२०८३ बैशाख १३

सभामुखको मनोनयन दर्तापछि डिपी अर्यालले भने- न्यायसंगत रुपमा काम गर्छु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख पदका लागि मनोनयन दर्ता गरेका डोलप्रसाद (डीपी) अर्यालले न्यायसंगत रुपमा काम गर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सभामुख पदका लागि आज मनोनयन दर्ता गरेपछि पत्रकारहरुसँग प्रतिक्रिया दिंदै अर्यालले राष्ट्र र जनताको हितमा नेपालको संविधान, कानुन अनुसार न्यायसंगत काम गर्ने बताएका हुन् । 

अर्यालले सभापति रवि लामिछानेको प्रस्ताव र  कानुनमन्त्री समेत रहेकी सोविता गौतम, अर्थमन्त्री स्वर्णिम वाग्ले र भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालको समर्थनमा मनोनयन दर्ता गराएका छन् ।  

संसद सचिवालयको निर्वाचन कार्यतालिका अनुसार आज २ बजेसम्म मनोनयन दर्ताको समय रहेको छ भने साढे २ बजे उम्मेदवारको नाम प्रकाशित हुने छ । त्यस्तै सभामुखको निर्वाचनका आइतबार बस्ने प्रतिनिधि सभमा हुने छ ।

प्रतिनिधि सभामा रास्वपाको स्पष्ट बहुमत रहेकाले अर्याल सभामुख बन्ने निश्चित रहेको छ । 

Read More

दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द

काठमाडौँ  । नेपाल राष्ट्र बैंकको विराटनगर कार्यालयले दुई मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । 

बैंकबाट मनिचेञ्जर कारोवार गर्न इजाजतपत्रप्राप्त गरेको दुई कम्पनि अमृत लक्ष्मी मनि चेन्जर प्रालि मोरङ र सुपर फाइन मनि चेन्जर प्रालि विराटनगर को इजाजत रद्ध गरिएको हो ।  

राष्ट्र बैंकको मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ (चौथो संशोधनसहित) को विनियम १९ को उप विनियम (३) मा भएको व्यवस्थाबमोजिम तोकिएको समयमा (म्याद समाप्त भएको मितिले तीन महिनाभित्र) नवीकरण गर्न नसकेकोले इजाजतपत्र रद्द गर्ने निर्णय भएको बैंकले जनाएको छ ।

Read More

जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ ।  प्यूठान, उदयपुर र रुपन्देहीबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ परेका छन् ।

प्युठान, १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सरूमारानी गाउँपालिका-१ फर्सावाङ बस्ने ३२ वर्षीय तिलक विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ । तिलकले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी ढुङ्गेगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  

 उदयपुर, १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरगढी गाउँपालिका-७ हाडेबास बस्ने २० वर्षीय बिपु परियारलाई प्रहरीले पक्राउ गरेको छ । बिपुले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

रूपन्देही, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चन गाँउपालिका-१ बस्ने ४२ वर्षीय मन बहादुर थारूलाई प्रहरीले पक्राउ गरेको छ । मन बहादुरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

Read More

प्राविधिक प्रहरीतर्फ नयाँ भर्नाका लागि दरखास्त आव्हान

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न जम्मा ६ सय ७ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । जसमध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक, प्राविधिक प्रहरी सहायक निरीक्षक र प्राविधिक प्रहरी जवान पदका लागि दरखास्त आव्हान गरिएको हो । 

नयाँ भर्नाका लागि दरखास्त आव्हानमध्ये ईन्जिनियरिङतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि १४ जना, प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि १५ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ६५ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी स्वास्थ्यतर्फ प्राविधिक प्रहरी नायव उपरीक्षक पदका लागि १ जना, प्राविधिक प्रहरी निरीक्षक पदका लागि १० जना, प्राविधिक प्रहरी नायव निरीक्षक ८ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ८ जना, विधि विज्ञानतर्फ प्राविधिक प्रहरी निरीक्षक पदका लागि २ जना र प्राविधिक प्रहरी नायव निरीक्षक पदका लागि ३ जना तथा हातहतियारतर्फ प्राविधिक प्रहरी सहायक निरीक्षक पदका लागि ३ जना नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको हो । यसैगरी प्राविधिक प्रहरी समूह अन्तर्गत विभिन्न उपसमूहतर्फ रिक्त ४ सय ७८  जना प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्नाका लागि दरखास्त आव्हान गरिएको छ । 

दरखास्त दिने उम्मेदवारहरू मध्ये प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदको लागि नेपाल प्रहरीको Online Recruitment Management System (ORMS) मार्फत अनलाइन दरखास्त दिनुपर्ने छ । अनलाइनबाट दरखास्त दिन नेपाल प्रहरीको वेबसाइट www.nepalpolice.gov.np को Career भित्र Online Application वा https://careers.nepalpolice.gov.np बाट फारम भर्न सकिने छ ।  

ईन्जिनियरिङतर्फ दरखास्त दिने उम्मेदवारहरूले नेपाल प्रहरी प्रधान कार्यालय संचार निर्देशनालय, सूचना प्रविधि निर्देशनालय, भौतिक पूर्वाधार निर्देशनालय र सवारी महाशाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । यसैगरी स्वास्थ्यतर्फ नेपाल प्रहरी अस्पताल महाराजगंज, विधि विज्ञानतर्फ नेपाल प्रहरी विधि विज्ञान प्रयोगशाला सामाखुसी र हातहतियारतर्फ नेपाल प्रहरी प्रधान कार्यालय हातहतियार मर्मत शाखामा अनलाईन दरखास्त फारम भर्न सकिने छ । साथै प्राविधिक प्रहरी जवान पदको लागि ७ वटै प्रदेश प्रहरी तालिम केन्द्र, ३ वटा जिल्ला प्रहरी परिसर र ७४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा दरखास्त दिन सकिने छ । 

प्राविधिक प्रहरी नायव उपरीक्षक, प्राविधिक प्रहरी निरीक्षक र प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २५ गतेदेखि २०८३ वैशाख २४ गतेसम्म अनलाइन प्रणालीमार्फत कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् । साथै प्राविधिक प्रहरी जवान पदमा नयाँ भर्ना हुन इच्छुक नागरिकहरूले चैत २६ गतेदेखि २०८३ वैशाख ३१ गतेसम्म कार्यालय समयभित्र दरखास्त फारम बुझाउन सक्नेछन् ।

दरखास्त आव्हान सम्बन्धी विस्तृत विवरण सहितको सूचना तथा सम्बन्धित पदको पाठ्यक्रम नेपाल प्रहरीको वेबसाइटमा समेत राखिएको छ ।

Read More

अर्को अमेरिकी एफ- ३५ लडाकु विमान खसालेको इरानको दाबी

काठमाडौँ । इरानले फेरि अर्को अमेरिकी एफ–३५ लडाकु विमान खसालेको दाबी गरेको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्ससँग सम्बन्धित फर्स समाचार संस्थाको टेलिग्राम पोस्टमा यो दाबी सार्वजनिक गरिएको हो ।

दाबी अनुसार उक्त लडाकु विमान इरानमाथिको आकाशमा उडान गरिरहेको बेला लक्षित गरी खसालिएको हो । विमान पूर्ण रूपमा नष्ट भएको र त्यसमा रहेका पाइलटबारे कुनै ठोस जानकारी प्राप्त नभएको पनि जनाइएको छ ।

मेहर समाचार संस्थाले समेत ठूलो विस्फोटपछि पाइलट सुरक्षित रूपमा बाहिर निस्किन सक्ने सम्भावना निकै कम रहेको उल्लेख गरेको छ । यस दाबीबारे अमेरिकी केन्द्रीय कमाण्डले तत्काल कुनै प्रतिक्रिया दिएको छैन ।

इरानले यस अघि अघिल्लो साता पनि इरानले अमेरिकी एफ- ३५ विमान खसालेको दाबी गरेको थियो ।

Read More

एमालेको रक्षाका लागि ईश्वर पोखरेलको अपिल

काठमाडौँ । नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीको वर्तमान परिस्थितिबारे गम्भीर अपिल गर्दै संगठनलाई जोगाउन सबै नेता-कार्यकर्तालाई एकताबद्ध हुन आग्रह गरेका छन् ।

पोखरेलले एमाले स्थापना कालदेखि नै कठिन अवस्थासँग जुध्दै विचार, विधि र संगठनात्मक अनुशासनका आधारमा अघि बढेको पार्टी भएको बताउदै सामूहिक नेतृत्व, आन्तरिक सन्तुलन र आत्मसमीक्षाको अभ्यासले नै एमालेलाई जनताबीच स्थापित गरेको उल्लेख गरेका छन् ।

उनले हालै सम्पन्न महाधिवेशनलाई स्मरण गर्दै त्यतिबेला पार्टीलाई नयाँ गति दिने र सुधारका विषयमा गम्भीर छलफल भएको उल्लेख गर्दै ती निष्कर्षहरूलाई बिर्सनु नहुने र सबै पक्षलाई त्यसै आधारमा अघि बढ्न आग्रह गरेका छन् ।

उनले भनेका छन्- ‘हामीमाथि अहिले भइरहेका चौतर्फी षडयन्त्रपूर्ण हमलाको मुकाविला गर्दै लडेको ठाउंबाट धुलो टक्टक्याउंदै उठ्न सक्छौं  !  सिद्धान्तहीन सत्ता स्वार्थ, यसैबाट निर्देशित हुंदै प्रकट हुने सत्ता अवसरवाद , आत्मकेन्द्रीत भई प्रकट हुने अभिव्यक्तिहरू , विधि/ पद्धति विपरित गतिविधिहरू अत्यन्त हानिकारक विषय हुन् । यी कुराबाट बच्दै पार्टीलाई नेपाली जनताको प्रिय पार्टी बनाउन, यसलाई नयां स्तरमा गतिवान बनाउन एकतावद्ध भएर अगाडि बढ्नु अहिलेको आवश्यकता हो ।’

पोखरेलले सिद्धान्तभन्दा टाढा गएर व्यक्तिगत स्वार्थमा केन्द्रित हुने प्रवृत्ति, सत्ता केन्द्रित अवसरवाद र विधि-पद्धति विपरीतका गतिविधिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिएका छन् ।

उनले गतिलाई बुझ्नैपर्ने बताउदै गति अनुसारको मति बनाउन अपिल गरेका छन् । उनले भनेका छन्- ‘विकसित परिस्थिति अनुसार आफ्ना चिन्तनर व्यवहारमा सुधार गरौं ! आफ्ना ( बिग्रिएका ) मति अनुकूल गतिलाई बुझ्ने मुर्खता नगरौं ! गति अनुसार मति सपार्ने काममा लागौं ! सिंगो एमाले पंक्तिले यो कुरा बुझौं !!  अहिले चुनौतीको भूंवरीमा परेको एमालेलाई यसरी मात्र बचाउन सकिन्छ- यसरी मात्र रक्षा गर्न सकिन्छ !!’

पोखरेलले एमाले अहिले चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको भन्दै संगठनको रक्षा र सुदृढीकरणका लागि साझा प्रयास अपरिहार्य भएको बताएका छन् ।

Read More

अमेरिकी आर्मी प्रमुखसहित वरिष्ठ सैनिक अधिकारी बर्खास्त

काठमाडौँ । अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले दुई वरिष्ठ सैनिक अधिकारीलाई पदबाट हटाउने निर्णय गरेका छन् । यसअघि आर्मी प्रमुख जनरल र्‍यान्डी जर्जलाई हटाएपछि थप अधिकारीलाई पनि हटाइएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रिपोर्ट अनुसार आर्मीको रूपान्तरण तथा तालिम कमान्डका प्रमुख जनरल डेभिड होड्ने र आर्मीको च्याप्लिन समूहका प्रमुख मेजर जनरल विलियम ग्रीन जुनियरलाई पदमुक्त गरिएको हो । 

यसैबीच अमेरिकी नौसेनाको सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्ड पुनः समुद्रमा फर्किएको छ । अमेरिकी छैटौं बेडाको वक्तव्यअनुसार उक्त जहाज अब पूर्ण रूपमा अभियानका लागि तयार अवस्थामा रहेको छ ।

उक्त युद्धपोत क्रोएसियाको स्प्लिट बन्दरगाहबाट प्रस्थान गरी आवश्यक परे जुनसुकै क्षेत्रमा परिचालन हुन सक्ने बताइएको छ । गत मार्च १२ मा लाल सागर क्षेत्रमा परिचालनकै क्रममा जहाजको कपडा धुने भागमा आगलागी भएको थियो ।

अमेरिकी नौसेनाका वरिष्ठ अधिकारी डेरिल कडलले जहाजका कर्मचारीको प्रशंसा गर्दै छिट्टै आगो नियन्त्रणमा लिएको र दुई दिनभित्रै पुनः सञ्चालन सुरु गरिएको बताएका छन् ।

आगलागीपछि करिब एक सातापछि उक्त युद्धपोतलाई इरानविरुद्धको कारबाहीबाट फिर्ता बोलाएर मर्मतका लागि ग्रीस पठाइएको थियो । त्यहाँ जहाजका आवासीय भागहरूको मर्मतसम्भार गरिएको जनाइएको छ ।

Read More

अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने सरकारको घोषणा

काठमाडौं ।  सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमुना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले आवासीय विद्यालय स्थापना गर्नका लागि सातै प्रदेशमा अटिजम विद्यालय कार्यान्वयन समिति गठन गरिएको जानकारी दिएका छन् । 

कार्यक्रम प्रभावकारी बनाउन अन्तर मन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयन तीव्र बनाएको उनले बताएका छन् ।

Read More

ओरेकलले एकैपटक हटायो करिब ३० हजार कर्मचारी

काठमाडौँ । अमेरिकी प्रविधि कम्पनी ओरेकलले करिब ३० हजार कर्मचारीलाई एकैपटक जागिरबाट हटाएको छ । तीमध्ये करिब १२ हजार कर्मचारी भारतका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कम्पनीले अर्को चरणको कटौती पनि चाँडै सुरु गर्न सक्ने संकेत देखिएको छ ।

रिपोर्टका अनुसार कर्मचारीहरूले बिहान इमेलमार्फत सेवाबाट हटाइएको सूचना पाएका थिए । सोही दिनलाई अन्तिम कार्यदिवस तोकिएको र केही समयमै कार्यालयका सबै प्रणालीमा पहुँच बन्द गरिएको थियो । कम्पनीले भने हालसम्म यस्तो निर्णयको स्पष्ट कारण सार्वजनिक गरेको छैन ।

कर्मचारीलाई पठाइएको सन्देशमा कम्पनीको वर्तमान आवश्यकताअनुसार संगठनमा ठूलो परिवर्तन गर्दै पद कटौती गरिएको उल्लेख गरिएको छ । साथै, कामप्रतिको योगदानका लागि धन्यवाद दिँदै आवश्यक प्रक्रिया पूरा गरेपछि सेवा अन्त्य सुविधा उपलब्ध गराइने पनि जनाइएको छ ।

कम्पनीका एक वरिष्ठ अधिकारीले सामाजिक सञ्जालमार्फत वरिष्ठ इन्जिनियर, प्राविधिक विशेषज्ञ, कार्यक्रम व्यवस्थापक लगायतका कर्मचारी प्रभावित भएको बताएका छन् । उनले यो निर्णय कार्यसम्पादनका आधारमा नभएको स्पष्ट पारेका छन् ।

यसबीच, केही रिपोर्टमा कम्पनीले कृत्रिम बौद्धिकता क्षेत्रमा ठूलो लगानी गरिरहेको र त्यसकै कारण कर्मचारी संख्या घटाइएको उल्लेख गरिएको छ । नयाँ प्रविधिको प्रयोगले कम जनशक्तिबाट बढी काम गर्न सकिने भएकाले यस्तो कदम चालिएको बताइएको छ ।

विशेषज्ञहरूले यसलाई ‘लुकेर गरिने जागिर कटौती’ का रूपमा व्याख्या गरेका छन्, जहाँ कम्पनीहरूले ठूलो घोषणा नगरी विस्तारै कर्मचारी घटाउँदै जान्छन् । पछिल्ला महिनामा अन्य ठूला प्रविधि कम्पनीहरूमा पनि यस्तै प्रवृत्ति देखिएको छ ।

ओरेकल सन् १९७७ मा स्थापना भएको अमेरिकी कम्पनी हो, जसले डेटा व्यवस्थापन र क्लाउड सेवा प्रदान गर्दै आएको छ । विश्वभरका बैंक, सरकारी निकाय र ठूला व्यवसायहरूले यसको प्रविधि प्रयोग गर्दै आएका छन् ।

Read More

७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७८ गाउँपालिकामा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाइएको छ ।

मन्त्रालयको अतिरिक्त समूहमा रहेका तथा विभिन्न मन्त्रालय र निकायमा कार्यरत ७८ जना शाखा अधिकृतलाई देशभरका गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीसहित पठाइएको जानकारी दिएको हो । स्थानीय तहहरूमा लामो समयदेखि निमित्तकै भरमा प्रशासन सञ्चालन हुँदै आएको थियो । 

मन्त्रालयले यसअघि नगरपालिकाहरूमा निमित्त प्रमुख प्रशासकीय अधिकृत हटाई उपसचिव खटाएको थियो ।

मन्त्रालयका अनुसार अझै केही नगरपालिका र गाउँपालिकामा निमित्तकै भरमा काम भइरहेको छ । त्यसैले सबै स्थानीय तहमा स्थायी प्रमुख प्रशासकीय अधिकृत खटाई ‘निमित्त शून्य’ अवस्था सिर्जना गर्ने सरकारको तयारी रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार सरुवाका आधारहरूमा एउटै निकायमा दुई वर्षभन्दा बढी समय कार्यरत कर्मचारी, मन्त्रालयको अभिलेखमा स्थानीय तहमा बसेको नदेखिएको अवस्था, घर ठेगाना मिल्दोजुल्दो भएका कर्मचारी, तथा स्थानीय तहको सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन जनशक्ति व्यवस्थापन गरिएको छ । 

Read More