२०८३ बैशाख १३

कम्बोडियामा अलपत्र परेका १२ नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अलपत्र परेका १२ जना नेपालीको उद्धार गरी स्वदेश फर्काइएको छ ।

थाइल्याण्डस्थित नेपाली राजदूतावासको पहल तथा कम्बोडिया सरकारको सहयोगमा गैरआवासीय नेपाली संघ कम्बोडियाको समन्वयमा उनीहरूलाई उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरू चैत्र १६ गते कम्बोडियाबाट उडेर मंगलबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

उनीहरू विभिन्न व्यक्तिको प्रलोभनमा परी कम्बोडिया पुगेका र त्यहाँ अवैधरूपमा सञ्चालन भइरहेका अनलाइन ठगी केन्द्र तथा क्यासिनोमा गैरकानुनी काममा लगाइएका थिए । साथै केही नेपाली बिना भिसा बसिरहेको अवस्थामा भेटिएको राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार कम्बोडियामा यस्तै समस्यामा परेका अन्य नेपालीलाई समेत स्वदेश फर्काउने पहल जारी रहेको छ । यस्तो अवस्थामा रहेका नेपालीलाई शीघ्र सम्पर्कमा आउन आग्रह गरिएको छ ।

राजदूतावासले अनलाइन ठगी केन्द्रमा काम लगाइएकाहरूको राहदानी कम्पनीले जफत गर्ने वा हराउने समस्या देखिएको जनाएको छ । यस्तो अवस्थामा नेपाल फर्किन चाहनेका लागि राजदूतावासले निःशुल्क एकतर्फी यात्रा अनुमतिपत्र उपलब्ध गराउँदै आएको छ ।

पछिल्लो तथ्याङ्कअनुसार कम्बोडिया जाने नेपालीको संख्या तीव्र रूपमा बढेको देखिएको छ । सन् २०२१ मा १०१ जना नेपाली गएकोमा सन् २०२५ मा यो संख्या बढेर ९६७६ पुगेको छ ।

राजदूतावासले श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान र छिटो धेरै पैसा कमाउने प्रलोभनमा परी कम्बोडिया, लाओस, म्यानमार, थाइल्याण्ड लगायतका मुलुकमा भ्रमणको बहानामा नजान पुनः आग्रह गरेको छ । 

Read More

एमालेको सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्न लागेको छ ।

केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजे बैठक बस्ने भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा जारी आन्दोलन र दलको संसदीय दलको नेता छनोट बारेमा छलफल हुने बताइएको छ ।

Read More

नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आज लाओसविरुद्ध खेल्दै छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा नेपालले आज लाओसको सामना गर्ने भएको हो ।

यो खेल लाओसको भियन्टियानमा रहेको लाओ राष्ट्रिय रंगशालामा नेपाली समय अनुसार साँझ ५: ४५ बजेदेखि शुरु हुदैछ ।    

लाओसविरुद्ध खेल्न एन्फाले किरणकुमार लिम्बुको कप्तानीमा एन्फाले २३ सदस्यीय टिम घोषणा गरेको छ । नेपाली टिममा किरण कुमार लिम्बु (कप्तान, गोलकिपर), अभिषेक लिम्बु, आदित्य शाक्य, अनन्त तामाङ, आयुष घलान, विमल पाण्डे, विशाल सुनार (गोलकिपर), दिपेश गुरुङ, जिलेस्पी जंग कार्की, क्रितिश रत्न छुन्जु, मणी कुमार लामा, मनिष डाँगी, मिलन राई, पेम्बा डोर्जे लामा, रोहन कार्की, रोहित चन्द, रोमन भुजेल, सनिश श्रेष्ठ, सुमन श्रेष्ठ, समित श्रेष्ठ, योगेश धिमाल(गोलकिपर), योगेश गुरुङ र युवराज खड्का रहेका छन् ।

नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा नियक्त भएका  स्वीट्जरल्यान्डका गुग्लिएल्मो एरेनाको यो पहिलो खेल हो । 

नेपाल र लाओस दुवैको ५-५ खेलमा ३-३ अंक रहेको छ र छनौट चरणबाट दुवै बाहिरिएका छन् । 

Read More

अमेरिकाले इरानमा जमिनबाट कारवाही गर्न सक्ने, युरेनियम नियन्त्रणमा लिमे ट्रम्पको रणनीति

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध जमिनबाट सैन्य कारबाहीको आदेश दिन सक्ने संकेत देखिएको छ । अमेरिकी पत्रिका द वाल स्ट्रिट जनरलको रिपोर्ट अनुसार ट्रम्प इरानसँग रहेको समृद्ध युरेनियम नियन्त्रणमा लिन चाहेको उल्लेख छ ।

रिपोर्टमा इरानसँग करिब ४०० किलो समृद्ध युरेनियम रहेको उल्लेख छ, जसलाई आणविक हतियार निर्माणमा प्रयोग गर्न सकिने बताइएको छ । ट्रम्पले आफ्ना सहयोगीहरूलाई इरानले उक्त युरेनियम छोड्नै पर्ने भन्दै वार्ताबाट सम्भव नभए बल प्रयोग गरेर पनि नियन्त्रणमा लिन सकिने बताएका छन् ।

यसैबीच अमेरिका मध्यपूर्व क्षेत्रमा थप करिब १० हजार सैनिक पठाउने तयारीमा रहेको जनाइएको छ, जसमा ३५ सय सैनिक पहिले नै त्यहाँ पुगिसकेका छन् ।

अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीका प्रमुख राफेल ग्रोसीका अनुसार इरानको ठूलो युरेनियम भण्डार केही आक्रमणपछि भग्नावशेषमुनि दबिएको हुन सक्ने अनुमान गरिएको छ । यो सामग्री इस्फहान र नतांजजस्ता भूमिगत संरचनामा रहेको हुन सक्ने बताइएको छ ।

इरानका विदेशमन्त्री अब्बास आघराचीले भने अधिकांश युरेनियम भग्नावशेषमुनि रहेको र तत्काल निकाल्ने योजना नभएको बताएका छन् । साथै इरानसँग अझै युरेनियमलाई थप समृद्ध बनाउन सक्ने उपकरणहरू रहेको र नयाँ गोप्य संरचना बनाउन सक्ने क्षमता पनि रहेको जनाइएको छ ।

रिपोर्टअनुसार ट्रम्प र उनका केही सहयोगी सीमित र लक्षित सैन्य कारबाहीमार्फत युरेनियम नियन्त्रणमा लिन सकिने विश्वासमा छन् । यसले युद्ध लामो नलम्बिने र छोटो समयमै टुंग्याउन सकिने उनीहरूको धारणा छ । ट्रम्प स्वयं पनि लामो युद्धबाट टाढा रहन चाहिरहेका बताइएको छ ।

तर विज्ञहरूले यस्तो जमिनीय कारबाही जोखिमपूर्ण हुने चेतावनी दिएका छन् । उनीहरूका अनुसार ठूलो संख्यामा सैनिक इरानभित्र पठाउनुपर्ने हुन्छ, जसले थप द्वन्द्व र जनधनको क्षति बढाउन सक्छ । यदि जबरजस्ती युरेनियम नियन्त्रणमा लिन प्रयास गरियो भने इरानबाट कडा प्रतिकार हुनसक्ने र युद्ध झन् लम्बिन सक्ने आशंका गरिएको छ ।

Read More

सभ्य र सुसंस्कृत समाज निर्माणका लागि महावीर जयन्तीले प्रेरित गर्छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले २६२५ औँ महावीर जयन्तीका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण जैन धर्मावलम्बीहरूलाई सुख, शान्ति र समृद्धिको कामना गरेका छन् ।

राष्ट्रपतिले दिएको सन्देशमा हरेक वर्ष चैत्र शुक्ल त्रयोदशीका दिन नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी महावीर जयन्ती मनाउने परम्परा रहेको उल्लेख गरेका छन् । उनले महावीरले देखाएको अहिंसा, सत्य, अचौर्य, ब्रह्मचर्य र अपरिग्रहका मार्ग मानव जीवनका लागि मार्गदर्शक रहेको बताएका छन् ।

नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायले उत्साहका साथ यो पर्व मनाउँदै आएको उल्लेख गर्दै उनले धार्मिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्न महावीरका शिक्षाले सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

राष्ट्रपतिले अहिंसा र संयमको मार्ग अपनाएर समाजमा एकता, विश्वास र प्रेम बढाउन सबैलाई आह्वान गर्दै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि महावीर जयन्तीले प्रेरणा दिने विश्वास समेत व्यक्त गरेका छन् ।

Read More

काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

काठमाडौं । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको समयमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी रहेका छवि रिजाल पक्राउ परेका छन् ।

नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय मंगलबार बिहान रिजाललाई काठमाडौँको सुविधानगरबाट पक्राउ परेको हो ।

उनीमाथि प्रदर्शनकारीलाई गोली चलाउन आदेश दिएको आरोप छ । गौरीबहादुर कार्की आयोगले रिजाललाई कारवाहीको सिफारिस गरेको थियो । आयोगकै सिफारिस अनुसार प्रहरीले यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिसकेको छ । 

Read More

नासाको चन्द्रमा अभियान आर्टेमिस- २ को प्रक्षेपण अन्तिम चरणमा

काठमाडौँ । करिब आधा शताब्दीपछि मानव फेरि चन्द्रमातर्फ फर्किने तयारीमा पुगेको छ । अमेरिकी अन्तरिक्ष संस्था नासाको आर्टेमिस- २ अभियान अहिले अन्तिम चरणमा पुगेको छ र प्रक्षेपण नजिकिएको जनाइएको छ ।

यस अभियानअन्तर्गत चार अन्तरिक्षयात्रीलाई करिब पाँच लाख माइलभन्दा बढी दूरीको यात्रामा पठाइनेछ । प्रक्षेपणका लागि स्पेस लन्च प्रणाली र ओरायन अन्तरिक्ष यानलाई पुनः प्रक्षेपण स्थल ३९बी मा स्थापना गरिएको छ । अप्रिलको शुरुमै प्रक्षेपण हुने सम्भावना रहेको छ ।

नासाका अनुसार यो १० दिनको यात्रा केवल चन्द्रमाको परिक्रमा मात्र नभई भविष्यमा मानव अवतरण र स्थायी आधार स्थापना गर्ने दिशामा महत्वपूर्ण कदम मानिएको छ । तर यो अभियान जोखिमपूर्ण पनि मानिएको छ, किनकि यसअघि मानवसहित प्रयोग नभएको यानमा पहिलो पटक अन्तरिक्षयात्री पठाइँदैछ । प्राविधिक समस्याका कारण मार्चमा स्थगित भएको यो अभियान अहिले अन्तिम परीक्षणपछि तयारी अवस्थामा पुगेको हो ।

यस अभियानमा कमाण्डर रीड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सन सहभागी हुदैछन् । तीन अमेरिकी र एक क्यानडेली गरी चार सदस्यीय टोलीले दुई वर्षभन्दा बढी समय तालिम लिएका छन् । तीमध्ये तीन जनाले यसअघि अन्तरिक्ष यात्रा गरिसकेका छन् भने ह्यान्सन पहिलो पटक उडानमा सहभागी हुँदैछन् ।

अभियानको सबैभन्दा संवेदनशील क्षण चन्द्रमाको पछाडिको भागमा पुग्दा आउनेछ, जहाँ ३० देखि ५० मिनेटसम्म पृथ्वीसँग सम्पर्क विच्छेद हुनेछ । पृथ्वीमा फर्किँदा यानले अत्यन्त उच्च गतिमा वायुमण्डलमा प्रवेश गर्नेछ र अत्यधिक तापक्रम सहनुपर्नेछ ।

पूरा यात्राका क्रममा अन्तरिक्षयात्रीहरू ओरायन क्याप्सुलभित्र बस्नेछन्, जसको आकार सीमित रहेको छ । त्यही सानो स्थानमा उनीहरूले काम, खानपिन, आराम र व्यायाम गर्नुपर्नेछ । क्याप्सुलमा जीवन सहायक प्रणाली, पानी, खाद्यान्न र अन्य आवश्यक उपकरणको व्यवस्था गरिएको छ ।

यो अभियान सफल भएमा मानवलाई पुनः चन्द्रमामा पठाउने योजनामा ठूलो उपलब्धि हासिल हुने विश्वास गरिएको छ ।

Read More

आइपिएलमा आज गुजरात र पञ्जाव आमने सामने हुदै

काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज गत सिजनको उपविजेता पञ्जाव किंग्स र गुजरात टाइटन्स आमने सामने हुदैछन् । न्यू चण्डीगढ क्रिकेट मैदानमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ ।

पञ्जावको कप्तानी श्रेयस अय्यरले गर्दैछन् भने गुजरातको कप्तानी भारतीय कप्तान शुभमन गिलले गर्दैछन् । पञ्जावमा प्रियांस आर्या, कप्तान अय्यर र शशांक सिंह जस्ता ब्याट्सम्यानको भूमिका प्रमुख हुने देखिन्छ भने राष्ट्रिय टिमका बलर अर्शदीप सिंह र स्पीनर युजवेंद्र चहलले पञ्जावलाई थप बलियो बनाएका छन् ।     

त्यस्तै गुजरातका लागि भने कप्तान गिलसहित साइ सुदर्शन, ग्लेन फिलिप्स र जोस बटलरको रन बनाउने जिम्मेवारी हुने छ भने राशिद खान, मोहमद सिराज र साइ किशोरको बलिङ डिपार्टमेन्ट सम्हाल्ने जिम्मेवारी हुनेछ । 

आइपिएलमा अहिलेसम्म गुजरातले २०२२ मा उपाधि जितेको छ भने २०२३ मा उपविजेता बनेको छ । पञ्जावले अहिलेसम्म उपाधि जित्न सकेको छैन ।      

Read More

मुग्लिङ-नागढुङ्गा सडक आजदेखि तीन दिन रातिमा बन्द हुने

काठमाडौँ । मुग्लिङ-नागढुङ्गा सडकखण्ड आजदेखि तीन दिन रातिमा बन्द हुने भएको छ । 

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार चितवनको इच्छाकामना गाउँपालिका-४ को घोप्टेभिर लगायतका विभिन्न स्थानहरुमा सडक स्तरोन्नतीको कार्य गर्नका लागि आजदेखि चैत्र १९ गतेसम्म राती १० बजेदेखि बिहान ४ बजेसम्म अत्यावश्यक सेवा बाहेकका सबै प्रकृतिका सवारी साधनहरुको आवागमन बन्द रहने जानकारी दिएको छ ।

Read More

प्रमुख प्रशासकीय अधिकृत विहिन ६३ स्थानीय तहमा उपसचिव खटाइयो

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उपसचिव वा सो सरहका ६३ जना कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ । 

सोमबार उनीहरुलाई लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहिन भएका स्थानीय तह तथा जिल्ला समन्वय समितिमा खटाइएको मन्त्रालयले जनाएको छ । 

खटाइएका मध्ये केहीलाई सरुवा गरिएको छ भने धेरैलाई स्थानीय तहमा कामकाजका लागि खटाइएको छ ।

Read More