२०८३ बैशाख १३

अमेरिकी सहायक विदेशमन्त्री काठमाडौंमा

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुर काठमाडौं आइपुगेका छन् । 

मध्य तथा दक्षिण एसियाली मामिलासम्बन्धी अमेरिकी सहायक विदेशमन्त्री कपुर टर्किस एअरलाइन्सको उडानमार्फत इस्तानबुलबाट सोमबार बिहान नेपाल आइपुगेका हुन् ।

उनले भ्रमणका क्रममा प्रधानमन्त्री बालेन शाह, परराष्ट्रमन्त्री शिशिर खनाल र अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । 

कपुर नयाँ सरकार गठनपश्चात नेपाल आउने पहिलो उच्चस्तरीय अमेरिकी अधिकारी हुन् । यसअघि उनले बंगलादेशमा नयाँ सरकार गठनपछि भ्रमण गरेका थिए ।

कपुर भ्रमण सम्पन्न गरेर बुधबार स्वदेश फर्कने बताइएको छ ।

Read More

होर्मुज क्षेत्रमा ‘टोसका’ नामक कन्टेनर जहाज अमेरिकी नियन्त्रणमा

काठमाडौँ । ‘टोसका’ नामक ठूलो कन्टेनर जहाजलाई अमेरिकी सेनाले नियन्त्रणमा लिएको छ । करिब २९४ मिटर लामो र ३२.५ मिटर चौडाइ भएको यो जहाज चीनबाट इरानतर्फ जाँदै थियो ।

उक्त जहाज अप्रिल १२ मा मलेसियाको क्लाङ बन्दरगाहबाट छुटेको र इरानको अब्बास बन्दरगाहतर्फ गइरहेको बताइएको छ ।

अमेरिकी सेनाका अनुसार आइतबार करिब ६ घण्टासम्म जहाजका चालकदललाई पटक–पटक चेतावनी दिइएको थियो । वासिङ्टनले घोषणा गरेको नाकाबन्दी उल्लङ्घन गरिरहेको भन्दै जहाज रोकिन आग्रह गरिएको थियो ।

तर जहाज नरोकेपछि अमेरिकी युद्धपोतले तोप प्रहार गर्दै इन्जिन कक्षलाई निशाना बनाएको थियो । त्यसपछि जहाजको गति रोकिन पुगेको र अमेरिकी सैनिक चढेर नियन्त्रणमा लिएको जनाइएको छ । हाल उक्त जहाज अमेरिकी नियन्त्रणमा रहेको बताइएको छ ।

Read More

बेइजिङ हाफ म्याराथनमा रोबोर्टको किर्तिमान

काठमाडौँ । चीनको बेइजिङमा आयोजना गरिएको ई–टाउन ह्युमन्वाइड रोबोट हाफ म्याराथनले प्रविधि क्षेत्रमा नयाँ इतिहास बनाएको छ । आइतबार भएको प्रतियोगितामा पहिलो पटक ह्युमन्वाइड रोबोटहरूले मानव धावकलाई पछि पार्दै उल्लेखनीय प्रदर्शन गरेका छन् ।

‘मानव–रोबोट संयुक्त दौड’ नाम दिइएको उक्त प्रतियोगितामा १०० भन्दा बढी रोबोट र करिब १२ हजार मानव धावकले २१. १ किलोमिटर दूरी तय गरेका थिए । सुरक्षाका लागि दुवै समूहबीच अवरोध राखिएको थियो ।

प्रतियोगितामा ‘लाइटनिङ’ नामको रोबोट सबैभन्दा आकर्षण बनेको थियो । उक्त रोबोटले ५० मिनेट २६ सेकेन्डमै दूरी पूरा गर्दै मानव विश्व कीर्तिमानभन्दा पनि छिटो समय निकालेको जनाइएको छ । यसअघि मानवतर्फको कीर्तिमान ५७ मिनेट २० सेकेन्ड रहेको थियो ।

प्रतियोगितामा पहिलो तीन स्थान एकै प्रविधि कम्पनीका रोबोटहरूले हासिल गरेका छन् । दोस्रो र तेस्रो स्थानमा रहेका रोबोटहरूले क्रमशः करिब ५१ र ५३ मिनेटमा दूरी पूरा गरेका थिए । ती रोबोटमा उच्चस्तरीय शीतलन प्रविधि प्रयोग गरिएको थियो, जसले दौडका क्रममा ताप नियन्त्रण गर्न सहयोग गरेको बताइएको छ ।

यस वर्षको प्रतियोगितामा करिब ४० प्रतिशत रोबोटले आफ्नै संवेदक र कृत्रिम बुद्धिमत्ताको सहायताले स्वतन्त्र रूपमा दौड पूरा गरेका छन् । अघिल्लो वर्ष सबै रोबोट बाह्य नियन्त्रणमा निर्भर थिए ।

प्रतियोगिताका क्रममा केही रोचक दृश्य पनि देखिएका थिए । एक रोबोटले ट्राफिक व्यवस्थापकको भूमिका निभाउँदै संकेत र आवाजमार्फत धावकलाई दिशा दिइरहेको थियो । तर केही रोबोट सुरुवातमै लड्ने, बाटो बिराउने वा अवरोधमा ठोक्किने जस्ता समस्या पनि देखिएका थिए ।

चीनले रोबोटिक्स क्षेत्रमा आफूलाई विश्वस्तरमा अग्रणी बनाउने लक्ष्यसहित तीव्र रूपमा काम गरिरहेको छ । सरकारी सहयोग, पूर्वाधार र नीतिगत समर्थनमार्फत यस क्षेत्रको विकासलाई प्राथमिकता दिइएको जनाइएको छ ।

Read More

विद्यार्थी युनियनको अधिकार खोस्ने कदम अलोकतान्त्रिक- प्रदीप ज्ञवाली

काठमाडौँ । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले विश्वविद्यालयमा विद्यार्थी सङ्गठनका गतिविधि रोक्ने निर्णयप्रति आपत्ति जनाएका छन् ।

उनले स्वतन्त्र विद्यार्थी युनियनको अधिकार खोस्ने र विद्यार्थी सङ्गठनको उपस्थिति निषेध गर्ने कदम अलोकतान्त्रिक भएको बताएका छन् । ज्ञवालीले विश्वविद्यालयभित्र ‘सुरक्षा इकाइ’ स्थापना गर्ने निर्णयलाई प्राज्ञिक स्वायत्ततामाथिको हस्तक्षेपका रूपमा व्याख्या गरेका छन् । उनले यस्तो विषयमा हस्ताक्षर हुनु आश्चर्यजनक रहेको टिप्पणी गरेका छन् ।

उनका अनुसार विद्यार्थी आन्दोलनमा केही समस्या भए पनि त्यसलाई निषेध गर्नु समाधान नभएको बताएका छन् । विद्यार्थीका हित, शिक्षाको गुणस्तर सुधार र स्वस्थ शैक्षिक वातावरणका लागि संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ । उनले प्रश्न गरेका छन्- ‘के तपाईँ कपालमा चायाँ पर्यो भनेर गर्धन नै छिनाउनु हुन्छ ?’

ज्ञवालीले विद्यार्थी आन्दोलनलाई सुधार र रूपान्तरणतर्फ लैजानुपर्ने उल्लेख गर्दै प्रतिबन्धले समस्या झन् जटिल बनाउने चेतावनी दिएका छन् ।

Read More

अमेरिकाको लुइसियानामा गोलीकाण्ड: ८ बालबालिकासहित १० जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको लुइसियाना राज्यस्थित श्रेभपोर्टमा भएको गोलीकाण्डमा ८ बालबालिकासहित १० जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार आइतबार बिहान करिब ६ बजे एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा यस्तो घटना भएको सिएनएनले उल्लेख गरेको छ ।

मृत्यु हुने बालबालिकाको उमेर १ देखि १४ वर्षसम्म रहेको जनाइएको छ । स्थानीय प्रहरी प्रमुख वेन स्मिथले यस्तो घटना पहिले कहिल्यै नदेखिएको बताएका छन् ।

घटना वेस्ट ७९औँ स्ट्रिट क्षेत्रमा भएको हो । आरोपी शमार एल्किन्स घटना पछि फरार हुँदै कार लुटेर भाग्ने प्रयास गरेका थिए । तर प्रहरीले पछ्याएर उनलाई गोली हानी मारिएको जनाएको छ ।

प्रारम्भिक अनुसन्धान अनुसार घटना घरेलु विवादसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । गोली चलाउने व्यक्ति मृतक परिवारसँग सम्बन्धित रहेको पनि बताइएको छ, तर घटनाको ठोस कारण अझै खुलेको छैन ।

प्रहरीले घटनासम्बन्धी फोटो, भिडियो वा जानकारी भए उपलब्ध गराउन सर्वसाधारणसँग अपिल गरेको छ । शहरका मेयर टम आर्सेनोले यस घटनालाई अत्यन्त दुःखद भन्दै शहरकै सबैभन्दा त्रासदीपूर्ण घटनामध्ये एक भएको बताएका छन् ।

Read More

प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले आज  विश्वविद्यालय र  प्रतिष्ठानका उपकुलपतिहरूसँग छलफल गर्ने भएका छन् ।

दिउँसो १२ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा हुने छलफलमा प्रधानमन्त्री कुलपति रहने ११ विश्वविद्यालय र सात वटा प्रतिष्ठानका उपकुलपतिहरू सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

​बैठकमा विशेषगरी विश्वविद्यालय र प्रतिष्ठानहरुका समसामयिक समस्या र समाधानका उपायहरूबारे विमर्श हुनेछ। यस्तै कतिपय तत्कालै समाधान गर्न सकिने समस्याबारे पनि छलफल हुनेछ।

बैठकमा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्याल,पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, ​नेपाल संस्कृत विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय, कृषि तथा वनविज्ञान विश्वविद्यालय, राजर्षि जनक विश्वविद्यालय र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपतिहरूसँग पनि प्रधानमन्त्री शाहले संवाद गर्ने बताइएको छ ।

यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट),चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान,विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुसँग पनि प्रधानमन्त्री शाहले छलफल गर्ने भएका छन् ।

Read More

सरकारी कर्मचारीलाई १५ दिनमै तलब दिइने

काठमाडौं । अर्थ मन्त्रालयले सरकारी कर्मचारीहरूको तलब–भत्ता भुक्तानी प्रणालीमा परिवर्तन गर्ने निर्णय गरेको छ । 

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गर्दै यस्तो व्यवस्था गर्न महालेखा नियन्त्रकको कार्यालयलाई परिपत्र गरिएको छ । 

हालसम्म सरकारी कर्मचारीहरूले महिनाको अन्त्यमा तलब प्राप्त गर्दै आएका थिए भने यो व्यवस्था लागुभएपछि अब महिनामा दुई पटक तलब पाउने भएका छन् ।

Read More

काँग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ ।

सचिव दिनेश थापामगर बैठक आज दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय, सानेपामा बस्ने भएको छ ।

बैठकले यसअघि पूर्व कार्यवाहक सभापति पूर्ण बहादुर खडकालाई सोधेको स्पष्टीकरण बारे छलफल गर्ने बताइएको छ  ।

Read More

आर्सनलमाथि म्यानचेस्टर सिटीको महत्वपूर्ण जित

काठमाडौँ । म्यानचेस्टर सिटीले प्रिमियर लिगमा आर्सनललाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर सिटीको जितमा रयान चेर्की र इर्लिंग हालाण्डले एक एक गोल गरेका थिए । त्यस्तै आर्सनलका लागि एक गोल काइ हार्भेटले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर सिटीको ३२ खेलमा ६७ अंक रहेको छ र आर्सनलको ३३ खेलमा ७० अंक रहेको छ ।

साथै यस अघि आर्सनलले लिग जित्न आकलन गरिएको भएपनि यो खेलपछि अब लिग उपाधिको दौडमा सिटी बलियो बनेको छ ।

Read More

आइपिएलमा लखनउमाथि पञ्जाव ५४ रनले विजयी

काठमाडौँ । पञ्जाव किंग्सले जारी आइपिएलमा लखनउ सुपर जाइन्टलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा पञ्जावले लखनउलाई ५४ रनले पराजित गरेको हो ।

पञ्जावले दिएको २५५ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ५ विकेट गुमाएर २०० रन बनाएको थियो ।

लखनउका लागि ऋषव पन्तले सर्बाधिक ४३ रन बनाएका थिए भने एडन मार्क्रमले ४२, मिचेल मार्चले ४०, आयुष बदानीले ३५ र मुकुल चौधरीले २१ रन बनाएका थिए ।

त्यस्तै पञ्जावका बलर मार्को जानसेनले २ विकेट लिएका थिए भने अर्शदीप सिंह, युजवेन्द्र चहल र विजयकुमार वैश्यकले एक एक विकेट लिएका थिए ।

यसअघि पहिला ब्याटिंग गरेको पञ्जावले प्रियांस आर्याको ९३ र कूपर कोनोल्लीको ८७ रनको सहयोगले २० ओभरमा ७ विकेट गुमाउदै २५४ रन बनाएको थियो ।

यो जितपछि पञ्जावको ६ खेलमा ११ अंक भएको छ र शिर्ष स्थानमा रहेको छ । त्यस्तै लखनउको भने ६ खेलमा यो चुठो हार हो । 

Read More