२०८३ बैशाख १३

अलराउन्डर सन्तोष यादवको नेपालको राष्ट्रिय टी- २० टिममा डेब्यु

काठमाडौं । पीएम कपमा राम्रो प्रदर्शन गरेका युवा अलराउन्डर सन्तोष यादवले नेपालको राष्ट्रिय टी- २० टिमबाट डेब्यु गर्ने भएका छन् । 

नेपाल र युएईबीचको आज हुने दोस्रो खेलमा डेब्यु गर्ने भएका हुन् ।‌ सन्तोषलाई वार्मअपका क्रममा कप्तान दिपेन्द्र सिंह ऐरीले डेब्यु क्याप दिएका छन् । 

उनले पिएम कपमा २१ विकेट लिएका थिए भने उत्कृष्ट ब्याटिंग गर्दै २६५ रन समेत बनाएका यादव प्लेयर अफ द सिरिज बनेका थिए । 

सन्तोष नेपालबाट टी- २० खेल्ने ५५औं खेलाडी बनेका छन् । यसअघि सोमबार पहिलो खेलमा हेमन्त धामीले टी-२० मा डेब्यु गरेका थिए ।

Read More

राजीनामाको हल्लाका बीचमा लामिछानेसँग गृहमन्त्री गुरुङको भेटवार्ता

काठमाडौँ । गृहमन्त्री सुदन गुरुङ विवादमा परेपछि नेताहरुसँग भेटघाटको दौडधुपमा रहेका छन् ।

गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग सोमबार र मंगलबार लगातार भेटवार्ता गरिरहेका छन् ।

सम्पत्ति विवादमा राजीनाको दबाबमा रहेका गुरुङले मंगलबार सभापति लामिछानेको निवास पुगेर भेटवार्ता गरेको रास्वपा स्रोतले जानकारी दिएको छ ।

विवादस्पद व्यापारी दिपक भट्टसँग व्यावसायिक साझेदारी रहेको भेटिएपछि गुरुङमाथि छानबिन गर्न सरकार र रास्वपा दुवैमाथि दबाब बढिरहेको छ । त्यस्तै गृहमन्त्री गुरुङलाई पनि राजीनामा दिएर अनुसन्धानमा सघाउन दबाब बढिरहेको छ ।

मन्त्री गुरुङले भने आफ्नो लगानी बारे स्पष्ट गर्दै शेयर कारोबार गर्नु अपराध नभएको बाताउदै अनुसन्धानमा सघाउन तयार रहेको बताएका छन् ।

Read More

गृहमन्त्री गुरुङको पद ढिलो चाँडो जान्छ जान्छ: महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले ढिलो चाँडो गृहमन्त्री सुदन गुरुङको पद जाने दाबी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले हमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिने बताउदै मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्- ‘गृहमन्त्रीले तत्काल राजीनामा दिएर छानबिनको दायरामा आउनु आवश्यक देखिन्छ । यदि उनले राजीनामा दिएनन् भने मन्त्री बन्नुभन्दा चार–पाँच दिन अगाडि तातोपानी जाँदातिरको काण्डसँग सम्बन्धित भिडियो फुटेजसमेत पत्रकारहरूले तयार पारेर राखेको बताइँदैछ । यिनको कथित आपराधिक पृष्ठभूमिका कारण ढिलो–चाँडो यिनको पद जानेनैछ ।’

नेता बस्नेतले दिपक भट्टको नाम विगतमा केपी शर्मा ओली, प्रचण्ड र देउवासँग जोडेर बदनाम गरिएको भन्दै अहिले प्रधानमन्त्री बालेन निकट गृहमन्त्री गुरुङ र कार्की आयोगका सदस्य रहेका विज्ञान राज शर्माको समेत भट्ट जोडिएका कम्पनिमा शेयर रहेको खुलेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्: 
व्यवसायी दिपक भट्टको नाम केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवा सँग जोडेर बदनाम गर्न नेपाली मिडिया र बालेन समर्थक सोसल मिडिया प्रयोगकर्ताहरू भ्याइ नभ्याई लागिरहेका थिए। तर अनुसन्धान गर्दै जाँदा उहाँहरु संग सम्बन्धित कसैको कनेक्सन देखिएन दिपकजीको कनेक्सन त बालेनजीकै निकट मानिएका गृहमन्त्री सुदन गुरुङ सँग नै २५ लाख रुपैयाँ बराबरको शेयरसहित रहेको तथ्य बाहिरियो। अझ रोचक पक्ष के छ भने कार्की आयोगका सदस्य बिज्ञान राज शर्माको नाममा पनि १० लाख रुपैयाँ बराबरको शेयर फेला परेको भनिएको छ । दिपकजी दोषी छन् कि छैनन्, त्यो कुरा भोलि न्यायालयले नै निर्धारण गर्ने विषय हो ।

Read More

बाबुको अस्तित्व र महत्त्वलाई दर्शाउने चलचित्र ‘बाः एक योद्धा’

काठमाडौं । चलचित्रको घोषणा भयो, छायांकन सुरु भयो र अन्तिम चरणमा पनि पुग्यो । तर, निर्माण पक्षले एउटा कुरा भने निकै सचेततापूर्वक गोप्य राख्यो, चलचित्रका कलाकार । कुन कलाकारले अभिनय गरिरहेका छन् भन्ने कुतूहलताका बीच चलचित्र ‘बाः एक योद्धा’ को निर्माण टिमले अन्ततः आफ्ना मुख्य पात्रहरू सार्वजनिक गर्न थालेको छ ।

यसअघि कलाकारका बारेमा कुनै पनि औपचारिक जानकारी नदिएको निर्माण पक्षले छायांकनको अन्तिम समयमा आएर अभिनेता दिव्यदेव पन्तलाई मुख्य भूमिकामा अनुबन्धित गरिएको जानकारी गराएको हो ।

गत चैत्र ९ गतेदेखि छायांकन सुरु भएको यस चलचित्रले सुरुवाती दिनदेखि नै कलाकारको नामलाई लिएर ‘सस्पेन्स’ कायम राखेको थियो । तर, केही दिनअघि छायांकन सेटबाट अभिनेत्री झरना थापा र उनकी छोरी सुहाना थापाका तस्वीरहरू सार्वजनिक भएसँगै कलाकारका विषयमा रहेको अन्योल हटेको थियो ।

झरना र सुहानाले पहिलो पटक पर्दामा एकसाथ अभिनय गर्न लागेका हुन् । विशेष कुरा त के छ भने, वास्तविक जीवनका यी आमा-छोरी चलचित्रमा पनि आमा र छोरीकै भूमिकामा देखिनेछन् ।

अब दिव्यदेवको नाम सार्वजनिकपछि चलचित्रको कलाकार टोली निकै सन्तुलित र बलियो देखिएको छ । निर्माण पक्षले उनको के कस्तो भूमिका हो भन्ने बारेमा अझै खुलाएको छैन ।

नेपाली संगीत क्षेत्रमा दर्जनौँ कालजयी गीतहरू दिइसकेका चर्चित संगीतकार हरि लम्सालले यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका छन् । संगीत र गायनमा स्थापित लम्सालले यो चलचित्रको कथा र पटकथा समेत आफैँले तयार पारेका हुन् । लामो समयको सांगीतिक यात्रापछि उनी सामाजिक र भावना प्रधान कथा बोकेर निर्देशनको मैदानमा उत्रिएका हुन् ।

यो चलचित्रले नेपाली समाजको एउटा अत्यन्तै मार्मिक र यथार्थपरक कथालाई समेट्ने प्रयास गरेको छ । नामले नै स्पष्ट पारेझैँ, यो एक बाबुको कथा हो । एउटा बाबुले आफ्नो सन्तानको भविष्य उज्ज्वल बनाउनका लागि गर्ने अथक त्याग, जीवनभर झेल्ने चुनौती र संघर्षलाई फिल्मको मुख्य कथावस्तु बनाइएको छ ।

निर्देशक लम्सालका अनुसार, यो केवल मनोरञ्जन मात्र नभई बाबुको अस्तित्व र महत्त्वलाई दर्शाउने एक शुद्ध सामाजिक र भावनात्मक सिनेमा हो । ‘आर्टिस्टिक इन्टरटेनमेन्ट’को ब्यानरमा निर्माण भइरहेको यो चलचित्रका निर्माता वसन्त लम्साल हुन् । संगीतकार तथा गायक समेत रहेका वसन्तले यसअघि विपिन कार्कीको मुख्य भूमिका रहेको चलचित्र ‘कर्मा’ निर्माण गरेका थिए ।

चलचित्रको छायांकन शिवराम श्रेष्ठले गरिरहेका छन् भने मुख्य सहायक निर्देशकमा तारानाथ न्यौपाने रहेका छन् । हाल काठमाडौंका विभिन्न स्थानमा चलचित्रको अन्तिम चरणको छायांकन भइरहेको छ । छायांकनको सम्पूर्ण कार्य सकिएपछि मात्र प्राविधिक पक्ष (पोष्ट-प्रोडक्सन) को काम हेरेर प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण पक्ष जुटेको छ ।

Read More

नेप्से १७.९१ अंकको गिरावट, ५ अर्ब ७७ करोडको कारोबार

काठमाडौँ । नेप्से आज पनि गिरावट आएको छ । आज मंगलबार नेप्से १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३४७ कम्पनिका एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ मा कारोबार भएको थियो । आज होटल्स क्षेत्र बाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ ।

आज, सुर्यकुण्ड हाइड्रो र पाल्पा सिमेन्टको शेयरमा १५ प्रतिशत बढेर सकारात्मक सर्किट लागेको छ । त्यस्तै, शिखर पावरको को शेयर १४.९९ प्रतिशतले बढेको छ ।  त्यस्तै आज सबैभन्दा बढी डोल्टी पावरको शेयर ८.७१ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको ३७ करोड ७ लाख बराबरको कारोबार भएको छ भने रिलायन्स स्पिनिग मिल्सको ३० करोड १९ लाख बराबरको कारोबार भएको छ ।

Read More

हर्क साम्पाङको गृहमन्त्री गुरुङलाई राजीनामा दिन सुझाव

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले गृहमन्त्री सुदन गुरुङलाई राजीनामा दिन सुझाव दिएका छन् । 

मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमार्फत साम्पाङले गृहमन्त्री गुरुङले मार्गप्रशस्त गर्नु नै उपयुक्त हुने बताएका हुन् ।

विवादस्पद कारोबारी दिपक भट्ट व्यवसायमा साझेदारी गरेको भेटिएसँगै गृहमन्त्री गुरुङलाई राजीनामा दिन चौतर्फी दबाब बढेको छ ।

गृहमन्त्री गुरुङले रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहलाई समेत आफ्नो बारेमा उठेका विषयमा स्पष्टीकरण दिइसकेको बताइएको छ ।

Read More

ट्रायल पास गरेको वा नवीकरणको विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स लिन विभागको अनुरोध

काठमाडौँ । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) हरू छपाई सम्पन्न गरी सम्बन्धित यातायात कार्यालयहरूमा पठाउन सुरु गरेको बताएको छ । 

विभागले छपाई भएका लाइसेन्सहरू द्रुत गतिमा सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य भइरहेको र सेवाग्राहीले सम्बन्धित कार्यालयबाटै लाइसेन्स लिन सक्ने जानकारी दिएको हो ।

विभागका अनुसार, चालकहरूले आफूले ट्रायल पास गरेको वा नवीकरणका लागि विवरण पेस गरेको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन् । 

विभागले भनेको छ:

सवारी चालक अनुमतिपत्र छपाई भई यस विभागमा प्राप्त भएका लाइसेन्सहरू सम्बन्धित कार्यालयहरूमा पठाउने कार्य द्रुत गतिमा भइरहेको हुँदा सम्बन्धित व्यक्तिले आफूले विवरण पेस गरेको कार्यालयबाट नै लाइसेन्स लिनुहुन जानकारी गराइन्छ ।’

Read More

प्रत्यक्षमा नजितेका क्षेत्रमा रास्वापाले दियो समानुपातिक सांसदलाई जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न नसकेका निर्वाचन क्षेत्रहरूका लागि समानुपातिक सांसदहरुलाई जिम्मेवारी दिएको छ ।

रास्वपाले त्यसका लागि कोशी प्रदेशमा ११ जना, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लम्बिनी प्रदेशमा पाँच, कर्णालीमा ११ र सुदूरपश्चिम प्रदेशमा छ जना सांसदलाई जिम्मेवारी तोकेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिएका ।

ती जिम्मेवारी तोकिएका सांसदहरुले ती क्षेत्रका समसामयिक समस्याका विषयमा समन्वय गर्ने महामन्त्री बुर्लाकोटीले बताएका छन् ।

Read More

मन्त्रिपरिषदको बैठक बस्दै

काठमाडौँ । आज मन्त्रिपरिषदको बैठक बस्दैछ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार बैठक आज अपरान्ह ३: ३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयमा बस्नेछ ।

Read More

होर्मुज खुला राख्न सी जिनपिङको अपिल

काठमाडौँ । चीनका राष्ट्रपति सी जिनपिङले पहिलोपटक होर्मुज जलडमरूमध्य खुला राख्न अपिल गरेका छन् । अमेरिका र इरानबीच बढ्दो तनावका बीच यस्तो धारणा सार्वजनिक हुनु चीनको अर्थतन्त्रमा परेको दबाबको संकेतका रूपमा हेरिएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जिनपिङले साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानसँग टेलिफोन संवाद गर्दै उक्त समुद्री मार्ग सामान्य आवागमनका लागि खुला रहनुपर्ने बताएका हुन् ।

चीनले आफ्ना करिब ४० प्रतिशत तेल यही मार्गबाट आयात गर्दै आएको छ । हाल चीनसँग केही महिनाका लागि ऊर्जा भण्डार भए पनि विश्व अर्थतन्त्र लामो समयसम्म सुस्त रहेमा त्यसको असर पर्न सक्ने आँकलन गरिएको छ ।

अन्तर्राष्ट्रिय व्यापारमा निर्भर चीनको अर्थतन्त्र पहिले नै दबाबमा रहेको छ । यसबीच क्षेत्रका केही देशहरूले चीनलाई थप सक्रिय भूमिका खेल्न आग्रह गरिरहेका छन्, तर चीनले सन्तुलित नीति अपनाइरहेको देखिन्छ ।

चीनले इरान र खाडी मुलुकहरूसँगको सम्बन्ध कायम राख्दै अमेरिका सँगको तनाव नबढाउने रणनीति लिएको छ । आगामी महिनामा चीन र अमेरिकाका राष्ट्रपतिबीच भेटवार्ता हुन सक्ने चर्चा पनि चलेको छ, जसलाई ध्यानमा राख्दै चीनले सावधानीपूर्वक कदम चालिरहेको विश्लेषण गरिएको छ ।

Read More