२०८३ बैशाख १३

पीएम कपमा अर्जुन कुमालको दोस्रो सतक, गण्डकी ८ विकेटले विजयी

काठमाडौँ ।  गण्डकी प्रदेशले जारी पीएम कप अन्तर्गत लुम्बिनी प्रदेशलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा गण्डकीले लुम्बिनी प्रदेशलाई ८ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको २०८ रनको लक्ष्य पछाएको गण्डकी प्रदेशले ४४.१ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो । गण्डकीको जितमा अर्जुन कुमालले १०३ रनको शतकीय पारी खेलेका थिए । यो यस पीएम कपमा अर्जुनको दोस्रो सतक हो । त्यस्तै क्रिबिन श्रेष्ठले ४३ रन बनाएका थिए भने दीपक डुम्रेले २५ र मुस्कान थापाले २३ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको लुम्बिनीले ४५ ओभरमा अल आउट हुदै २०७ रन बनाएको थियो ।लुम्बिनीका लागि सन्तोष यादवले ८२ र सालाउद्धीन खानले ६० रन बनाएका थिए ।त्यस्तै गण्डकीका बलर विपिन खत्रीले ४, अपराजित पौडेलले ३ र किब्रिन श्रेष्ठले २ विकेट लिएका थिए ।

यो जितपछि गण्डकीको ८ खेलमा ७ अंक भएको छ र आठौ स्थानमा छ । त्यस्तै लुम्बिनीको भने ७ खेलमा ७ अंक रहेको छ र सातौं स्थानमा रहेको छ ।

Read More

पीएम कपमा पुलिस क्लबमाथि सुदूरपश्चिम ५६ रनले विजयी

काठमाडौँ ।  सुदूरपश्चिम प्रदेशले जारी पीएम कपमा नेपाल पुलिस क्लबलाई पराजित गरेको छ ।  आइतबार सम्पन्न खेलमा सुदूरपश्चिमले नेपाल पुलिस क्लबलाई ५६ रनले पराजित गरेको हो । 

सुदूरपश्चिमले दिएको १९२ रनको लक्ष्य पछाएको नेपाल पुलिस क्लब ३५.१ ओभरमा आल आउट हुदै १३५ रन बनाएको थियो । 

नेपाल पुलिस क्लबका लागि गुलशन झाले सर्बाधिक ५० रन बनाए भने दिलसाद आली र आरिफ सेखले १९-१९ रन बनायेअका थिए । त्यस्तै सुदूरपश्चिमका बलर हेमन्त धामी र शेर मल्लले ३-३ विकेट लिएका थिए । 

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले ४०.४ ओभरमा अल आउट हुदै १९१ रन बनाएको थियो ।  सुदूरपश्चिमका लागि नारायण जोशीले ८२ रन बनाएका थिए भने खडक बोहोराले २२ रन बनाएका थिए । त्यसैगरी पुलिस क्लबका बलर दिनेश खरेलले ४ र सागर ढकालले ३ तथा कुशल भुर्तेलले २ विकेट लिएका थिए । 

यो जितपछि समुह चरणमा सुदूरपश्चिमको ९ खेलमा १२ अंक भएको छ र हाल दोस्रो स्थानमा छ ।  सुदूरपश्चिम अर्को बर्ष हुने जय ट्रफीका लागि छनौट भए पनि पीएमको फाइनलमा पुग्ने नपुग्ने अब अन्य खेलको नतिजाबाट स्पष्ट हुने छ । 

त्यस्तै पुलिस क्लबको भने ८ खेलमा ९ अंक रहेको छ र हाल तेस्रो स्थानमा छ । 

Read More

जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएस विवाद: निर्णय फिर्ता लिन डा. गोविन्द केसीको चेतावनी

काठमाडौँ । डा. गोविन्द केसीले चिकित्सा शिक्षा ऐनविपरीत जेनजी आन्दोलनका घाइतेलाई एमबीबीएसमा भर्ना गराउने निर्णय फिर्ता लिन सरकारलाई चेतावनी दिएका छन् ।

आइतबार विज्ञप्ति जारी गरेर डा. केसीले निर्णय फिर्ता नलिए सत्याग्रहसहितको आन्दोलन थाल्ने चेतावनी दिएका हुन् ।

सरकारले जेनजी आन्दोलनका घाइते एकता शाहलाई निःशुल्क एमबीबीएस पढाउने निर्णय मेरिटको आधारमा मात्र चिकित्सा शिक्षामा भर्ना पाउने कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै आलोचना भइरहेको छ ।

यसैबीच शनिबार शिक्षा मन्त्रालयले विज्ञप्ति जारी गरेर शाहलाई एमबीबीएसमा भर्ना गराउने निर्णय नियमविपरीत नभएको दाबी गरेको थियो । उक्त अभिव्यक्तिपछि डा. केसीले विज्ञप्ति जारी गरेर सरकारले कानुन पढेको कि पेलेरै जाने खोजेको हो भनेर प्रश्नसमेत गरेका छन् । 

डा. केसीले एकता शाहलाई भर्ना लिने गैरकानुनी निर्णय र शिक्षा मन्त्रालयको गैरजिम्मेवारपूर्ण अभिव्यक्ति फिर्ता लिन आग्रह गरेका छन् ।

शिक्षा मन्त्रालयले भने शाहलाई निःशुल्क छात्रवृत्ति कोटाबाहेक अतिरिक्त कोटाको रुपमा विशेष छात्रवृत्ति कोटामा मनोनयन गरी बजेटको समेत व्यवस्था गरिएको जनाएको छ । उक्त निर्णयले अरु कसैले पाउने अवसरलाई संकुचन एवं बाधा समेत नपरेको मन्त्रालयको दाबी छ । शाहले एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ५७.७ अंक प्राप्त गरेकी थिइन् । उनी मेरिटमा पछाडि रहेकाले ऐनको व्यवस्थाअनुसार भर्ना हुन नपाउने देखिन्छ ।

Read More

संगीत, संघर्ष, प्रेम र पीडाले भरिएको आशा भोसलेको जीवन

काठमाडौँ । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।  

उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

बुबाको निधनपछि परिवारको जिम्मेवारी बहन गर्न दुवै दिदी–बहिनीले गीत-संगीतको यात्रालाई अघि बढाएका थिए । आशा भोसलेले पहिलो पटक सन् १९४३ मा मराठी फिल्म ‘माझा बाल’ मा गीत गाएकी थिइन् । त्यसपछि सन् १९४८ को हिन्दी फिल्म ‘चुनरिया’ मा ‘सावन आया’ गीतमार्फत उनले बलिउडमा आफ्नो पहिचान बनाइन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्कनुपरेन र भारतीय सिने-संगीतकी सबैभन्दा लोकप्रिय गायिकामध्ये एक बन्न सफल भइन् । उनले विभिन्न भाषामा हजारौं गीत गाएर भारतसँगै विश्वभर नाम कमाइन्।

तर, आशा भोसलेको व्यक्तिगत जीवन भने तनाव र उतार चढावपूर्ण रहेको थियो । उनको दिदी लता मंगेशकरसँगको सम्बन्धलाई लिएर समय-समयमा प्रतिस्पर्धाको चर्चा भए पनि दुवैले कहिल्यै त्यसलाई स्वीकार गरेनन् । आशा भोसले स्वयंले लता मंगेशकरलाई आफ्नो आदर्श मानेको बताउँदै आएकी थिइन् । यद्यपि, सानै उमेरमा आशाले लता मंगेशकरका सेक्रेटरी गणपत राव भोसलेसँग प्रेम विवाह गरेपछि परिवारभित्र असहज स्थिति बनेको थियो । गणपत राव उमेरमा करिब २० वर्ष जेठा थिए ।

पछि बलिउडमा ‘साज’ नामक फिल्म निर्माण भएको थियो, जसलाई लता-आशा दिदीबहिनीबीचको सम्बन्धसँग जोडेर चर्चा गरिएको थियो । तर आशा भोसलेले यो फिल्म वास्तविक जीवनसँग मेल नखाने भन्दै आलोचना गरेकी थिइन् । निर्माण पक्षले भने फिल्म व्यक्तिगत अनुभव र भावनाबाट प्रेरित रहेको दाबी गरेको थियो ।

आशा भोसलेको पहिलो विवाह लामो समय टिकेन । करिब ११ वर्षपछि उनी श्रीमानसँग अलग भइन् । पहिलो विवाहबाट उनी तीन सन्तानकी आमा बनिन् । त्यही समय उनले कठोर पारिवारिक परिस्थितिको सामना गर्नुपरेको थियो ।

पछि उनको जीवनमा संगीतकार आर.डी. बर्मनसँग सम्बन्ध जोडियो । दुबैबीच प्रेम सम्बन्ध पछि विवाहमा परिणत भयो । आर.डी. बर्मन उमेरमा आशाभन्दा सानो भए पनि उनीहरूको जोडी संगीत क्षेत्रमा निकै सफल मानिन्छ । सन् १९९४ मा आर.डी. बर्मनको निधनपछि आशा भोसले फेरि एक्लो जीवनमा फर्किन बाध्य भइन् । त्यसपछि उनको जीवनमा थप दुःख थपियो। सन् २०१२ मा उनकी छोरी वर्षाको निधन भयो भने सन् २०१५ मा छोरा हेमन्तको क्यान्सरका कारण निधन भयो । यी लगातारका घटनाले उनलाई गहिरो मानसिक पीडा दिएको थियो ।

संगीत बाहेक आशा भोसलेको खाना पकाउने रुचि पनि चर्चित छ । यदि गायिका नभएको भए उनी कुक बन्ने सपना रहेको उनले विभिन्न अन्तर्वार्तामा बताएकी थिइन् । उनको नाममा विदेशमा भारतीय खाना सेवा गर्ने रेस्टुरेन्ट पनि सञ्चालनमा छन् ।

संगीत यात्रामा मात्र सीमित नभई उनले अभिनयमा पनि हात हालेकी छन् । सन् २०१३ मा मराठी फिल्म ‘माई’ मा उनको अभिनयलाई दर्शक र समीक्षक दुवैले प्रशंसा गरेका थिए ।

आशा भोसलेको जीवन संगीत, संघर्ष, प्रेम र व्यक्तिगत पीडाले भरिएको एउटा असाधारण यात्रा बनेको छ, जसले उनलाई भारतीय सांगीतिक इतिहासमा अमर बनाएको छ।

Read More

होर्मुजमा इरानले अमेरिकी जहाजलाई रोक्यो

काठमाडौँ । होर्मुज जलमार्ग क्षेत्रमा अमेरिकी युद्धपोतसँग सम्बन्धित घटनाले फेरि तनाव बढाएको छ । रिपोर्टअनुसार ईरानी नौसेनाले एक अमेरिकी जहाजलाई होर्मुज जलडमरूमध्य पार गर्नबाट रोकेको दाबी गरिएको छ ।

फार्स समाचार संस्थाका अनुसार अमेरिकी युद्धपोत संयुक्त अरब इमिरेट्सको फुजैराह बन्दरगाहबाट होर्मुज तर्फ अघि बढिरहेको थियो । सो गतिविधि देखेपछि ईरानी सेनाले निगरानी बढाएको र यसबारे पाकिस्तानमा रहेको मध्यस्थ टोलीलाई जानकारी गराएको जनाइएको छ । त्यसपछि पाकिस्तानी मध्यस्थमार्फत तत्काल अमेरिकी पक्षलाई सन्देश पठाइएको बताइएको छ ।

ईरानले पठाएको सन्देशमा यदि जहाज होर्मुज नजिक पुगेमा कारबाही गरिने चेतावनी दिइएको उल्लेख छ । चेतावनीमा जहाज अघि बढे ३० मिनेटभित्र निशाना बनाउन सकिने भनिएको थियो ।

यसैबीच, कडा सैन्य प्रतिक्रिया र कूटनीतिक चेतावनीपछि अमेरिकी युद्धपोतलाई अघि बढ्नबाट रोकिएको दाबी गरिएको छ ।

यसअघि एक अमेरिकी मिडिया रिपोर्टमा ईरानी नौसेनाको चेतावनीका बाबजुद दुई अमेरिकी युद्धपोतले होर्मुज जलमार्ग पार गरेको दाबी गरिएको थियो । युद्ध सुरु भएपछि यो पहिलो घटना भएको पनि उक्त रिपोर्टमा उल्लेख थियो ।

त्यसैगरी ईरानले आफ्नो तेल प्रशोधन र ऊर्जा पूर्वाधारमा भएको क्षतिलाई एकदेखि दुई महिनाभित्र ठूलो हदसम्म पुनः सञ्चालनमा ल्याउने दाबी गरेको छ ।

रिपोर्टअनुसार ईरानका उप तेलमन्त्रीले क्षतिग्रस्त संरचनाको मर्मत कार्य तीव्र गतिमा अघि बढिरहेको बताएका छन्। लावान रिफाइनरीको केही भाग करिब १० दिनभित्र पुनः सञ्चालनमा ल्याउन सकिने योजना रहेको पनि जनाइएको छ ।

उनका अनुसार अन्य संरचनाहरू क्रमशः सञ्चालनमा ल्याइनेछ र लक्ष्य छिटोभन्दा छिटो अधिकांश तेल प्रशोधन केन्द्रलाई पुरानो अवस्थाको करिब ७० देखि ८० प्रतिशत क्षमतामा फर्काउने रहेको छ।

Read More

राष्ट्रपति पौडेल र राष्ट्रिय सभा अध्यक्ष दाहालबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार भेट गरेका छन् ।

आइतबार बिहान शितल निवासमा भएको भेटमा अध्यक्ष दाहालले टर्कीमा हुने अन्तर व्यवस्थापिका संघको साधारणसभामा आफू सहभागी हुने  जानकारी राष्ट्रपति पौडेललाई गराएका थिए ।

साथै उनीहरूबीच समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

Read More

बलिवुडकी चर्चित गायिका आशा भोसलेको निधन

काठमाडौँ । बलिवुडकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय उनी आइतबार संसारबाट बिदा भएकी हुन् । अस्वस्थ भएपछि शनिबार उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको भारतीय समाचार एजेन्सी पिटीआईले उल्लेख गरेको छ ।

उनको अन्त्येष्टि सोमबार गरिने जनाइएको छ । बिहान ११ बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिनेछ भने साँझ ४ बजे शिवाजी पार्क मा अन्त्येष्टि गरिने बताइएको छ । 

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसले संगीत परिवारमा हुर्किएकी थिइन् । उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय गायक तथा कलाकार थिए । सानै उमेरदेखि संगीतमा लागेकी उनले पहिलो गीत मराठी चलचित्र माझा बालमा गाएकी थिइन् । पछि उनले हिन्दी चलचित्रमा पनि प्रवेश गर्दै लामो समयसम्म हजारौं गीतमा स्वर दिइन् । पाँच दशकभन्दा बढी समयसम्म सक्रिय रहँदै उनी भारतीय संगीत जगतकी अग्रणी गायिकामध्ये एकका रूपमा स्थापित भएकी थिइन् ।

Read More

नेतन्याहुसहित ३५ जनाविरुद्ध टर्कीमा मुद्धा, ४६ सय वर्षसम्म कैद माग

काठमाडौँ । टर्कीमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । यो मुद्दा गाजा क्षेत्रमा जाँदै गरेको राहत अभियानमाथि भएको कथित आक्रमणसँग सम्बन्धित रहेको जनाइएको छ ।

इस्तानबुलका प्रमुख सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गर्दै सबै आरोपितलाई कडा सजायको माग गरेको छ । आरोपपत्रमा जन्मकैदसँगै ११ सय २ वर्षदेखि ४५ सय ९६ वर्षसम्म कैद सजायको माग गरिएको उल्लेख छ ।

आरोपितहरूविरुद्ध मानवताविरुद्धका अपराध, नरसंहार, गैरकानुनी थुनछेक, यातना तथा लुटपाटजस्ता गम्भीर अभियोग लगाइएको छ । यो घटना गत वर्ष सेप्टेम्बरमा भएको थियो, जतिबेला ‘सुमुद फ्लोटिला’ नामको राहत अभियान गाजातर्फ अघि बढिरहेको थियो ।

उक्त जहाजहरूमा खाद्यान्न, औषधि तथा अन्य आवश्यक राहत सामग्री बोकेर पठाइएको थियो । अनुसन्धानका अनुसार अन्तर्राष्ट्रिय समुद्री क्षेत्रमा पुगेका बेला इजरायली नौसेनाले ती जहाज रोकेको आरोप छ । सैनिकहरू जहाजमा चढेर कार्यकर्तालाई नियन्त्रणमा लिएको र जहाजलाई अगाडि बढ्न नदिएको बताइएको छ ।

टर्कीले उक्त कारबाही अन्तर्राष्ट्रिय कानुनविपरीत भएको दाबी गरेको छ । अन्तर्राष्ट्रिय जलक्षेत्रमै राहत सामग्री बोकेका जहाज रोकिनु गम्भीर अपराध भएको ठहर गर्दै यो मुद्दा दर्ता गरिएको जनाइएको छ ।

Read More

करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर करण केसीलाई जारी पीएम कपको एक खेलमा प्रतिबन्ध लगाएको छ ।

करणले सामाजिक सञ्जालमा अम्पायर बारे गरेको टिप्पणीपछि क्यानले उनलाई कारवाही गरेको हो ।

क्यानले नेपाल पुलिस क्लबबाट खेलिरहेका करणले अम्पायरहरुप्रति सामाजिक सञ्जालको एक पोष्टमा गरेको कमेन्टप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै उनलाई कारवाही गरेको हो । साथै उनको एक खेलको शतप्रतिशत म्याच शुल्क बराबर जरिवाना समेत गरेको क्यानले जनाएको छ ।

पीएम कप अन्तर्गत सन्दीप लामिछानेको अम्पायरसँग भएको झगडाको तस्बीर शेयर भएको पोष्टमा करण केसीले खेलका क्रममा खेलाडीले अम्पायरलाई पिटेमा के सजाय हुन्छ भन्दै कमेन्ट गरेका थिए । उनले भनेका थिए- यदि कुनै खेलाडीले अम्पायरलाई गल्तीले पिट्यो भने कति खेल ब्यान हो ? जानकारी को लागि ।’

करणको सो टिप्पणीप्रति अम्पायर संघले आपत्ति जनाएको थियो ।

Read More

थलापति विजय अभिनित फिल्म ‘जन नायगन’ अनलाइनमा लिक

काठमाडौँ । दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनित फिल्म ‘जन नायगन’ अनलाइनमा लिक भएको छ । फिल्मकी मुख्य अभिनेत्री पूजा हेगडेले घटनालाई दुःखद भन्दै दर्शकलाई हलमै गएर हेर्न आग्रह गरेकी छन् ।

उनले सामाजिक सञ्जालमार्फत चलचित्र केवल मनोरञ्जन नभई हजारौं व्यक्तिको मेहनत, सिर्जनशीलता र त्यागको परिणाम हुने बताएकी छन् । लिक जस्ता घटनाले प्राविधिक र कलाकारको सम्मानमा ठेस पुग्ने उनको भनाइ छ । पूजाले दर्शकलाई पाइरेसीलाई प्रोत्साहन नगर्न र ठूलो पर्दामै फिल्मको मजा लिन अपिल गरेकी छन् ।

यसअघि पनि रजनीकान्त, चिरञ्जीवी, सूर्या र सिवकार्तिकेयन लगायत कलाकारहरूले लिकप्रति असन्तुष्टि जनाइसकेका छन् ।

फिल्म निर्माताहरूले कडा विज्ञप्ति जारी गर्दै यो गम्भीर डिजिटल पाइरेसीको घटना भएको बताएका छन् । दोषीमाथि कानुनी कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

विवाद बढिरहेका बेला फिल्मको आधिकारिक प्रदर्शन मिति भने अझै घोषणा गरिएको छैन । यद्यपि ठूलो स्तरमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको बताइएको छ । यो चलचित्रलाई थलापति विजयको अन्तिम फिल्मका रूपमा समेत हेरिएको छ । अनौपचारिक रूपमा भने सन् २०२६ जुन २२ मा, उनको ५२औँ जन्मदिनको अवसरमा प्रदर्शन हुन सक्ने चर्चा छ ।

Read More