काठमाडौं । इन्टेरियर, फर्निचर र काष्ठ उद्योगसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनीेको एघारौँ संस्करण आज आईतबार सम्पन्न भएको छ ।
मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा सम्पन्न यो प्रदर्शनी ११औँ नेपाल उड इन्टरनेसनल एक्स्पो तथा नेपाल इन्टेरियर एण्ड फर्निचर एक्स्पो को रूपमा परिचित छ।
शुक्रबार उद्घाटन गरिएको प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्यातिप्राप्त ब्रान्डका १०० भन्दा बढी स्टल राखिएका थिए। फर्निचर, प्लाइउड, ल्यामिनेट, होम टेक्सटाइल, हार्डवेयर, काठसम्बन्धी मेसिनरी तथा औजार, म्याट्रेस, कच्चा पदार्थ र उत्पादन सामग्रीका नवीनतम वस्तुहरू प्रदर्शनीमा प्रस्तुत गरिएको थियो।

काठ व्यवसायसँग आबद्ध कम्पनी, डिलर, सब–डिलर तथा विक्रेताहरूका लागि यो प्रदर्शनी नयाँ प्रविधि र उत्पादनबारे जानकारी आदान–प्रदान गर्ने महत्वपूर्ण प्लेटफर्म बन्दै आएको आयोजकहरूको भनाइ छ। पछिल्ला ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो एक्स्पो काष्ठ र फर्निचर उद्योगका लागि कोसेढुंगा सावित भएको उनीहरूको दाबी छ।
प्रदर्शनीको उद्घाटन नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष ठाकुर भण्डारी, नेपाल वन पैदावार उद्योग व्यवसायी महासंघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल प्लाइउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे तथा इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका अध्यक्ष श्याम श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।
आयोजकका अनुसार यस पटकको प्रदर्शनीको उद्देश्य विश्वका चर्चित ब्रान्ड तथा अत्याधुनिक प्रविधिलाई नेपाली बजार र स्वदेशी उद्योगसम्म पुर्याउनु रहेको थियो। यसले साना देखि ठूला उद्योगसम्मलाई आफ्ना मेसिन तथा उत्पादन प्रणालीलाई अझ प्रभावकारी र आधुनिक बनाउने अवसर दिएको छ।

प्रदर्शनीस्थलमै इन्टेरियर डिजाइनर एसोसिएसन नेपालका विज्ञहरूद्वारा दुई दिने सेमिनार तथा गोष्ठी पनि आयोजना गरिएको थियो, जसले व्यवसायी, डिजाइनर र विद्यार्थीहरूलाई थप ज्ञान र अनुभव साटासाट गर्ने अवसर प्रदान गर्यो।
घर तथा व्यवसायका लागि आवश्यक सामग्री हेर्न, बुझ्न र खरिद गर्न इच्छुक दर्शकहरूको उल्लेख्य उपस्थितिले प्रदर्शनी स्थल दिनभर रौनकपूर्ण बनेको थियो। अवलोकनकर्ताको चासोले नेपालमा काष्ठ सामग्री, इन्टेरियर–एक्स्टेरियर डिजाइन र मेसिनरी क्षेत्रको बढ्दो माग स्पष्ट देखिएको आयोजकहरूको निष्कर्ष छ।

प्रदर्शनीमा आम नागरिकका साथै नेपालका अग्रणी आर्किटेक्ट, इन्जिनियर र इन्टेरियर डिजाइनरहरूको बाक्लो सहभागिता रहेको थियो। यस एक्स्पोले नेपालमा काठ, फर्निचर र इन्टेरियर क्षेत्रको विकास, आधुनिकीकरण र प्रविधि हस्तान्तरणमा सकारात्मक योगदान पुर्याएको आयोजक पक्षको विश्वास रहेको छ।




