२०८३ बैशाख १३

अमेरिकाको युद्धविरामको प्रस्ताव इरानबाट अस्वीकार

काठमाडौँ । इरानले अमेरिकाले प्रस्ताव गरेको युद्धविराम अस्वीकार गरेको छ । उसले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका सर्तमा युद्ध अन्त्य नगर्ने स्पष्ट पारेको छ ।

इरानी अधिकारीका अनुसार मध्यस्थ देशमार्फत आएको प्रस्ताव धोका भएको दाबी गरिएको छ । उनीहरूले उक्त प्रस्ताव वास्तविक अवस्थाबाट टाढा रहेको र केवल दबाब सिर्जना गर्ने उद्देश्यले ल्याइएको बताएका छन् । इरानले आफ्नो सर्त पूरा भए मात्र युद्ध रोकिने बताउँदै पाँच मुख्य सर्त अघि सारेको छ ।

इरानले राखेका सर्तमा आफ्नो देशविरुद्धका आक्रमण र लक्षित हत्या पूर्ण रूपमा रोक्नु पर्ने, भविष्यमा फेरि युद्ध नहुने सुनिश्चितता दिनुपर्ने, युद्धका कारण भएको क्षतिको क्षतिपूर्ति दिनुपर्ने, सबै क्षेत्रमा द्वन्द्वको अन्त्य हुनुपर्ने र होर्मुज जलडमरुमा आफ्नो अधिकारलाई अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने उल्लेख छ । यी सर्त पूरा नभएसम्म जवाफी कारबाही जारी रहने पनि इरानले जनाएको छ ।

यसअघि अमेरिकाले पाकिस्तानमार्फत युद्ध अन्त्यका लागि १५ बुँदे योजना इरानलाई पठाएको थियो । उक्त योजना पाकिस्तानमार्फत तेहरान पुगेको जनाइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रस्तावमा इरानको क्षेप्यास्त्र र आणविक कार्यक्रमदेखि लिएर होर्मुज जलडमरुमा समुद्री आवागमनसम्मका विषय समेटिएका छन् ।

अमेरिकाले इरानसँग आणविक कार्यक्रम रोक्न, युरेनियम संवर्धन सीमित वा बन्द गर्न, अन्तर्राष्ट्रिय निरीक्षणका लागि सबै आणविक स्थल खुला गर्न, क्षेप्यास्त्र कार्यक्रम नियन्त्रण गर्न, क्षेत्रीय सैन्य गतिविधि घटाउन र समुद्री मार्ग सुरक्षित बनाउन आग्रह गरेको छ । यसको सट्टामा इरानमाथि लगाइएका आर्थिक प्रतिबन्ध हटाउने तथा ऊर्जा क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग गर्ने प्रस्ताव गरिएको छ ।

यसै विषयमा ट्रम्पले इरानी नेतृत्व सम्झौताका लागि इच्छुक भए पनि डरका कारण खुल्न नसकेको दाबी गरेका छन् । उनले इरानभित्र र बाहिर दुवैतर्फको दबाबका कारण त्यहाँका नेताहरू खुलेर बोल्न नसकेको बताएका छन् ।

Read More

१४ सय बर्षमा आर्चबिशप पदमा पहिलो पटक महिला नियुक्त

काठमाडौँ । करिब १४ सय वर्षको इतिहासमा पहिलो पटक क्यान्टरबरीका आर्चबिशप पदमा एक महिलाको नियुक्त गरिएको छ ।

सारा मुल्लालीलाई क्यान्टरबरी क्याथेड्रलमा औपचारिक समारोहमार्फत उक्त पदमा स्थापना गरिएको हो । उनी यो पदमा पुग्ने पहिलो महिला बनेकी छन् । समारोहमा वेल्सका राजकुमार विलियम, राजकुमारी क्याथरिन तथा बेलायतका प्रधानमन्त्री केयर स्टार्मरलगायत विभिन्न प्रमुख व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

यद्यपि सारा मुल्लालीले २०२६ जनवरी २८ मै कानुनी रूपमा पद सम्हालेकी थिइन्, तर यो समारोहलाई उनको सार्वजनिक कार्यकालको औपचारिक सुरुवातका रूपमा लिइएको छ । क्यान्टरबरीका आर्चबिशप एंग्लिकन कम्युनियनका सबैभन्दा वरिष्ठ बिशप मानिन्छन् ।

यो संस्था विश्वका १६५ देशमा फैलिएका करिब ८ करोड ५० लाख इसाई धर्मावलम्बीको प्रतिनिधित्व गर्दछ । यो पद सन् ५९७ देखि सुरु भएको मानिन्छ, जतिबेला पोप ग्रेगरी प्रथमले सन्त अगस्टिनलाई बेलायत पठाएका थिए ।

Read More

बालबालिकाको मानसिक स्वास्थ्यमा असर गरेको भन्दै मेटामाथि ३७५ मिलियन डलर जरीवाना

काठमाडौँ । अमेरिकाको न्यू मेक्सिकोमा एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटामाथि ठूलो जरिवाना लगाएको छ ।

अदालतले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्‍याएको र आफ्ना प्लेटफर्महरूमा हुने यौन दुरुपयोगसम्बन्धी जोखिम लुकाएको ठहर गरेको छ । करिब सात हप्तासम्म चलेको सुनुवाइपछि यस्तो फैसला आएको हो ।

अदालतले कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको निष्कर्ष निकालेको छ। साथै, बालबालिकाको मानसिक स्वास्थ्य र जोखिमबारे भ्रामक जानकारी दिँदै अनुचित व्यावसायिक अभ्यास अपनाएको पनि उल्लेख गरिएको छ ।

यस निर्णयसँगै मेटामाथि करिब ३७५ मिलियन डलर बराबरको जरिवाना तोकिएको छ । यद्यपि यो रकम अभियोजन पक्षले माग गरेको भन्दा कम हो ।

अहिलेलाई कम्पनीलाई तुरुन्त कामकाज परिवर्तन गर्न आदेश भने दिइएको छैन । अब अदालतले मेटाका प्लेटफर्महरूले सार्वजनिक हानि पुर्‍याए कि पुर्‍याएनन् भन्ने विषयमा थप निर्णय गर्नेछ । यस मुद्दाको अर्को सुनुवाइ मे महिनामा हुने जनाइएको छ ।

फैसला प्रति असहमति जनाउँदै मेटाले अपिल गर्ने जनाएको छ । कम्पनीले आफ्ना प्लेटफर्महरू सुरक्षित बनाउन निरन्तर प्रयास गरिरहेको र हानिकारक सामग्री हटाउने काम भइरहेको दाबी गरेको छ ।

यस मुद्दामा कम्पनीले १३ वर्ष मुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध, किशोर आत्महत्यासम्बन्धी सामग्री र एल्गोरिदममार्फत हानिकारक सामग्री फैलिएको विषयमा पनि जाँच भएको थियो ।

Read More

कांग्रेस महाधिवेशनको काउन्टडाउन सुरु: असोज १६-१९ मा १५औँ महाधिवेशन

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशनका लागि विस्तृत कार्यतालिका सार्वजनिक गर्दै संगठनलाई चुनावी मोडमा अघि बढाएको छ। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म आयोजना हुनेछ।

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार चैत मसान्तसम्म देशव्यापी रूपमा क्रियाशील सदस्यता वितरण र अद्यावधिक अभियान सञ्चालन गरिनेछ। यसका लागि केन्द्रबाट सदस्यता फारमहरू वडा तहसम्म पठाइनेछन् भने १६५ निर्वाचन क्षेत्रमा प्रतिनिधि परिचालन गरिने योजना छ।

वैशाख महिनाभर देशका ६ हजार ७४३ वडामा सदस्यता वितरण तथा नवीकरण अभियान तीव्र रूपमा चलाइनेछ। सदस्यहरूले आफू आवद्ध रहेको वडामै गएर सदस्यता अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

त्यसपछि, जिल्लास्तरमा उठेका उजुरीहरूको छानबिन गरी जेठ मसान्तसम्म केन्द्रमा पठाइनेछ। केन्द्रले पनि असार १५ भित्र सम्पूर्ण छानबिन सकेर सदस्यताको अन्तिम टुङ्गो लगाउनेछ। असार मसान्तसम्म अद्यावधिक सदस्यहरूको नामावली केन्द्रीय निर्वाचन समितिलाई बुझाइनेछ।

अधिवेशन प्रक्रिया अघि बढाउन, केन्द्रीय सभापतिबाट प्रमाणित अन्तिम नामावली निर्वाचन समितिलाई हस्तान्तरण गरिनेछ।

कार्यतालिकाअनुसार भदौ २ गतेसम्म सबै वडा अधिवेशन सम्पन्न गरिनेछ। त्यसपछि भदौ ७ मा गाउँ तथा नगर अधिवेशन, भदौ १७ मा प्रदेशसभा क्षेत्रीय तथा केही जिल्लाको अधिवेशन हुनेछन्। साथै असोज २ र ३ गते बाँकी जिल्लामा अधिवेशन सम्पन्न गरिनेछ।

यसरी वडादेखि केन्द्रसम्म चरणबद्ध रूपमा अधिवेशन गर्दै कांग्रेसले महाधिवेशनलाई व्यवस्थित र प्रभावकारी बनाउने तयारी अघि बढाएको छ।

Read More

आज नवनिर्वाचित २७४ सांसदको शपथ ग्रहण, ५४ जनाले रोजे मातृभाषा

काठमाडौं । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको औपचारिक यात्रा आजबाट सुरु हुँदैछ। आज अपराह्न २ बजे सिंहदरबारस्थित संघीय संसद् भवनको बहुउद्देश्यीय हलमा २७४ जना सांसदले पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको छ।

शपथ ग्रहण समारोहको नेतृत्व प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले गर्नेछन्। उनले यसअघि राष्ट्रपतिबाट शपथ लिएसँगै आफ्नो जिम्मेवारी सम्हालेका हुन्।

संघीय संसद् सचिवालयका अनुसार शपथ कार्यक्रमका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भइसकेको छ। सांसदहरूले व्यक्तिगत विवरण दर्ता गर्नुपर्ने भएकाले उनीहरूलाई कम्तीमा दुई घण्टा अगावै कार्यक्रम स्थलमा उपस्थित हुन अनुरोध गरिएको छ।

कानुनी व्यवस्था अनुसार, प्रतिनिधिसभाको बैठक वा कुनै पनि संसदीय समितिमा सहभागी हुनुअघि सांसदले अनिवार्य रूपमा शपथ लिनुपर्ने प्रावधान छ। यही व्यवस्थाअनुसार आजको कार्यक्रम आयोजना गरिएको हो।

विशेष कुरा के छ भने, आज शपथ लिनेमध्ये ५४ जना सांसदले नेपाली बाहेक आफ्नै मातृभाषामा शपथ लिने निर्णय गरेका छन्, जसले भाषिक विविधताको झल्को दिन्छ।

यदि आज शपथ लिन नसक्ने सदस्यहरू भएमा, उनीहरूको अनुकूल समयमा पुनः शपथ ग्रहण गराइने व्यवस्था पनि मिलाइएको छ।

Read More

पीएम कपमा आज पनि दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पीएम कपमा गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच तल्लो मुलपानीमा हुने छ भने अर्को खेल बागमती प्रदेश र नेपाल पुलिस क्लबबीच माथिल्लो मूलपानी मैदानमा हुने तालिका रहेको छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

सेतो मच्छिन्द्रनाथको रथयात्रा आजदेखि शुरु हुदै

काठमाडौं । आजदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा सुरू हुँदैछ । हरेक वर्ष चैते दशैंको दिनदेखि सेतो मच्छिन्द्रनाथको रथयात्रा गर्ने परम्परा अनुसार रथयात्रा गर्न लागिएको हो ।

जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार आज केलटोलबाट खट यात्रा सुरु हुनेछ । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हुँदैअसनसम्म पुर्‍याइन्छ ।  आज राती १० बजे राष्ट्रपति दर्शनका लागि असन आउने कार्यक्रम छ । 

त्यसपछि चैत्र १३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । चैत्र १४ गते साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्‍याइन्छ र चैत्र १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् । 

प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ । 

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् । 

अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ । ३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ ।

महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ ।

Read More

आज चैते दशैँको अष्टमी मनाइदै

काठमाडौँ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले भने आषाढ र पौष शुक्ल पक्षको नवरात्रमा पनि शक्ति स्वरुपा देवीको आराधना गर्छन् ।

आश्विन शुक्लपक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरेर जमरा राखिन्छ । यसैले आश्विन शुक्ल पक्षको दशैँलाई बडादशैँ भनिन्छ । बडादशैँमा दशमी तिथिका दिन मान्यजनबाट टीका र जमरा लगाउने गरिन्छ । यो क्रम आश्विन शुक्ल पूर्णिमासम्म चल्छ ।

चैते दशैँमा भने त्यो परम्परा धेरै परिवारमा छैन । हनुमानढोका दशैँघरमा भने घटस्थापना गरेर विधिवत् पूजा आराधनाका साथ अष्टमीका दिन बलि दिनई चलन पनि छ । चैते दशैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ ।

अष्टमीको दिनलाई चैतेदशैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुमपा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा मनाउने गरिन्छ । 

विगत वर्षमा चैते दशैँ  पर्वका अवसरमा बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लाग्ने गरेकामा यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न सरकारले देशभर लकडाउन गरेकाले घरबाटै मानसिकरुपमा दर्शन गर्न सकिने धर्मशास्त्रविद् बताउछन् । 

“वेदमा ‘सर्वतः आत्मानम्ं गोपायेत्’ अर्थात् सबैभन्दा पहिले हाफ्नो शरीरको रक्षा गर भन्ने वचन रहेकाले महामारीको सङ्क्रमणबाट बच्न घरमै पूजा आराधनाका काम गर्न सकिन्छ”–उनले भने । बडादशैँ जस्तै चैते दशैँको पूजा उपासनाका मुख्य उद्देश्य पनि यो लोकमा सुख शान्ति र परलोकमा सद्गतिका लागि आशीर्वादन लिनका लागि हो । 

उपत्यकाका गुह्येश्वरी, जगवागेश्वरी, मैतीदेवी, नक्साल भगवती, भद्रकाली, शोभा भगवती, कालिकास्थान, बज्रयोगिनी, इन्द्रायणी, बिजेश्वरी, सुन्दरीमाई, चामुण्डादेवीलगायत पीठमा चैते दशैँका अवसरमा विशेष पूजा हुन्छ । 

यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, चण्डेश्वरी, नाला भगवती, पाल्चोक भगवती, शैलेश्वरी, बागेश्वरी, गहवामाई, मनकामना, कालिकादेवीलगायत शक्तिपीठमा पनि चैत्र नवरात्रका अवसरमा विशेष पूजा गरिन्छ । चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजा आराधना एवं दर्शन गरेमा शक्ति प्राप्त हुने, मनोकामना पूरा हुने धार्मिक विश्वास छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भाग तथा बागमती प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी र हिमाली भू-भागमा आँशिक बादल लागेको छ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहको छ। गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा भैरहेको छ ।

आज दिउँसो देशको हिमाली भु-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ र तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ।  कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।  

त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ, पहाडी तथा तराई भू-भागमा आँशिक बादल लाग्नेछ। कोशी र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भाग तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।

Read More

२०८२ चैत १२ गते विहिबार: आजको राशिफल

आज बिस २०८२ चैत १२ गते विहिबार ईस २०२६ मार्च २६ नेपाल सम्बत ११४६ चौलाथ्व अष्टमी, सिद्धार्थि नाम संवत्सर सूर्य दक्षिणायनं, वसन्त ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा मिथुन राशिमा, आद्रा नक्षत्र, शोभन योग, ब्व करण । आज नेपालमा सुर्योदय बिहान ६ बजेर ३ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर १८ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मिथुन राशीको हुनेछ । आज चैत्र दशैँको अष्टमी परेको छ भने काठमाडौँ उपत्यकामा आज सेतो मच्छिन्द्रनाथको रथयात्रा शुरु हुदैछ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – 
पार्टनरको चासो र चिन्तामा मात्र केन्द्रित हुने समय होइन, केही समय आफ्नो मनको खुसी र सुस्वास्थ्यका निम्ति छुट्याएको राम्रो हुन्छ । मनमा अनावश्यक शङ्का र भ्रमको निवास हुने तथा कलहको योग बनेको समय छ, आफैंभित्रका शत्रुलाई चिनेर व्यवहार गर्नु राम्रो हुन्छ । करियर वा कामधाममा कुनै किसिमको बाधा देखिएको छ भने तनाव लिनुको सट्टा कामको गुणस्तर सुधारका लागि प्रयास गर्नु राम्रो हुन्छ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
आन्तरिक तिर्सनाको परिपूर्ति हुने दिन हो । पतिपत्नीका बीचमा समझदारी बढ्नेछ । आज कुनै भनुँ भनुँ लागेको कुरा बताउने दिन हो । कला, साहित्य र अभिनयका क्षेत्रमा रुचि बढ्ने दिन हो, तथापि अहिले बाह्य विषयवस्तुमा भन्दा पनि निर्धारित पाठ्यक्रममा ध्यानकेन्द्रित गर्नुपर्ने समय हो । रामरमाइलो र रमझमप्रति मनको आकर्षण रहने सुन्दर दिन छ । मनमा नयाँ उमङ्ग पलाउने छ । विवाहयोग्य उमेर छ र अविवाहित हुनुहुन्छ भने कुनै व्यक्तिप्रति विशेष आकर्षणसमेत बढ्न सक्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
स्वार्थका लागि सम्बन्ध गाँसी काम फुत्काउनेहरूसँग सतर्कता अपनाउनु होला, किनभने आज विवादास्पद जिम्मेबारी वहन गर्ने दिन हो । आडम्बर देखाउनु हुँदैन, नत्र सामान्य मानेको विषयलाई प्रमाणित गर्न गाह्रो हुन्छ र बेकारको तर्कबितर्कमा दिन बित्ने परिस्थिति बन्नेछ । सज्जन, विद्वान् र भद्रभलादमीको सङ्गत हुने राम्रो दिन छ । आज न्यायसम्पादन, प्रशासनिक क्षेत्र र राजनैतिक वृत्तका काम अघि सार्ने समय हो । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आत्मविश्वासमा बृद्धि हुनाले थप सफलता प्राप्त हुनेछ । शिक्षाक्षेत्र, आर्थिक कारोबार, सुनचाँदी जस्ता गहनागुरियाका व्यापारीका लागि राम्रो दिन देखिन्छ । मन कल्पना र भावनामा अलमलिन सक्छ । हरेक समय आत्मिक आनन्द र मानसिक शान्तिका लागि प्रयास गर्ने समय हो । लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
यो जीवनको त्यस्तो चरण हो, जसमा कार्यक्षेत्र र पारिवारिक समस्यालाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ । दूरदराजको यात्रा वा वैदेशिक प्रयोजनको कामका लागि प्रयास गर्न अनुकूल समय रहेको छ । मनोरञ्जन र खेलवाडले लक्ष्यप्राप्तिमा कठिनाइ उत्पन्न गर्नेछ, आफ्ना विषयवस्तुमा अरुले अधिकार जमाउन सक्छन् । प्रगतिका निमित्त सचेत र संयम हुनु ठीक हुन्छ । शङ्कालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्नसक्छ । भावनाप्रधान दिन हो, सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
सामाजिक क्षेत्र वा फाल्तु विषयमा केन्द्रित हुँदा कार्यक्षेत्र प्रभावित बन्नसक्छ, तथापि कूटनीतिक बुद्धिको उपयोग गर्दा हाँके÷ताकेका काममा सफल भइने छ । सामूहिक काम वा सामाजिक क्रियाकलापमा संलग्न हुँदा फुर्सद पाइँदैन र लवमेटलाई छुट्टै समय दिन नपाउनाले वैचारिक मतभेद हुनसक्छ । पारिवारिक सुखको पूर्ण अनुभूति हुने दिन हो । तपाईंको इच्छाको कदर हुने समय छ । हरेक क्रियाकलापमा जीवनसाथी, सन्तान र मित्रवर्गको साथ÷सहयोग प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
कुरा काट्ने र खिसीट्युरी गर्नेको कमी हुनेछैन, चेलीबेटीको चित्त बुझाउन धौधौ हुनेछ, तर पनि घरपरिवारका सदस्यहरूसँग सुमधुर सम्बन्ध कायम हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । अचानक कुनै मित्रसँग भेटघाट हुने अथवा कुनै नयाँ अवसरको उपयोग गर्ने दिन हो, प्रभावशाली कुराकानीका माध्यमबाट तपाईंले आफ्नो अन्तर्वार्ता, प्रजेन्टेसन, र बैठकहरूमा अरुमाथि राम्रो छाप छोड्न सक्नुहुन्छ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
मानसिक शान्तिको आभास हुनेछ, पार्टनरले तपाईंको भावना बुझ्नेछन्, कतै एकान्त स्थलमा बसेर भावना साटासाट गर्न र रमाउन पाइने छ । गम्भीर स्वभावको उदय हुने समय छ । एक्लै बस्न र रमाउन मनपर्छ । पारिवारिक जीवन सुखद हुनेछैन । आशावादी हुनु निराशावादी हुनुभन्दा राम्रो हुन्छ । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
अल्छीलाग्दो समय छ, तर पनि आज अकर्मण्य र लक्ष्यहीन बन्नु हुँदैन, नत्र सामान्य गल्तीले पनि ठूलो नोक्सानी व्यहोर्ने परिस्थिति बन्नेछ । लगानी गर्दा जोखिम र सङ्कटका बारेमा चिन्तन गर्नुहोला, व्यवसाय तर्फ मार्केटिङ, यातायात व्यवसायी र ढुवानीको क्षेत्रमा लाभ लिन सक्नुहुन्छ । तालमेलमा केही कमी रहने दिन हो । सकेसम्म हरेक व्यवहारमा ठूलाबडाको मर्यादा र सम्मानप्रति सचेतता अपनाउनु आवश्यक देखिन्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । नयाँ योजना कार्यान्वयन गर्ने दिन हो, दीर्घ प्रयोजनको लाभमूलक काम अघि सार्ने हो भने योजना बनाउने, साझेदार र मतियारका बीचमा छलफल गर्ने र प्रशासनिक तौरतरिका बुझ्ने समय आएको छ । पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश-विदेशको यात्रामा निस्कने संयोग जुरेको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
कुनै नयाँ विषयवस्तु वा प्राविधिक ज्ञानले आकर्षण गरेको समय छ, परिश्रम गर्ने छात्रछात्राले उत्कृष्ट परिणाम प्राप्त गर्नेछन् । व्यक्तिगत प्रतिष्ठा र वर्चस्व स्थापना गर्न सकिने राम्रो समय छ । राजनीति वा समाजसेवा नै तपाईंको कार्यक्षेत्र हो भने त पदप्रतिष्ठा र सम्मानले तपाईंको प्रतीक्षा गरिरहेको परिस्थिति देखिन्छ । हाकिमको सद्भाव र सहानुभूति प्राप्त हुनाले महत्त्वाकाङ्क्षी काम सुरु गर्न सकिन्छ । कार्य सम्पादनमा निखार आउनाले थप अवसर मिल्नसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) – 
परहीत र सामाजिक काममा दौडधूप हुनसक्छ । सेवाभावना र धार्मिक स्वभावको उदय हुनेछ । भोगविलास र सांसारिकता प्रतिको मोह घट्न सक्छ । धार्मिक-सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । फूर्तिका साथ जिम्मेबारी र दायित्व पूरा गर्ने दिन हो, सहयोगी र मिलनसार स्वभावको विकास हुनेछ । मान्यजनबाट प्रशंसा र सहानुभूति बटुल्न सक्नुहुन्छ ।

Read More