२०८३ बैशाख १३

नवनिर्वाचित ४७ सांसदहरुले मातृभाषामा शपथ लिदै

काठमाडौं । प्रतिनिधिसभामा निर्वाचित सांसदहरुको शपथ आज दिउसो २ बजेदेखि सिंहदरबारस्थित नवनिर्मित वहुउद्देश्यीय सभाहलमा हुदै छ ।

संघीय संसद सचिवालयका अनुसार नव निर्वाचित सांसदहरुमध्ये ४७ जनाले मातृभाषामा शपथ ग्रहण गर्ने भएका छन् । जसमा १७ जनाले मैथिली भाषमा थपथ ग्रहण गर्ने जानकारी दिएका छन् । नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ । 

संसद सचिवालयले निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र हालसालै खिचिएको पासपोर्ट साइजको तस्बीर दुईप्रतिसहित तोकिएको समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन भनेको छ ।

सचिवालयले नवनिर्वाचित सांसदहरुलाई औपचारिक वा आफ्नो सांस्कृतिक पहिचानको पोसाकमा उपस्थितिका लागि यसअघि नै आग्रह गरेको छ । 

शपथ हुने हलमा आवश्यक सिट, रोष्टम, सभामुख आसन, महासचिव, सचिव, सचिवालय बस्ने ठाउँलगायतको व्यवस्थापन गरिएको छ । 

यसअघि ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराइसकेका छन् भने आज केसीले बाँकी सबै २७४ सांसदलाई शपथ गराउने छन् ।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले १८२, नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राप्रपाले ५ सिट जितेका छन् । त्यस्तै एक सिटमा स्वतन्त्र सांसद महावीर पुन विजयी भएका छन् । 

Read More

कानुन तथा नियमावली बनाउने काम कर्मचारीले होइन सांसद र विज्ञले गर्नुपर्छ- महावीर पुन

काठमाडौँ । सांसद महावीर पुनले कर्मचारीहरुले अरुका कुरा पटक्कै नसुन्ने हुनाले ऐन कानुन तथा नियमावलीहरु बनाउने काम सांसद र सम्बन्धित क्षेत्रका विज्ञहरुले गर्नुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा टिप्पणी गर्दै पुनले आउने दिनहरुमा ऐन कानुन तथा नियमावलीहरु बनाउने काम दुरदृष्टि भएका सासंदहरु र सम्बन्धित क्षेत्रका विज्ञहरुले गर्नुपर्ने र कर्मचारीले त्यसलाई कानुनको ढाँचामा मिलाउने मात्र गर्नुपर्ने बताएका चाहन । 

उनले अहिलेसम्म कानुन बनाउने अधिकांश काम उपसचिव र सहसचिवहरुले गर्छन जसले दुरदृष्टि भएका नेताहरु र विज्ञहरुको कुरा पटक्कै नसुन्ने दाबि गरेका छन् । देशमा कर्मचारीतन्त्र हावी हुनुको प्रमुख कारण यहि भएको बताउदै सांसद पुनले आफैले धेरै पटक भोगेको यो तितो अनुभव रहेको उल्लेख गरेका छन् ।

Read More

भारतले अप्रिलमा रुसबाट ६ करोड ब्यारेल कच्चा तेल किन्ने

काठमाडौँ । मध्यपूर्वमा जारी इजरायल इरान युद्धका कारण कच्चा तेलको आपूर्ति प्रणाली प्रभावित भएको छ । यही संकट व्यवस्थापन गर्न भारतले रुसबाट ठूलो परिमाणमा तेल किन्ने निर्णय गरेको छ ।

जानकारी अनुसार भारतले अप्रिल महिनाको आपूर्तिका लागि रुससँग करिब ६ करोड ब्यारेल कच्चा तेल किन्ने सम्झौता गरेको छ । होर्मुज जलडमरुमा समस्या आएपछि साउदी अरब र इराकबाट हुने आपूर्तिमा अवरोध भएपछि भारतले पुनः रुसी तेलतर्फ ध्यान केन्द्रित गरेको हो । 

तथ्यांक विश्लेषण गर्ने संस्था केप्लरका अनुसार अप्रिलका लागि गरिएको यो खरिद फेब्रुअरीको तुलनामा दोब्बरभन्दा बढी हो । मध्यपूर्वमा तनावका कारण आपूर्ति अवरुद्ध भएपछि भारतीय कम्पनीहरूले सुरक्षित वैकल्पिक मार्ग खोज्न थालेका छन् ।

अचम्मको कुरा, पहिले सस्तोमा पाइने रुसी तेल अहिले महँगो मूल्यमा किनिँदैछ । रिपोर्टअनुसार प्रति ब्यारेल ५ देखि १५ डलरसम्म अतिरिक्त मूल्य तिरेर खरिद गरिएको छ । माग बढ्नु र आपूर्ति घट्नुका कारण मूल्य बढेको हो ।

भारतको यो निर्णयमा अमेरिकाले दिएको विशेष छुटको पनि भूमिका रहेको छ । अमेरिकाले मार्च ५ अघि जहाजमा लोड भइसकेको रुसी तेल लिन भारतलाई अनुमति दिएको थियो, पछि यो समयसीमा बढाएर मार्च १२ सम्म पुर्‍याइएको छ । होर्मुज क्षेत्रमा समस्या आएपछि तेल अभाव कम गर्न यस्तो छुट दिइएको हो ।

यसअघि अमेरिकी दबाबका कारण भारतले रुसी तेलको खरिद घटाएर साउदी अरब र इराकतर्फ मोडिएको थियो । तर युद्ध सुरु भएपछि ती देशको धेरै तेल खाडी क्षेत्रमै अड्किएको छ ।

यसैबीच भारतका केही प्रमुख रिफाइनरी कम्पनीहरू फेरि रुसी बजारमा फर्किएका छन् । उनीहरूले आन्तरिक माग पूरा गर्न भण्डारण बढाउने रणनीति अपनाएका छन् ।

रुससँगै भारतले भेनेजुएलाबाट पनि तेल आयात बढाएको छ । अप्रिलमा त्यहाँबाट करिब ८० लाख ब्यारेल तेल आयात हुने अनुमान गरिएको छ, जुन पछिल्ला चार वर्षकै उच्च स्तर हो ।

विश्लेषकहरूका अनुसार भारतसँग हाल रुसी तेलको विकल्प सीमित छ । मध्यपूर्वको मार्ग असुरक्षित र अन्य स्रोतको गुणस्तर कम भएकाले भारतले रुसमै निर्भर रहनुपर्ने अवस्था देखिएको छ ।

Read More

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले पुष्टि गर्यो- महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका छन् । 

पोखरेलले कार्की आयोग र आम निर्वाचन २०८२ अल्गोरिदममार्फत नेपाली समाजमा परेको प्रभावलाई राजनीतिक र कानूनी वैधानिकता दिने प्रयास थियो भन्ने कुरा स्पष्ट भएको बताउदै आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने धारणा आयोगको प्रतिवेदनले नै पुष्टि गरेको बताएका हुन् ।  

उनले निर्वाचन र आयोगको प्रतिवेदनसंगै नेपाली राजनीति नयाँ मोडतर्फ अग्रसर रहेको बताउदै अल्गोरिदमको प्रयोगवाट लोकपृयतावाद, अराजकतावाद र अवसरवादको मिश्रणवाट नयाँ शक्तिको उदय भएको उल्लेख गर्दै अबको बाटो सजिलो नहुने, राष्ट्र र लोकतन्त्र दुवैले केही समय चुनौतीको सामना गर्नुपर्ने देखिएको बताएका छन् ।

यस्तो अवस्थामा, ‘नयाँ शक्ति’ र ‘नेतृत्व’लाई उनीहरूको दृष्टिकोणअनुसार काम गर्ने अवसर दिनु र जनतालाई प्रत्यक्ष अनुभवमार्फत मूल्याङ्कन गर्न दिनु नै सम्भवतः विवेकपूर्ण कदम हुन सक्ने उनको जिकिर छ । साथै उनले लोकपृयतावाद, अराजकतावाद र अवसरवाद आजका चुनौतीहरुको समाधानको वाटो होइन र विचारधारात्मक राजनीतिको दिर्घकालिन विकल्प नभएको उनको दाबि छ ।

Read More

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार विहिबार छापावाल सुनको मुल्य तोलाको २९ सयले घटेर तोलाको २ लाख ८५ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि बुधबार सुन तोलाको २ लाख ८८ हजार ५ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १०० रुपैयाँले घटेर ४८२० मा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी तोलाको ४९२० मा कारोबार भएको थियो ।

Read More

युद्धपोत आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित रहेको अमेरिकाको दाबी

काठमाडौँ । मध्यपूर्वमा बढ्दो तनावबीच अमेरिकाले आफ्नो विमानवाहक युद्धपोत युएसएस आब्राहम लिंकन पूर्ण रूपमा सुरक्षित र सक्रिय रहेको जनाएको छ । अमेरिकाले इरानविरुद्धका सैन्य अभियान निरन्तर जारी रहेको पनि स्पष्ट पारेको छ ।

अमेरिकी केन्द्रीय कमान्डका अनुसार उक्त युद्धपोत क्षेत्रीय समुद्रमा रहेर लगातार हवाई कारबाही सञ्चालन गरिरहेको छ । सो क्रममा इरानका सैन्य संरचनालाई निशाना बनाइएको जनाइएको छ ।

यसअघि इरानले भने उक्त युद्धपोततर्फ क्रुज मिसाइल प्रहार गरिएको दाबी गरेको थियो । सो आक्रमणपछि जहाजले आफ्नो स्थान परिवर्तन गर्नुपरेको पनि इरानको भनाइ थियो ।

यसैबीच अमेरिकी प्रशासनले इरानको सैन्य क्षमतामा ठूलो क्षति पुर्‍याइएको दाबी गरेको छ । ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेविटका अनुसार हालसम्म इरानका ९ हजारभन्दा बढी स्थानमा आक्रमण गरिएको छ ।

उनले सैन्य अभियान सुरु भएयता इरानका क्षेप्यास्त्र र ड्रोन आक्रमण करिब ९० प्रतिशतले घटेको बताइन् । साथै, अमेरिकी सेनाले इरानका १४० भन्दा बढी नौसैनिक जहाज नष्ट गरेको र यो दोस्रो विश्वयुद्धपछि छोटो समयमै भएको सबैभन्दा ठूलो नौसैनिक क्षति भएको दाबी गरिएको छ ।

Read More

भारतको आन्ध्र प्रदेशमा सडक दुर्घटनामा १४ जनाको मृत्यु

काठमाडौँ । भारतको आन्ध्र प्रदेश राज्यको मार्कपुरम जिल्लामा भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ । रायवरम नजिकै निजी यात्रुवाहक बस र टिपर लरी ठोक्किँदा दुर्घटना भएको भारतीय सञ्चारमाध्यामहरुले उल्लेख गरेका छन् ।

प्रहरीका अनुसार बस तेलंगानाको निर्मलबाट नेल्लोरतर्फ जाँदै थियो । दुर्घटनापछि बसमा आगलागी हुँदा पूरै बस जलेर नष्ट भएको बताइएको छ ।

दुर्घटनामा परेका केही यात्रु जिउँदै जलेको आशंका गरिएको छ भने घाइतेहरूलाई नजिकका अस्पतालमा भर्ना गरिएको छ । प्रारम्भिक अनुसन्धानमा तीव्र ठक्करकै कारण बसमा आगो लागेको देखिएको छ । मृतकहरूको पहिचान गर्ने काम जारी रहेको प्रहरीले जनाएको छ ।

घटनाप्रति आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडूले गहिरो दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरूको प्रभावकारी उपचारको व्यवस्था गर्न र दुर्घटनाको विस्तृत छानबिन गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्  ।

Read More

रास्वपाको केन्द्रीयसमिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज केन्द्रीय समिति बैठक बस्दैछ । बैठक आज दिउँसो ४ बजे केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने गरि बोलाइएको प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।

बैठकमा संसदीय दलको नेता छनोट र विविध एजेण्डबारे छलफल गर्न लागेको जनाएको छ । बैठकपछि संसदीय दलको बैठक बसेर नेता चयन गरिनेछ ।

रास्वपाले केन्द्रीय समिति र संसदीय दलको बैठक गरेर संसदीय दलको नेतामा बालेन साहलाई नेता चयन गर्ने बताइएको छ ।

आज संसदीय दलको नेता चयन भएपछि भोलि शुक्रबार बालेनले प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिने छन् ।

Read More

दार्चुला फेरि हल्लियो: बिहानै ४.० म्याग्निच्युडको धक्का, आसपासका क्षेत्रमा पनि महसुस

काठमाडौं । दार्चुला जिल्लाको मुराई आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ८:३२ बजे ४.० म्याग्निच्युडको भूकम्प गएको हो। यसको कम्पन दार्चुलाका विभिन्न स्थानहरूका साथै छिमेकी क्षेत्रमा समेत अनुभव गरिएको थियो।

केही दिनअघि मात्रै, चैत ९ गते पनि सोही क्षेत्रमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो। छोटो अवधिमा पटक-पटक कम्पन महसुस हुन थालेपछि स्थानीय बासिन्दामा सतर्कता बढेको छ।

Read More

कार्की आयोगका प्रमुख पाँच विषय: कारवाही सिफारिसदेखि डिस्कर्डको दुरुपयोगसम्म

काठमाडौं । भदौ २३ र २४ गतेको घटना जाँचबुझ गर्न बनेको गौरीबहादुर कार्कीको आयोगको प्रतिवेदन बुधबार सञ्चार माध्यमबाट सार्वजनिक भएपची यस बारेमा चर्चा र बहस शुरु भएको छ । प्रतिवेदन बाहिरिएपछि प्रधानमन्त्री सुशीला कार्कीले बुधबार साँझ प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेकी थिइन् ।

प्रतिवेदन संघीय संसद् सचिवालयको पुस्तकालयमा अभिलेख राखी सार्वजनिक गर्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिएका छन् । यो प्रतिवेदन सबै भन्दा पहिला जनआस्थाले अनलाइन संस्करणबाट सार्बजनिक गरेको थियो ।

९०७ पृष्ठको प्रतिवेदन मुख्यतया भदौ २३ गते भएको सरकारी दमनलाई केन्द्रित गरेर कारबाहीका सिफारिस गरिएको छ भने २४ गते सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवनसहित ऐतिहासिक धरोहरमा भएको विध्वंसको घटनालाई थप अनुसन्धान गर्नुपर्ने भन्दै किनारा गरिएको छ । त्यस्तै आयोग प्रहरीलाई कुटेर मारिएको घटनामा पनि मौन देखिएको छ ।

कारवाही सिफारिस
आयोगले जेनजी आन्दोलनमा ७६ जनाको ज्यान जाने गरी भएको हिंसात्मक घटनामा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक तथा नेपाल प्रहरीका तत्कालीन आईजीपी चन्द्रकुवेर खापुङ, सशस्त्र प्रहरीका आईजीपी राजु अर्याल तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापालाई मुलुकी अपराध संहिताबमोजिम अलग-अलग कसुरमा कारबाहीको सिफारिस गरिएको छ । त्यस्तै काठमाडौं जिल्लाका तत्कालीन सीडीयो छवि रिजाल र गृहसचिव गोकर्णमणि दुवाडीलाई पनि कारबाहीको सिफारिस गरिएको छ ।

भदौ २४ को घटनाप्रति नरम  
प्रतिवेदनमा सरकारले सामाजिक सञ्जाल बन्द गरेपछि भ्रष्टाचार, बेथिति, कुशासन लगायतका विषयमा जेनजीहरूले भदौ २३ गते घोषणा गरेको आन्दोलनमा दमन भएपछि ठूलो विध्वंस भएको र सोही दिन माइतीघरबाट शान्तिपूर्ण रूपमा सुरु भएको जुलुस बानेश्वर संसद् भवनमा पुग्दा विध्वंसकारी मोड लिँदा १९ जनाको ज्यान गएको उल्लेख छ । भदौ २३ गतेको घटनाक्रमबाट सिर्जना भएको आक्रोशले आन्दोलनकारीहरूले भदौ २४ गते विध्वंस गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । भदौ २४ गते सरकारले कर्फ्यु आदेश जारी गर्दा गर्दै पनि सरकारी सम्पत्ति, राजनीतिक दलका पार्टी कार्यालय, राजनीतिक दल सम्बद्ध व्यक्तिको निजी सम्पत्तिमाथि तोडफोड, आगजनी तथा लुटपाटसमेत भएको र उक्त घटनाले अकल्पनीय रूपमा भौतिक तथा मानवीय क्षति हुन गएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साथै प्रतिवेदनमा सिंहदरबार, संघीय संसद् भवन, सर्वोच्च अदालत, राष्ट्रपति भवन जस्ता राष्ट्रिय धरोहर जलाउनमा विशेष प्रज्वलनशील पदार्थको प्रयोग गरिएको समेत उल्लेख छ । प्रतिवेदनमा भनिएको छ- ‘केही विशेष प्रकारका कागजात भएका ठाउँमा टार्गेट गरेर आगो लगाइएको थियो। खासगरी आयोगको स्थलगत भ्रमणका क्रममा प्रायः सबै ठाउँमा आक्रमणको कार्यशैली एकै प्रकारको देखिन्छ ।’

कुनै कार्यालय-घरमा आक्रमण गर्दा सबभन्दा पहिला सीसीटिभी ध्वस्त गर्ने, पानीको ट्यांकी खाली गरी भत्काउने, सरकारी कार्यालयहरूमा रहेको डाटा सेन्टर भत्काउने र कम्प्युटर कक्षमा आक्रमण गर्ने, तत्पश्चात् कागजातहरू जलाउने, लुटपाट गर्ने, अन्त्यमा ती भवनहरूमा ग्यास सिलिन्डरमा आगजनी गरी भवनभित्र फाल्ने, सो उपलब्ध नभएमा बोतलमा पेट्रोल हाली घरभित्र फ्याँकी आगो लगाउने गरेको पाइएको छ । सिंहदरबार परिसरभित्र विभिन्न मन्त्रालयहरूमा रहेका फायर एक्सटिङगुइसर खोलेर त्यसमा भएको केमिकल फाल्ने गरेको देखिएको पनि प्रतिवेदनमा छ । 

साथै कम्पाउन्डभित्र पार्किङ एरियामा राखिएका सवारी साधनहरूमा आगो लगाउने प्रक्रिया सबै स्थानहरूमा एउटै प्रकारको देखिएको छ । तर, सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन शीतल निवास, व्यापारिक गोदाम घरहरू, भाटभटेनी स्टोरलगायतमा रसायन, पेट्रोल बमलगायतका प्रज्वलनशील पदार्थको प्रयोग गरेको पाइएको पनि प्रतिवेदनमा छ ।

अनुसन्धानका लागि सरकारी कार्यालयका सीसीटिभी फुटेज निकै उपयोगी हुन सक्ने तर प्रायः आक्रमण गरिएका सरकारी कार्यालयका अभिलेख गर्ने सामग्री फोडिएको तथा आगजनी गरी नष्ट गरिएको पाइएको छ । आयोगले भदौ २४ गतेको घटना विध्वंसकारी नै भएको उल्लेख गरे पनि त्यसका लागि ठोस कारबाहीको सिफारिस गरेको छैन । उसले भदौ २४ गतेका सम्पूर्ण घटनालाई एक-एक गरी बृहत् रूपमा अनुसन्धान गर्नुपर्ने सुझाव मात्र दिएको छ ।

आयोगले भदौ २४ गतेको घटनामा संलग्न भएका व्यक्तिहरूको सम्बन्धमा निर्कयौल गर्न अहिलेसम्मको छानबिनबाट अभियोजनका लागि सिफारिस गर्न मिल्ने गरी ठोस सबुत प्रमाण संकलन गर्न नसकिएको उल्लेख गरेको छ । आयोगले भनेको छ- ‘आयोगलाई प्राप्त कार्यादेश निश्चित तर छोटो अवधिका लागि रहेकाले देशभरका घटनाहरू विस्तृत रूपमा छानबिन गरी तत्काल कोही कसैलाई दोषी प्रमाणित गर्न समय र जनशक्ति अभावका कारणले आयोगले सकेन ।’

सेनाको भूमिका 
त्यस्तै आयोगले नेपाली सेनाको भूमिका प्रभावकारी नभएको उल्लेख गरेको छ । प्रतिवेदनमा सुरक्षा संयन्त्रबीच समन्वयको अभाव र निर्णय प्रक्रियामा ढिलाइका कारण ठूलो क्षति भएको उल्लेख गरिएको छ । संविधानले स्पष्ट व्यवस्था गरेअनुसार राष्ट्रिय सुरक्षा परिषद्को सिफारिस र मन्त्रिपरिषद्को निर्णयपछि मात्रै सेना परिचालन हुन सक्ने भए पनि घटनाको गाम्भीर्यअनुसार समयमै आवश्यक निर्णय नभएको प्रतिवेदनमा उल्लेख छ । जसका कारण स्थिति नियन्त्रणभन्दा बाहिर गएको प्रतिवेदनमा जनाइएको छ।

नेपाली सेनाले आफ्ना परमाधिपति राष्ट्रपतिको निवास पनि जोगाउन नसकेको पाइएको छ । भदौ २३ को घटनापछि सोही साँझ बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकले संकटकाल घोषणा नगर्नुलाई आयोगले ठूलो कमजोरीको रूपमा लिएको छ । समयमै आपतकाल घोषणा गरी सेना परिचालन गर्न नसक्दा २४ गते थप क्षति भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ, ‘सिंहदरबार र शीतल निवासमा नेपाली सेना तैनाथ थियो, तिनको रक्षा गर्नु नेपाली सेनाको कर्तव्य हो तर कार्यान्वयन गरेको देखिएन। सिंहदरबारस्थित नरसिंह दलका कमान्डर र राष्ट्रपति भवन शीतल निवासका कमान्डर र संघीय संसद् भवन परिसर बानेश्वर तथा प्रधानमन्त्री निवास बालुवाटारमा सुरक्षार्थ खटिएका नेपाली सेनाका कमान्डरहरूले आफ्नो कर्तव्य पूरा गरेको देखिएन ।’

टीओबी समूहको भूमिका
त्यस्तै आयोगले भदौ २३ गतेको जेनजीको शान्तिपूर्ण प्रदर्शनलाई उग्र बनाउन टीओबी समूहको भूमिका रहेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ- ‘भदौ २३ गते करिब १२ बजेको समयमा चाबहिल ओम अस्पताल, धोबीखोला करिडोर, गौशालालगायत विभिन्न क्षेत्रबाट करिब १०० वटा मोटरसाइकलमा बानेश्वर, बिजुलीबजारतिरबाट आएका (केहीले टीओबी लेखिएको कालो टीसर्ट लगाएका) युवाहरूले मोटरसाइकल पड्काउँदै होहल्ला गरी भीडलाई थप उत्तेजित बनाउने कार्य गरेको देखिन्छ ।’

डिस्कर्डको दुरुपयोग
त्यस्तै प्रतिवेदनमा जेन-जी आन्दोलनमा सामाजिक सञ्जाल डिस्कर्डको व्यापक दुरुपयोग भएको देखिएको छ । डिस्कर्डमार्फत जेनजी आन्दोलनमा पेट्रोल बम निर्माण गर्ने विषयमा आन्दोलनरत पक्षले छलफल गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा भनिएको छ- ‘डिस्कर्ड नाम गरेका विभिन्न सञ्जालका पनि विभिन्न ग्रुपहरू थिए। तीमध्येको एउटा डिस्कर्ड ग्रुपमा अराजक गतिविधि, मोलोटोभ ककटेल (पेट्रोल बम) निर्माण गर्ने, तोडफोड, लुटपाट र आगजनी गर्न सक्ने जस्ता धारणा प्रेषित गरिएको थियो ।’ 

Read More