काठमाडौं । नेकपा (एमाले) का नवनिर्वाचित अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी नेतृत्वमाथि भौतिक हमला भए देश ठप्प पार्ने र सरकार ढाल्ने चेतावनी दिएका छन्। एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएपछि शपथग्रहण समारोहमा बोल्दै उनले एमाले र यसको नेतृत्वमाथि नियोजित प्रहारको खतरा रहेको दाबी गरे।
ओलीले एमाले नेतृत्वमाथि मिडिया ट्रायल, मुद्दा–मामिला र सम्भावित भौतिक आक्रमणको संकेत गर्दै कार्यकर्तालाई सजग र तयार रहन निर्देशन दिए। उनका शब्दमा, “अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दा चलाउन खोजिन सक्छ। यदि एमाले नेतृत्वमाथि भौतिक हमला भयो भने त्यो दिन यो देश ठप्प हुनुपर्छ, सरकार पनि ढल्नुपर्छ।”
उनले एमाले सकिने पार्टी नभई जीवन्त र अजम्बरी शक्ति भएको दाबी गर्दै ११औँ महाधिवेशन नै पुराना पार्टीहरू समाप्त भइसके भन्ने भाष्यको जवाफ भएको बताए। “नेकपा एमाले सकिने पार्टी होइन, यो अझ मजबुत र सशक्त भएर अघि बढ्छ,” ओलीले भने।
पार्टी फुटाउने प्रयास भइरहे पनि ती सफल नहुने ओलीको दाबी थियो। उनले एमालेभित्रको लोकतान्त्रिक अभ्यास अन्य दलभन्दा बलियो रहेको उल्लेख गर्दै भने, “धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर धूपसमेत हालिरहेका थिए। तर तिनको धूप खेर जान्छ। एमाले अझै मजबुत भएर जान्छ।”




