२०८३ बैशाख १३

अमेरिकाको नाकाबन्दीपछि होर्मुज ठप्प

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यमा जाने जहाजमाथि अमेरिकी नौसेनाले नाकाबन्दी गर्ने घोषणा गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत सो मार्ग प्रयोग गर्ने जहाजलाई रोकेर जाँच गरिने बताएका हुन् ।

ट्रम्पका अनुसार विशेषगरी इरानलाई शुल्क तिरेका जहाजहरू कडाइका साथ निगरानीमा राखिने बताएका छन् । उनले इरानलाई गैरकानुनी शुल्क तिर्ने जहाजलाई सुरक्षित मार्ग नदिइने चेतावनी दिँदै यसबाट इरानको आर्थिक शक्ति कमजोर पार्ने उद्देश्य रहेको उल्लेख गरेका छन् ।

यसअघि इरानका उपसभामुख हाजी बाबाएईले होर्मुज जलडमरूमध्य इरानको नियन्त्रणमा रहेको दाबी गरेका थिए । उनले यसलाई तेहरानको ‘रेड लाइन’ भन्दै सो मार्ग प्रयोग गर्ने जहाजले इरानी मुद्रा रियालमा शुल्क तिर्नुपर्ने बताएका थिए ।

यसैबीच, अमेरिका र इरानबीच पाकिस्तानमा करिब २१ घण्टा चलेको वार्ता निष्कर्षविहीन बनेको छ । रिपोर्टअनुसार होर्मुज मार्ग सञ्चालन र आणविक कार्यक्रमको विषयमा दुवै पक्षबीच सहमति हुन सकेन ।

अमेरिकाको नाकाबन्दी घोषणापछि यसको प्रभाव तत्काल देखिएको छ । सो समुद्री मार्ग हुँदै हुने जहाज आवतजावत झन्डै ठप्प भएको छ । समुद्री सूचना कम्पनीहरूले जनाएअनुसार धेरै जहाजले बाटो परिवर्तन गरेका वा फर्किएका छन् ।

इरानले भने अमेरिकी कदमप्रति कडा चेतावनी दिएको छ । इरानी नेता मोहसेन रेजाइले नाकाबन्दी असफल हुने दाबी गर्दै अमेरिकाले पराजय भोग्नुपर्ने बताएका छन् । उनले इरानी सेनाले यस्तो कदम सफल हुन नदिने चेतावनी पनि दिएका छन् ।

रेजाईले इरानसँग जवाफ दिनका लागि अझै प्रयोग नगरिएका विभिन्न विकल्प रहेको दाबी गर्दै सामाजिक सञ्जालका धम्कीबाट इरानलाई दबाउन नसकिने स्पष्ट पारेका छन् ।

Read More

आशा भोसलेले गएकी थिइन् यी नेपाली गीत

काठमाडौं । भारतीय संगीत जगतकी प्रख्यात गायिका आशा भोसले ९२ बर्षको उमेरमा धर्तीबाट बिदा भएकी छन् । हृदयघात भएपछि अस्पताल भर्ना भएकी आशाको आइतबार बिहान निधन भएको हो ।  

उनको जीवन यात्रा उतार-चढावले भरिएको प्रेरणादायी कथा रहेको छ । आफ्नी जेठी दिदी तथा स्वरसम्राज्ञी लता मंगेशकरको पदचिन्ह पछ्याउँदै उनी पनि सानै उमेरमा संगीत क्षेत्रमा प्रवेश गरेकी थिइन् ।

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसलेले हिन्दी फिल्म संगीतमा आफ्नो जादुई आवाजले करोडौ प्रसंशको मन जितिन भने उनले नेपाली भाषाका गीतहरूमा पनि आफ्नो स्वर दिएकी छन्  ।

आशाले दियो बाली साँझको, गैह्री खेतको शिरै हान्यो, मोहनी लाग्ला है,  जस्ता लोकप्रिय नेपाली गीतमा स्वर दिएकी छन् ।  आशाले यति धेरै माया दियौ, आज हाम्रो भेट भएको दिन, बसन्त नै बस्न खोज्छ यहाँ (माइतिघर),  किन बढ्दै छ ढुकढुकी, पहाडको माथि माथि, म प्यार बेचि दिन्छु, चन्चले मन भुल्यो तिम्रो मनमा लुकेको कुरा, माया त माया हो जस्ता नेपाली गीत गएर नेपाली गीत संगीतमा योगदान गरेकी छन् ।

Read More

आइपिएलमा आज सनराइजर्स र राजस्थान आमने सामने

काठमाडौँ । जारी आइपिएलमा आज एक खेल हुदैछ । आज सनराइजर्स हैदरावाद र राजस्थान रोयल्सबीच खेल हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । 

जारी आइपिएलमा सनराइजर्सले ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । सनराइजर्सले यसअघि कोलकोताविरुद्धको खेल जितेको थियो भने पञ्जाव, लखनउ र रोयल च्यालेन्जर्स बैंगलुरुसँग पराजित भएको थियो । 

त्यस्तै राजस्थान रोयल्सले यसअघि खेलेका चारै खेलमा जित हासिल गरेको छ ।  राजस्थानले रोयल च्यालेन्जर्स बैंगलुरु, मुम्बई इण्डियन्स, गुजरात टाइटन्स र चेन्नई सुपर किंग्सलाई पराजित गरेको थियो । 

Read More

हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री ओरबानको लज्जास्पद हार

काठमाडौँ । हंगेरीमा १६ वर्षदेखि सत्तामा रहेका प्रधानमन्त्री भिक्टर ओरबानले निर्वाचनमा पराजय स्वीकार गरेका छन् । सार्वजनिक प्रारम्भिक नतिजापछि उनले परिणामलाई ‘पीडादायी’ भन्दै सत्ता छोड्ने घोषणा गरेका हुन् ।

राजधानी बुडापेस्टमा समर्थकहरूलाई सम्बोधन गर्दै ओरबानले विजयी पक्षलाई बधाई दिएको र अब विपक्षमा बसेर देशको सेवा गर्ने बताएका छन् । उनी लामो समयदेखि दक्षिणपन्थी राजनीतिका प्रभावशाली नेताका रूपमा चिनिन्थे ।

प्रारम्भिक नतिजाअनुसार विपक्षी नेता पिटर माग्यार नेतृत्वको टिसा पार्टीले स्पष्ट अग्रता लिएको छ । करिब ९८ प्रतिशत मत गणना सकिँदा १९९ सदस्यीय संसदमा टिसा पार्टीले १३८ सिट जित्ने देखिएको छ । सत्तारुढ फिदेज पार्टीले ५५ सिटमा सीमित हुँदा ‘अवर होमल्यान्ड’ पार्टीले ६ सिट प्राप्त गरेको छ । विजयपछि माग्यारले डेन्यूब नदी किनारमा भेला भएका समर्थकहरूलाई सम्बोधन गर्दै सरकार परिवर्तन गरेको बताए छन् । उनले ओरबानले फोनमार्फत आफूलाई बधाई दिएको जानकारी पनि दिएका छन् ।

ओरबानले भने परिणाम स्पष्ट र पीडादायी भएको स्वीकार्दै आफूलाई साथ दिने लाखौँ मतदातालाई धन्यवाद दिएका छन् । उनले आगामी दिन घाउ निको पार्ने समय भएको प्रतिक्रिया दिएका छन् ।

नयाँ सरकार गठनतर्फ अग्रसर माग्यारले शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार, भ्रष्टाचार नियन्त्रण, स्वतन्त्र न्याय प्रणाली स्थापना तथा अघिल्लो शासनकालका नीतिहरू परिवर्तन गर्ने प्रतिबद्धता जनाएका छन् । संविधान संशोधनका लागि आवश्यक १३३ सिटभन्दा बढी समर्थन टिसा पार्टीले प्राप्त गर्ने देखिएको छ ।

Read More

सरकारका मन्त्रीहरुको सम्पत्तिको स्रोत खुलाउन हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका मन्त्रीहरुले सार्बजनिक गरेको सम्पत्तिको स्रोत पनि खुलाउनुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष साम्पाङले सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने त आयो तर अब त्यसको स्रोत पनि खुलाईदिए राम्रो हुने बताएका हुन् ।

उनले स्रोत बिनाको सम्पत्ति फेरी घुमाई फिराई भ्रष्टाचार गरेको भन्ने बुझिन्छ भन्दै स्रोत खुलाउन माग गरेका हुन् ।

उनले भनेका छन्- ‘सरकारमा रहेका सबैको सम्पत्ति यति उति भन्ने आयो ! अब त्यस्को स्रोत पनि खुलाइदिए राम्रो ! स्रोत बिनाको सम्पत्ति त फेरि घुमाइफिराइ भ्रष्टाचार गरेको भन्ने नै बुझिन्छ ! स्रोत प्रष्टाइदिनु पर्छ ! जय देश !’

Read More

एक अर्ब डलर र देशकै सुन्दर महिला दिन युगान्डाका सेनाप्रमुखको टर्कीसँग माग !

काठमाडौँ । युगान्डाका सेनाप्रमुख तथा राष्ट्रपतिका छोरा मुहोजी कानेरुगाबाले टर्कीसँग सम्बन्धित विवादास्पद अभिव्यक्ति दिएपछि अन्तर्राष्ट्रिय स्तरमा चर्चा चुलिएको छ । उनले टर्कीबाट एक अर्ब डलर बराबर रकम र ‘देशकै सबैभन्दा सुन्दर महिला’लाई पत्नी बनाउने माग सार्वजनिक रूपमा गरेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले माग पूरा नभए ३० दिनभित्र कूटनीतिक सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । साथै टर्कीको दूतावास बन्द गर्ने र टर्किस एयरलाइन्समाथि प्रतिबन्ध लगाउन सकिने संकेतसमेत दिएका छन् । उनले युगान्डावासीलाई टर्की भ्रमण नगर्न पनि आग्रह गरेका छन् ।

कानेरुगाबाले सोमालियामा सञ्चालन भएको शान्ति मिसनको सन्दर्भ दिँदै टर्कीले त्यहाँ पूर्वाधार, बन्दरगाह र विमानस्थल परियोजनाबाट फाइदा लिएको आरोप लगाएका छन् । उनका अनुसार आतंकवादी समूहविरुद्ध लड्ने जिम्मेवारी भने युगान्डाले बहन गरेकाले सोही आधारमा आर्थिक क्षतिपूर्ति मागिएको हो ।

उनका यस्ता अभिव्यक्तिहरू पहिलो पटक भने होइनन् । यसअघि पनि उनले विभिन्न विवादास्पद टिप्पणी गर्दै आएका छन् । विपक्षी नेता बोबी वाइनविरुद्ध कठोर धम्की दिएको विषयमा आलोचना भएपछि पछि उनले माफी मागेका थिए ।

केही समयअघि आफ्नो सामाजिक सञ्जाल खाता हटाएका उनले पुनः ‘म फर्किएँ’ भन्दै सक्रियता बढाएका छन् । फर्किएपछि उनले सुरक्षा निकायलाई सैन्य पोशाक जस्तो देखिने व्यक्तिलाई तत्काल पक्राउ गर्न निर्देशन दिएका थिए । साथै एक अमेरिकी कूटनीतिज्ञले आफूलाई सलाम नगरे पक्राउ गर्ने धम्कीसमेत दिएका थिए ।

५० वर्षीय कानेरुगाबालाई वर्तमान राष्ट्रपति योवेरी मुसेवेनीका सम्भावित उत्तराधिकारीका रूपमा हेरिन्छ । यद्यपि राष्ट्रपति मुसेवेनीले यसलाई अस्वीकार गर्दै आएका छन् । तर राजनीतिक विश्लेषकहरूले उनी क्रमशः सत्ता राजनीतिमा सक्रिय बन्दै गएको टिप्पणी गरेका छन् ।

सन् १९८६ देखि सत्तामा रहेका मुसेवेनीपछि नेतृत्व सन्तानमा सर्ने संकेत देखिएको भन्दै देशभित्र पनि बहस बढ्दै गएको छ ।

यसअघि सन् २०२२ मा उनले इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीसँग विवाह प्रस्ताव राख्दै १०० गाई दिने प्रस्ताव गरेका थिए । प्रस्ताव अस्वीकार भए रोममाथि कब्जा गर्ने चेतावनी दिएपछि उक्त अभिव्यक्ति व्यापक विवादमा परेको थियो ।

त्यस्तै, उनले केन्याको राजधानी नैरोबी दुई साताभित्र कब्जा गर्न सकिने दाबी गरेपछि पनि आलोचना खेप्नुपरेको थियो । त्यसपछि उनलाई अस्थायी रूपमा पदबाट हटाइएको थियो र सरकारलाई माफी माग्नुपरेको थियो ।

यसअघि उनले रुस-युक्रेन युद्धमा रुसको समर्थन गर्दै अभिव्यक्ति दिएका थिए । मस्कोमाथि खतरा आए युगान्डाले सेना पठाउनेसम्मको टिप्पणी गरेपछि अन्तर्राष्ट्रिय रूपमा थप आलोचना भएको थियो ।

Read More

आइपिएलमा मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलुरुको १८ रनको जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा मुम्बई इन्डियन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बैंगलुरुले मुम्बईलाई १८ रनले पराजित गरेको हो ।

बैंगलुरुले दिएको २४१ रनको लक्ष्य पछाएको मुम्बईले २० ओभरमा ५ विकेट गुमाएर २२२ रन बनाएको थियो ।

मुम्बईका लागि शेरफान रथरफोर्डले अविजित ७१ रन बनाएका थिए भने कप्तान हार्दिक पाण्डेयले ४०, रयान रिकलटनले ३७ र सुर्यकुमार यादवले ३३ रन बनाएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको बैंगलुरुले २० ओभरमा ४ विकेट गुमाउदै २४० रन बनाएको थियो । बैंगलुरुका लागि फिल साल्टले ७८ रन बनाएका थिए भने कप्तान रजत पाटीदारले ५३ र विराट कोहलीले ५० रन बनाएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ४ खेलमा ६ अंक भएको छ भने मुम्बई इण्डियन्सले ४ खेलमा तेस्रो हार बेहोरेको छ ।

Read More

बालेन सरकारका कुन मन्त्रीको कति सम्पत्ति छ ?

काठमाडौं । सरकारले प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सहित मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।

भ्रष्टाचार निवारण आयोग ऐन, २०५९ को दफा ५० मा ‘सार्वजनिक पद धारण गरेको ६० दिनभित्र र त्यसपछि हरेक नयाँ आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको निकाय वा अधिकारीसमक्ष पेस गर्नुपर्ने’ उल्लेख छ । यसअघिको सुशिला कार्की नेतृत्वको सरकारले आफ्नो ६ महिने कार्यकालमा सम्पत्ति विवरण सार्बजनिक गरेको थिएन ।

प्रधानमन्त्री बालेन शाहको सम्पत्ति विवरण उनकी पत्नी सविना काफ्लेको नाममा १९० तोला गरगहना रहेको उल्लेख छ । सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला गरगहना रहेको सम्पत्ति विवरणमा उल्लेख छ । उक्त सम्पत्ति प्राप्तिको स्रोत ‘पैत्रिक’ रहेको सम्पत्ति विवरणमा उल्लेख छ । त्यस्तै बालेनको नाममा काठमाडौँमा ५ आना जग्गा र धनुषामा १.२ बिघा जग्गा रहेको उल्लेख छ । त्यस्तै महोत्तरीमा ९ बिघा जग्गा आफ्ना पिता राम नारायण शाहको नाममा रहेको उल्लेख  छ । त्यस्तै बालेनसँग विभिन्न बैंकमा नगद एक करोड ४६ लाख रहेको र सो रकम सामाजिक सञ्जाल फेसबुक, युट्युब, टिकटकलगायतबाट भएको आम्दानी रहेको विवरणमा उल्लेख छ । त्यस्तै उनले आफ्नो सम्पतिमा फेसबुक, युट्युबका फलोअरको संख्यासमेत उल्लेख गरेका छन् ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सार्वजनिक सम्पत्ति विवरण अनुसार अर्थमन्त्री वाग्लेसँग चारवटा घर/अपार्टमेन्ट र १ करोड ९० लाख बैंक ब्यालेन्स रहेको छ । उनको ललितपुरको सानेपामा २ करोडको अपार्टमेन्ट, ललितपुरमा ५ करोडको, काभ्रेमा ३ करोड ७५ लाखको अपार्टमेन्ट र  तनहुँमा २ करोडको घर रहेको  विवरणमा उल्लेख छ। उनले प्राप्तिको स्रोतमा अन्तर्राष्ट्रिय रोजगारी निजी निवास बिक्री, अन्तर्राष्ट्रिय रोजगारी, बैंक ऋण तथा व्यक्तिगत सापटी रहेको उनले उल्लेख गरेका छन् । उनको साढे ४ करोड बराबरको सेयर रहेको छ ।

परराष्ट्रमन्त्री शिशिर खनालको सम्पत्ति विवरणअनुसार उनको काठमाडौंको टोखामा एउटा घर रहेको छ । यसबाहेक उनको नाममा तनहुँ, नवलपुर र बाँकेको नेपालगञ्जमा समेत जग्गा रहेको खुलेको छ । मन्त्री खनालसँग २२ तोला सुन र २५ तोला चाँदी रहेको छ। त्यस्तै, उनले आफूसँग १० लाख रुपैयाँ नगद मौज्दात रहेको विवरणमा उल्लेख छ । उनले बैंकबाट ऋृण लिएर ४० लाखमा ‘डङफेङ विगो’ गाडी खरिद गरेको उल्लेख छ । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको सार्वजनिक सम्पत्ति विवरण अनुसार उनको कुल सम्पत्ति २४ करोड १६ लाख २७ हजार रुपैयाँ छ । कुल सम्पत्तिमध्ये २३ करोड ४१ लाख २७ हजार उनको खुद सम्पत्ति हो । जसमा ७५ लाख रुपैयाँ ऋण रहेको छ ।  

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले सुन १५ तोला र चाँदी ५० तोला रहेको विवरण पेस गरेका छन् । यस्तै चार आना पैतृक जग्गा रहेको विवरणमा उल्लेख छ । यस्तै उनले शेयरमा एक करोड ४५ लाख ४८ हजार ४२० लगानी रहेको विवरणमा उल्लेख छ । त्यस्तै उनले विभिन्न बैंकमा करिब ७९ लाख नगद रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनीसँग दुई वटा गाडी र एक स्कुटर रहेको तिनैको कुल मुल्य  ३० लाख ७१ हजार रहेको उल्लेख छ । त्यस्तै उनले ३ लाख बराबर मूल्यका विभिन्न ब्रान्डका घडी रहेको विवरणमा उल्लेख गरेका छन् ।

गृहमन्त्री सुदन गुरुङको सम्पत्ति विवरण अनुसार मन्त्री गुरुङको विभिन्न बैंकमा ६१ लाख ३५ हजार नगद रहेको छ भने शेयर बजारमा ४ करोड भन्दा बढीको लगानी रहेको छ । गुरुङको होप होल्डिङ्स प्रालिमा ३० लाख बराबरको ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ भने लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५७ लाख बराबरको ५ हजार ७ सय थान साधारण सेयर रहेको उल्लेख छ । त्यस्तै, धितोपत्र बजारमा २ करोड ७४ लाख ५६ हजार बराबरको शेयर रहेको उल्लेख गरेका छन् । त्यसैगरी मन्त्री गुरुङको एड्भेन्चर भिल्ला प्रालिमा ७० लाख बराबरको ७० हजार थान शेयर रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनले पत्रिक सम्पत्तिमा ८९ तोला सुन र ६ किलो चाँदी रहेको विवरण पेश गरेका छन् । त्यसैगरी उनको धनकुटामा लगानीबाट प्राप्त आय बाट १९ रोपनी १५ आना जग्गा रहेको उल्लेख गरेका छन् भने चितवनमा पिता दिल बहादुर गुरुङको नाममा ३० कठ्ठा  र गोरखामा बाजे रामसल गुरुङ तथा परिवार (बाँडफाँड नभएको)  को नाममा २२१ रोपनी जग्गा रहेको उल्लेख छ । 

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमको बैंकमा नगद १० लाख ५० हजार रहेको उल्लेख छ भने उनले गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख लिएको र त्यसमा ७ लाख तिरेको उल्लेख छ । त्यस्तै एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख ऋण लिएको सम्पत्ति विवरणमा उल्लेख छ । उनीसँग १५ तोला सुन, ९ तोला चादी र १ तोला हिरा रहेको छ भने श्रीमान गृहेन्द्र घिमिरेले एभरेष्ट बैंकबाट ९५ लाख ऋण लिएर बा ३ च ६७२२ नम्बरको गाडी खरिद गरेको उल्लेख छ । 

भौतिक पूर्वाधार मन्त्री सुनिल लम्सालको ३० रोपनी पैतृक सम्पत्ति विवरणमा उल्लेख छ भने ११ कठ्ठा २५ धुर जमिन रहेको छ । त्यस्तै ३० तोला सुन र ५० तोला चाँदी तथा विभिन्न बैंकमा ९० लाख रूपैयाँ मौज्दात रहेको उल्लेख छ ।

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको सम्पत्ति विवरणमा काठमाडौंको बूढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेको उल्लेख छ । उनले यी जग्गा खरिदको स्रोत श्रीमान्‌को आय उल्लेख गरेकी छन् । त्यस्तै आफूसँग २५ तोला सुन रहेको र विभिन्न बैंकमा २४ लाख बढी रकम बचत रहेको विवरण पेश गरेकी छन् भने २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको पनि उल्लेख गरेकी छन् । त्यस्तै ४४ लाखको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीको सार्वजनिक सम्पत्ति विवरणमा ५० हजार रुपैयाँ पर्ने घडी, ९० हजारको मोबाइल र ७५ हजार बराबरको ल्यापटप रहेको उल्लेख छ । त्यस्तै ५ तोला सुन र १०० तोला चाँदी रहेको छ भने ५ बैंकमा १ लाख २६ हजार रुपैयाँ नगद रहेको विवरणमा उल्लेख छ । मन्त्री चौधरीले ऋणमा स्कुटर खरिद गरेको र स्कुरट खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । सम्पत्तिको नाममा माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको उल्लेख छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीले आफ्नो सम्पत्ति विवरणमा २० कुखुरा र एउटा कुकुर पनि उल्लेख गरेकी छन । सार्वजनिक सम्पत्ति विवरणमा उनले आफूसँग स्कुटर, तीन ल्याप्टप र २ वटा मोबाइल रहेको उल्लेख गरेकी छन् । उनको श्रीमानको पल्सर मोटरसाइकल रहेको उल्लेख छ भने नगद ५० हजार र बैंकमा श्रीमानको सहित १५ लाख रहेको उल्लेख छ । मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको छ भने सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको विवरणमा उल्लेख छ ।

स्वास्थ्य मन्त्री निशा मेहताको सम्पत्ति विवरण अन्यसर ३० तोला सुनको गरगहना र ५० तोला चाँदी रहेको उल्लेख छ । मन्त्री मेहताको काठमाडौंको सौखेलमा ७ आना जग्गा, माछापुच्छ्रे बैंकमा ७ लाख २३ हजार, सानिमा बैंकमा १० लाख र २५ लाखको आई १० को एउटा गाडी रहेको छ । 

उद्योग वाणिज्य मन्त्री गौरी कुमारी यादवले काठमाडौंमा २५ आना र महोत्तरीमा २९ कठ्ठा जग्गा रहेको उल्लेख गरेकी छिन् । सुन १८० तोला र चाँदी २ किलो रहेको उनको विवरण छ । श्रमन्त्री रामजी यादवले राजविराजमा ११ कठ्ठा १३ धुर जमिन रहेको उल्लेख गरेका छन् । ८० तोला सुन र १५० तोला चाँदी रहेको उनको विवरणमा उल्लेख छ। 

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज पौडेलको सम्पत्ति विवरणमा ११ तोला सुन र पाँच तोला चाँदी रहेको उल्लेख छ । यस्तै विभिन्न स्थानमा जग्गा रहेको उनको विवरण छ । करिब २५ लाख नगद रहेको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले एक करोड ४० लाख ऋण रहेको विवरणमा उल्लेख गरेका छन् । त्यस्तै उनले ३९ लाख बराबरका एक जीप र २ स्कुटर किनेको उल्लेख गरेका छन् ।  

सञ्चार तथा सूचना मन्त्री विक्रम तिम्लसिनाले सम्पत्ति विवरणमा नागार्जुनमा १४२.७० बर्ग मित्रमा जग्गा रहेको उल्लेख छ भने करिब ५ तोला सुन र चाँदी १० तोला रहेको विवरण उल्लेख गरेका छन् । उनले १० लाख २५ हजार नगद रहेको खुलाएका छन् । त्यसैगरी उनीसँग २३ लाख बराबरको गाडी रहेको उल्लेख छ । 

Read More

पीएम कपमा आज पनि दुई खेल हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गत आज दुई खेल हुदैछन् ।  आज पीएम कपमा कोशी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच जनकपुरमा खेल हुदैछ । 

जारी पीएम कपमा आर्मी क्लबको ७ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ भने कोशी प्रदेश ८ खेलमा एक अंकसहित पुछारमा रहेको छ ।

त्यस्तै आज अर्को खेल एपीएफ क्लब र मधेश प्रदेशबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा एपीएफ क्लबको ८ खेलमा ९ अंक रहेको छ र हाल पाँचौं स्थानमा छ । त्यस्तै मधेश प्रदेशको ७ खेलमा ९ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

एकदिवसीय फर्म्याटमा खेलिने दुवै खेल बिहान ९ बजेदेखि शुरु हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । प्रतियोगितामा सातै प्रदेशका टिमसहित तीन विभागीय टिम गरी कुल १० टिमको सहभागिता रहेको छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका टिम रहेका छन् । 

‘सिंगल राउन्ड रोबिन’ प्रणालीको आधारमा हुने यो प्रतियोगिताका दुई शीर्ष टिमले फाइनलको निम्ति प्रतिस्पर्धा गरिरहेका छन् । पीएम कप अहिलेसम्म विभागीय टिमले मात्र जितेका छन् । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

राष्ट्रिय सभाका दुई समितिको बैठक बस्दै

काठमाडौँ । आज राष्ट्रिय सभा अन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दैछ  । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउसो १ बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा बस्ने र बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । समितिको सभापतिमा हालै पूजा चौधरी निर्वाचित भएकी छन् ।  

त्यस्तै आज बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको हलमा बस्ने र बैठकमा समितिको बार्षिक कार्ययोजनाको वारेमा छलफल हुने समितिले जानकारी दिएको छ । त्यस्तै यस समितिको सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

Read More