काठमाडौं । प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाह (बालेन) ले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा व्यापक फेरबदल सुरु गरेका छन्। उनले आफ्नो कार्यकक्षदेखि मन्त्रिपरिषद् बैठकस्थलसम्मका संरचना वास्तुशास्त्रअनुसार मिलाउने निर्णय गरेका छन्।
यसका लागि सह–सचिव प्रदीप परियारसहितको टोलीले कार्यालयमा आवश्यक परिवर्तनहरू गरिरहेको छ। बालेन काठमाडौं महानगरपालिकाको मेयर हुँदा पनि परियारसँगै काम गरिसकेका थिए, जसका कारण उनीमाथि विश्वास राखिएको देखिन्छ।
वास्तु सुझावअनुसार प्रधानमन्त्री बस्ने कुर्सीको दिशा मिलाइएको छ भने क्याबिनेट बैठक कक्षको सेटअप पनि परिवर्तन गरिएको छ। अब प्रधानमन्त्रीको आसन उत्तरतर्फ फर्काइएको छ। साथै, राष्ट्रिय चिन्हको स्थान परिवर्तन गरिएको छ भने टेबुलमा राखिएको सिसा हटाइएको छ।
कार्यालयभित्र भेटघाट हुने स्थान, झण्डा र फर्निचरमा समेत नयाँ व्यवस्था गरिएको छ। प्रधानमन्त्री कार्यालयका सचिवले पनि यी परिवर्तनहरूको निरीक्षण गरिसकेका छन्।
सुरक्षाको हिसाबले पनि कडाइ बढाइएको छ। अब प्रधानमन्त्री कार्यालयको कम्पाउन्डभित्र प्रवेश गर्न विशेष अनुमति आवश्यक पर्ने व्यवस्था लागू गर्न लागिएको छ। यसअघि भएको आन्दोलन र तोडफोडका घटनालाई ध्यानमा राख्दै यस्तो कदम चालिएको बताइएको छ।
बालेन नेतृत्वमा प्रधानमन्त्री कार्यालयलाई अझ प्रभावकारी र शक्तिशाली बनाउने योजना अघि बढाइएको छ। विभिन्न विभागहरूमा विज्ञहरूको संलग्नता बढाउने र मन्त्रालयका कामको प्रत्यक्ष अनुगमन गर्ने तयारी गरिएको छ।
यसैबीच, बालेनले शुक्रबार मध्यान्ह शीतल निवासमा वैदिक विधिअनुसार प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम तय भएको छ। शपथग्रहणमा धार्मिक र सांस्कृतिक विधिहरू समावेश गरिने तयारी गरिएको छ। त्यसपछि दिउँसो सिंहदरबारमा पदबहाली गर्ने कार्यसूची रहेको छ।
यसअघि आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेपछि प्रधानमन्त्री कार्यालय हाल अस्थायी संरचनाबाट सञ्चालन भइरहेको छ भने स्थायी संरचनाको मर्मत कार्य अझै जारी रहेको छ।
Read More