२०८३ बैशाख १३

वुमेन्स च्यालेन्ज ट्रफीमा नेपाल भानुआटूसँग पराजित

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी अन्तर्गतको खेलमा नेपाल भानुआटुसँग पराजित भएको छ ।

शुक्रबार सम्पन्न खेलमा नेपाल भानुआटूसँग २२ रनले पराजित भएको हो ।

भानुआटुले दिएको ९८ रनको लक्ष्य पछाएको नेपाल १५.३ ओभरमा अलआउट हुदै ७५ रन मात्र बनाएको थियो । यसअघि भानुआटुले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । 

यो हारपछि नेपालले ४ खेलमा २ जित र २ खेलमा हार बेहोरेको छ । त्यस्तै यसअघि लगतार तीन खेलमा हार बेहोरेको भानुआटुले पहिलो जित हासिल गरेको छ ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल २६ मा अमेरिकासँग, अप्रिल २८ मा रुवाण्डासँग, अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

मध्यपूर्व नजिक पुग्यो अमेरिकाको अर्को युद्धपोत

काठमाडौँ । अमेरिकाको अर्को युद्धपोत मध्यपूर्व नजिक पुगेको छ ।

अमेरिकी सेनाको केन्द्रीय कमान्ड सेन्टकमका अनुसार अमेरिकाको विमानवाहक युद्धपोत यूएसएस जर्ज एचडब्ल्यू बुश मध्यपूर्व क्षेत्र नजिक पुगेर सेन्टकमको जिम्मेवारी क्षेत्रभित्र प्रवेश गरिसकेको छ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेको तस्वीरमा निमिट्ज वर्गको यो विशाल विमानवाहक जहाज हिन्द महासागरमा सञ्चालनमा रहेको देखिएको छ।

यो युद्धपोत यसअघि नै क्षेत्रमा रहेका अमेरिकी जहाजहरूसँग मिसिने हो वा तिनको स्थान लिन आएको हो भन्नेबारे स्पष्ट जानकारी सार्वजनिक गरिएको छैन। केही सञ्चारमाध्यमले यसले पुराना जहाजको स्थान लिन सक्ने अनुमान गरेका छन्।

यसअघि सेन्टकमले अर्को विज्ञप्तिमा विश्वकै सबैभन्दा ठूलो विमानवाहक युद्धपोत यूएसएस जेराल्ड आर फोर्डले लाल सागर क्षेत्रमा आफ्नो काम जारी राखेको जनाएको थियो।

उक्त जहाजले अमेरिकी पाँचौं बेडाअन्तर्गत समुद्री सुरक्षामा सहयोग गरिरहेको सेन्टकमले उल्लेख गरेको छ ।

Read More

नेप्सेमा सामान्य वृद्धि, ५ अर्ब २७ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० विन्दुमा पुगेर रोकिएको छ ।

आज ३५१ कम्पनिका एक करोड २१ लाख ७४ हजार ५१६ कित्ता शेयर ५ अर्ब २७ करोड ३ लाख ९९ हजार ७२७ मा कारोबार भएको थियो । आज फाइनान्स, लगानी, बीमा माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निजिव बीमा, अन्य बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, पाल्पा सिमेन्ट, शिखर पावर र माइ खोला हाइड्रोको शेयर शेयरमामा सकरात्मक सर्किट लागेको छ ।  त्यस्तै आज सबैभन्दा बढी प्राइम डिभेन्चारको शेयर ४.५९ प्रतिशतले घटेको छ ।

त्यस्तै आज सबै भन्दा बढी रिढी पावरको २७ करोड ३८ लाख र रिलायन्स स्पिनिग मिल्सको २४ करोड ९२ लाख बराबरको कारोबार भएको छ ।

Read More

काठमाडौंमा सुकुम्बासी व्यवस्थापनका लागि १५ दिने योजना, अवैध संरचना खाली गर्न सरकारको निर्देशन

काठमाडौं । सरकारले काठमाडौंका सुकुम्बासीहरूको दिगो व्यवस्थापनका लागि प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको ६ बुँदे सूचनामार्फत आगामी १५ दिनभित्र उचित व्यवस्थापन गर्ने तयारी रहेको जनाएको छ।

सूचनाअनुसार अवैध रूपमा निर्माण गरिएका घर–टहराहरू आज साँझ ७ बजेसम्म खाली गर्न निर्देशन दिइएको छ। प्रशासनले भोली बिहान ६ बजेदेखि ती संरचनाहरू भत्काउने र अतिक्रमित जग्गा पूर्ण रूपमा खाली गरिने जानकारी दिएको छ।

सूचनामा उल्लेख गरिएअनुसार, “आगामी १० देखि १५ दिनभित्र एकिन भएका वास्तविक भूमिहीन नागरिकहरूका लागि उपयुक्त बसोबासको व्यवस्था गरिने तयारी भइरहेको छ। यस कार्यमा सबैको सहयोग अपेक्षित छ।”

यसका साथै, सूचनालाई बेवास्ता गरी बसिरहेमा स्थानीय प्रशासन, प्रहरी र काठमाडौं महानगरपालिकाको संयुक्त कारबाहीमार्फत संरचना हटाइने चेतावनी दिइएको छ। यस्तो कारबाहीका क्रममा हुने क्षतिको जिम्मेवारी सम्बन्धित व्यक्तिले नै व्यहोर्नुपर्ने पनि सूचनामा उल्लेख गरिएको छ।

Read More

सुकुम्बासीलाई बल पूर्वक हटाउनु संविधानको आधारभूत मूल्यको उलंघन- एमाले

काठमाडौँ । नेकपा एमालेले सुकुम्बासी बस्तीहरू जबर्जस्ती तथा बलपूर्वक हटाउन लागेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

एमालेले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकारको यस्तो कदमले नेपालको संविधानद्वारा सुनिश्चित गरिएका मौलिक अधिकार, मानवताका आधारभूत मूल्य, सामाजिक न्यायका सिद्धान्त तथा अन्तर्राष्ट्रिय मानवअधिकारका आधारभूत मापदण्डहरूको प्रत्यक्ष उल्लंघन गरेको ठहर गरेको उल्लेख गरेको छ ।

एमालेले भनेको छ- ‘गरिब, विपन्न तथा सुकुम्बासी समुदायमाथि गरिएको अमानवीय र असंवेदनशील व्यवहारप्रति हाम्रो पार्टी कडा आपत्तिसहित घोर भर्त्सना प्रकट गर्दछ । सुकुम्बासी समस्या सामाजिक, आर्थिक, सांस्कृतिक र ऐतिहासिक पृष्ठभूमिसँग गाँसिएको जटिल विषय भएकाले यसलाई बलपूर्वक हटाउने उपायबाट समाधान गर्न खोज्नु दिगो र न्यायोचित हुन सक्दैन।’

एमालेले बल प्रयोग, राज्यको संस्थागत धम्की तथा संवादविहीन एकपक्षीय निर्णयहरू मानवीय तथा कानुनी दुवै दृष्टिले अनुपयुक्त र आपत्तिजनक रहेको बताएको छ । यसको न्यायोचित र दीर्घकालिन समाधानका लागि राष्ट्रिय भूमि आयोगको गठन, सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन, नापजाँच र जग्गा वितरण प्रक्रिया अगाडि बढाइएको विषय पनि स्मरण गराउदै भनेको छ- ‘जबरजस्ती विस्थापन अन्तिम विकल्प हुनसक्दैन् । प्रभावित व्यक्ति  र परिवारसँग पूर्वपरामर्श, वैकल्पिक आवासको सुनिश्चितता, क्षतिपूर्ति, पुनर्वास तथा पुनस्र्थापना, बालाबलिका, महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका संवेदनशील समुदायको विशेष संरक्षण गर्नु सरकारको प्रथम दायित्वभित्र पर्छ । नेपालको संविधान र कानुनी व्यवस्थाको सम्मान गर्न हामी आह्वान गर्दछौं ।’

Read More

इजरायल र हिजबुल्लाहको एकअर्कामाथि युद्धविराम उल्लंघनको आरोप

काठमाडौँ । इजरायल रक्षा बल र हिजबुल्लाहले एकअर्कामाथि युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन् ।

इजरायली सेनाले लेबनानबाट प्रहार गरिएका केही प्रक्षेपास्त्रलाई रोकेको जनाएको छ। श्टुला क्षेत्रमा साइरनसमेत बजाइएको बताइएको छ। हिजबुल्लाहले भने टेलिग्राममार्फत रकेट आक्रमण गरी उक्त क्षेत्रलाई निशाना बनाएको दाबी गरेको छ ।

इजरायली सेनाले सामाजिक सञ्जालमार्फत जारी वक्तव्यमा तीन जनालाई मारिएको जनाएको छ । ती व्यक्तिलाई हिजबुल्लाहसँग सम्बन्धित लडाकु भएको दाबी गरिएको छ । सेनाका अनुसार उनीहरूले इजरायली वायुसेनाको विमानतर्फ क्षेप्यास्त्र प्रहार गर्ने असफल प्रयास गरेका थिए ।

इजरायली सेनाले दक्षिणी लेबनानमा तैनाथ आफ्ना सैनिकमाथि हिजबुल्लाहले दुई फरक घटनामा रकेट प्रहार गरेको पनि जनाएको छ । उसले यी गतिविधिलाई युद्धविराम सम्झौताको खुला उल्लंघन भनेको छ ।

यसअघि बिहीबार साँझ हिजबुल्लाहले उत्तरी इजरायलमा रकेट प्रहार गरेको स्वीकार गर्दै त्यसलाई इजरायलले गरेको युद्धविराम उल्लंघनको जवाफ भएको जनाएको थियो ।

लेबनानको सरकारी राष्ट्रिय समाचार एजेन्सीका अनुसार शुक्रबार बिहान इजरायलले देशको दक्षिणी भागस्थित टायर सहरमा पनि आक्रमण गरेको छ।

Read More

अतिक्रमण गरिएका ऐलानी तथा पर्ति जग्गा खाली गराउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । पोखरा महानगरपालिकाले सार्वजनिक ऐलानी तथा पर्ति जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना ३५ दिनभित्र हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई निर्देशन दिएको छ।

महानगरपालिकाले महानगर क्षेत्रभित्र विभिन्न स्थानमा सार्वजनिक जग्गा बिना अनुमति अतिक्रमण गरी पहुँचका आधारमा लामो समयदेखि संरचना निर्माण गरेर कार्यालय सञ्चालन गर्ने, भाडामा लगाउने, पर्खाल लगाएर जग्गा आफ्नो नियन्त्रणमा लिने जस्ता काम भइरहेको जनगुनासो आएको जनाउदै यस्ता गतिविधिले सार्वजनिक सम्पत्तिको संरक्षणमा असर परेको भन्दै सबै सरोकारवाला व्यक्ति तथा संस्थालाई सार्वजनिक जग्गा संरक्षणमा एक्यबद्धता जनाउन आग्रह गरेको छ ।

हालसम्म सार्वजनिक जग्गामा निर्माण गरिएका सबै संरचना सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र स्वयं खाली गर्न, गराउन तथा हटाउन महानगरपालिकाले आग्रह गरेको छ ।

Read More

अनलाइनमार्फत ठगी गरेको अभियोगमा पक्राउ

काठमाडौं । अनलाइन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा इलाम फाकफोकथुम गाउँपालिका-६ बस्ने २७ वर्षीय सुजन लिम्बु भन्ने सुशन थेगिम लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  प्रारम्भिक अनुसन्धानको क्रममा उनले सामाजिक सञ्जाल टिकटकमा पीडितसँग कुराकानी गरी विभिन्न प्रलोभनमा पारी अमेरिकी डलर, गरगहना लगायतका विभिन्न उपहार डिएचएल मार्फत पठाएको, उक्त सामान काठमाडौंको एयरपोर्टमा रहेको डिएचएल कम्पनीको शाखामा आइपुगिसकेको र सो सामान बुझ्नको लागि कस्टम चार्ज, कर बापतको रकम भुक्तानी गर्नुपर्छ भनी विभिन्न बैंक खातामा २ लाख रूपैयाँ पठाउन लगाई ठगी गरेको खुल्न आएको छ ।  

प्रहरीले उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको जनाएको छ । 

Read More

रेखा थापाले निर्देशन गरेको चलचित्र ‘माया भनेकै यस्तो होला’ भदौ २६ मा प्रदर्शन हुने

काठमाडौं । अभिनेत्री रेखा थापाको निर्देशनमा तयार भएको चलचित्र ‘माया भनेकै यस्तो होला’ को प्रदर्शन मिति औपचारिक रूपमा घोषणा गरिएको छ । 

निर्माण पक्ष र वितरकहरूबीच भएको आपसी सहमति र सम्झौता अनुसार यो चलचित्र आगामी भदौ २६ गतेबाट देशभरका सिनेमाघरमा प्रदर्शनमा आउने भएको हो ।

यसअघि निर्माण पक्षले चलचित्र तीजको अवसर पारेर प्रदर्शनमा आउने जानकारी दिए पनि ठोस मिति भने तय गरेको थिएन ।  वितरकहरूसँगको पछिल्लो चरणको छलफलपछि तीजको विशेष अवसर र कुशे औंसी (बुबाको मुख हेर्ने दिन)का दिन चलचित्र रिलिज गर्न लागिएको जानकारी दिएको छ ।

यो चलचित्रलाई देशभरका प्रमुख वितरक कम्पनीहरू रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् । नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री थापाले यसै चलचित्रमार्फत ८ वर्षपछि निर्देशनमा पुनरागमन गरेकी हुन् । यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता सफल चलचित्रको निर्देशन गरिसकेकी रेखाको यो तेस्रो निर्देशकीय फिचर सिनेमा हो ।

यस चलचित्रमा अभिनयमा नभएर निर्देशनमा मात्र पूर्ण रूपमा केन्द्रित भएकी रेखाले यसपटक आफ्नै ब्यानर ‘रेखा फिल्मस्’ भन्दा बाहिर आएर काम गरिरहेकी हुन् । नेपाली चलचित्र इतिहासमा कुनै पनि स्थापित महिला निर्देशकले बाहिरी ब्यानरको चलचित्र निर्देशन गरेको यो सम्भवतः पहिलो पटक हो ।

‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको यस चलचित्रमा नेपाली कला क्षेत्रका दिग्गजदेखि वर्तमानका चर्चित अनुहार छन् ।

चलचित्रमा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ । विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । यस हिसाबले चलचित्रमा एक साथ चार मिस नेपाल समेटिएका छन् । ‘दिया एण्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण यो चलचित्रमा लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ ।

चलचित्रको निर्माण पक्षले यसअघि औपचारिक घोषण गर्दा दुईवटा पोस्टर सार्वजनिक गरेको थियो । सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो । गत चैत्र २८ गते २८ औँ दिनमा छायाकंन सम्पन्न गराएको यो चलचित्रको हाल पोस्टको काम भइरहेको छ । यस चलचित्रका निर्माता हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ हुन् ।

ध्रुव लम्सालको पटकथा लेखन रहेको यस चलचित्रले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने दाबी गरिएको छ । लेखक लम्साल १० वर्षको अन्तरालपछि यसै सिनेमामार्फत लेखनमा फर्किएका हुन् ।

सुदीप बरालको छायांकन रहेको चलचित्रमा अनिरुद्ध आत्रेय प्रमुख सहायक निर्देशक, राजन घिमिरे फिल्म संयोजक, संगीत प्रशान्त सिवाकोटी, ड्रेस डिजाइनर सुजेनी मल्ल, मेकअप प्रिया कार्की, प्रोडक्सन चुडामणी (सीएम) छन् ।

Read More

एपोलो हाइड्रोको आइपिओ बाँडफाँड

काठमाडौँ । एपोलो हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर निष्कासन (आइपिओ) बाँडफाँड सम्पन्न भएको छ । शुक्रबार निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा आइपिओ बाँडफाँड सम्पन्न भएको हो ।

कम्पनीले चैत २६ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि ७ लाख ८० हजार २०० कित्ता शेयर निष्कासन गरेको थियो ।

कम्पनीको जारी पुँजी ४७ करोड रुपैयाँ रहेको छ। यसमध्ये ३० प्रतिशत अर्थात् १४ लाख १० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो । कुल निष्कासनमध्ये १० प्रतिशत अर्थात् ४ लाख ७० हजार कित्ता शेयर ओखलढुंगा, सोलुखुम्बु र रामेछाप जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दालाई वितरण गरिएको थियो। बाँकी २० प्रतिशत अर्थात् ९ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुट्याइएको थियो।

सर्वसाधारणतर्फको निष्कासनमध्ये ९४ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि, १८ हजार ८०० कित्ता कर्मचारीका लागि र ४७ हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी ७ लाख ८० हजार २०० कित्ता सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो।

यस आइपिओमा २७ लाख २७ हजार ११७ वटा योग्य आवेदनबाट २ करोड ९८ लाख ५१ हजार ३८० कित्ताका लागि आवेदन परेको थियो। यस्तै ४३ हजार ९०१ आवेदनबाट ५ लाख ३ हजार ७५० कित्ताको आवेदन अयोग्य ठहरिएको थियो ।

बाँडफाँट परिणामअनुसार गोलाप्रथामार्फत ७८ हजार २० जना आवेदकले जनही १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।

आइपिओको नतिजा सिडीएसीको आइपिओ रिजल्ट र मेरोशेयरको वेभसाइटमा हेर्न सकिने छ । 

Read More