काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठनसँगै मन्त्रिपरिषद् तयार पार्ने प्रक्रिया तीव्र बनाएको छ। पार्टी स्रोतका अनुसार आजै मन्त्रीहरूको नाम टुंग्याउने तयारी भइरहेको छ।
बिहीबार वनस्थलीस्थित पार्टी कार्यालयमा बसेको बैठकले विधान संशोधन गर्दै बालेन्द्र शाहलाई संसदीय दलको नेताको जिम्मेवारी दिएको थियो। उनी शुक्रबार प्रधानमन्त्रीका रूपमा शपथ लिँदैछन्, र सोही अवसरमा मन्त्रीहरूको पनि शपथ गराउने योजना बनाइएको छ।
यसअघि नै मन्त्री चयनको विषयमा पार्टीभित्र उच्चस्तरीय छलफल जारी छ। सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेनबीच यसबारे निर्णायक वार्ता भइरहेको बताइएको छ। बैठकपछि दुवै नेता सँगै निस्किएको र थप गोप्य छलफलमा जुटेको जानकारी प्राप्त भएको छ, तर उनीहरू कहाँ बसेर अन्तिम निर्णय लिँदैछन् भन्ने खुलाइएको छैन।
पार्टीभित्र मन्त्री बन्ने आकांक्षीहरूको संख्या धेरै रहेकाले भागबन्डाका आधारमा मन्त्रालय बाँडफाँड हुने सम्भावना छ। यसअघि उम्मेदवार छनोटका क्रममा अपनाइएको ६०-४० को समीकरणलाई नै मन्त्री चयनमा पनि निरन्तरता दिन सकिने संकेत गरिएको छ।
हालसम्म कसले कुन मन्त्रालय सम्हाल्ने भन्ने अन्तिम टुंगो लागिसकेको छैन। बाहिर चर्चामा आएका नामहरू औपचारिक नभएको र अन्तिम निर्णय शीर्ष नेतृत्वबाटै आउने बताइएको छ।




