काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत आज मतदान हुँदै छ । उम्मेदवारहरु यतिवेला नेता कार्यकर्तासँग मत माग्न व्यस्त छन् ।
कोही मुस्कान बाँड्दै छन्, कोही गुनासो सुन्दै छन्, कोही भने विगतका उपलब्धि सम्झाउँदै मतदाता फकाउने प्रयासमा छन्। तर यही भिडभाडबीच केन्द्रीय सदस्यका उम्मेदवार तुलसी न्यौपाने भने अलि फरक, अलि अनौठो र अलि व्यङ्गात्मक शैलीमा देखिएका छन् ।
राजनीतिक भाषणभन्दा अघि बढेर उनले हातमा तुलसीको बोट नै बोकेर अहिले मत मागिरहेका छन् । नेताहरूले आदर्श, निष्ठा र पवित्रताको कुरा गरिरहँदा तुलसी न्यौपानेले भने ती सबै कुरा बोटमै समेटेर प्रतिनिधिहरूको सामु पुर्याएका छन् । मानौ राजनीति अब भाषणले होइन, प्रतीकले चल्छ भन्ने सन्देश दिन खोजिएको हो।
“नाम पनि तुलसी, चिनारी पनि तुलसी,” भन्दै उनी मजाक मिसिएको गम्भीरतासाथ भन्छन्, “राजनीतिमा पवित्रता खोजिँदै छ भने, कम्तीमा मेरो हातमा हेर्नुहोस ।”
जहाँ कतिपय उम्मेदवारले गुट, प्यानल र समीकरणको सहारा लिएका छन्, त्यहाँ तुलसी न्यौपानेले भने तुलसीकै भरोसामा मत मागिरहेका छन्। कतिपय प्रतिनिधिहरू यसलाई रचनात्मक प्रयोग मान्दै मुस्कुराइरहेका छन् भने कतिपयले व्यङ्ग गर्दै भनिरहेकाछन, “अब राजनीति पनि पूजापाठकै चरणमा पुग्यो।”
नामसँग मेल खाने यो शैली संयोग मात्रै हो कि सन्देश, त्यो त मतपेटिकाले नै निर्णय गर्नेछ । तर जे होस्, यो महाधिवेशनमा तुलसी न्यौपानेले मत माग्ने तरिका मात्रै होइन, चर्चा कमाउने दौड पनि जितिसकेका छन् ।




