काठमाडौँ । गृहमन्त्री सुदन गुरुङले आफूमाथि उठिरहेका विभिन्न आरोपप्रति प्रतिक्रिया दिँदै सत्यतथ्य बाहिर ल्याउन अनुसन्धानमा पूर्ण साथ दिने बताएका छन्। सामाजिक सञ्जालमार्फत सार्वजनिक धारणा राख्दै उनले पार्टीको निर्णयलाई सम्मान गर्दै आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
पछिल्ला दिनहरूमा आफ्नो नाम जोडेर विभिन्न चर्चा र आरोपहरू फैलिएको उल्लेख गर्दै उनले तथ्य र हल्लाबीच छुट्याउन आग्रह गरेका छन्। विशेषगरी २५ लाख रुपैयाँ बराबरको सेयर लुकाएको भन्ने आरोपलाई उनले निराधार भन्दै खारेज गरेका छन्। उनका अनुसार आफ्ना सबै लगानीहरू सम्पत्ति विवरणमै उल्लेख गरिएका छन्।
गुरुङले धितोपत्र बजारमा सूचीकृत कम्पनीहरूमा दुई करोड रुपैयाँभन्दा बढी लगानी खुलाइसकेको जानकारी दिए। स्टार माइक्रो र लिबर्टी माइक्रोमा रहेको लगानी पनि सोही दायराभित्र पर्ने बताउँदै उनले यो ‘लुकाउने’ नभई ‘वर्गीकरण’ को विषय भएको स्पष्ट पारे।
उनले मन्त्री बन्नुअघि सेयर खरिद गर्नु गैरकानुनी नभएको जिकिर गर्दै सबै आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत गरिएको बताए। लगानीका लागि लिइएको कर्जा सम्बन्धी सम्पूर्ण कागजात र बैंक रेकर्ड उपलब्ध रहेको उनको भनाइ छ।
विवादित व्यक्तिसँग साझेदारी गरेको आरोपबारे उनले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर खरिद गर्नु सबैसँग साझेदारी गर्नु जस्तो नहुने बताए। यस्तो आरोप आधारहीन भएको उनको दाबी छ।
‘स्वार्थको द्वन्द्व’ सम्बन्धी विषयमा भने सम्बन्धित निकायबाट छानबिन भइरहेको र त्यसमा आफूले कुनै हस्तक्षेप नगरेको उनले प्रष्ट्याए।
गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने उल्लेख गर्दै पछिका घटनालाई आधार बनाएर अघिका निर्णयलाई दोष दिनु उपयुक्त नहुने बताए। कानुनी रूपमा संवेदनशील विषय भएकाले हतारमा प्रतिक्रिया दिन नहुनेमा पनि उनले जोड दिएका छन्।
अन्त्यमा उनले आरोप र सत्य फरक कुरा भएको भन्दै कुनै पनि निर्णय प्रमाणका आधारमा हुनुपर्ने धारणा राखे। साथै, अनुसन्धान प्रक्रियामा पूर्ण सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याए।
Read More