२०८३ बैशाख १३

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं बुढानिलकण्ठ नगरपालिका-१३ बस्ने रौतहट बौधीमाई नगरपालिका-७ घर भएका २५ वर्षीय मिथिलेश कुशवाहा, काठमाडौं महानगरपालिका-३२ बस्ने भोजपुर, भोजपुर नगरपालिका-७ घर भएका ४४ वर्षीय केदार बहादुर भण्डारी, भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बस्ने सप्तरी सुरूङ्गा नगरपालिका-५ घर भएका ५३ वर्षीय राम तुला मिया र ललितपुर महालक्ष्मी नगरपालिका-३ बस्ने भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भएकी ५५ वर्षीया सुनिता खत्री रहेका छन् ।

पक्राउ मध्ये मिथिलेशले कुवेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ, केदार बहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख २५ हजार रूपैयाँ तथा राम तुला र सुनिताले अल्बानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले केदार बहादुरलाई काठमाडौं महानगरपालिका-१३ बाट सोमबार, मिथिलेशलाई काठमाडौं महानगरपालिका-१२ बाट तथा राम तुला र सुनितालाई भक्तपुर मध्यपुर थिमी नगरपालिका-१ बाट पक्राउ गरेको हो ।  

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Read More

९ महिनामा निर्यात व्यापार २ खर्ब २२ अर्ब, १२ खर्ब ६७ अर्बको व्यपार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना साउनदेखि चैतसम्म सम्ममा निर्यात व्यापार २ खर्ब २२ अर्ब बराबरको भएको छ । 

भन्सार विभागले सार्बजनिक गरेको रिपोर्टका अनुसार अघिल्लो आवको सोही अवधिमा वस्तु निर्यात १ खर्ब ८८ अर्ब १९ करोड बराबर भएको थियो । त्यसैगरी, कुल निर्यात २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँबराबर भएको थियो।

भन्सार विभागको रिपोर्ट अनुसार तेस्रो त्रैमासमा वनस्पति तथा जनावरको घिउ र तेल निर्यात उच्च रहेको छ । यसअधिमा १ खर्ब ५ अर्ब रुपैयाँबराबरको घिउ तेल निर्यात भएको छ । त्यसैगरी, कफी, मसला, चिया १४ अर्ब ९८ करोड रुपैयाँ बराबरको भएको छ। तेस्रो त्रैमासमा वस्तु आयात भने १४ खर्ब ९० अर्ब रुपैयाँबराबर भएको छ । गत आवको सोही अवधिमा आयात १३ अर्ब ९ अर्ब रुपैयाँबराबर भएको थियो।

९ महिनमा सबैभन्दा बढी आयात पेट्रोलियम पदार्थ रहेको छ । यस अवधिमा २ खर्ब ५० अर्ब रुपैयाँ बराबरको पेट्रोलिय पदार्थ आयात भएको छ । 

त्यसैगरी, ९ महिनामा मेसिनरी र मेकानिकल उपकरण तथा पार्टपुर्जा आयातमा १ खर्ब ८ अर्ब रुपैयाँबराबर आयात भएको छ भने १ खर्ब ५ अर्ब रुपैयाँबराबरको फलाम र स्टिलमा खर्च भएको छ। त्रैमासमा ८३ अर्ब ७ करोड रुपैयाँबराबरको सवारीसाधन आयात भएको छ।

त्यस्तै कुल वैदेशिक व्यापार आकार १७ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ । ९ महिनामा गत आवको सोही अवधिमा १४ खर्ब ९७ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।

यस आवमा व्यापार घाटा १२ खर्ब ६७ अर्ब भएको छ । अघिल्लो आव भने ११ खर्ब २१ अर्ब रुपैयाँ भएको थियो । भन्सार विभागका अनुसार भारतबाट नेपालमा ८ खर्ब ४७ अर्ब रुपैयाँबराबरको वस्तु आयात भएको छ। नेपालबाट भारततर्फ भने १ खर्ब ८३ अर्ब ९४ करोड रुपैयाँबराबर वस्तु निर्यात भएको छ । चीनबाट ३ खर्ब रुपैयाँबराबरको वस्तु आयात भएको भने १ अर्ब १९ करोड रुपैयाँबराबरको वस्तु निर्यात भएको छ ।

Read More

सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने व्यक्ति पक्राउ

काठमाडौं । सामाजिक संजालमा धम्कीपूर्ण अभिव्यक्ति दिने कार्यमा संलग्न रहेको अभियोगमा बझाङ थलरा गाउँपालिका-४ मयल ठेगाना भएका २० वर्षीय सानु भाइ भन्ने साजन बिष्टलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-९ सिनामंगलबाट पक्राउ गरेको हो । 

प्रारम्भिक अनुसन्धानको क्रममा बिष्टले आफ्नो फेसबुक आइडी सानू भाइ नामक एकाउन्टबाट पुर्व प्रधानमन्त्री केपी ओली, पुर्व गृहमन्त्री रमेश लेखक, पुर्व मन्त्री दिपक खड्कालाई तुरून्त रिहा गर अन्यथा प्रधानमन्त्री तथा गृहमन्त्रीलाई गोली हान्न टिम बाध्य हुने छ जसका लागि एके-४७ जस्ता अत्याधुनिक हतियारहरू काठमाडौंमा भित्रिसकेको छ भनि पोष्ट गरी सर्वसाधारण जनमानसमा त्रास फैलाउने र आफुले भनेका कुराहरू नमानेमा हालको प्रधानमन्त्री तथा गृहमन्त्रीलाई ज्यान मार्ने धम्कीपूर्ण भिडियो समेत सार्वजनिक गरेको खुल्न आएको छ । 

उनलाई विद्युतिय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि साइबर ब्यूरो भोटाहिटी पठाइएको छ ।

Read More

प्रधानमन्त्री बालेनको योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग  छलफल शुरु गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

बैठकमा सरकारका कार्यक्रम कार्यान्वयन गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल भइरहेको बताइएको छ ।

Read More

स्वीकृत पाठ्यक्रम मात्र लागु गर्न विद्यालयहरुलाई निर्देशन

काठमाडौँ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०८३ का लागि विद्यालयमा प्रयोग हुने पाठ्यपुस्तक र पाठ्यसामग्री सम्बन्धी कडाइ गर्न निर्देशन दिएको छ ।

केन्द्रका अनुसार नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रले तयार पारेका वा स्वीकृति दिएका सामग्री मात्रै विद्यालयमा लागू गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ । साथै, केन्द्रले पाठ्यपुस्तकको पृष्ठ संख्या र मूल्य पनि निर्धारित मापदण्डअनुसार हुनुपर्ने स्पष्ट पारेको छ ।

तर केही प्रकाशनले अनुमति नलिई, कम गुणस्तरका कागज प्रयोग गरी र बढी मूल्य तोकेर पाठ्यपुस्तक बिक्री गरेको गुनासो आएको केन्द्रले जनाएको छ । यस्ता सामग्री विद्यालयमा प्रयोग भइरहेको समेत पाइएको छ ।

यसले विद्यार्थी र अभिभावकमाथि अनावश्यक आर्थिक बोझ परेको भन्दै केन्द्रले गम्भीर ध्यानाकर्षण जनाएको छ । विद्यालयबाटै पोशाक, किताब तथा स्टेशनरी बिक्री वितरण हुने जस्ता गतिविधि पनि कानूनविपरीत भएको उल्लेख गरिएको छ ।

केन्द्रले स्थानीय तहसँग समन्वय गरेर यस्ता गतिविधिको अनुगमन गर्न र दोषीमाथि आवश्यक कारबाही गर्न निर्देशन दिएको छ । साथै, गरिएको कारबाहीको विवरण केन्द्रमा पठाउन पनि आग्रह गरिएको छ ।

केन्द्रले भनेको छ-

शैक्षिक सत्र २०८३ का लागि विद्यालय तहमा नेपाल सरकारले स्वीकृत गरेको पाठ्यक्रम तथा पाठ्यक्रम विकास केन्द्रबाट विकास भएका तथा सो केन्द्रबाट स्वीकृति प्रदान गरेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री मात्र विद्यालयहरुमा लागु गर्नुपर्ने, पाठ्यपुस्तक तथा पाठ्यसामग्रीको पृष्ठ सङ्ख्या र मूल्य समेत पाठ्यक्रम विकास केन्द्रको मापदण्ड अनुसार हुनुपर्ने नीतिगत र कानुनी व्यवस्था छ ।

सो सम्बन्धमा केही प्रकाशनले कानुन नै उल्लङ्घन गरी बढी मूल्य तोकिएका कागजको गुणस्तर न्यून भएका र स्वीकृति नै नलिएका तथा मूल्य नतोकेका पाठ्यपुस्तक तथा पाठ्यसामग्री बिक्री गरेको तथा विद्यालयहरुले प्रयोग गर्न लागेको गुनासो प्राप्त भएको छ ।

नेपाल सरकारको नीति र कानुन विपरीत कार्य गरी बालबालिका र अभिभावकलाई अतिरिक्त बोझ दिने, गुणस्तरहीन सामग्री प्रकाशन र वितरण गर्ने, विद्यालयहरुबाटै पोशाक, पाठ्यपुस्तक स्टेशनरी बिक्रीवितरण गर्ने जस्ता कार्यहरु भए/नभएको स्थानीय तहसँगसमेत समन्वय तथा अनुगमन गरी कारवाही गर्नु/गराउनु हुन र सोको जानकारी यस केन्द्रमा पठाउनुहुन अनुरोध छ ।

Read More

‘पहाड’ मा समग्र नेपालको चित्रण

काठमाडौँ । वरिष्ठ निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ ले समग्र नेपालको अवस्थालाई चित्रण गरेको सेलिब्रेटीले बताएका छन् । फिल्मको सोमबार बेलुकी आयोजना गरिएको विशेष प्रदर्शनीमा फिल्म हेर्न पुगेका सङ्गीतकार शम्भुजित बाँस्कोटाले फिल्मले समग्र देशको अवस्थालाई चित्रण गरेको बताए ।

‘पहाड रितिदैछ, रोजगारी छैन, हरिया पहाड उजाड भएका छन् । यो फिल्मले दिएको संदेश राष्ट्रले दिनुपर्ने छ । यहाँ युवालाई स्वदेश फर्कन र आफ्नो समस्यालाई सामूहिक रुपमा लडेर न्यूनीकरण गर्न प्रेरित गरिएको छ । फिल्म राम्रो बनेको छ’, सङ्गीतकार बाँस्कोटाले भने ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले तुलसी घिमिरेका पहिलेका फिल्म झैँ मनोरन्जनसँगै सन्देश बोकेको ‘पहाड’ स-परिवार हेर्न मिल्ने फिल्म बनेको प्रतिक्रिया दिए । उनले भने, ‘तुलसी दाईले फिल्ममार्फत दिनभएको संदेश प्रसंशनीय छ । फिल्ममा कलाकारको अभिनयसँगै पहाडमार्फत समग्र देशको अवस्थालाई चित्रण गरिएको छ । यो कथा पहाडको भएता पनि समग्र देश नै फिल्ममा देखिएको छ । युवालाई आफ्नो देश, गाउँ र पहाड फर्किन फिल्मले प्रेरित गर्छ ।’

निर्देशक तुलसी घिमिरे, अभिनेता विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, अभिनेत्री रेनुनाथ योगीसँगै डेब्यु अभिनेत्री पञ्चमी घिमिरे लगायतले फिल्मले पाइरहेको प्रतिक्रिया बारे जानकारी गराएका थिए । झन्डै नौ वर्षको अन्तरालमा निर्देशनमा फर्किएका निर्देशक घिमिरेले दर्शक प्रतिक्रियाले आफू निकै उत्साहित रहेको बताए ।

उनले भने, ‘हामीले फिल्ममार्फत भन्न खोजेको कुरालाई दर्शकले राम्रोसँग बुझ्नुभएको छ, अधिकाँस दर्शकले यसलाई आफ्नै कथा भन्नुभएको छ । मैले जे सन्देश दिन खोजेको थिएँ, त्यो दर्शकसम्म पुगेको छ । फिल्म हेर्न आउनु भएका दर्शक सन्तुष्ट भएर फर्किनु भएको छ ।’

बेरोजगारी, मानवविहीन बन्दै गएको पहाड र पानी अभावजस्ता विषयमा आधारित फिल्मले अहिलेको समसामयिक विषयलाई पर्दामार्फत दर्शकसम्म पुर्याएको बताए ।

अभिनेता विपिन कार्कीले फिल्मले पाएको प्रतिक्रियाले आफूसहित टिम उत्साहित रहेको बताए । ‘यो फिल्मप्रति दर्शकको प्रतिक्रिया हेर्दा आगामी दिनमा दर्शकको भीड अझ बढ्नेमा आशावादी छु । यसले नेपाली माटोको मौलिक कथा प्रस्तुत गरेको छ । फिल्म हेर्नेले पक्कै अन्यलाई सिफारिस गरेर फिल्म हेर्न हलसम्म पठाउनु हुनेछ’, उनले भने ।

अभिनेता रवीन्द्र सिंह बानियाँले तुलसी घिमिरे जस्तो निर्देशकसँग काम गर्न पाउनु गौरवको विषय रहेको बताए । ‘म निर्देशक घिमिरेको फिल्महरू हेर्दै हुर्किएको पुस्ता परे, उहाँले नेपाली फिल्मलाई दिनुभएको योगदानको बारेमा शब्दमा वर्णन गर्न सकिदैन । मेरो इच्छा थियो उहाँसँग काम गर्ने, यो पुरा भएको छ । मेरो कलाकारिता यात्रामा यो सहकार्य अमुल्य छ’, उनले भने ।    

फिल्म ‘पहाड’मा मदनकृष्ण श्रेष्ठ, विपिन कार्की, रविन्द्र सिंह बानियाँ, सुनिल थापा, रेनुनाथ योगी, उमा गिरी, अरुण क्षेत्री तथा नव अभिनेत्री पञ्चमी घिमिरेको अभिनय रहेको छ। फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली बन्दै गएका पहाडी क्षेत्र र त्यसले निम्त्याएको सामाजिक तथा आर्थिक समस्यालाई चित्रण गरिएको छ ।

निर्देशक घिमिरेले यसअघि ‘बलिदान’मा काम गरेका मदनकृष्ण श्रेष्ठ तथा ‘चिनो’मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’मा समेटेका छन् । फिल्मको छायांकन प्रमोद प्रधानले गरेका हुन्। भाग्यरत्न फिल्म्स प्रा.लि. को ब्यानरमा निर्माण भएको फिल्म ‘पहाड’मार्फत निर्देशक घिमिरेकी कान्छी छोरी पञ्चमी घिमिरेले अभिनेत्रीका रूपमा डेब्यु गरेकी छन्। साथै, प्राविधिक टिममा निर्देशककी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छन्।

फिल्ममा रञ्जित सिंह गजमेर संगीत निर्देशक रहेका छन्। उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ, दमन्ती रसाइली र उमा गिरी निर्माता रहेका छन् भने भारती घिमिरे क्रिएटिभ निर्माता हुन्। फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र विदेशमा सेभेन सिज इन्टरनेशनलले वितरण गरेको छ । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन तथा शंकर कोइराला र भारती घिमिरेको सम्पादन रहेको छ ।

Read More

परराष्ट्रमन्त्री खनालसँग अमेरिकी सहायक विदेशमन्त्री कपुरको शिष्टाचार भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एशियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री समीर पाउल कपुरले शिष्टाचार भेट गरेका छन् ।

मंगलबार सिंहदरबारमा भएको भेटमा नेपाल-अमेरिका द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको जनाइएको छ । विशेषगरी व्यापार र लगानी क्षेत्रमा सहकार्य बढाउने विषयमा दुवै पक्षबीच विचार आदान–प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ ।

सोमबार काठमाडौँ आएका कपुरले उच्चस्तरीय भेटवार्ता गरिरहेका छन् । उनले सोमबार रास्वपा सभापति रवि लामिछाने भेटवार्ता गरेका थिए भने व्यवसायीहरुसँग अन्तरक्रिया गरेका थिए ।

Read More

जापानको ऐतिहासिक निर्णय: घातक हतियार निर्यातको रोक हटाइयो

काठमाडौँ । जापानले घातक हतियार निर्यातमा लगाइएको लामो समयदेखिको प्रतिबन्ध हटाउने ऐतिहासिक निर्णय गरेको छ । प्रधानमन्त्री साने ताकाइची नेतृत्वको मन्त्रिपरिषद्ले नयाँ निर्देशिका स्वीकृत गरेसँगै जापानले अब आफ्ना हतियार अन्य देशमा बेच्न पाउने भएको छ ।

यो निर्णय दोस्रो विश्वयुद्धपछि अपनाइएको शान्तिवादी नीतिमा ठूलो परिवर्तनका रूपमा हेरिएको छ । क्षेत्रीय सुरक्षा चुनौती बढ्दै गएपछि जापानले यस्तो कदम चालेको बताइएको छ ।

एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो सैन्य शक्ति र उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणलाई ध्यानमा राख्दै जापानले आफ्नो रक्षा क्षमता बलियो बनाउने रणनीति अघि सारेको हो । साथै, आफ्नै रक्षा उद्योगलाई विस्तार गर्दै अन्तर्राष्ट्रिय बजारमा उपस्थिति बढाउने लक्ष्य पनि राखिएको छ ।

जापानको यस निर्णयलाई उसका साझेदार राष्ट्रहरूले सकारात्मक रूपमा लिएका छन् । विशेषगरी अस्ट्रेलियालगायत केही देशहरूले यसलाई स्वागत गरेका छन् भने दक्षिण–पूर्व एशिया र युरोपका देशहरूले पनि जापानी हतियारप्रति चासो देखाएका छन् ।

तर चीनले भने यस निर्णयको आलोचना गर्दै क्षेत्रीय तनाव बढ्न सक्ने चेतावनी दिएको छ । जापानभित्र पनि केही समूहले यसको विरोध गर्दै यसले शान्तिवादी संविधानको भावना विपरीत हुने र सुरक्षा जोखिम बढाउने तर्क गरेका छन् ।

दोस्रो विश्वयुद्धपछि शान्तिपूर्ण राष्ट्रको छवि बनाएको जापानले लामो समयसम्म हतियार निर्यातमा कडा प्रतिबन्ध लगाएको थियो । तर बदलिँदो विश्व परिस्थिति र सुरक्षा चुनौतीका कारण अब नीतिमा परिवर्तन गरिएको हो, जसले आगामी दिनमा अन्तर्राष्ट्रिय सुरक्षा र कूटनीतिक समीकरणमा प्रभाव पार्ने अनुमान गरिएको छ ।

Read More

सुनचाँदीको मुल्य आज कति छ ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको १६ सयले बढेर तोलाको ३ लाख १ हजार ३ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको २ लाख ९९ हजार ७ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मुल्य सामान्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३० रुपैयाँले घटेर ५१६० मा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ५१९० मा कारोबार भएको थियो ।

Read More

वार्ताको चर्चाका बीच इरानको युद्धक्षेत्रमा नयाँ रणनीतिको तयारी गरेको चेतावनी

काठमाडौँ । इरानले अमेरिकासँग वार्ताको सम्भावना भइरहेकै बेला कडा अडान सार्वजनिक गर्दै युद्धक्षेत्रमा नयाँ रणनीति अपनाउने तयारी गरेको जनाएको छ ।

इरानी संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जालमार्फत अमेरिकाको दबाबमा वार्ता स्वीकार नगर्ने स्पष्ट पारेका छन् । उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाकाबन्दी र युद्धविराम उल्लंघन गर्दै वार्तालाई आत्मसमर्पणको रूपमा प्रस्तुत गर्न खोजेको आरोप लगाए ।

गालिबाफले धम्कीको वातावरणमा कुनै पनि वार्ता स्वीकार्य नहुने उल्लेख गर्दै पछिल्ला दुई हप्तादेखि युद्धक्षेत्रमा नयाँ चाल अपनाउने तयारी भइसकेको बताएका छन् ।

यसअघि अमेरिका–इरानबीचको पहिलो चरणको वार्तामा गालिबाफले इरानी टोलीको नेतृत्व गरेका थिए । दोस्रो चरणको वार्ताका लागि पाकिस्तानको राजधानी इस्लामाबादमा तयारी भइरहेको बताइएको छ ।

तर इरानको परराष्ट्र मन्त्रालयले भने वार्तामा सहभागी हुने बारे अन्तिम निर्णय भइनसकेको जनाए पनि मिडिया रिपोर्टमा वार्ता टोली पठाउने तयारी भएको बताइएको छ । अर्कोतर्फ अमेरिकाले पनि आफ्नो प्रतिनिधिमण्डल पाकिस्तान पठाउने संकेत दिएको छ ।

Read More