काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले नेतृत्व चयनका क्रममा अपनाएको लोकतान्त्रिक प्रक्रियाले देशको राजनीतिमा सकारात्मक सन्देश प्रवाह गरेको बताएका छन्।
एमालेको नेतृत्व कसले सम्हाल्ने भन्ने विषय त्यस पार्टीको आन्तरिक विषय भएको उल्लेख गर्दै शर्माले महाधिवेशनमार्फत प्रतिकूल परिस्थितिका बाबजुद केही नयाँ र केही पुराना अनुहारलाई अनुमोदन गरिएको बताए। ‘को आउने, को नआउने भन्ने कुरा सम्बन्धित दलकै विषय हो,’ उनले स्पष्ट पारे।
महामन्त्री शर्माले जेन-जी आन्दोलनपछि मुलुकको राजनीतिक र सामाजिक परिवेश बद्लिएको उल्लेख गर्दै निर्वाचित कमिटीले त्यसलाई गम्भीरतापूर्वक आत्मसात गर्नुपर्नेमा जोड दिए।
‘जेन–जी प्रदर्शनले मुलुकमा मूलतः सुशासनको मुद्दालाई स्थापित गरेको छ,’ शर्माले भने, ‘यस विषयमा समर्थन र विरोधका मत आउनु स्वाभाविक हो, तर जेन–जीले उठाएको सुशासनको मागलाई कसैले पनि बेवास्ता गर्न सक्दैन।’
उनले सुशासन स्थापित गर्नु नयाँ वा पुराना सबै राजनीतिक दलहरूको साझा दायित्व र संकल्प हुनुपर्ने उल्लेख गर्दै त्यसतर्फ सबै दल गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याए।




