काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भोलि पुस ५ गते काठमाडौंको भृकुटीमण्डपमा ‘एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ।
पार्टी एकीकरणपछि सातै प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको नेकपाले राजधानी केन्द्रित यो कार्यक्रमलाई विशेष महत्वका साथ आयोजना गर्न लागेको हो।
सभालाई सफल बनाउन पार्टीले मातहतका सबै कमिटीलाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ। पार्टीका नेता राजेन्द्र पाण्डेको अध्यक्षतामा बिहीबार बसेको तयारी बैठकले सभाको व्यवस्थापन, समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने निर्णय गरेको हो।
सभाको आयोजना बागमती प्रदेश समिति, सम्पर्क समन्वय प्रदेश समिति र उपत्यका विशेष प्रदेश समितिको संयुक्त पहलमा हुँदैछ। मञ्च व्यवस्थापन, अतिथि तथा नेताहरूको स्वागत, सुरक्षाका लागि स्वयंसेवक परिचालनलगायत तयारी तीव्र पारिएको छ।
एकता सन्देश सभालाई पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम छ। सभाको समाचार संकलन तथा सम्प्रेषणका लागि आउने सञ्चारकर्मीसँग आवश्यक समन्वय समाजवादी प्रेस सङ्गठन र प्रेस सेन्टर नेपालले गर्नेछन् भने उपत्यका र बागमती प्रदेश समितिले नेताहरूको सत्कारलगायत समग्र व्यवस्थापन सम्हाल्नेछन्।
नेकपाका नेता प्रकाश ज्वालाका अनुसार हालै सम्पन्न वाम शक्तिबीचको एकतापछि देशभर आयोजना गरिएका एकता सन्देश सभाले जनतामा पैदा गरेको उत्साह, साथै मुलुकको समसामयिक राजनीतिक अवस्थाबारे शीर्ष नेताहरूले सभामा स्पष्ट धारणा राख्ने कार्यसूची तय गरिएको छ।




