२०८३ बैशाख १३

सशस्त्रका प्रहरी निरीक्षक घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाबाट सशस्त्र प्रहरी निरीक्षकलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

धनुषाको नक्टाझिजस्थित सशस्त्र प्रहरी सुरक्षा बेसमा कार्यरत निरीक्षक वकिल अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा पक्राउ गरिएको हो ।

आयोगका अनुसार कमला-ढल्केवर-बाग्मती सडक निर्माण खण्डमा प्रयोग हुने सवारीसाधन रोक्ने, माटो तथा ग्राभेल झार्न नदिने र विभिन्न बहाना बनाई दुःख दिने गरी सेवाग्राहीसँग घुस माग गरिएको भन्ने उजुरीका आधारमा कारबाही गरिएको हो ।

बर्दिवासस्थित आयोगको टोलीले मिथिला नगरपालिका- १० लालगढबाट उनलाई घुस रकमसहित नियन्त्रणमा लिएको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जानकारी दिएको छ ।

Read More

सोलुखुम्बु मालपोतका तत्कालीन प्रमुखसहित चार जनाविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोलुखुम्बु मालपोत कार्यालयका तत्कालीन प्रमुख स्वर्गीय केशवबहादुर कार्की, तत्कालीन खरिदार तेजनाथ पौडेलसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार सरकारी स्वामित्वमा रहेको जग्गा गैरकानुनी रूपमा व्यक्तिको नाममा दर्ता गराएर हानि पुर्‍याएको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो ।

अनुसन्धानका क्रममा साविक चौरीखर्क गाउँ विकास समिति–८ स्थित कित्ता नम्बर ४१८ र ४१९ को सरकारी जग्गा गलत विवरण तयार गरी व्यक्तिको नाममा दर्ता गरिएको पाइएको छ । उक्त जग्गा फिल्डबुकमा सरकारको नाममा रहेको उल्लेख भए पनि मिलेमतोमा व्यक्तिको नाममा श्रेस्ता कायम गरिएको थियो । पछि उक्त जग्गामध्ये केही भाग किनबेचसमेत गरिएको र बाँकी जग्गा पनि सोही व्यक्तिको नाममा कायम राखिएको अनुसन्धानबाट खुलेको छ ।

आयोगले यस कार्यबाट सरकारलाई करिब १९ लाख ९० हजार रुपैयाँभन्दा बढी नोक्सानी पुगेको ठहर गरेको छ ।

उक्त कार्यमा संलग्नहरूले गैरकानुनी लाभ लिने र सरकारलाई हानि पुर्‍याउने उद्देश्यले काम गरेको पुष्टि भएको भन्दै भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार कारबाहीको माग गरिएको आयोगले जनाएको छ ।

Read More

पाकिस्तानको खैबर पख्तुनख्वामा आत्मघाती हमला, पाँच जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको खैबर पख्तुनख्वाको बन्नु जिल्लामा प्रहरी कार्यालय बाहिर आत्मघाती आक्रमण हुदा कम्तीमा पाँच जनाको ज्यान गएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

जियो न्यूजका अनुसार प्रहरी कार्यालयलाई लक्षित गरी गरिएको आक्रमण असफल पारिएको भए पनि घटनामा तीन महिला र एक बालकसहित पाँच सर्वसाधारणको मृत्यु भएको हो ।

घटनापछि सुरक्षा र उद्धार टोलीले प्रभावित क्षेत्रमा भग्नावशेष हटाउने, राहत वितरण गर्ने तथा खोजी कार्य जारी राखेको जनाइएको छ ।

हालैका दिनमा सुरक्षा निकायले सञ्चालन गरेका आतंकवादविरुद्धका कारबाहीपछि यो हिंसात्मक घटना भएको बताइएको छ । पछिल्लो दुई दिनमा मात्र खैबर पख्तुनख्वा क्षेत्रमा २२ जना आतंककारी मारिएको बताइएको छ ।

सैनिक जनसम्पर्क निकायका अनुसार अप्रिल १ मा खैबर जिल्लाको बारा क्षेत्र र बन्नुमा गरिएको सूचनामा आधारित कारबाहीमा १३ जना आतंककारी मारिएका थिए । त्यसको भोलिपल्ट उत्तर वजिरिस्तान क्षेत्रमा पाकिस्तान-अफगानिस्तान सीमामा थप आठ जना आतंककारी मारिएको जनाइएको छ ।

Read More

सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित

काठमाडौं ।  सभामुखमा डीपी अर्याल निर्विरोध निर्वाचित भएका छन् । सभामुखमा अर्यालको मात्र उम्मेदवार दर्ता भएको संसद सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार अर्यालले सभामुख पदका लागि उम्मेदवारी दर्ता गरेका थिए । अर्यालको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा डा. स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका थिए ।

अब आइतबारको प्रतिनिधि सभाको बैठकमा अर्यालको उम्मेदवारीको प्रस्ताव प्रस्तुत भएर औपचारिक रुपमा निर्वाचित भएको प्रक्रिया पुरा गरिने भएको छ । 

Read More

अनलाइनमार्फत ठगी गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१६ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-६ घर भएकी ५० वर्षीया वन कुमारी गुरूङलाई प्रहरीले पक्राउ गरेको छ । 

सामाजिक संजाल फेसबुकमा फेक एकाउन्ट खोली आकर्षक तलब, सुविधामा जापान पठाई दिन्छु भनी ४ जना पीडितहरूलाई व्यक्तिगत कागजातहरु समेत पठाउन लगाई, विभिन्न बैंक खातामा पटक-पटक गरी ९० लाख रूपैयाँ जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको समन्वयमा पक्राउ गरेको हो । 

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ ।  

Read More

इरानमा पक्राउ परेका नेपाली झा बारे परराष्ट्र मन्त्रालयले के भन्यो ?

काठमाडौं । इरानमा पक्राउ परेका नेपाली अमृत झाको बारेमा परराष्ट्र मन्त्रालयले अपडेट दिएको छ । 

परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गरेर इरानमा झा युद्ध शुरु हुनु अघि नै पक्राउ परेको जानकारी दिदै उनको विषय हाल अदालतमा रहेको जानकारी दिएको हो । 

मन्त्रालयले उनी पक्राउको विषय अदालतमा रहेकाके अहिले भन्न सकिने अवस्था नरहेको बताउदै झालाई वकिलले भेटेको र उनी सुरक्षित रहेको जनाएको छ  ।

साथै झाको सकुशल रिहाइका लागि नेपाली नियोग र परराष्ट्र मन्त्रालयले पहल गरिरहेको जानकारी दिएको छ ।

Read More

मध्यपूर्वका देशमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ नेपाली पक्राउ

काठमाडौं । पश्चिम एशियाका देशमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना नेपाली पक्राउ परेका छन् ।

परराष्ट्र मन्त्रालयले मध्यपूर्वका देशहरुमा अहिलेसम्म सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा ११ जना पक्राउ परेको जानकारी दिएको हो । 

त्यस्तै मन्त्रालयले इरानमा हाल ११ जना नेपाली रहेको अपडेट दिएको छ । 

Read More

बलात्कारको आरोप लागेपछि चलचित्र ‘पाँच पाण्डव’ बाट कलाकार सागर लम्साल ‘बले’ निष्कासित

काठमाडौं । अमेरिकामा अध्ययनरत एक युवतीले सामाजिक सञ्जालमार्फत कलाकार सागर लम्साल ‘बले’ माथि बलात्कारको आरोप लगाएपछि उनलाई चलचित्र ‘पाँच पाण्डव’बाट निष्कासन गरिएको छ ।

निर्माण कम्पनी कालीरानी फिल्म्स प्रा.लि.ले मंगलबार (चैत २० गते) एक प्रेस विज्ञप्ति जारी गर्दै नैतिकताका आधारमा लम्साललाई फिल्मबाट हटाउने र उनको ठाउँमा अर्को कलाकार लिएर पुनः छायांकन (रि-सुट) गर्ने निर्णय सार्वजनिक गरेको हो ।

विज्ञप्ति अनुसार गत चैत २ गतेदेखि झापा आसपासमा चलचित्रको छायांकन भइरहेको थियो । सागर लम्सालको करिब ९० प्रतिशत दृश्यहरू खिचिसकिएको अवस्थामा यो विषय बाहिर आएको हो । निर्माण पक्षले अब लमसाल संलग्न रहेका कुनै पनि दृश्य चलचित्रमा समावेश नगर्ने र ती सबै दृश्य फेरि खिच्ने (रि-सुट) स्पष्ट पारेको छ ।

चलचित्रका प्रस्तुतकर्ता नवीन श्रेष्ठका अनुसार ९० प्रतिशत काम सकिएको कलाकारलाई हटाउँदा फिल्मलाई ठूलो आर्थिक क्षति हुने भएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘जघन्य अपराधमा आरोप लागिसकेका जो कोही व्यक्ति पनि हाम्रो फिल्मको सदस्य हुन सक्दैनन् । पाण्डव जस्तो पवित्र नाम र विषयवस्तुमा आधारित भएर समाज निर्माणमा टेवा पुर्‍याउने उद्देश्यले बनिरहेको फिल्ममा आरोपितलाई प्रश्रय दिँदा न्याय प्रक्रियामा प्रभाव पर्न सक्ने खतरालाई मध्यनजर गर्दै सागर लम्सालसँगको सम्झौता आजकै मितिबाट रद्द गरिएको छ ।’

निर्माण पक्षले घटनाको सत्यतथ्य जाँचबुझका लागि जोडदार माग गर्दै पीडितले यथाशीघ्र न्याय पाउनुपर्ने बताएको छ । आरोपित लमसालले कानुनी बाटो अपनाउने प्रक्रिया आफ्नै ठाउँमा भए पनि नैतिक रूपमा विवादित भइसकेकाले उनलाई फिल्ममा राखिराख्न उचित नहुने प्रस्तुतकर्ता श्रेष्ठको भनाइ छ ।

बसन्त निरौलाको निर्देशनमा बनिरहेको यस चलचित्रमा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, दीपाश्री निरौला, महेश त्रिपाठी लगायतका चलेका कलाकारहरूको मुख्य भूमिका रहेको छ। लमसालको ठाउँमा अब कुन कलाकारलाई अनुबन्ध गरिन्छ भन्नेबारे निर्माण पक्षले केही खुलाएको छैन ।

Read More

को बन्ला उपसभामुख ?

काठमाडौं । सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभामुख डीपी अर्याल बन्ने निश्चित भएपछि अब उपसभामुख को बन्छ भन्ने चर्चा शुरु भएको छ ।

संबिधानमा सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने र फरक लिंगको हुनुपर्ने स्पष्ट व्यवस्था गरिएको छ । यस अनुसार अब सभामुख रास्वपाबाट अर्याल बन्ने निश्चित भएपछि उपसभामुख अन्य दलबाट महिला बन्ने निश्चित भएको छ ।

रास्पवाका नेताहरुले उपसभामुख बारे आफुहरु छलफलमा प्रवेश नै नगरेको बताएका छन् । सभामुखको मनोनयन दर्तापछि प्रतिक्रिया दिदै सभापति रवि लामिछानेले उपसभामुखको विषयमा अहिले छलफल नै नभएको बताए ।

त्यस्तै महामन्त्री कविन्द्र बुर्लाकोटीले संसदलाई प्रभावकारी र मर्यादित रुपमा अघि बढाउनका लागि अन्य दलहरूसँग छलफल सुरु गरेको बताउदै सभामुख चयन भएपछि उपसभामुखको विषयमा छलफल गर्ने बताएका छन् ।

यस संसदको संबिधान संशोधन गर्ने मुख्य कार्यभार समेत रहेकाले रास्वपाले आफुलाई सहज हुने दललाई उपसभामुख दिन सक्ने विश्लेषण शुरु गरिएको छ । यसका लागि रास्वपाको प्राथमिकतामा दोस्रो ठुलो दल नेपाली काँग्रेस वा यस संसदमा पहिलो पटक पुगेको श्रम संस्कृति पार्टी हुनसक्ने विश्लेषण गरिएको छ ।

उपसभामुखले सभामुखको अनुपस्थितिमा कार्यभार सम्हाल्ने, संवैधानिक परिषदको सदस्यको रुपमा संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तिको सिफारिस गर्ने, सभामुख विरुद्धको प्रस्तावमा अध्यक्षता गर्ने, पदभार ग्रहण गरेपछि उपसभामुख राजनीतिक दलको सदस्य भए पनि दलीय निष्ठाभन्दा माथि उठेर तटस्थ रूपमा भूमिका निर्वाह गर्नुपर्ने व्यवस्था गरिएको छ ।

प्रतिनिधि सभा नियमावली अनुसार संसदको कार्यव्यवस्था परामर्श समिति र अन्य गतिविधिमा सहयोग र सक्रिय भूमिका खेल्ने जस्ता संबिधान अनुसारका भूमिका उपसभामुखका रहेका छन् ।    

Read More

अभिषेक शर्मालाई किन गरियो कारवाही ?

काठमाडौँ । सनराइजर्स हैदराबादका विस्फोटक ओपनर अभिषेक शर्मामाथि अनुशासन उल्लंघनको आरोपमा जरिवाना गरिएको छ ।

जारी आइपिएल अन्तर्गतको गएराती सम्पन्न कोलकाता नाइट राइडर्सविरुद्धको खेलपछि अभिषेकलाई म्याच शुल्कको २५ प्रतिशत जरिवाना गरिएको छ भने उनको खातामा एक डिमेरिट अंक पनि थपिएको छ ।

अभिषेकले खेलका क्रममा आउट भएपछि अपशब्द प्रयोग गर्नुका साथै अम्पायरको निर्णयप्रति असहमति जनाएकाले कारबाही गरिएको हो । उनलाई आचारसंहिताको धारा २.३ अन्तर्गत स्तर- १ को उल्लंघनमा दोषी ठहर गरिएको छ ।

अभिषेकले आफूले गरेको गल्ती स्वीकार गर्दै म्याच रेफ्रीको निर्णय मानेकाले यस विषयमा थप सुनुवाई नहुने आइपिएल काउन्सिलले जनाएको छ ।

घटनाको विस्तृत विवरण सार्वजनिक नगरिए पनि फिल्डिङका क्रममा क्याच आउट भएपछि असन्तुष्टि जनाउँदै उनले अपशब्द प्रयोग गरेको बताइएको छ ।

यसअघि राम्रो प्रदर्शन गर्न नसकेका अभिषेकले उक्त खेलमा भने उत्कृष्ट ब्याटिङ गर्दै २१ बलमा चार चौका र चार छक्काको मद्दतमा ४८ रन बनाएका थिए । उनी सनराइजर्सका लागि सयभन्दा बढी छक्का प्रहार गर्ने दोस्रो खेलाडीसमेत बनेका थिएय् ।

सनराइजर्स हैदराबादले उक्त खेल जित्दै प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ ।

Read More