिति तय गरेको छ। त्यसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार गरी कायम शेयरधनीले बैंकको साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।




