२०८३ बैशाख १३

सडक आश्रित मानव व्यवस्थापन गर्ने तयारीमा काठमाडौँ महानगर

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सहयोगापेक्षी सडक मानवमुक्त कार्यक्रम सञ्चालन गर्न लैङ्गिक तथा यौनिक अल्पसंख्यक, अपाङ्गता र पुनःस्थापनाका क्षेत्रमा काम गर्ने संघसंस्थाका अधिकारीहरुसँग संयुक्त छलफल गरेको छ ।

सडक, चोक तथा सार्वजनिक स्थलमा सहयोग माग गरिरहेका अपाङ्गता भएका, विभिन्न दुर्व्यसनमा रहेका र लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरुले सडकमा, सडक किनारामा सहयोग माग्ने गरिरहेका भेटिन्छन् । दृष्टिविहिन व्यक्तिहरु आकाशे पुल, पार्क तथा विभिन्न चोकहरुमा गीत गाएर सहयोग याचना गरिरहेका हुन्छन् । उनीहरुलाई सडक जीवनबाट पारिवारिक तथा सामाजिक पुनःस्थापना र रोजगार क्षेत्रमा आवद्ध गराउने छलफलको मुख्य विषय थियो ।

सडक आश्रित मानव व्यवस्थापन गर्दा मानव अधिकारमैत्री र सहभागितामूलक उद्धार तथा व्यवस्थापन गर्ने, एकीकृत रुपमा उद्धार गरेपछि आवश्यकताका आधारमा अपाङ्गता, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, दुर्व्यसन जस्ता अवस्थाका आधारमा व्यक्तिहरुको वर्गीकरण गरेर मानवोचित व्यवस्थापन गरिने कार्यवाहक प्रमुख सुनिता डंगोलले बताएकी छन् । उनले भनिन्- ‘अल्पकालीन आश्रय, मनोसामाजिक परामर्श, स्वास्थ्य परीक्षण उद्धारका क्रममा अवलम्बन गरिने प्रक्रिया हुन् । उद्धार गरिएका व्यक्तिहरुको अवस्था र आवश्यकता पहिचान सकिएपछि पारिवारिक तथा सामाजिक पुनःस्थापना, रोजगार तथा स्वरोजगारका लागि सिप विकास तालिम सञ्चालन, स्वरोजगार बन्न चाहनेलाई सहुलियतपूर्ण ऋण जस्ता कामका लागि कानुनी तथा नीतिगत व्यवस्था गर्ने र त्यसका आधारमा सहकार्य, समन्वय र सहभागितामा आधारित कार्यक्रम सञ्चालन गरिनेछन् ।’ 

परिवार र समाजबाट बहिष्करणमा परेपछि लैङ्गिक तथा यौनिक अल्पसंख्यक पहिचान भएका व्यक्तिहरु सडकमा आश्रित हुनु परेको छलफलमा सहभागीले काम गर्दाको अनुभव सुनाएका तिह्ये । पेशा र रोजगार क्षेत्रमा जाँदा पहिचान, सामाजिक सुरक्षा, मर्यादा र आत्मसम्मानमा स्वीकार नगरिएका कारण सडकमा माग्नु परेको अवस्था सहभागीहरुले सुनाएका थिए । 

दृष्टिविहीन व्यक्तिहरू सडक, सार्वजनिक यातायात र बजार क्षेत्रमा गीत गाउनु पर्ने अवस्थाका विषयमा छलफल गर्दै दृष्टिविहिनहरुका लागि रोजगार स्वरोजगारको अवसर सिर्जना गर्नु पर्नेमा जोड दिइएको थियो । सडकमा आश्रित युवाहरुमा लागू औषधको दुव्र्यसन रहेकोले उहाँहरुलाई परिवारमा पुनर्मिलन गराउनु अघि सुधार केन्द्र तथा पुनःस्थापना केन्द्रमा राखेर आचरण तथा व्यवहार सुधारमा काम गर्नु पर्ने खाँचो देखाइएको छ । 

छलफलमा अधिकारका क्षेत्रमा काम गर्ने संघसंस्थाहरुसँग सहकार्य गर्ने, पुनःस्थापना र सशक्तीकरणका कार्यक्रममा संयुक्त मोडेल बनाउने विषय उठान भएका थिए । 

Read More

आइपिएलमा आज दुई खेल हुदै

काठमाडौँ । जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच हुदैछ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ ।

जारी आइपिएलमा लखनउले ३ खेलमा दुई खेल जितेको छ भने एक हारसहित ४ अंक हासिल गरेको छ । 

लखनउले सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्ससँगका खेल जितेको छ भने दिल्ली क्यापिटल्सविरुद्धको पहिलो खेल हारेको थियो । 

त्यस्तै गुजरातले ३ खेलमा एक जित र २ हार बेहोरेको छ । गुजरातले पञ्जाव किंग्स र राजस्थान रोयल्ससँग हार बेहोरेको थियो भने दिल्ली क्यापिटल्ससँग जित हासिल गरेको थियो । 

त्यस्तै आज अर्को खेल मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबीच हुदैछ ।  मुम्बईस्थित वानखेडे स्टेडियममा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ । 

जारी आइपिएलमा मुम्बईले २ हार र एक जित हासिल गरेको छ ।  मुम्बईले कोलकतालाई पराजित गरेको थियो भने दिल्ली र राजस्थानसँग हार बेहोरेको थियो ।  त्यस्तै बैंगलुरुले ३ खेलमा २ जित र एक हार बेहोरेको छ । बैंगलुरुले सनराइजर्स र चेन्नईलाई पराजित गरेको थियो भने राजस्थान रोयल्ससँग पराजित भएको थियो ।   

Read More

इरान-अमेरिका वार्ता असफल

काठमाडौँ । पाकिस्तानको राजधानी इस्लामाबादमा इरान र अमेरिकाबीचको वार्ता असफल भएको छ ।

पाकिस्तानको इस्लामावादमा भएको २१ भन्दा बढी लामो वार्ता निष्कर्षमा नपुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले जानकारी दिएका छन् । भान्सले इरानले अमेरिकाको प्रस्ताव अस्वीकार गरेको र आफु अब स्वदेश फर्किने बताएका छन् ।

उनले भने- ‘हामी २१ घण्टादेखि यसमा लागिरहेका छौं, र हामीले इरानीहरूसँग धेरै ठोस छलफल गरेका छौं । त्यो राम्रो खबर हो । नराम्रो खबर यो हो कि हामी सम्झौतामा पुगेका छैनौं । र मलाई लाग्छ कि यो संयुक्त राज्य अमेरिकाको लागि नराम्रो खबर भन्दा धेरै इरानको लागि नराम्रो खबर हो । त्यसैले हामी सम्झौतामा नपुगेर संयुक्त राज्य अमेरिका फर्कन्छौं ।’

उनले आफुहरु निकै लचक भएर प्रस्तुत भएपनि इरानले अमेरिकाका प्रस्ताव अस्वीकार गरेकोले आफुहरु फर्किन लागेको छ । उनले यो आफुहरुले इरानलाई अन्तिम अवसर दिएर इस्लामावादबाट निस्किन लागेको बताएका छन् । 

बैठकमा सुरक्षा, राजनीति, सेना, अर्थतन्त्र र कानुनी विषयमा विशेषज्ञस्तरमा छलफल भएको बताइएको छ । अमेरिकी पक्षको नेतृत्व उपराष्ट्रपति जेडी भान्सले गरेका थिए भने इरानी टोलीको नेतृत्व संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले गरेका थिए ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्ताबारे प्रतिक्रिया दिँदै सम्झौता भए पनि नभए पनि अमेरिका विजयी हुने दाबी गरेका छन् । उनले दुवै देशबीच गहिरो स्तरमा वार्ता भइरहेको र चाँडै नतिजा आउने बताएका छन्।

ट्रम्पले अमेरिकाले इरानलाई सैनिक रूपमा कमजोर बनाएको दाबी गर्दै होर्मुज जलडमरु क्षेत्रमा सफाइ अभियान सञ्चालन भइरहेको र त्यहाँ राखिएका बारुदी सामग्री हटाइँदै गरेको जानकारी दिएका छन्।

साथै उनले चीनलाई पनि चेतावनी दिँदै इरानलाई हतियार आपूर्ति गरे गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् । यस अभिव्यक्तिले क्षेत्रीय तनाव थप बढ्ने संकेत देखिएको छ ।

Read More

आइपिएल: लगातार तीन हारपछि चेन्नईको पहिलो जित

काठमाडौं । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा पहिलो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले दिल्ली क्यापिटल्सलाई २३ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको २१३ रनको लक्ष्य पछाएको दिल्लीले २० ओभरमा अल आउट हुदै १८९ रन बनाएको थियो । दिल्लीका लागि ट्रीटन स्टब्सले सर्बाधिक ६० रन बनाएका थिए भने पाथुम निसान्काले ४१ रन बनाएका थिए ।

त्यस्तै चेन्नईका बलर जामी ओभरटनले ४ विकेट लिए भने अन्शुल कामबोजले ३ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २१२ रन बनाएको थियो । चेन्नईका लागि सन्जु सामसनले अविजित ११५ को शतकीय पारी खेलेका थिए भने आयुश महात्रेले ५९ रन बनाएका थिए ।

यो चौथो खेलमा चेन्नईको पहिलो जित हो । त्यस्तै दिल्लीको भने चौथो खेलमा दोस्रो हार भएको छ ।

Read More

गाजा बारे ट्रम्पको शान्ति बोर्ड अलपत्र !

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका लागि प्रस्ताव गरिएको शान्ति बोर्ड अहिले अलमलमा परेको देखिएको छ । यसको मुख्य कारण पर्याप्त रकम अभाव रहेको विभिन्न रिपोर्टहरुले उल्लेख गरेका छन् ।

गाजाको पुनर्निर्माणका लागि करिब १७ अर्ब डलर सहयोगको प्रतिबद्धता आएको थियो । तर हालसम्म १ अर्ब डलरभन्दा कम मात्रै रकम प्राप्त भएको जनाइएको छ ।

सहयोग गर्ने भनिएका १० देशमध्ये अहिलेसम्म संयुक्त अरब इमिरेट्स, मोरक्को र अमेरिकाले मात्र रकम उपलब्ध गराएका छन् । पछिल्लो समय ईरानसँग बढ्दो तनाव र युद्धजस्तो अवस्थाले प्रक्रिया थप सुस्त बनाएको बताइएको छ ।

दुई वर्ष लामो द्वन्द्वका कारण गाजाका अधिकांश संरचना ध्वस्त भइसकेका छन् । यसको पुनर्निर्माणका लागि करिब ७० अर्ब डलर खर्च लाग्ने अनुमान गरिएको छ ।

हालैको घटनाक्रमअनुसार गाजामा पछिल्ला महिनाहरूमा इजरायल र हमास बीच तीव्र युद्ध भएको थियो । निरन्तर हवाई आक्रमण र स्थल कारबाहीका कारण ठूलो जनधन क्षति भएको छ । त्यसपछि अन्तर्राष्ट्रिय दबाबका बीच युद्धविरामको प्रयास सुरु भए पनि स्थिति अझै स्थिर हुन सकेको छैन । यही अस्थिर अवस्थाबीच पुनर्निर्माण योजना अघि बढाउन खोजिएको हो ।

यस अवस्थामा आर्थिक अभाव र राजनीतिक विवादले शान्ति योजना कार्यान्वयनमा समस्या देखिएको छ । यद्यपि ट्रम्पको पक्षले भने यी आरोप अस्वीकार गर्दै रकम अभाव नभएको दाबी गरेको छ।

Read More

पीएम कपमा आज दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।  आज पीएम कपमा नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेशबीच जनकपुरमा खेल हुदैछ । 

जारी पीएम कपमा पुलिस क्लबको ७ खेलमा ९ अंकसहित तेस्रो स्थानमा रहेको छ भने सुदूरपश्चिम ८ खेलमा १० अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै आज अर्को खेल गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा गण्डकी प्रदेशको ७ खेलमा ५ अंक रहेको छ र हाल आठौँ स्थानमा छ । त्यस्तै लुम्बिनी प्रदेशको ६ खेलमा ७ अंक रहेको छ र हाल सातौं स्थानमा रहेको छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।

प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । 

एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं

काठमाडौँ । आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैंछ । हरेक वर्ष अप्रिल १२ मा अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस मनाइदैं आएको हो ।

आज भन्दा लगभग ६५ वर्ष अगाडिको अन्तरिक्ष यात्री यूरी गागरीन सन् १९६१ मा भोस्तोक १ नामक अन्तरिक्ष विमानमा बसेर पृथ्वीको अर्विटमा १०८ मिनट एक चक्कर लगाउन सफल भएका थिए ।

यही दिनले सबै मानवताको हितका लागि अन्तरिक्ष अन्वेषणको लागि मार्ग खुला पारेको थियो । सन् २०११ को अप्रिल ७ को संयुक्त राष्ट्र संघको महासभाको ६५औँ संस्करणले हरेक वर्ष अप्रिल १२ लाई अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवसका रूपमा मनाउने निर्णय सदर गरेको थियो । रुसले यस दिवसलाई कसमेनोटिक्स डे का रूपमा मनाउँदछ भने पूर्व सोभियत संघका कतिपय राज्य र ठाउँहरुमा यस दिनलाई यूरी गागरीनको दिवस भनेर मनाउने चलन पनि छ ।

आजको दिनले मानव अधिकार, स्थायी विकास लक्ष्य प्राप्त गर्न अन्तरिक्ष विज्ञान र प्रविधिको महत्वपूर्ण योगदानलाई विश्वसामु उजागर गर्दछ । आज अन्तर्राष्ट्रिय स्तरमा अन्तरिक्ष युगको सुरुवात गरेका युरी गागारिनको सम्झना गरिन्छ । युरी गागारिनको त्यो सफलता पछि उनलाई त्यसबेला विभिन्न सम्मानहरू प्रदान गरिएको थियो । संयुक्त राष्ट्र संघको अन्तरिक्षको मुद्दा हेर्ने कार्यालयले सबै स्पेस अन्वेषकहरूबाट सन्देशहरूको संकलन गरेर सबै माझ अद्यावधिक जारी गर्दछ । आजको दिनले मानवको अन्तरिक्ष सपनाको एउटा कोशेढुगांलाई उजागर गरेको छ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले  हाल नेपालमा कमजोर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ ।

हाल देशको पहाडी र हिमाली भू-भाग आंशिक बादल लागेको छ भने तराईमा मौसम मूख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगातय बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, कोशी प्रदेशको तराईमा तथा बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग लगायत बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानहरूमा र बाँकी हिमाली तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको समेत सम्भावना रहेको छ ।

त्यस्तै आज राती देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशका हिमाली भू-भागका थोरै स्थानहरूमा तथा बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ । 

Read More

२०८२ चैत २९ गते आइतबार: आजको राशिफल

आजको राशिफल बिस २०८२ चैत २९ गते आइतबार ईस २०२६ अप्रिल १२  नेपाल सम्बत ११४६ चौलागा दशमी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, चैत शुक्ल दशमी, चन्द्रमा मकर राशिमा, श्रवण नक्षत्र, साध्य योग, वणिज करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४४ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २७ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा मकर राशीको हुनेछ । आज आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष विमान दिवस परेको छ । 

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)–

पुराना साथीभाइसँग भेटघाटको कार्यक्रम बन्नसक्छ । निजी वा आन्तरिक सम्बन्धलाई उजागर गरी सार्वजनिक तुल्याउने यो सही समय हो । आज घरपरिवारका भावना र इच्छाहरूको ख्याल राख्नु ठीक हुन्छ । पदप्रतिष्ठामा अभिबृद्धि हुनेछ, सबैले सम्मान गर्नेछन्, समयमै कार्य सम्पन्न हुनाले मन हलुका र आनन्दित बन्नेछ, पारिवारिक सुखको योग बनेको छ । इच्छाअनुरूप एकान्तमा बस्न पाउने अवसर मिल्नेछ, यस अवसरमा मनमा जरो गाडेर बसेको कुनै कुरा छ भने साथीलाई बताउनु होला । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

फाइदा हुने र लाभमूलक क्षेत्रमा मनको आकर्षण रहनेछ । शरीर स्वस्थ रहनुका साथै गरेको कर्मफलका रूपमा धनको वर्षा नै हुने सङ्केत देखिन्छ । स्वास्थ्यक्षेत्र, काठपात, ढुंगागिट्टी, मिलमेसिनरी र ढुवानीसम्बद्ध कारोबारीले आयस्रोत बढाउन सक्नुहुन्छ, तर कार्यक्षेत्रमा विभिन्न चुनौती र सङ्घर्ष झेल्दै काम गर्नुपर्ने हुन्छ । पारिवारिक वातावरण सुखशान्तिले भरिपूर्ण देखिन्छ, पतिपत्नीका बीचमा उचित तालमेल कायम हुनेछ । यद्यपि एकअर्काको भावनाको कदर गर्नु समुचित हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

पढाइप्रति दिलचस्पी जाग्नेछ, रचनात्मक समय हो, विज्ञानप्रविधिको कुनै क्षेत्रमा वा अनुसन्धान गर्ने छात्रछात्राहरूले केही गर्नसक्ने राम्रो समय छ । अनुभव वा ज्ञानको कमीलाई हटाउन सकिने छ, आर्थिक शुभताको विशेष समाचार प्राप्त हुनेछ । केही समय घरपरिवार र सन्ततिको जिम्मेबारीमा बित्नसक्छ । सम्झौता वा करार गर्न अनुकूल समय छ । गोपनीयता कायम राखी काम गर्न सके कार्यक्षेत्रमा प्रशंसा बटुल्न सकिने छ, तर आज घरपरिवार र छोराछोरीलाई समय दिनुपर्ने हुन्छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

विश्वासको सङ्कट देखापर्न सक्छ, ससाना कुरामा विवाद हुने भय छ । एकआपसमा कुनै पनि कुरा नलुकाउनु होला । कार्यक्षेत्रमा सन्तोषजनक परिस्थिति नै देखिन्छ, तर घरपरिवारमा कुनै स्वास्थ्यगत समस्या देखा पर्नसक्छ, सम्पर्क राखी खैखबर बटुल्नु ठीक हुन्छ । व्यवहारिक कारणले कारोबारमा बाधा हुनसक्छ, तर सागपात, फलफूल, रत्नमाणिक्य, फोटोग्राफी वा भिडियोमिक्सिङ आदिको कारोबारमा मनग्ये लाभ पाउने समय हो । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

दाम्पत्य जीवनमा नयाँ आयाम थपिने छ, पुराना साथीभाइ र सहयोगीहरूसँग अप्रत्यासित भेटघाट हुनसक्छ । बहुप्रतीक्षित अभिलाषाको पूर्ति हुने समय छ । अरुका समस्यामा दौडधूप गर्नुपर्ने समय छ, यसरी सहयोग गर्ने हुँदा अध्ययनमा बाधा पुग्नसक्छ, तर पनि सन्तुष्टि प्राप्त हुने दिन हो । पेसा वा कार्यक्षेत्रप्रतिको व्यवहारिक दृष्टिकोणले तपाईलाई आर्थिक रूपमा समृद्ध बन्न मद्दत गर्नेछ, धार्मिक वा सामाजिक गतिविधिमा सक्रिय हुँदा वा दुःखमा परेका व्यक्तिको सहयोग गर्न पाउँदा भाग्यबृद्धि हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

बोलीमा विशेष बल छ, मौखिक अभिव्यक्ति वा कलाको क्षेत्रमा अझ सफल भइने छ । सानो प्रयासले भाग्य र भविष्य सपार्न सकिन्छ । मानसम्मान, इज्जत र प्रतिष्ठा बढ्ने दिन हो, तर पनि भौतिक सुख र आनन्दको चिन्ताले सताउन सक्छ । हाँके÷ताकेको उपलब्धि प्राप्त हुने, तर महत्त्वाकाङ्क्षा बढिरहने परिस्थिति रहेको छ । गरेको कामको सर्वत्र प्रशंसा हुनेछ, सिनियर स्टाफ र सेवाग्राही दुवै पक्षलाई सन्तुष्ट तुल्याउन सकिने छ । कुनै उपहार वा सम्मान प्राप्त गर्ने सम्भावना छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

शीघ्र धनार्जन गर्ने उपाय अवलम्बन गर्दा विचार पुर्याउनु राम्रो हुन्छ । प्रत्यक्ष अनुभूतिमा आधारित कुरामा मात्र विश्वास गर्नुपर्ने दिन हो । कार्यस्थल र घरपरिवारमा खुसी र उमङ्गको वातारवरण रहेको छ । आर्थिक मन्दी चल्दैछ भने नयाँ रणनीति कार्यान्वयन गर्नुहोस्, सफलता पाउन सक्नुहुन्छ । नयाँ ठाउँमा घुम्न जाने वा कुनै नयाँ काम प्रारम्भ गर्ने समय छ, घरैमा बसे पनि भविष्यमा चाहिने वस्तुको जोहो गरिने छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

बजेटलाई सन्तुलनमा राख्ने प्रयास गर्नुपर्छ, कुनै योजनामा लगानी गर्ने मनस्थितिमा हुनुहुन्छ भने त्यसका सबल र दुर्बल पक्षमा पनि चिन्तन गर्नुहोला, नसोचिकन काम गरेमा षड्यन्त्रको खाडलमा पनि पर्न सकिन्छ । चुनौती र जोखिम झेल्ने समय भएकाले टार्न सकिने ठाउँ छ भने काम स्थगित गरी दिमागी उलझन घटाउनु तथा विश्राम लिनु जाती हुन्छ । नराम्रो ठान्ने, नराम्रो बुझ्ने र खराब सुन्ने साथीहरूका माझमा आफ्ना भित्री कुरा नबताउनु होला, नत्र बेकारको अफवाह फैलने डर हुन्छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

पदोन्नति हुने वा विशेष जिम्मेवारी पाउन सकिने समय हो, कामविशेषले कतै काजमा जाने वा देश÷विदेशको यात्रामा निस्कने संयोग जुरेको छ । लाभमूलक काममा दौडधूप गर्नुपर्दा आपसी समन्वयमा कमजोरी देखा पर्नेछ, तर अनुराग र वाक्पटुताद्वारा परिस्थिति सहज बनाउन सकिने छ । विशिष्ट व्यक्तिको सामीप्य पाउन सकिने छ, रोकिएको काम बन्ने तथा जिम्मेवारीसमेत बढ्ने दिन हो । आयको मार्ग सबल बन्नाले थप हौसला प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

लेखन-प्रकाशनको काम, परामर्श सेवा, लेखा सेवा, कन्सल्टेन्सी, वकालत, शेयर मार्केट, कम्प्यूटरसम्बद्ध काम वा वाणीप्रधान कामबाट फाइदा लिने दिन हो । कामको चटारो परेको समय छ, ससाना कुरामा पनि आफै नखटी पार लाग्दैन, आत्मसम्मान झल्कने दिन हो, नेतृत्व र निर्णय फलदायी हुनेछन् । परीक्षा, अन्तर्वार्ता वा प्रतियोगिता नजिकै आएको छ भने कडा परिश्रमपछि मात्र सफलता पाइने समय भएकाले अध्ययनमा लागी पर्नु उचित हुन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

धार्मिक-सामाजिक काममा समय दिनुपर्दा बाहिर अलमलिने दिन हो, तर पनि आफ्नो कामप्रतिको लगनशीलताका कारण कारोबारमा कुनै प्रभाव पर्नेछैन । धार्मिक÷सामाजिक काममा खट्नुपर्दा घरायसी कामको बोझ बढ्ने दिन हो, तर पनि सबैको प्रशंसा बटुल्न पाउँदा आनन्दित र सन्तुष्ट बन्ने समय छ । मानसिक रूपमा सबल र परिपक्व बन्ने समय हो, आज पठनपाठनका क्रममा सहपाठी र शिक्षकहरूबाट सहयोग जुटाउन सकिने छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

सहकर्मीहरूसँग समन्वय गरी अघि बढ्ने समय हो, याद राख्नुपर्छ, आज दबाब वा करकापमा गरेको कामले भविष्यमा धोका हुनसक्छ । मनमा चिन्ता र निराशा बढ्ने दिन हो, त्यस्ता चालचलन र व्यवहारप्रति आफूलाई सजग राख्नुपर्छ, जसले लवमेटको गुनासो बढ्ने गर्दछ । विश्वस्त व्यक्ति वा आफन्तले नै विश्वासघात गर्ने दिन हो, अझ भ्रमका पछि कुद्ने हुँदा तनाव र झञ्झट बढ्नसक्ने अनि बलजफ्ती गर्नेहुँदा चोटपटक नै लाग्नसक्ने दिन हो ।

Read More