२०८३ बैशाख १५

संवैधानिक परिषद्ले पायो पूर्णता

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदीय दलको नेता चयन गरेसँगै संवैधानिक परिषद्ले पूर्णता पाएको छ ।

काँग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाएपछि अब उनी संबैधानिक व्यवस्था अनुसार संबैधानिक परिषदको सदस्य बनेका छन्  ।

 निर्वाचनपछि परिषदले पूर्णता नपाउदा प्रधानन्यायाधीशलगायतका महत्वपूर्ण संवैधानिक निकायका नियुक्तिहरू अवरुद्ध भएका थिए ।

नेपालको संविधानको धारा २८४ अनुसार संवैधानिक परिषद्को अध्यक्षता प्रधानमन्त्रीले गर्ने व्यवस्था छ । परिषद्का सदस्यहरूमा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाको विपक्षी दलको नेता र प्रतिनिधिसभाको उपसभामुख रहने व्यवस्था रहेको छ ।

परिषदमा प्रधानमन्त्री बालेन्द्र शाह, सभामुख डीपी अर्याल, प्रधानन्यायाधीश राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपसभामुख रुवीकुमारी ठाकुर र विपक्षी दलका नेताका रूपमा भीष्मराज आङ्देम्बे रहेका छन  । त्यस्तै  प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्ने बैठकमा कानुनमन्त्री पनि परिषदको सदस्यको रुपमा बैठकमा सहभागी हुन पाउने कानुनी व्यवस्था रहेको छ । त्यस्तै नेपाल सरकारका मुख्यसचिवले परिषदको सचिवको रुपमा काम गर्ने व्यवस्था रहेको छ ।

Read More

बेलायतका राजा चार्ल्स तृतीय अमेरिका भ्रमणमा

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय सोमबार अमेरिका पुगेका छन् ।

चार दिनको यस राजकीय भ्रमणको उद्देश्य अमेरिकाको २५०औँ वार्षिकोत्सव र अमेरिका-बेलायतबीचको विशेष सम्बन्धलाई उत्सवका रूपमा मनाउनु हो । तर भ्रमणका बीच ट्रान्स-एटलान्टिक सम्बन्धमा तनाव देखिएको छ र सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको एक रात्रिभोजमा गोली चलेपछि अन्तिम समयमा सुरक्षा समीक्षा गरिएको थियो । बकिङ्घम दरबारले राष्ट्रपति, प्रथम महिला र सबै अतिथि सुरक्षित रहेको खबरले राजा चार्ल्सलाई राहत मिलेको जनाएको छ । समीक्षा पछि भ्रमण तय कार्यक्रमअनुसार नै अघि बढ्ने बताइएको छ ।

इरान युद्धसहित विभिन्न अन्तर्राष्ट्रिय विषयमा बेलायती सरकार र ट्रम्प प्रशासनबीच मतभेद बढ्दै गएको छ । ट्रम्पले प्रधानमन्त्री कीर स्टार्मरलाई इरानमाथिको अमेरिकी सैन्य कारबाहीमा सहभागी हुन अनिच्छुक रहेको भन्दै आलोचना गरेका छन् ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयबाट चुहिएको एक इमेलमा दक्षिण एटलान्टिकस्थित फकल्याण्ड टापुमाथि बेलायतको सार्वभौमिकताप्रति अमेरिकाले आफ्नो समर्थन पुनरावलोकन गर्न सक्ने संकेत देखिएको छ । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच यही टापुका विषयमा युद्ध भएको थियो ।

राजा चार्ल्सले दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । ट्रम्पले भने राजनीतिक मतभेदले शाही भ्रमणलाई असर नगर्ने बताएका छन् । उनले चार्ल्सलाई आफ्नो मित्र र महान व्यक्ति भन्दै प्रशंसा गरेका छन् ।

ट्रम्पले गत वर्ष प्रथम महिला मेलानियासँग गरेको बेलायत भ्रमणको पनि स्मरण गरेका छन् । त्यस क्रममा शाही परिवारले विन्डसर दरबारमा भव्य भोजसहित विशेष आतिथ्य दिएको थियो ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पलाई राजा चार्ल्सप्रति गहिरो सम्मान रहेको बताएकी छन् । उनका अनुसार यस साताको राजकीय रात्रिभोजसहितका कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Read More

पूर्वाधार विकास समितिको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गत पूर्वाधार विकास समितिको बैठक आज बस्दैछ ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयको समितिको सभाकक्षमा बैठक बिहान ११ बजेदेखि शुरु हुने समितिले जानकारी दिएको छ ।

आजको बैठकमा  राष्ट्रिय गौरवका आयोजनाहरूको वर्तमान अवस्था, सञ्चालनमा देखिएका समस्या र समाधानका उपाय सम्बन्धमा राष्ट्रिय योजना आयोगबाट प्रस्तुतीकरणको कार्यसूची रहेको छ ।

Read More

नेतन्याहूलाई सत्ताबाट हटाउन दुई पूर्वप्रधानमन्त्रीले गरे पार्टी एकता

काठमाडौं । इजरायलका दुई पूर्वप्रधानमन्त्री नफ्टाली बेनेट र याएर ल्यापिड वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई सत्ताबाट हटाउन फेरि एकजुट भएका छन् । दुवैले आगामी चुनाव संयुक्त रूपमा लड्ने र नयाँ दल गठन गर्ने निर्णय गरेका छन् ।

उनीहरूले नयाँ दलको नाम ‘टुगेदर’ राखेका छन् । यस दलको नेतृत्व बेनेटले गर्नेछन् र उनी नै प्रधानमन्त्री पदका उम्मेदवार पनि हुनेछन् ।

बेनेट र ल्यापिड यसअघि पनि सन् २०२१ मा एकजुट भएका थिए । त्यतिबेला फरक-फरक विचारधाराका दललाई एउटै गठबन्धनमा ल्याएर उनीहरूले १२ वर्षदेखि सत्तामा रहेका नेतन्याहूलाई पराजित गरेका थिए ।

तर सन् २०२२ मा त्यो गठबन्धन टुटेको थियो । सरकार निकै कम बहुमतमा टिकेको थियो र दक्षिणपन्थी, वामपन्थी, मध्यमार्गी तथा एक अरब दलबीच सुरक्षा, प्यालेस्टाइन र बस्ती विस्तारजस्ता विषयमा लगातार विवाद भइरहेपछि सरकार चलाउन कठिन भएको थियो ।

पछि संसद विघटन गरेर नयाँ चुनाव गराइएको थियो, जसमा नेतन्याहू पुनः विजयी भई सत्तामा फर्किएका थिए । त्यसपछि ल्यापिड विपक्षी दलका नेता बनेका छन् भने बेनेट केही समय राजनीतिबाट टाढा रहेका थिए ।

अब सन् २०२७ को अक्टोबरमा चुनाव हुने तय भए पनि नेतन्याहूले यसै वर्ष अक्टोबरमै संसद विघटन गरेर चुनाव गराउन सक्ने चर्चा भइरहेको छ ।

ल्यापिडको दलका अनुसार यो कदम विपक्षलाई एकजुट बनाउने, आन्तरिक विवाद अन्त्य गर्ने र आगामी महत्त्वपूर्ण चुनाव जित्ने लक्ष्यसहित चालिएको हो ।

बेनेटलाई कडा यहुदी राष्ट्रवादी नेताका रूपमा हेरिन्छ । उनी दक्षिणपन्थी राजनीतिसँग लामो समयदेखि जोडिएका छन् र प्यालेस्टाइन मुद्दामा उनको धारणा निकै कडा मानिन्छ । उनी वेस्ट बैंकमा यहुदी बस्ती विस्तारका समर्थक तथा स्वतन्त्र प्यालेस्टिनी राज्यको अवधारणाका विरोधी मानिन्छन् ।

यता ल्यापिडलाई धर्मनिरपेक्ष र उदार सोच भएका नेताका रूपमा चिनिन्छ । उनी शहरी मध्यम वर्ग, पेशागत समूह र उदार मतदातामाझ लोकप्रिय छन् ।

विश्लेषकहरूका अनुसार यो गठबन्धन दुवै नेताका लागि आवश्यक बनेको छ । ल्यापिडको पार्टी अहिले संसदको सबैभन्दा ठूलो विपक्षी दल भए पनि पछिल्ला सर्वेक्षणमा उसको समर्थन घट्दै गएको देखिएको छ ।

त्यस्तै, पूर्वसैनिक प्रमुख गादी आइजनकोटको बढ्दो प्रभावले पनि बेनेटमाथि दबाब बढाएको छ । उनले पनि विपक्षी मत तान्न सक्ने भएकाले बेनेटले उनलाई समेत गठबन्धनमा सामेल हुन आग्रह गरेका छन् । तर अहिलेसम्म आइजनकोटले कुनै प्रतिक्रिया दिएका छैनन् ।

विशेषज्ञहरूका अनुसार यदि बेनेट, ल्यापिड र आइजनकोट तीनै जना एउटै मोर्चामा चुनाव लड्छन् भने उनीहरू संसदको सबैभन्दा ठूलो शक्ति बन्न सक्ने सम्भावना छ । तर नेतन्याहूलाई पराजित गर्न विपक्षको पूर्ण एकता अझै निर्णायक मानिएको छ ।

Read More

काठमाडौँमा होस्टेल अनुगमनका लागि ५ वटा टोली परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले ५ वटा टोली बनाएर होस्टेलहरुको अनुगमन सुरु गरेको छ ।

महानगरपालिकाभित्रका होस्टेलहरुमा करिब ४० हजार व्यक्तिहरुले सेवा लिइरहेको व्यवसायीहरुको तथ्याङ्क छ । यति धेरै व्यक्तिहरुले सेवा लिइरहेको स्थानमा मापदण्डको पालना, गुणस्तरीयताको अवस्था, सेवा र सुरक्षा सम्बन्धी व्यवस्था जाँच गरेर स्तरीयलाई दर्ता तथा सञ्चालन प्रक्रियामा ल्याउने, सुधार गर्न सकिनेलाई सुधारको मौका दिने र आधारभूत स्तर पनि नभएका तथा ल्याउन नसकिनेलाई बन्द गर्ने लक्ष्यसहित अनुगमन थालिएको हो । 

शिक्षा अधिकृतहरुको संयोजकत्वमा गठन भएको अनुगमन टोलीमा सम्बन्धित वडाका जनप्रतिनिधि, नेपाल होस्टेल एशोसिएसन, होस्टेल व्यवसायी संघ, महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागका फुड टेक्नोलोजिष्ट, योजना तथा अनुगमन एकाइका प्रतिनिधि सदस्य रहेका छन् । 

५ वटा अनुगमन टोलीमध्ये शिक्षा अधिकृत नेत्रनारायण पौडेल संयोजक र शिक्षा अधिकृत रुक्मिला इटनी सदस्य सचिव रहेको टोलीले महानगरपालिकाको वडा नं. १, ३, ४, ६, १६, १८ र ३० गरी ७ वटा वडामा रहेका होस्टेलहरुको अनुगमन गर्नेछ । यस्तै शिक्षा अधिकृत ओमप्रकाश गौत्तम संयोजक र शिक्षा अधिकृत धनकुमारी भण्डारी सदस्य सचिव रहेको टोलीले वडा नं. ९ र ३१, शिक्षा अधिकृत इन्द्रप्रसाद दाहाल संयोजक र शिक्षा अधिकृत रामचन्द्र खड्का सदस्य सचिव रहेको टोलीले वडा नं. १० भित्र सञ्चालनमा रहेका होस्टेलहरुको अनुगमन गर्नेछ । 

शिक्षा अधिकृत केशव ज्ञवाली संयोजक र शिक्षा अधिकृत विनिता महत सदस्य सचिव रहेको टोलीले वडा नंं २९, वरिष्ठ शाखा अधिकृत शुशिल सुवेदी संयोजक र शिक्षा अधिकृत लक्ष्मी पौडेल सदस्य सचिव रहेको टोलीले वडा नं. २८ र ३२ भित्रका होस्टेलहरुको अनुगमन गर्नेछ । 

होस्टेल एशोसिएन र होस्टेल व्यवसायी संघका पदाधिकारीहरुले व्यवसायिक मर्यादाका लागि महानगरपालिकाले सञ्चालन गरेको अनुगमनबाट सकारात्मक नतिजा आउने अपेक्षा रहेको प्रतिक्रिया दिएका छन् ।   

छात्राबास (होस्टेल) लाई व्यवस्थित, मर्यादित, सुरक्षित र पारदर्शी बनाउन तथा छात्राबासमा बस्ने विद्यार्थीहरु र सञ्चालकको अधिकतम हित गराउन छात्राबास सञ्चालन सम्बन्धी मापदण्ड २०८० जारी गरिएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ (२) को खण्ड (ज) र दफा १०२ को (२) लाई आधार मानेर काठमाडौँ महानगरपालिका प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरेर मापदण्ड जारी गरिएको हो । 

मापदण्डबमोजिम महानगरपालिकाभित्र छात्राबास (होस्टेल) सञ्चालन गर्न कार्ययोजना, प्रतिवद्धतासहितको निवेदन, वडाको शिफारिस, छात्राबास राख्ने भवनको नक्सा र नक्सा पास प्रमाण पत्र, निर्माण सम्पन्न प्रमाण पत्रसहित कागजातसहित दर्ता प्रक्रियाका जानुपर्छ । आफ्नै घरमा आफैँले सञ्चालन गरेको जग्गाको लालपूर्जा र भाडामा भवन लिएको भए सम्झौताको प्रतिलिपि बुझाउनुपर्छ । स्थलगत अनुगमन तथा वस्तुस्थितिको जाँचपछि महानगरपालिकाको शिक्षा विभागले सञ्चालन अनुमति दिनेछ । 

छात्राबासभित्र न्युनतम सबै पूर्वाधार हुनुपर्छ । यसमा शौचालय, भान्छा घर, पानीको आपूर्ति, विद्युत, प्रत्येक छात्रछात्राका लागि पलङ्, दराज र टेबल फोहोरमैला व्यवस्थापन तथा सरसफाइको प्रबन्ध हुनुपर्छ । कोठाहरु फराकिला, खुल्ला हुनुपर्छ । कोठामा पर्याप्त प्रकाश हुनुपर्छ । हावा दोहोरो आउने जाने हुनुपर्छ ।  

आगलागी जस्ता सम्भावित विपद व्यवस्थापनका लागि फायर इस्टीङ्ग्वीसर लगायत सामग्री तथा उपकरण, प्राथमिक उपचारको लागि सामग्री हुनुपर्छ । कोठा र शौचालयबाहेक अन्य स्थानको निगरानीका लागि सिसिटिभी क्यामरा जडान गर्नुपर्छ । हुलदंगा हुने, प्रदुषण हुने ठाउँमा छात्राबास राख्न हुँदैन । छात्र र छात्राका लागि सञ्चालन गरिने भवन आमनेसामने हुनुहुँदैन । एकबाट अर्कोको दुरी कम्तीमा २ सय मिटर हुनुपर्नेछ । एकै सञ्चालकले दुवै छात्राबास चलाउने भए आन्तरिक व्यवस्थापनको काम समेत छुट्टै भवनबाट सञ्चालन गर्नुपर्छ । 

सेवा सुविधा, जिम्मेवारी तथा कर्तव्य, अनुशासन, गोपनीयता, आचारसंहिता सम्बन्धी आन्तरिक नियम बनाउन सक्नेछन् । यस्ता नियम महानगरपालिकामा पेश गरेर सहमति लिनुपर्नेछ । 

महानगरपालिकाले तोकेको आकारमा स्पष्ट देखिने गरी परिचय पाटी राख्नुपर्छ । बस्ने छात्रछात्राको हालसालै खिचेको तस्विर, पहिचान देखिने सरकारी कागज राख्नुपर्छ । असम्बन्धित व्यक्ति भित्र आउन दिनु हुँदैन । शैक्षिक वातावरण मिलाउनुपर्छ । कोठाभित्र मदिराजन्य, लागू पदार्थ, सूर्तिजन्य पदार्थ ओसारपसार, विक्री वितरण र प्रयोग गर्न पाइँदैन । सञ्चालकबाट अभिभावकीय भूमिका निर्वाह गर्नु पर्ने भएकोले उमेर ३० बर्ष पूरा भएको हुनुपर्नेछ । 

मापदण्डमा छात्राबाससँग सम्बद्ध व्यक्तिको काम, कर्तव्य र अधिकार, वार्डेनको काम कर्तव्य अधिकार, छात्रछात्राको काम कर्तव्य र अधिकार, अनुगमनलगायत व्यवस्था छन् । शुल्क, दण्ड सजाय, विवाद समाधानसहित विषयलाई ५ वटा परिच्छेदमा व्यवस्था गरिएको छ ।  त्यस्तै छात्राबास सम्बन्धी प्रस्ताव, प्रतिवद्धता पत्रलाई अनुसूचीमा ढाँचा दिइएको छ ।

Read More

आज राष्ट्रिय चिया दिवस मनाइदै

काठमाडौँ । आज २९औँ ‘राष्ट्रिय चिया दिवस’ मनाइदै छ । चिया दिवसको अवसरमा विभिन्न कार्यक्रम गर्ने जानकारी दिइएको छ । 

नेपालमा विसं १९२० मा इलाममा चिया खेती सुरु भए पनि झापा, पाँचथर, धनकुटा र तेह्रथुमलाई २०३९ मा चिया क्षेत्र घोषणा गरी सरकारी तहबाट व्यावसायिक चिया खेतीको प्रवद्र्धन गरिएको पाइन्छ ।

पछिल्लो समयमा स्पेसियल टी र ग्रीन टीको माग पूर्ति गर्न १०० भन्दा बढी लघु चिया प्रशोधन केन्द्र सञ्चालनमा आएका छन् । चिया उद्योगले करीब ६० हजार श्रमिकलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।

पछिल्लो समय चिया कृषक आफैँले वा सहकारीअन्तर्गत सानादेखि ठूला चिया प्रशोधन कारखाना स्थापना गर्ने कार्यले अभियानको रूप लिएको छ । यसले विगतमा देखिएको चिया किसान र उद्योगबीच हुने गरेको चियाको हरियोपत्तीको मूल्य विवादको समस्या हल भएको छ ।

नेपाली चियाको पहिचान एवं बजार विस्तारका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलामा प्रवद्र्धनात्मक कार्यक्रमका लागि निरन्तरता दिनुपर्ने देखिन्छ । 

पूर्वका झापा, इलाम, पाँचथर, धनकुटा र तेह्रथुमका साथै दोलखा, रामेछाप, सिन्धुपाल्चोक, ललितपुर, कास्की, लमजुङलगायत जिल्लामा चिया खेतीको विस्तार भइरहेको छ । पछिल्लो तथ्याङ्कअनुसार वार्षिक साढे दुई करोड किलोग्राम तयारी चिया उत्पादन भएको देखिन्छ ।

Read More

वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालको सामना रुवाण्डासँग

काठमाडौं । जारी आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीमा आज नेपालले आज रुवाण्डासँग खेल्दैछ । आज यो खेल नेपाली समय अनुसार अपराहन्न १२: ४५ बजेदेखि शुरु हुदैछ ।

यसअघि खेलेका ५ खेलमा नेपालले २ जित र ३ हार बेहोरेको छ । नेपालले अमेरिकासँगका दुवै खेल र भानुआटुसँग हार बेहोरेको थियो भने इटाली र रुवाण्डालाई पराजित गरेको थियो । त्यस्तै रुवाण्डाले खेलेका ६ खेलमा ४ खेल जितेको छ २ खेलमा हार बेहोरेको छ । 

यो प्रतियोगिता खेल्ने नेपाली टिममा इन्दु बर्मा (कप्तान), पुजा महतो (उपकप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, मनिषा उपाध्याय, सम्झना खड्का, रुवि पोद्दार, कविता जोशी, कविता कुँवर, रिया शर्मा, रोमा थापा, सुमन विष्ट, अनु कडायत र रचना चौधरी रहेका छन् । त्यस्तै नेपाली टिमको मुख्य प्रशिक्षक हर्षल पाठक रहेका छन् ।

रुवाण्डा क्रिकेट संघले आयोजना गर्ने पहिलो आइसीसी महिला च्यालेन्ज ट्रफी अप्रिल १८ देखि मे २ सम्म हुदैछ । यस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने टोलीहरूमा अमेरिका क्षेत्रबाट संयुक्त राज्य अमेरिका, एसियाबाट नेपाल, युरोपेली क्षेत्रबाट इटाली, पूर्वी एसिया-प्रशान्त क्षेत्रबाट भानुआटु र अफ्रिकाबाट आयोजक रुवान्डा रहेका छन् ।

नेपालले अर्को खेल अप्रिल ३० मा भानुआटुसँग र मे १ मा इटालीसँग खेल्ने तालिका रहेको छ ।

Read More

क्यासेमिरो र सेस्कोको गोलमा म्यानचेस्टर युनाइटेड विजयी

काठमाडौँ । म्यानचेस्टर युनाइटेडले इङलिश प्रिमियर लिग अन्तर्गत ब्रेन्टफोर्डलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्ड २-१ गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा क्यासेमिरो र बेन्जामिन सेस्कोले एक एक गोल गरेका थिए । त्यस्तै ब्रेन्टफोर्डका लागि एक गोल माथियास जानसेनले गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको ३४ खेलमा ६१ अंक भएको छ र लिगमा तेस्रो  स्थानमा उक्लिएको छ । त्यसैगरी ब्रेन्टफोर्डको ३४ खेलमा ४८ अंक रहेको छ र हाल नवौं स्थानमा छ ।

Read More

काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइदै

काठमाडौँ । आज काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाइदैछ । 

अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले २००३ मा व्यावसायिक स्वास्थ्य र सुरक्षाको राजनीतिक प्रोफाइल बढाउन र व्यावसायिक सुरक्षा र स्वास्थ्यमा उनीहरूको विश्वव्यापी रणनीति अनुसार  काममा सुरक्षा र स्वास्थ्यको लागि विश्व दिवस मनाउन थालिएको हो ।

व्यावसायिक स्वास्थ्यले कार्यस्थल सम्बन्धी खतराहरूलाई रोक्ने क्रममा कामदारहरूको शारीरिक, मानसिक र सामाजिक कल्याणलाई समेट्छ ।

जोखिमहरूले व्यावसायिक रोगहरू निम्त्याउन सक्छ जसले कार्यबलमा भाग लिने कामदारहरूको क्षमतालाई क्षीण बनाउँछ, र दीर्घकालीन रोगको दर बढाउँछ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र आईएलओले सन् २०१६ मा कामसँग सम्बन्धित रोग र चोटपटकका कारण १८ लाख ८० हजारको मृत्यु भएको अनुमान गरेको छ ।

अर्कोतर्फ अनौपचारिक कामदारहरूले कमजोर कामको अवस्था र सीमित सामाजिक सुरक्षाका कारण महत्त्वपूर्ण चुनौतीहरूको सामना गर्छन् । तिनीहरू आर्थिक झट्काहरूको लागि असमान रूपमा कमजोर छन् र पर्याप्त कार्यस्थल सुरक्षाको अभाव छ, कार्यस्थलको चोटहरूको प्रभावलाई बढाउँदैछ ।

व्यावसायिक स्वास्थ्यमा जलवायु परिवर्तनको प्रभाव पनि हालै चिन्ताको रूपमा देखा परेको छ । जलवायु–सम्बन्धित खतराहरू, विशेष गरी चरम मौसमी घटनाहरू, कामको उत्पादन र अवधि सीमित गर्दछ, र कामदारहरूको स्वास्थ्य र सुरक्षामा जोखिम खडा गरेको छ ।

Read More

आइपिएलमा दिल्लीमाथि रोयल च्यालेन्जर्स बैंगलुरु ९ विकेटले विजयी

काठमाडौँ । रोयल च्यालेन्जर्स बैंगलुरुले जारी आइपिएलमा दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा बैंगलुरुले दिल्लीलाई ९ विकेटले पराजित गरेको हो ।

दिल्लीले दिएको केवल ७६ रनको लक्ष्य पछाएको बैंगलुरुले ६.३ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले १६.३ ओभरमा अल आउट हुदै ७५ रन मात्र बनाएको थियो । यो यस सिजनको आइपिएलको सबैभन्दा कम टोटल रहेको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए । त्यस्तै बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ ।

Read More