२०८२ फाल्गुन २६

पुटिनले दिए इरानका नयाँ सर्वोच्च नेता मुजतबालाई बधाई

काठमाडौँ । रूसका राष्ट्रपति व्लादिमिर पुटिनले इरानका नयाँ सर्वोच्च नेता मुजतबा खामेनीलाई पदभार सम्हालेको अवसरमा बधाई दिएका छन् । रूसको राष्ट्रपति कार्यालयले पुटिनले मुजतबालाई बधाई दिएको जानकारी दिएको हो ।

पुटिनले आफ्नो सन्देशमा मुजतबाले आफ्ना पिता आयातोल्ला अली खामेनीको कामलाई सम्मानपूर्वक अघि बढाउने विश्वास व्यक्त गरेका छन् । उनले कठिन परिस्थितिमा पनि इरानी जनतालाई एकताबद्ध राख्न सक्ने अपेक्षा गरिएको बताएका छन् ।

यसका साथै पुटिनले रूस र इरानबीचको सम्बन्धलाई निरन्तर मजबुत बनाइने पनि बताएका छन् । उनले तेहरानप्रति रूसको समर्थन र सहकार्य कायम रहने उल्लेख गर्दै रूस इरानसँगै उभिएको सन्देश दिएका छन् ।

Read More

धनुषा-१ विवाद अदालतमा: साहको रिटमा कारण देखाउ आदेश

काठमाडौं । धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बन्न खोजेका किशोरी साह कमलको उम्मेदवारी खारेज भएको विषय अहिले सर्वोच्च अदालतमा पुगेको छ। यस प्रकरणमा अदालतले निर्वाचन आयोगसँग स्पष्टीकरण माग गर्दै कारण देखाउ आदेश जारी गरेको छ।

साहले आफ्नो उम्मेदवारी रद्द गर्ने आयोगको निर्णय अनुचित भएको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। सोही रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले आयोगलाई निर्णय किन गरियो भन्नेबारे लिखित कारण पेश गर्न आदेश दिएको हो।

अदालतले यस विषयमा थप छलफलका लागि दुवै पक्षलाई आगामी शुक्रबार उपस्थित हुन पनि निर्देशन दिएको छ। अब निर्वाचन आयोगले साहको उम्मेदवारी किन खारेज गरियो भन्ने आधार अदालतसमक्ष पेश गर्नुपर्नेछ।

यससँगै धनुषा-१ को उम्मेदवारी विवाद कानुनी बहसतर्फ अघि बढेको छ र आगामी सुनुवाइले यस प्रकरणको दिशाबारे थप स्पष्टता दिने अपेक्षा गरिएको छ।

Read More

गोरखा-१ मा रास्वपाका सुदन गुरुङ विजयी

काठमाडौँ ।  गोरखा-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा ) का सुदन गुरुङ विजयी भएका छन् । गुरुङले २९ हजार ८९६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत प्राप्त गरेका छन्  । त्यस्तै यस क्षेत्रमा नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ मत पाएका छन् भने एमालेका रामचन्द्र लामिछानेले ३७३२ मत प्राप्त गरेका छन् ।

योसँगै रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जितेको छ ।   

Read More

काँग्रेसको १८औं जित, इलाम- १ बाट निस्कल राई विजयी

काठमाडौँ । इलाम- १ मा नेपाली काँग्रेसका निस्कल राई विजयी भएका छन् । निस्कलले १४ हजार ५४३ मत प्राप्त गर्दै जित हासिल गरेका हुन् । उनका निकटतम प्रतिष्पर्धी श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले १३ हजार ६३२ मत प्राप्त गरेका छन् । 

त्यस्तै नेकपा एमालेका काजीमान कागतेले ११ हजार ९६६ मत प्राप्त गरेका छन् भने रास्वपाका विमल गदालले ९ हजार १६० मत प्राप्त गरेका छन् । त्यस्तै नेकपाका रनबहादुर राईले ७ हजार ६६२ मत प्राप्त गरेका छन् ।

यो काँग्रेसको १८औं जित हो । यसअघि काँग्रेसका मुगुबाट खड्ग शाही विजयी भएका थिए । उनले ७ हजार ९९४ मत प्राप्त गर्दै एमालेका पूर्णबहादुर रोकायलाई पराजित गरेका छन् ।   त्यसअघि बाजुराबाट जनकराज गिरी १७ हजार १७३ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै रौतहट- २ बाट मोहमद फिरदोश आलमले २९ हजार ५२८ मत प्राप्त गर्दै जित हासिल गरेका छन् भने पाँचथरबाट नरेन्द्र कुमार केरुङले १७ हजार २३३ मत प्राप्त गरेर जित हासिल गरेका छन् । त्यस्तै पाल्पा- १ मा सन्दीप राना १८ हजार ३३६ मत प्राप्त गरेर विजयी भएका छन् भने कपिलवस्तु-३ बाट अभिषेक प्रताप शाहले २३ हजार ५३५ मत प्राप्त गरेर विजयी भएका छन् ।

त्यसैगरी जाजरकोटमा खड्कबहादुर बुढाले २० हजार १४२ मत ल्याएर विजयी भएका थिए भने डोटीमा भारतबहादुर खड्काले १४ हजार ८९७ मत प्राप्त गर्दै विजयी भएका थिए  । त्यस्तै अछाम- १ मा भरतकुमार स्वारले १० हजार ७५१ मत प्राप्त गरेर विजयी भएका छन् भने दैलेख- १ मा बासना थापाले १२ हजार  ३७२ मत ल्याएर विजयी भएकी छन्  । त्यस्तै सुर्खेत- १ मा विष्णुबहादुर खड्काले २६ हजार ८९७ मत प्राप्त गरेर विजयी भएका छन् । त्यस्तै मनाङ मा टेकबहादुर गुरुङले २ हजार ४१५ मत ल्याएर जित हात पारेकी छन् भने मुस्ताङमा योगेश गौचन थकालीले ३ हजार ३०७ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । त्यसैगरी रसुवामा मोहन आचार्यले १० हजार ६५६ मत ल्याएर विजयी भएका छन् । त्यस्तै तेह्थुममा सन्तोष सुब्वाले ११ हजार ५६१ मत प्राप्त गर्दै जित हासिल गरेका छन् । 

त्यस्तै सोलुखुम्बुबाट प्रकाश सिंह कार्कीले १३ हजार १६६ मत प्राप्त गरेर विजयी भएका छन् भने हुम्लाबाट जय्पति रोकाय ८ हजार ७९७ मत प्राप्त गरेर जितेका छन् ।

Read More

काठमाडौँ बन्यो विश्वकै बढी प्रदुषण भएको शहर

काठमाडौँ । काठमाडौँ उपत्यकामा मौसममा आएको परिवर्तनसँगै प्रदुषणको मात्र पनि बढेको छ । सोमबार मौसममा आएको परिवर्तनसँगै काठमाडौँ विश्वको सबैभन्दा प्रदुषित शहर बनेको छ ।

वायु प्रदूषणको अवस्था रियल टाइममा मापन गर्ने आईक्यू एयरकाअनुसार अहिले काठमाडौँ विश्वको सबैभन्दा बढी वायू प्रदूषण भएको शहर बनेको छ । अहिले (सोमबार अपराहन्न ४: १० बजे) काठमाडौँको एयर क्वालिटी इन्डेक्स १७६ रहेको छ । जसलाई चिन्ताजनक मानिन्छ । काठमाडौँ पछि बंगलादेशको ढाकाको १६७  र भारतको दिल्लीको १६० रहेको छ ।  

वायु गुणस्तर सूचक शून्य देखि ५० सम्म हुँदा राम्रो, ५१ देखि १०० सम्म हुँदा सन्तोषजनक, १०१ देखि २०० सम्म हुँदा विचारणीय वा चिन्ताजनक, २०१ देखि ३०० सम्म कमजोर, ३०१ देखि ४०० सम्म अति कमजोर र ४०१ देखि ५०० सम्म अति घातक मानिन्छ ।

Read More

सहमति अनुसार लिग गर्न प्रतिबद्ध रहेको भन्दै खेलाडीले गरेको तालाबन्दी खोल्न एन्फाको आग्रह

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सातदोबाटोस्थित आफ्नो केन्द्रीय कार्यालयमा गरिएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघका प्रवक्ता सुरेश शाहले जारी गरेको विज्ञप्तिमा फागुन २४ गते सार्वजनिक बिदाको दिन नेपाल फुटबल खेलाडी संघले कुनै पूर्व जानकारी वा संवादबिना अचानक तालाबन्दी गरेको उल्लेख गरिएको छ । वार्ताको ढोका खुला रहँदा पनि यस प्रकारको कदम चालिएकोप्रति संघले खेद व्यक्त गरेको छ ।

एन्फाका अनुसार शहीद स्मारक ‘ए’ डिभिजन लिग तथा राष्ट्रिय लिग सञ्चालनका विषयमा संघ, सहभागी क्लब र खेलाडी संघबीच निरन्तर संवाद हुँदै आएको बताउदै सहमतिअनुसार राष्ट्रिय लिग सम्पन्न भइसकेको र निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग समाप्त भएको एक महिनापछि ‘ए’ डिभिजन लिग सुरु गर्ने तयारी भइरहेको संघले उल्लेख गरिएको छ ।

तर कार्यालयमा तालाबन्दी भएपछि दैनिक प्रशासनिक गतिविधि अवरुद्ध भएकोले सहमतिअनुसारका काम अगाडि बढाउन कठिनाइ भएको एन्फाको भनाइ छ ।

अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको अन्तिम खेलको टिकटबाट प्राप्त केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिबद्ध रहेको पनि एन्फाले स्पष्ट पारेको छ । संघका अनुसार वर्तमान कार्यसमितिले घोषणा गरेका सबै पुरस्कार रकम भुक्तानी गरिसकिएको छ । अघिल्ला कार्यसमितिले निर्णय गरेर बाँकी रहेका केही पुरस्कार रकम भने आन्तरिक स्रोत उपलब्धताअनुसार क्रमशः भुक्तानी गर्दै जाने प्रतिबद्धता व्यक्त गरिएको छ ।

तलब तथा भत्ताको विषयमा पनि नियमअनुसार भुक्तानी भइरहेको र आगामी दिनमा पनि सोही व्यवस्था कायम रहने संघले जनाएको छ ।

एन्फाले कार्यालयमा तालाबन्दी गरेर लिग आयोजना गर्न माग गर्नु विरोधाभाषपूर्ण भएको बताएको छ । तालाबन्दीका कारण राष्ट्रिय लिग, एन्फा यू–१८ लिग र एन्फा महिला लिग जस्ता घरेलु प्रतियोगिताका साथै अन्तर्राष्ट्रिय प्रतियोगिताको तयारी पनि प्रभावित हुन सक्ने संघको भनाइ छ ।

यसले हङकङसँगको मैत्रीपूर्ण खेल, नेपाल र लाओसबिच हुने एएफसी छनोट खेल तथा साफ यू–२० प्रतियोगिताको तयारीमा समेत असर पर्ने एन्फाले जनाएको छ ।

संघले नेपाल फुटबल खेलाडी संघको आह्वानमा केही राष्ट्रिय खेलाडी, राष्ट्रिय लिगमा सहभागी खेलाडी र बाह्य व्यक्तिहरूको सहभागितामा गरिएको तालाबन्दी अनुशासनहीन र अराजक गतिविधि भएको उल्लेख गर्दै तत्काल रोक्न आग्रह गरेको छ ।

एन्फाले आफ्ना माग कार्यान्वयनका लागि सधैं प्रतिबद्ध रहेको भन्दै तालाबन्दी तत्काल खोल्न सम्बन्धित पक्षलाई आह्वान गरेको छ । यदि यसका कारण नेपाली फुटबलका गतिविधि अवरुद्ध भए त्यसको जिम्मेवारी सम्बन्धित पक्षले नै लिनुपर्ने संघले चेतावनी दिएको छ ।

साथै एन्फाले आफू सार्वजनिक संस्था भएको उल्लेख गर्दै कार्यालयको भौतिक संरचनाको सुरक्षा र दैनिक गतिविधि सञ्चालनका लागि शान्ति सुरक्षाको व्यवस्था मिलाइदिन नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायसँग आग्रह गरेको छ ।

Read More

नवनिर्वाचित सांसदहरुको शपथ सम्पन्न

काठमाडौं । राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहणका गरेका छन् । सिंहदरबारस्थित कानुन,न्याय तथा मानवअधिकार समितिको हलमा आयोजित समारोहमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले नव निर्वाचित सदस्यहरूले शपथ गराएका हुन् । 

गत माघ ११ गते राष्ट्रियसभाका रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन भएको थियो । 

राष्ट्रिय सभाका रिक्त १९ मध्ये एक राष्ट्रपतिबाट मनोनित थिए भने १८ सदस्यका लागि निर्वाचन भएको थियो । जसमा एक जना निर्बिरोध निर्वाचित भएका थिए भने १७ जना निर्वाचनबाट विजयी भएका थिए ।

जस अनुसार कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए भने एमालेका रोशनी मेचे र सोमनाथ पोर्तेल विजयी भएका छन् । त्यस्तै मधेस प्रदेशबाट काँग्रेसका धमेन्द्र पासवान र रञ्जित कर्ण, लोसपाका महन्थ ठाकुर र एमालेकी रेखाकुमारी झा विजयी भएका छन् ।

त्यसैगरी बागमती प्रदेशबाट काँग्रेसकी गीता देवकोटा र एमालेका डा. प्रेमप्रसाद दंगाल विजयी भएका छन् भने गण्डकी प्रदेशबाट एमालेकी सम्झना देवकोटा र कांग्रेसका जगत तिमिल्सिना विजयी भएका छन् ।

त्यस्तै लुम्बिनी प्रदेशबाट काँग्रेसका बासुदेव जंगली र चन्द्रबहादुर केसी तथा एमालेबाट रामकुमारी झाक्री विजयी भएका छन् भने कर्णाली प्रदेशबाट काँग्रेसका ललितजंग शाही र एमालेकी मीनासिंह रखाल विजयी भएका छन् । त्यसैगरी सुदूरपश्चिम प्रदेशबाट एमालेका लीलाकुमारी भण्डारी र काँग्रेसबाट खम्मबहादुर खाती विजयी भएका छन् ।

Read More

समानुपातिकतर्फ ९० लाख मत गणना, कुन दलले कति पाए ?

काठमाडौँ । प्रत्यक्षतर्फ शानदार मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक तर्फ पनि उल्लेख्य मत पाउने देखिएको छ ।

समानुपातिकतर्फको मत गणनाको अपडेट अनुसार अहिलेसम्म ९० लाख १० हजार ११९ मत गणना भएको छ । 

जसमा रास्वपाले ४३ लाख ६४ हजार २९२ मत प्राप्त गरेको छ । जुन गणना भएको मतको ४८.४  प्रतिशत रहेको छ । त्यस्तै नेपाली कांग्रेसले १४ लाख ५५ हजार ९२ मत अर्थात १६.१ प्रतिशत मत प्राप्त गरेको छ । त्यस्तै तेस्रो नम्बरमा एमाले देखिएको छ । एमालेले १२ लाख २१ हजार ८०० अर्थात् १३.६ प्रतिशत मत प्राप्त गरेको छ । नेपाली कम्युनिष्ट पार्टीले ६ लाख ४५ हजार ८८ मत प्राप्त गरेको छ 

त्यस्तै श्रम संस्कृति पार्टीले ३ लाख १० हजार ८८० मत अर्थात ३.५ प्रतिशत मत पाएको छ । त्यस्तै राप्रपाले २ लाख ९२  हजार ८८५ मत अर्थात् ३.३ प्रतिशत मत पाएको छ ।

त्यसैगरी समानुपातिक तर्फ कुल खसेको मत एक करोड ९ लाख ७७ हजार ७११ रहेको छ ।

Read More

बहराइनको तेल कम्पनीले घोषणा गर्‍यो विशेष अवस्था

काठमाडौँ । बहराइनको सरकारी तेल कम्पनी ‘बापको इनर्जी’ ले आफ्नो कामकाजमा विशेष अवस्था लागू गरेको घोषणा गरेको छ । कम्पनीले परिस्थिती आफ्नो नियन्त्रण बाहिर गएको भन्दै तेल आपूर्ति प्रभावित भए त्यसको जिम्मेवारी आफूले लिन नसक्ने जनाएको छ ।

कम्पनीले जारी गरेको सूचनामा अप्रत्याशित र असामान्य परिस्थितिका कारण यस्तो निर्णय लिनुपरेको उल्लेख गरिएको छ । यस निर्णयसँगै यदि कुनै कारणले तेलको आपूर्ति रोकिने वा प्रभावित हुने अवस्था आयो भने त्यसका लागि कम्पनीलाई दोषी ठहर गर्न नमिल्ने जनाइएको छ ।

यो निर्णय देशको मुख्य तेल प्रशोधन केन्द्र नजिकबाट बाक्लो धुवाँ उठिरहेको देखिएपछि गरिएको बताइएको छ । यसअघि बहराइन सरकारले सित्रा क्षेत्रमा इरानबाट आएको भनिएको बिना चालकको उड्ने उपकरणबाट आक्रमण भएको जनाएको थियो । सरकारका अनुसार उक्त घटनामा केही व्यक्ति घाइते भएका छन् भने भौतिक क्षतिसमेत भएको छ ।

बापको इनर्जी बहराइनको प्रमुख तेल प्रशोधन केन्द्र सञ्चालन गर्ने कम्पनी हो । यो कम्पनी देशको ऊर्जा क्षेत्रको महत्वपूर्ण संरचनामध्ये एक मानिन्छ । यस्तो अवस्थामा कम्पनीले विशेष अवस्था घोषणा गरेपछि तेल आपूर्तिमा असर पर्न सक्ने आशंका बढेको छ ।

Read More

योगेश भट्टराई भन्छन्- हामी ढलेका मात्र हौं, मरेका होइनौं

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले हालको राजनीतिक अवस्थाले पार्टी कमजोर देखिए पनि एमाले समाप्त नभएको टिप्पणी गरेका छन् । 

सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै भट्टराईले पछिल्ला तीन दिनमा करिब हजार जनासँग फोनमार्फत कुराकानी गरेको र त्यत्तिकै सन्देशहरू प्राप्त गरेको बताउदै पार्टीलाई सही नीति, संगठन र नेतृत्वमार्फत पुनः उठाउन सकिने विश्वास व्यक्त गरेका छन् ।

भट्टराईले निर्वाचन परिणामलाई स्वीकार गर्दै जनताले आफ्नो मतमार्फत एमालेको नीति र नेतृत्वलाई शान्तिपूर्ण रूपमा अस्वीकार गरेको बताएका छन् । उनले यो वर्तमान यथार्थ भएको उल्लेख गर्दै पार्टीले आफूभित्र व्यापक रूपान्तरण गरी जनसमर्थन पुनः प्राप्त गर्ने बाटो रोज्नुपर्ने बताएका छन् ।

उनले भदौ २३ र २४ पछि पार्टीले लिएका केही नीतिहरू सही नभएको भन्दै त्यसबारे पुनर्विचार गर्न आफूहरूले नेतृत्वलाई विभिन्न बैठक, भेटघाट र महाधिवेशनमार्फत आग्रह गरेको तर त्यसमा सफलता नपाएको बताएका छन् । अब पार्टीभित्र खुला बहस र छलफल आवश्यक रहेको उनको भनाइ छ ।

भट्टराईले पार्टी अहिलेको अवस्थामा पुग्नुमा नीति मात्र नभई जिम्मेवारीमा रहेका विभिन्न तहका समिति र नेताहरू सबैको भूमिका रहेको बताए। विशेषगरी नीतिगत र कार्यकारी भूमिकामा रहेको केन्द्रीय समिति र केन्द्रीय सचिवालयले यसको जिम्मेवारी लिनुपर्ने उनले उल्लेख गरेका छन् ।

उनले सफलता वा असफलतापछि हुने जवाफदेहिता कसरी लागू गर्ने भन्ने विषयमा पार्टीभित्र गम्भीर बहस आवश्यक रहेको बताएका छन् । पूर्वाग्रह, भावना र षड्यन्त्रको सोचभन्दा माथि उठेर आत्मसमिक्षा गर्नुपर्ने उनको धारणा छ । भट्टराईले पार्टीको असफलता सिंगो संगठनको असफलता भएको भन्दै सामूहिक बुद्धि र पहलबाट मात्र अहिलेको अवस्था बदल्न सकिने बताए । उनले नेता-कार्यकर्ता सबैलाई पुराना समूहगत घेराबाट बाहिर निस्केर खुला रूपमा बहसमा सहभागी हुन आह्वान गरेका छन् । उनले पार्टी, जनसंगठन र विदेशमा रहेका संगठनका सदस्यहरूलाई पनि आफ्ना सुझाव नेतृत्वसम्म पठाउन आग्रह गरेका छन् ।

भट्टराईले एमालेका कार्यकर्तालाई धैर्य र संयमतासाथ पार्टी एकता जोगाउँदै आत्मभर्त्सना होइन आत्मसमिक्षाको बाटोमा अघि बढ्न आग्रह गरेका छन् । साथै एमालेबारे सुझाव, आलोचना र टिप्पणी पठाउन बुद्धिजीवी र सर्वसाधारणलाई पनि अपिल गरेका छन् ।

उनले राष्ट्रिय एकता र नेपाली सार्वभौमिकताको रक्षा आजको साझा जिम्मेवारी भएको उल्लेख गर्दै विभिन्न राजनीतिक शक्तिबीच सकारात्मक सहकार्य आवश्यक रहेको बताएका छन् ।

Read More