काठमाडौँ । अमेरिकाका विभिन्न शहरहरूमा हजारौं मानिसहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध विशाल प्रदर्शन गरेका छन् । प्रदर्शनकारीहरूले ट्रम्पको शासनकालमा देश द्रुत गतिमा अधिनायकवादतर्फ अघि बढिरहेको आरोप लगाएका छन् ।
आयोजकहरूका अनुसार, देशभर २६ सयभन्दा बढी स्थानमा जुलुसहरू आयोजना गरिएका थिए । यसअघि, जुनमा पहिलो ‘नो किंग्स’ विरोध प्रदर्शनको क्रममा लगभग २१ सय र्यालीहरू आयोजना गरिएका थिए ।
न्यूयोर्कको टाइम्स स्क्वायर, बोस्टन, एटलान्टा र शिकागोका पार्कहरूमा ठूलो भीड जम्मा भएको थियो । मानिसहरू वाशिंगटन, लस एन्जलस र धेरै रिपब्लिकन शासित राज्यहरूमा पनि सडकमा उत्रिए । रिपब्लिकन पार्टीले यी विरोध प्रदर्शनहरूलाई ‘हेट अमेरिका र्याली’ भनेर लेबल लगाएको छ ।
राष्ट्रपति ट्रम्पको कार्यकालमा यो तेस्रो ठूलो विरोध प्रदर्शन हो । उल्लेखनीय कुरा अमेरिका हाल ‘शट डाउन’ अर्थात बन्दको अवस्थामा रहेको छ, धेरै सरकारी सेवाहरू बन्द भएका छन् । ट्रम्प प्रशासनको कडा व्यवहारले कांग्रेस र न्यायपालिकासँग द्वन्द्व बढाएको छ ।
ट्रम्प आफ्नो फ्लोरिडा घर, मार-ए-लागोमा एक टिभी अन्तर्वार्तामा मलाई राजा भनिरहेको तर आफु राजा नभएको बताएका थिए । पछि, उनको सामाजिक सञ्जाल टोलीले ट्रम्पलाई राजाको रूपमा चित्रण गर्ने भिडियो जारी गरेको थियो ।
विरोध प्रदर्शनमा सहभागीहरूले लोकतन्त्र, न्याय र शक्तिको दुरुपयोगको विरुद्धमा आवाज उठाइएको बताएका छन् । उनीहरुले शान्तिपूर्ण विरोध र हाम्रो कुनै राजा छैन भन्नु अमेरिकी लोकतन्त्रको पहिचान भएको बताएका छन् ।




