२०८३ बैशाख १३

मन्त्री छान्ने छलफलमा रास्वपा नेताहरु, शपथअघि प्रधानमन्त्री नियुक्त हुदै बालेन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् ।

राष्ट्रपति रामचन्द पौडेलले शपथअघि नै बालेनलाई प्रधानमन्त्री नियुक्ति गर्ने तयारी गरेका छन् । आज दिउँसो १२:३४ मा शपथ लिने समय तय भएको छ भने त्यसअघि प्रधानमन्त्रीको नियुक्ति हुने छ । 

प्रधानमन्त्रीसँगै आज मन्त्रीहरूले पनि आजै शपथ लिने तयारी गरिएको छ । बालेन शाह र सभापति रवि लामिछानेसहितका नेताहरु मन्त्रीको नाम टुंगाउने छलफलमा रहेका छन् । शुक्रबार बिहानदेखिनै बालेनसहितका नेताहरु छलफलमा जुटेका छन् । 

अहिलेसम्म प्राप्त जानकारी अनुसार १६ सदस्यीय मन्त्रिपरिषद बनाउने बताइएको छ । बालेनले मन्त्रिपरिषदमा महिला र मधेशीलाई प्राथमिकता दिएर सहभागी गराउने गरी मन्त्री छनौट गर्न लागेको बुझिएको छ । 

अहिलेसम्म डा. स्वर्णिम वाग्ले, डिपी अर्याल, सोबिता गौतम, सुनिल लम्साल, सस्मित पोख्रेललगायतको नाम मन्त्रीमा चर्चामा रहेको छ । त्यस्तै केहि मन्त्रालय मर्ज गरिने तयारी समेत भएको छ, जसमा पर्यटन र उद्योग, भौतिक पूर्वाधार र सहरी विकास मन्त्रालय एक बनाउने गरी छलफल भएको छ । त्यस्तै मन्त्री बन्ने दौडमा डा. अमरेश कुमार सिंह, सुदन गुरुङ, इन्दिरा राना मगर, प्रतिभा रावल, सागर ढकाललगायतको नाम पनि चर्चामा रहेको छ ।

Read More

मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलमाथि फ्रान्सको जित

काठमाडौँ । फ्रान्सले ब्राजिललाई मैत्रीपूर्ण फुटबल खेलमा पराजित गरेको छ । गएराती सम्पन्न खेलमा फ्रान्सले २-१ गोल अन्तरले पराजित गरेको हो ।

फ्रान्सको जितमा किलियन एम्बाप्पे र हुगो एकिटिकेले एक एक गोल गरेका थिए । त्यस्तै ब्राजिलका लागि ग्लेईसन ब्रेमरले एक गोल फर्काएका थिए ।

ब्राजिल र फ्रान्सबीच अहिलेसम्म भएको १५ खेलमा फ्रान्सको यो छैटौं जित हो । फ्रान्सले २००६ पछि पहिलो पटक ब्राजिललाई पराजित गरेको छ । त्यस्तै ब्राजिलले फ्रान्सलाई अहिलेसम्म ६ पटक पराजित गरेको छ भने दुवैबीचका तीन खेल बराबरीमा सकिएका छन् ।

Read More

राष्ट्रपति पौडेलबाट सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बिहीबार राति काठमाडौंको असनमा सेतो मच्छिन्द्रनाथको विशेष पूजाअर्चना गरेका छन् ।

चैत्र शुक्ल अष्टमीको अवसरमा आयोजित रथयात्रा असन पुगेपछि राष्ट्रपति पौडेलले परम्पराअनुसार पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेलले असनमा रथको दर्शन गरी परम्परागत विधिअनुसार पूजाअर्चना गरेका थिए ।

विहिबार केलटोलबाट शुरु भएको खट यात्रा सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिएको थियो । 

अब आज साँझ साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । चैत्र १४ गते साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्‍याइन्छ र चैत्र १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ । 

हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् । 

प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ । 

अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ ।  हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् । 

अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ । ३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ ।

महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ ।

Read More

एप्पलले सिरीमा ठुलो परिवर्तन ल्याउदै, के के आउदैछन् फिचर ?

काठमाडौँ । एप्पलले यस बर्षको वोर्ल्डवाइड डेभलपर कन्फेरेन्सबाट आफ्नो भर्चुअल सहायक सिरीमा ठूला परिवर्तन ल्याउने तयारी गरेको छ । नयाँ आइओएस २७ सँगै सिरीलाई दैनिक प्रयोगमा अझ उपयोगी बनाउने कम्पनीको लक्ष्य रहेको बताइएको छ ।

रिपोर्टअनुसार अब सिरी केवल साधारण आवाज आदेशमा सीमित हुने छैन । नयाँ अपडेटमा ‘आस्क सिरी’ नामको बटन आउनेछ, जसले विभिन्न एप्सभित्रै सिधै सिरी प्रयोग गर्न सजिलो बनाउनेछ । यसमार्फत प्रयोगकर्ताले स्क्रिनमा देखिएको सामग्री चयन गरेर तुरुन्तै त्यसको सार वा थप जानकारी लिन सक्नेछन् ।

सिरीको स्वरूपमा पनि परिवर्तन गरिने भएको छ । अहिले देखिने स्क्रिनभरि फैलिने प्रकाश प्रभाव हटाएर सानो र कम्प्याक्ट प्यानल राखिने तयारी छ । यसले काम गर्दै गर्दा पनि सहज रूपमा सिरी प्रयोग गर्न सकिने बताइएको छ ।

यसका साथै सिरीको आफ्नै छुट्टै एप ल्याउने तयारी भइरहेको छ । यस एपमार्फत प्रयोगकर्ताले पुराना कुराकानी सुरक्षित राख्न, खोज्न र आवश्यक सामग्री ‘पिन’ गर्न सक्नेछन् । आवाज र लेखेर दुवै तरिकाले सिरी प्रयोग गर्न मिल्ने सुविधा पनि थपिनेछ ।

कम्पनीले सिरीलाई कृत्रिम बुद्धिमत्तामार्फत अझ समझदार बनाउने योजना बनाएको छ । अब सिरीले प्रयोगकर्ताको सन्दर्भ बुझेर अझ सही र उपयोगी जवाफ दिन सक्नेछ। यसले सन्देश, नोट र क्यालेन्डर जस्ता एप्ससँग पनि राम्रो समन्वय गर्नेछ ।

यी नयाँ सुविधाहरूको घोषणा जुन ८ देखि १२ सम्म हुने कार्यक्रममा गरिने सम्भावना छ । तर सबै सुविधा एकैपटक नआइ क्रमशः अपडेटमार्फत उपलब्ध गराइने जनाइएको छ ।

Read More

आइपिएलको यस सिजनमा उद्घाटन समारोह नहुने, यस्तो छ कारण

काठमाडौँ । शनिबारदेखि शुरु हुने इन्डियन प्रिमियर लिग (आइपिएल) मा उद्घाटन समारोह नहुने भएको छ । भारतीय क्रिकेट बोर्डका सचिव देवजीत सैकियाले यसको पुष्टि गरेका छन् ।

उनका अनुसार यस पटक पहिलो दिन कुनै पनि सांस्कृतिक कार्यक्रम वा औपचारिक उद्घाटन समारोह आयोजना गरिने छैन । पहिलो खेल शनिबार रोयल च्यालेन्जर्स बेंगलुरु र सनराइजर्स हैदराबादबीच हुनेछ ।

सैकियाले गत वर्ष ४ जुनमा भएको दुःखद घटनाका कारण यस पटक उद्घाटन दिन कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णय गरिएको जानकारी दिएका छन् ।

गत वर्ष ४ जुन २०२५ मा रोयल च्यालेन्जर्स बेंगलुरुले पहिलो पटक उपाधि जितेपछि बेंगलुरुमा विजय उत्सव निकालिएको थियो । सो क्रममा रंगशालाबाहिर भागदौड हुँदा ११ जनाको ज्यान गएको थियो । 

यस पटक भने प्रतियोगिताको समापनमा भव्य समापन समारोह गर्ने तयारी भइरहेको छ । फाइनल खेल ३१ मे मा हुने बताइएको छ ।

अघिल्लो सिजनको उद्घाटन समारोह कोलकाताको इडेन गार्डेन्समा भएको थियो । त्यहाँ अभिनेता शाहरुख खानले कार्यक्रम सञ्चालन गरेका थिए भने दिशा पाटनी, श्रेया घोषाल र करण औजला लगायतले प्रस्तुति दिएका थिए । विराट कोहली र रिंकु सिंहले समेत मञ्चमा नृत्य गरेका थिए ।

यस पटक बेंगलुरुको चिन्नास्वामी रंगशालामा ११ जनाको सम्झनामा विशेष व्यवस्था गरिएको छ । क्लब र कर्नाटक क्रिकेट संघले ११ वटा सिट सधैं खाली राख्ने निर्णय गरेका छन् । ती दर्शक सिट अन्तर्राष्ट्रिय खेलमा पनि बिक्री गरिने छैन । साथै, स्मारक पट्टिका पनि रंगशालाको प्रवेशद्वार नजिकै राखिनेछ । खेलअघि मृतकहरूको नाम प्रदर्शन गरिनेछ र एक मिनेट मौन श्रद्धाञ्जली पनि दिइनेछ ।

Read More

पीएम कपमा आज पनि दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।

आज पीएम कपमा मधेश प्रदेश र लुम्बिनी प्रदेशबीच जनकपुरमा खेल हुदैछ भने पर्सामा कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशबीचको खेल हुदैछ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहनेछ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गर्ने छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिदै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिदैछन् ।

बालेन शाहले आज दिउँसो १२: ३४ बजे राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानमन्त्रीको रूपमा शपथ लिने शुभ साइत निकालिएको छ । शपथपछि उनी दिउँसो २: १५ बजे सिंहदरबार जाने कार्यक्रम तय गरिएको छ । बालेनको शपथ कार्यक्रममा ७ वटा शंखबाट शंखनाथ, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १०८ जना बौद्ध भिक्षुबाट शुभ मंगलपाठ गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

बालेनसँगै आज रास्वपाबाट मन्त्री बन्ने सबैले शपथ लिने बताइएको छ, यद्यपी मन्त्रीको संख्या नाम बारे अहिलेसम्म स्पष्ट भएको छैन । 

रास्वपाले विहिबार बालेनलाई संसदीय दलको नेता चयन गरेको थियो ।

Read More

आज चैते दशैको राम नवमी, भगवान् श्रीरामको पूजा आराधना गरी मनाइँदै

काठमाडौँ । आज चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिन । राम जयन्तीका नामले पनि परिचित  राम नवमीलाई असत्य र अन्धकारमाथि सत्य र मर्यादाको उज्यालो प्रादुर्भाव भएको दिनका रूपमा लिइन्छ ।

देशका विभिन्न भागमा रहेका राम मन्दिरका साथै घर–घरमा वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले मर्यादा पुरुषोत्तम श्रीरामको श्रद्धा, भक्तिपूर्वक पूजा आराधना गरी राम नवमी पर्व मनाउँदैछन् ।

काठमाडौँ उपत्यकाको  बत्तीसपुतलीस्थित राम मन्दिरमा बिहानैदेखि भक्तजनको भीड लाग्ने गर्दछ । 

जनकपुरधाममा रहेको रामजानकी मन्दिरमा पनि पूजाअर्चना गर्न भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । आज जानकी मन्दिर परिसरमा मेला पनि लाग्दछ । उक्त मेलामा भारतबाट समेत हजारौँ श्रद्धालु भक्तजन सहभागी भई पवित्र गङ्गासागरमा स्नान गरी रामजानकी मन्दिरमा पूजाआजा गर्दछन् । आज स्नान गरी पवित्र भएर व्रत बस्ने गरिन्छ भने रामगीता र रामायण पाठ पनि गरिन्छ । रामभक्तियुक्त भजनकीर्तनका साथ राति जाग्राम बस्ने परम्परा पनि छ ।

धार्मिक शास्त्रअनुसार भगवान् श्ररिामले परिवार, समाज र राज्यभित्र कायम हुनुपर्ने सबै मर्यादाको कायम गरेका कारण उनलाई मर्यादा पुरुषोत्तम भनिएको हो । राम राज्यका नामले परिचित भगवान् रामको राज्य न्यायका लागि नमूना मानिन्छ ।

Read More

आज विश्व रङ्गमञ्च दिवस मनाइदै

काठमाडौँ । आज विश्व रङ्गमञ्च दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस बर्षको रङ्गमञ्च दिवसको नारा ‘विश्वव्यापी मञ्च र प्रदर्शनको शक्तिको सम्मान’ भन्ने रहेको छ । 

सन् १९६१ मा अन्तर्राष्ट्रिय रङ्गमञ्च इन्स्चिच्युटको अवधारणाअनुसार हरेक वर्षको मार्च २७ तारिखमा विश्व रङ्गमञ्च दिवस मनाउने गरिएको छ ।

नेपालमा पनि रङ्गकर्मीहरुले नाटक प्रस्तुतिसहितका कार्यक्रम गरेर दिवस मनाउने गरेका छन् । केही वर्षदेखि नेपालमा रङ्गमञ्चको आकर्षण बढ्दै गएको छ । सन् १९६२ मा पहिलो विश्व रङ्गमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटकार जेन ककटेउले लेखेका थिए । केही वर्षयता नेपालमा रङ्गमञ्चप्रति आकर्षण बढ्दै गएको पाइएको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्युन चापिय प्रणालीका साथै स्थानीय वायूको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी तराईका भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। हाल बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा/हिमपातको भईरहेको छ।

आज दिउँसो देशको हिमाली भू-भागमा अधिकांश बादल, पहाडी  भू-भागमा साधारणतया बादल र तराई भू-भागमा  आंशिक बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका धेरै स्थानहरूमा , बाँकी प्रदेशका पहाडी र हिमाली भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । 

त्यस्तै आज राती देशको हिमाली भू-भागमा अधिकांश बादल तथा कोशी र मधेश प्रदेश लगायत देशका पहाडी भू-भागमा  साधारणतया बादल लाग्नेछ भने तराई भू-भागमा आंशिक बादल लाग्नेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका थोरै तथा तराई भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावाहुरी/असिना सहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More