२०८३ बैशाख १३

आइपिएलमा कोलकोतामाथि चेन्नई ३२ रनले बिजयी

काठमाडौं । चेन्नई सुपर किंग्सले जारी आइपिएलमा कोलकोता नाइट राइडर्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा चेन्नईले कोलकोतालाई ३२ रनले पराजित गरेको हो ।

चेन्नईले दिएको १९३ रनको लक्ष्य पछाएको कोलकोताले २० ओभरमा ७ विकेट गुमाएर १६० रन बनाएको थियो ।

कोलकोताका लागि रमनदीप सिंहले सर्बाधिक ३५ रन बनाए भने कप्तान आजिख्य रहानेले २८, अंगक्रिश रघुबंशीले २७ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १९२ रन बनाएको थियो ।

चेन्नईका लागि सन्जु सामसनले सर्बाधिक ४८ रन बनाएका थिए भने डेवाल्ड ब्रेभिसले ४१  र आयुष मात्रेले ३८ रन बनाएका थिए ।

यो जितपछि चेन्नईको ५ खेलमा २ जित र ३ हारसहित ४ अंक भएको छ । त्यस्तै कोलकोताले भने ५ खेलमा चौथो हार बेहोरेको छ ।

Read More

काँग्रेसको अनुशासन समितिको बैठक बस्दै, खडकालाई कारवाही गर्नसक्ने !

काठमाडौँ ।  नेपाली काँग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने गरि बोलाइएको हो ।

काँग्रेसका पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खड्काले सोमबार पुन: कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेपछि अनुशासन समितिको बैठक बोलाइएको बताइएको छ । यसअघि खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति निकाले पछि अनुशासन समितिले सचेत गराएको थियो ।

Read More

पीएम कपका लिग चरणका अन्तिम दुई खेल आज हुदै

काठमाडौं । प्रधानमन्त्री कप (पीएम कप) अन्तर्गतको लिग खेलका आज अन्तिम दुई खेल हुदैछन् । 

आज पीएम कपमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच जनकपुरमा खेल हुदैछ । जारी पीएम कपमा त्रिभुवन आर्मी क्लबको ८ खेलमा १५ अंक रहेको छ र शिर्ष स्थानमा रहदै फाइनलका लागि छनौट भएको छ । त्यस्तै लुम्बिनी प्रदेशको ८ खेलमा ९ अंक भएको छ र पाँचौं स्थानमा रहेको छ । 

त्यस्तै आज अर्को खेल मधेश प्रदेश र नेपाल पुलिस क्लबबीच पर्सामा खेल हुदैछ । जारी पीएम कपमा मधेश प्रदेशको ८ खेलमा ९ अंक रहेको छ र हाल छैटौं स्थानमा रहेको छ । त्यस्तै नेपाल पुलिस क्लबको ८ खेलमा ९ अंकनै रहेको छ र चौथो स्थानमा रहेको छ ।

अब शुक्रबार हुने फाइनलमा दुई शीर्ष टिम त्रिभुवन आर्मी क्लब र सुदूरपश्चिम प्रदेश खेल्दैछन् । यसअघि पीएम कप विभागीय टिमले मात्र जितेका छन् भने यस पटक सुदूरपश्चिमले चुनौती दिएको छ । नेपाल पुलिस क्लबले सबै भन्दा धेरै ४ पटक जितेको छ भने त्रिभुवन आर्मी र एपीएफ क्लबले २-२ पटक जितेका छन् । पीएम कपको डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लब रहेको छ । एकदिवसीय फर्म्याटमा हुने पीएम कपको विजेताले १० लाख रुपैयाँ नगद पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख पाउने क्यानले जानकारी दिएको छ ।

Read More

पहिलो अन्तर्राष्ट्रिय आरोग्य दिवस आज मनाइदै

काठमाडौँ । आज वैशाख २ गते अर्थात अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस (वेलनेस दिवस) का रूपमा मनाउने निर्णय गरेसँगै देशभर जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मनाइदै छ ।

संयुक्त राष्ट्रसङ्घबाट अप्रिल १५ लाई अन्तर्राष्ट्रिय वेलनेस (आरोग्य) दिवसका रूपमा मनाउने प्रस्ताव पारित गरेसँगै पहिलो पटक अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउन लागिएको हो । नेपालको प्रस्तावमा राष्ट्र संघले गत मार्चमा यो प्रस्ताव पारित गरेको थियो  ।  

सोही अनुसार नेपालमा पनि यस दिनलाई स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने अवसरका रूपमा मनाइँदैछ । आरोग्य दिवसको मुख्य उद्देश्य नागरिकमा स्वस्थ जीवनशैलीबारे जनचेतना फैलाउने रहेको छ । 

यस अवसरमा सङ्घ, प्रदेश तथा स्थानीय तहले विभिन्न कार्यक्रम गर्न लागेका छन् । स्वस्थ जीवनयापन, निरोगी रहन अपनाउनुपर्ने बानी व्यवहार तथा स्वास्थ्य शिक्षासम्बन्धी विषयमा जनचेतना फैलाउने उद्देश्यले देशभर कार्यक्रम गरेर यो दिवस मनाउने तयारी गरिएको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।

यो दिवसले स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायलाई प्रेरित गर्ने विश्वास लिइएको छ । यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलन गर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ ।

स्वस्थ जीवनशैली, मानसिक स्वास्थ्य संरक्षण तथा प्रकृतिसँग सन्तुलित जीवन बिताउन विश्व समुदायले प्रेरित यस दिवसले स्वास्थ्यलाई रोग नलाग्ने अवस्थामात्र नभई शारीरिक, मानसिक, सामाजिक तथा पर्यावरणीय सन्तुलनसहितको समग्र कल्याणका रूपमा बुझ्नुपर्ने सन्देश विश्वभर फैलाउने उद्देश्य राखेको छ ।

Read More

विश्व कला दिवस मनाइँदै

काठमाडौँ । विश्व कला दिवस आज नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । कला र संस्कृतिको प्रवद्र्धन गर्न हरेक वर्ष अप्रिल १५ मा विश्व कला दिवस मनाउने गरिन्छ । 

यस बर्षको विश्व कला दिवसको विषयवस्तु ‘अभिव्यक्तिको बगैंचा: कला मार्फत समुदायको विकास’ रहेको छ । यो विषयवस्तुले सम्बन्ध, एकता र सामाजिक बन्धनलाई बढावा दिन रचनात्मकताको प्रयोगमा जोड दिएको छ । यसले मानिसहरूलाई एकसाथ ल्याउन सबै रूपहरूमा कलात्मक अभिव्यक्तिलाई प्रोत्साहित गर्दछ ।

पहिलो पटक, विश्व कला दिवस २०१२  को अप्रिल १५ मा मनाइएको थियो । त्यस यता हरेक वर्ष यो दिवस मनाइँदै आइएको छ । पहिले नेपालमा धार्मिक र सांस्कृतिक मान्यताअनुसार जात्रा र पर्व मात्रै मनाउने चलन थियो । हाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दिवस मनाउने परम्पराले प्रधानता पाइरहेको छ । राजनीति तथा भाषा साहित्यका अग्रणी व्यक्तित्वहरूको जयन्ती पनि धुमधामले मनाइन्छ तर विडम्बना, कलासंस्कृतिको प्रचार–प्रसार संवद्र्धनका पक्षमा ठूलो योगदान गर्ने कलासाधकलाई सम्झने संस्कृति विकास भएको छैन ।         

सदियौंदेखिका ललितकला विधाका स्रष्टाहरूबारे अध्ययन अनुसन्धान समेत भएको देखिदैन । जसका कारण कला संस्कृति नै हराउँदै जान थालेका छन् । यो अत्यन्त दुःखको कुरा हो । वास्तवमा चित्रकला हुन् वा मूर्तिकला नयाँ पुस्तामाझ जीवित राख्न सक्ने माध्यम हुन् । नेपालको ऐतिहासिकतासँगै बदलिँदो सांस्कृतिक परिवर्तन देखाउने थलो पनि चित्रकला र मूर्तिकला नै हो । ति कला नेपाली समाजलाई आमजनमानसमा परिचित गर्नेमात्र होइन अन्तर्राष्ट्रिय समुदायमाझ चिनिने सशक्त माध्यम पनि हुन् । यस्ता चित्रकला र मूर्तिकला प्रस्फुटन गर्ने कलाकारहरुको आकर्षण दिनप्रतिदिन बढिरहेकै छ । तर उनीहरुले निर्माण गरेका कलाका धरोहर जोगाउन भने मुस्किल बनेको छ । यतिसम्म कि कलाकारका बारेमा कसैले जान्न खोजे, कति मूर्तिकार र चित्रकारहरु नेपालमा छन् भन्ने बारेमा सरकारसँग तथ्यांक समेत छैन । ऐतिहासिक कला र ति कलाकारहरुको संरक्षण गर्ने दिशामा सरकारले ध्यान दिनुपर्छ । यसो भयो भने मात्र हरेक वर्ष कला दिवस मनाउनुले सार्थकता प्राप्त गर्दछ ।

Read More

कस्तो छ आजको मौसम पूर्वानुमान ?

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जानकारी दिएको छ ।

हाल देशको हिमाली भू-भागमा साधारणतया बादल लागेको र पहाडी भू-भागमा आंशिक बादल लागेको छ तथा तराई भू-भागमा मौसम मूख्यतया सफा रहेको छ। कोशी प्रदेशको पहाडी र हिमाली भू-भाग साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपात भईरहेको छ ।

आज दिउँसो कोशी प्रदेशको पहाडी भू-भाग लगायत देशका हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी पहाडी भू-भागमा आंशिक बादल लाग्ने र तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै तथा गण्डकी प्रदेशको पहाडी भू-भाग लगायत बाँकी हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको  सम्भावना रहेको छ। 

त्यस्तै आज राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागमा साधारणतया बादल लाग्ने, बाँकी हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने, तराई भू-भागमा मौसम मूख्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ। 

Read More

२०८३ बैशाख २ गते बुधबार: आजको राशिफल

आजको राशिफल बिस २०८३ बैशाख २ गते बुधबार ईस २०२६ अप्रिल १५ नेपाल सम्बत ११४६ चौलागा त्रयोदशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायण, वसन्त ऋतु, बैशाख कृष्ण पक्ष त्रयोदशी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्रपदा नक्षत्र, ब्रम्हा योग, कर करण । आज नेपालमा सुर्योदय बिहान ५ बजेर ४१ मिनेटमा र सूर्यास्त साँझ ६ बजेर २९ मिनेटमा हुनेछ ।

आज जन्म लिने बच्चा कुम्भ राशीको हुनेछ । विश्व कला दिवस/अन्तर्राष्ट्रिय आरोग्य दिवस परेको छ ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –

दाम्पत्यसम्बन्धमा तालमेलको कमी रहने छ, तर घरको वातावरण व्यवस्थित र रमाइलो नै हुनेछ । कुनै गोपनीय कुरा सार्वजनिक हुँदा अप्ठ्यारोमा परिने छ । घरपरिवारमा सँगै बस्नेले बाध्यात्मक काममा अलमलिने परिस्थिति देखिन्छ, यद्यपि उच्च शिक्षाका विद्यार्थी एवं वैदेशिक प्रयोजनको अध्ययन गर्नेले राम्रो परिणाम पाउनेछन् । खिसीट्युरी गर्ने वा प्रतिद्वन्द्वीहरूले अथवा राजनैतिक प्रतिपक्षले हानि पुर्याउने योजना बनाउन सक्छन्, त्यस्तै गोपनीयता बाहिरिनाले पनि समस्यामा पर्न सकिन्छ । तर आफ्नो समझदारीले हरेक समस्याको समाधान गर्न सकिनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –

कुनै पुरानो समस्या वा कारबाहीमा ध्यान केन्द्रित हुनसक्छ, त्यसैले नबुझेको विषय छ भने सहकर्मीको मद्दत लिएमा समस्या हल गर्न सजिलो हुनेछ । इष्टमित्र र नातेदारसँग भेटघाट हुनेछ, पार्टनरले आफूलाई कति ब्याकअप गर्छ भन्ने थाहा पाउँदा एउटा नौलो अनुभूति र रोमाञ्चकता देखापर्ने दिन हो । इष्टमित्र र सँगीसाथीको साथ पाइने छ । यो परोपकारी र साहसी काम गर्ने समय पनि हो, तर भाइबहिनीको इच्छापूर्तिका लागि खर्च बढाउनुपर्ने हुन्छ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –

सागसब्जी र चिसोजन्य कारोबारीहरूले राम्रो गर्न सक्नुहुन्छ, आम्दानीको पाटो सहज नै देखिन्छ, तर पनि फुइँ लाउने क्रममा मोटै रकम खर्च हुनेछ । एउटा स्मरणीय आनन्द प्राप्त हुने दिन हो, अझ बोली र व्यवहारमा नम्रताको प्रयोग गर्नुहोस्, केही दिनमा नै घरमा नवीन सुखको आभास हुनेछ । परीक्षा वा प्रतियोगिताका दृष्टिकोणले अनुकूल दिन छ । कुनै नौलो विषयको जानकारी लिएमा भविष्यमा राम्रो उपलब्धि लिन सकिने छ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –

सुसुप्त चाहना र सपनालाई जीवन्त तुल्याउने राम्रो समय छ । सपनाको झिल्को निभ्यो भने प्रगति र विकासका सबै द्वार बन्द हुन्छन् भनी सचेत भई काम गर्नुहोला । आफूलाई ऊर्जावान् र जीवन्त महसुस गर्ने दिन हो । व्यक्तित्व निर्माणका साथै शारीरिक सुगठन र रूप संरचनातर्फ ध्यान केन्द्रित हुनसक्छ । पार्टनरबाट कुनै कुराको अपेक्षा गरेको जाती हुन्छ, कुनै व्यक्तिगत समस्या छ भने पनि बताएमा सही निकास पाउन सक्नुहुन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –

अवरोध र बाधा सिर्जना हुने तथा अनावश्यक खर्च बढ्ने समय छ, त्यसैले कुनै पनि जोखिमयुक्त काममा सहभागिता नजनाउनु नै बेस हुनेछ । दौडधूप गर्नुपर्ने काम, ढुवानीरयातायात वा मार्केटिङमा राम्रो छ, तर काममा आफू स्वयं उपस्थित भएमा मात्र लाभ पाइने दिन हो । सुखसुविधाका सामाग्रीप्रति आकर्षण बढ्नेछ, तर आर्थिक पक्ष बाधक बन्ने समय हो । आवश्यक पर्दा ऋण वा सरसापटी लिनुपर्ने बाध्यता देखिन्छ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –

सरकारी ठेक्कापट्टा, गृहनिर्माण, फर्निचर र साजसज्जाका सामाग्री, बालबालिकाका सरसामाग्री, खानपीनका सुख्खा सामाग्री, गरगहना र सुनको कारोबारमा लाभ पाउन सकिन्छ । चाहेबमोजिम सबै कामहरू सम्पन्न हुनेछन्, पारिवारिक माहौल पनि ठीकै छ, तथापि अहङ्कार र घमण्डलाई कन्ट्रोल गर्ने समय हो । कमीकमजोरी र असफलताहरू पन्छाउँदै क्षमताअनुरूप परिश्रम गर्नुहोस्, लक्ष्यप्रति केन्द्रित भएर लागी परेमा ठूलो सफलता पाउने दिन हो । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –

सिनियर स्टाफलाई रिझाउन सकिने छ । व्यक्तित्व विकासको योजना बनाउने र पदोन्नति वा थप अध्ययनका लागि प्रयास गर्ने दिन हो । व्यक्तिगत कार्यक्षेत्रमा बोझ बढ्ने दिन हो, निजी काममा खट्नुपर्दा अधिकांश समय बित्नसक्छ, पार्टनरको चाहनाअनुसार समय निकाल्न सकिंदैन र अनावश्यक तनाव व्यहोर्नुपर्ने समय छ । कुटनैतिक क्षमताको उपयोग गर्नाले सम्मान र प्रशंसा पाइने छ, अझ मौखिक अभिव्यक्ति वा कलात्मक कामका माध्यमबाट धनरकमसमेत जुटाउन सक्नुहुन्छ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –

थोरै मात्र प्रयास गरेर आम्दानीको मार्ग बढाउन सकिने भाग्योन्नतिको समय छ । केही समय छरछिमेकीको काममा वा आफन्तका निमित्त छुट्याउनु पर्ने हुन्छ । आजको दिन तपाईंको आफ्नै हातमा छ, प्रयास गरेमा राम्रो उपलब्धि हासिल हुने तथा अल्छी गरेमा सुनौलो अवसर पनि गुम्नसक्ने समय हो । मान्यजन र वरिष्ठ व्यक्तित्वसँग निकटता बढ्नेछ, कर्मप्रति समर्पित भइने छ र प्रतिष्ठामा बृद्धि हुनेछ । दीनदुःखी, रोगी र पाको व्यक्तिलाई सहयोग गर्न पाउँदा एउटा छुट्टै आनन्दको आभास हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –

परीक्षा नजिकै आएको छ भने हरेक कुरा र योजनालाई सार्वजनिक नगर्नु होला, नत्र तपाईंको प्रयास र मिहिनेत खेर जानसक्छ । शरीरमा थकान र उत्साहमा कमी आउने समय छ, तथापि आफूलाई सक्दो प्रसन्न बनाउन प्रयास गर्नुपर्छ, किनभने आज आफ्ना लागिमात्र होइन, आफन्तका निमित्तसमेत तपाईंको दृढता र हौसला आवश्यक देखिन्छ । स्टाफहरूका माझमा समन्वयको कमी छ भने वैठक राखेर सुलह गरिहाल्नु राम्रो हुन्छ, नत्र गोपनीयता बाहिरिने वा प्रशासनिक समस्या उत्पन्न हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –

लामो समयपछि एकान्तमा बस्न पाउने र रमाउने समय छ, आफ्ना कुरा सुनाउनुभन्दा पनि पार्टनरका भावना बुझ्ने प्रयास गर्नुहोला । आज राम्रा र नयाँ डिजाइनका लुगाफाटा पहिरने सौख जाग्नेछ, आफ्नै लागि वा जीवनसाथीका लागि वस्त्र वा आभूषणादि खरीद गर्ने मनसाय बन्नसक्छ । कुशल नेतृत्व र व्यवस्थापकीय क्षमताको उपयोग हुनेछ, पारिवारिक जीवन र आत्मिक आनन्दका लागिसमेत उत्कृष्ट समय रहेको छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –

एकान्तमा बस्न पाउने तथा दुःखसुख सेयर गरी आत्मिक आनन्दमा रमाउने दिन हो, तर कुनैकुनै कुरामा तपाईंको हठ र जिदले नरमाइलो गर्नसक्छ । शत्रु र विरोधीहरूसँग डटेर प्रतिस्पदर््धा गर्ने समय छ । लेखनरसम्पादन, पत्रकारिता, वकालत, कृषिकार्य वा व्यापार गर्नेका लागि राम्रो दिन छ । कुनै आधिकारिक वार्तालाप वा व्यापारिक बैठकका बारेमा उत्सुकता बढ्ने समय हो, नयाँ करार वा समझौताको सम्भावना पनि देखिन्छ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –

लगनशीलता र परिश्रमको प्रतिफल पाउने समय हो, परीक्षा वा प्रतियोगितामा सामेल हुनुछ भने अझ बढी मिहिनेत गर्नु ठीक हुन्छ । कसैप्रति अलि बढी आकर्षित हुनपुगेको भान हुनेछ, तर यतिवेला आफ्ना विचार र भावनामाथि नियन्त्रण गर्नु समुचित हुनेछ । बुद्धिकौशलको प्रयोग गरी चलाखीपूर्वक काम गर्दा अतिरिक्त पैसा हातलागी हुनेछ । कल्पना र भावनामा रुमल्लिन सकिन्छ, तर आज कामबाट फुर्सद निकालेर कुनै नजानेको विषयवस्तु र नयाँ ज्ञान सिक्न कोसिस गर्ने समय हो ।

Read More