२०८३ बैशाख १३

बुटवल पावरले ६ प्रतिशत नगद लाभांश दिने, साधारण सभा पुस २८ मा / बुक क्लोज पुस १५ देखि

काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई ६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। पुस ३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्तापूँजीको ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

लाभांश प्रस्ताव पारित गर्न कम्पनीले वार्षिक साधारण सभा पुस २८ गते आयोजना गर्ने भएको छ। सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा अपरान्ह २ बजेदेखि सुरु हुनेछ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायत वित्तीय विवरणहरू पारित गरिनेछ। साथै, विभिन्न संघ–संस्था तथा व्यक्तिलाई प्रदान गरिएको ९ लाख ८७ हजार २ सय रुपैयाँ बराबरको आर्थिक सहयोग अनुमोदन गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समेटिएको छ। चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

यसैगरी, सञ्चालक समितिमा रिक्त हुने चार जना सञ्चालकको पदपूर्तिका लागि निर्वाचन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत हुनेछ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका लगानीकर्ता मात्रै लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन सक्नेछन्।