२०८३ बैशाख १५

बेलायतका राजा चार्ल्स तृतीय अमेरिका भ्रमणमा

काठमाडौँ । बेलायतका राजा चार्ल्स तृतीय सोमबार अमेरिका पुगेका छन् ।

चार दिनको यस राजकीय भ्रमणको उद्देश्य अमेरिकाको २५०औँ वार्षिकोत्सव र अमेरिका-बेलायतबीचको विशेष सम्बन्धलाई उत्सवका रूपमा मनाउनु हो । तर भ्रमणका बीच ट्रान्स-एटलान्टिक सम्बन्धमा तनाव देखिएको छ र सुरक्षा व्यवस्था पनि निकै कडा बनाइएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प सहभागी भएको एक रात्रिभोजमा गोली चलेपछि अन्तिम समयमा सुरक्षा समीक्षा गरिएको थियो । बकिङ्घम दरबारले राष्ट्रपति, प्रथम महिला र सबै अतिथि सुरक्षित रहेको खबरले राजा चार्ल्सलाई राहत मिलेको जनाएको छ । समीक्षा पछि भ्रमण तय कार्यक्रमअनुसार नै अघि बढ्ने बताइएको छ ।

इरान युद्धसहित विभिन्न अन्तर्राष्ट्रिय विषयमा बेलायती सरकार र ट्रम्प प्रशासनबीच मतभेद बढ्दै गएको छ । ट्रम्पले प्रधानमन्त्री कीर स्टार्मरलाई इरानमाथिको अमेरिकी सैन्य कारबाहीमा सहभागी हुन अनिच्छुक रहेको भन्दै आलोचना गरेका छन् ।

यसैबीच अमेरिकी रक्षा मन्त्रालयबाट चुहिएको एक इमेलमा दक्षिण एटलान्टिकस्थित फकल्याण्ड टापुमाथि बेलायतको सार्वभौमिकताप्रति अमेरिकाले आफ्नो समर्थन पुनरावलोकन गर्न सक्ने संकेत देखिएको छ । सन् १९८२ मा बेलायत र अर्जेन्टिनाबीच यही टापुका विषयमा युद्ध भएको थियो ।

राजा चार्ल्सले दुई देशबीचको सम्बन्ध सुधार्ने प्रयास गरिरहेका छन् । ट्रम्पले भने राजनीतिक मतभेदले शाही भ्रमणलाई असर नगर्ने बताएका छन् । उनले चार्ल्सलाई आफ्नो मित्र र महान व्यक्ति भन्दै प्रशंसा गरेका छन् ।

ट्रम्पले गत वर्ष प्रथम महिला मेलानियासँग गरेको बेलायत भ्रमणको पनि स्मरण गरेका छन् । त्यस क्रममा शाही परिवारले विन्डसर दरबारमा भव्य भोजसहित विशेष आतिथ्य दिएको थियो ।

ह्वाइट हाउसकी प्रवक्ता अन्ना केलीले राष्ट्रपति ट्रम्पलाई राजा चार्ल्सप्रति गहिरो सम्मान रहेको बताएकी छन् । उनका अनुसार यस साताको राजकीय रात्रिभोजसहितका कार्यक्रमले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउने अपेक्षा गरिएको छ ।