२०८३ बैशाख १९

व्यवसायीको बहिष्कारबीच पनि तीन दिनमै ३ अर्बभन्दा बढी राजस्व संकलन

काठमाडौं । उद्यमी तथा व्यवसायीहरूले भन्सार जाँचपास प्रक्रियाबाट दूरी बनाइरहेका बेला पनि राजस्व सङ्कलन भने उल्लेखनीय रूपमा बढेको देखिएको छ। वीरगञ्ज भन्सार कार्यालय ले पछिल्ला तीन दिनमा मात्रै करिब तीन अर्ब १५ करोड रुपैयाँ राजस्व उठाउन सफल भएको छ।

सरकारले आयातित तथा निर्यात गरिने वस्तुमा अधिकतम खुद्रा मूल्य (एमआरपी) अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेपछि वैशाख १५ गतेदेखि व्यवसायीहरूले जाँचपास प्रक्रियामा सहभागिता जनाएका छैनन्। यसका कारण भन्सारको नियमित प्रक्रिया प्रभावित बनेको छ।

कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार व्यवसायीहरूको अनुपस्थितिका बाबजुद पनि पेट्रोलियम पदार्थ, औद्योगिक कच्चा पदार्थ तथा तरकारी–फलफूल जस्ता अत्यावश्यक वस्तुको जाँचपास भने जारी राखिएको छ। यही कारण तीन दिनमै अर्बौँ राजस्व संकलन सम्भव भएको उनले बताए।

तथ्याङ्क अनुसार वैशाख १५ गते ३५ करोड रुपैयाँ राजस्व उठेको थियो। त्यसको भोलिपल्ट वैशाख १६ गते यो रकम ह्वात्तै बढेर एक अर्ब ९० करोड पुगेको थियो भने वैशाख १७ गते पनि ९० करोड रुपैयाँ संकलन भएको छ।

सूचना अधिकारी विष्टका अनुसार पेट्रोलियम पदार्थको नियमित जाँचपास भइरहेकाले राजस्वमा ठूलो योगदान पुगेको हो। “पेट्रोलियम आयात रोकिने अवस्था नभएकाले राजस्व सङ्कलन निरन्तर भइरहेको छ,” उनले भने।

यता, व्यवसायीहरूले भने चौथो दिन पनि जाँचपास प्रक्रियामा सहभागिता जनाएका छैनन्। फाराम भर्ने, घोषणा गर्ने लगायतका आवश्यक प्रक्रिया नै नहुँदा आयात–निर्यातका अन्य सामानको जाँचपास प्रभावित भएको छ।

सरकारको निर्णयअनुसार अब भन्सार विन्दुमा भित्रिने सबै वस्तुमा एमआरपी अनिवार्य गरिएको छ, जसप्रति व्यवसायीहरू असन्तुष्ट देखिएका छन्। यही असहमतिकै कारण उनीहरूले जाँचपास प्रक्रियामा सहभागी नहुने रणनीति अपनाएका हुन्।

सामान्य अवस्थामा दैनिक ५० देखि ६० करोड रुपैयाँसम्म राजस्व उठाउने वीरगञ्ज भन्सारमा अहिले परिस्थिति फरक देखिएको छ—काम आंशिक रूपमा प्रभावित भए पनि आम्दानी भने उच्च नै छ।

वीरगञ्ज उद्योग वाणिज्य सङ्घ का अध्यक्ष हरिप्रसाद गौतमले अझै समस्या समाधान नभएकाले जाँचपास प्रक्रिया सुचारु हुन नसकेको बताए।

हालको अवस्थाले एकातिर सरकारको राजस्व संकलन क्षमतामा निरन्तरता देखाएको छ भने अर्कोतर्फ निजी क्षेत्रसँगको समन्वयको आवश्यकता झनै स्पष्ट पारेको छ।

Read More

सुकुम्बासी बस्ति भत्काउनु अमानवीयता र राज्य आतंकको पराकाष्ठा हो- महेश बस्नेत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)  का सचिव महेश बस्नेतले अव्यवस्थित बसोबासमा रहेका नागरिकलाई व्यवस्थापन नगरी विस्थापन गर्नु समाधान नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले जग्गा व्यक्तिको नाममा नहुन सक्ने र कागजपत्र अपूर्ण हुन सक्ने भए पनि त्यहाँ बस्ने मानिसहरू यही देशका नागरिक भएकाले उनीहरूको बसोबास र सम्मानपूर्वक बाँच्ने अधिकार बराबरी रहेको जिकिर गरेका छन् ।

उनले भनेका छन्- ‘जग्गा उनीहरूको नहुन सक्छ, कागजपत्र नहुन सक्छ। तर त्यहाँ बस्ने मानिसहरू राज्यबाहिरका होइनन्। उनीहरू यही देशका नागरिक हुन्। उभिने ठाउँ र सम्मानका साथ बाँच्ने अधिकार उनीहरूलाई पनि बराबरी छ ।’

बस्नेतले समस्या समाधानका लागि छिटो, न्यायोचित र मानवीय ढंग अपनाउनुपर्नेमा जोड दिडिया वर्षौँसम्म भुटानी शरणार्थीलाई आश्रय दिएको नेपालले यस्ता विषयमा कानुनी पक्षसँगै मानवीय पक्षलाई पनि प्राथमिकता दिनुपर्ने उल्लेख गरेका छन् ।

उनले वर्षायामको समयमा नागरिकलाई विस्थापित गर्दा रोग, पीडा र कष्ट बढ्ने तथा विद्यालय र धार्मिक संरचना भत्काउने कार्य अमानवीय भएको टिप्पणी गर्दै यस्तो कार्यलाई राज्य आतंकको चरम रूपको संज्ञा दिएका छन् ।

सरकारी जग्गा भए पनि त्यसमा बसोबास गर्ने नागरिकको अवस्थालाई बेवास्ता गर्न नहुने उल्लेख गर्दै उनले राज्यको अस्तित्व नै जनताबाट हुने भएकाले जनतालाई विस्थापित गरेर शासन सञ्चालन गर्न नसकिने बताए ।

बस्नेतले यस्ता घटना अन्य दल सत्तामा हुँदा भएको भए कस्तो प्रतिक्रिया आउँथ्यो भन्ने प्रश्नसमेत उठाएका छन् । उनले गरिब जनताको पीडालाई केवल शब्द र गीतमा सीमित नराखी व्यवहारमै न्याय दिलाउन आवश्यक रहेकोमा जोड दिएका छन् ।

Read More

दाउन्नेमा ढलान सकियो: दुई सातापछि पक्की सडकबाटै सवारी गुड्ने

काठमाडौं । लामो समयदेखि यात्रु र सवारी चालकका लागि सास्ती बन्दै आएको दाउन्ने सडक खण्डमा अब राहतको संकेत देखिएको छ। नारायणगढ–बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा पर्ने दाउन्ने क्षेत्रमा एकतर्फी ढलानको काम अन्ततः सम्पन्न भएको छ।

आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार करिब चार किलोमिटर लम्बाइमा फैलिएको दाउन्ने क्षेत्रमा एकतर्फी रूपमा ढलान कार्य पूरा गरिएको हो। वर्षायाममा सामान्य पानी पर्दा पनि हिलो र जामले हैरान बनाउने यो खण्ड अब विस्तारै सहज बन्ने अपेक्षा गरिएको छ।

ढलान सकिएसँगै अब यात्रुहरूले धेरै समयसम्म कष्टकर यात्रा गर्नु नपर्ने भएको छ। आयोजनाका अनुसार थप १४ दिनभित्र उक्त खण्ड पूर्ण रूपमा सुक्ने र त्यसपछि सवारी साधनहरू पक्की सडकबाटै सञ्चालन गर्न सकिनेछ। “अब दाउन्नेमा यात्रा पहिलेको जस्तो कठिन हुने छैन, छिट्टै सहज आवागमन सुरु हुन्छ,” खनालले जानकारी दिए।

यस प्रगतिसँगै नारायणगढ–बुटवल सडकको पूर्वी खण्डमा पर्ने सम्पूर्ण ६५ किलोमिटर सडक कालोपत्र र ढलानमार्फत जोडिएको छ। यसले यात्रामा गुणात्मक सुधार ल्याउने विश्वास गरिएको छ। तर, पश्चिम खण्डमा भने अझै केही स्थानमा ढलान कार्य अधुरो रहेकाले पूर्ण सुविधा पाउन केही समय लाग्ने देखिन्छ।

यो सडक विस्तार आयोजना २०७५ माघ २४ गते सम्झौता भएर सुरु गरिएको थियो। सुरुमा २०७९ साउनभित्रै काम सक्ने लक्ष्य राखिए पनि विभिन्न कारणले समयमै सम्पन्न हुन सकेन। अहिले चौथो पटक थपिएको म्यादभित्र काम भइरहेको छ।

कुल ११३ किलोमिटर लम्बाइको यस सडकलाई दुई खण्डमा विभाजन गरी निर्माण अघि बढाइएको हो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा सञ्चालन भइरहेको यस आयोजनाको लागत करिब १७ अर्ब रुपैयाँ रहेको छ।

सात वर्ष लामो प्रतीक्षापछि विस्तारै सुधार देखिन थालेसँगै यात्रुहरूमा आशा पलाएको छ—अब दाउन्ने यात्रा सास्ती होइन, सहजताको प्रतीक बन्नेछ।

Read More

घरछेउमै भूमि सेवा, महानगरको नयाँ अभ्यास सफल / १५ दिनमा ४८ जनालाई सेवा प्रदान

काठमाडौं । स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा दिने उद्देश्यसहित सुरु गरिएको ‘वडा भूमि प्रशासन सेवा केन्द्र’ कार्यक्रमले छोटो अवधिमै सकारात्मक संकेत देखाएको छ। काठमाडौँ महानगरपालिकाले नमूनाका रूपमा सुरु गरेको यो सेवाबाट १५ दिनमै ४८ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्।

महानगरपालिकाले वि.सं. २०८२ चैत १२ गते मालपोत कार्यालय चाबहिल, डिल्लीबजार र कलङ्कीसँग सहकार्य सम्झौता गरेर २०८३ वैशाख २ गतेदेखि १० वटा वडाबाट परीक्षणका रूपमा सेवा सुरु गरेको हो। वडा नं. ३, ४, ६, १०, १४, १५, १६, २३, २६ र ३१ मा सञ्चालनमा आएको यो प्रणालीले स्थानीय स्तरमै सेवा प्रवाहलाई सहज बनाउने लक्ष्य राखेको छ।

प्रारम्भिक तथ्यांकअनुसार, सेवा लिनेहरूमध्ये सबैभन्दा धेरै २१ जनाले जग्गा स्वामित्व परिवर्तन (नामसारी) सेवा लिएका छन्। त्यसैगरी १९ जनाले जग्गाधनी प्रमाणपुर्जा प्राप्त गरेका छन्। भूसेवा केन्द्र तथा भूसूचना प्रणाली कार्यक्रमका सम्पर्क व्यक्ति अशोक श्रेष्ठका अनुसार सगोलनामाको लिखत पारित, मृत्युपछिको नामसारी, राजीनामा, छोडपत्र, हालैदेखिको लिखत पारित तथा रैकर जग्गा दर्ताजस्ता सेवा पनि प्रदान गरिएको छ।

यसअघि महानगरले चारकिल्ला सिफारिस र घरबाटो सिफारिसजस्ता सीमित सेवा मात्र उपलब्ध गराउँदै आएको थियो। तर नयाँ प्रणाली लागू भएसँगै भूमिसम्बन्धी अधिकार, लेखापढी, अभिलेख व्यवस्थापन, रोक्का–फुकुवा सिफारिस तथा कर–राजस्वसम्बन्धी सेवा समेत वडाबाटै उपलब्ध हुन थालेका छन्।

सेवा प्रवाहलाई थप व्यवस्थित बनाउन नागरिक परामर्श, गुनासो व्यवस्थापन, बायोमेट्रिक विवरण संकलन र राजस्व संकलनसमेत वडा कार्यालयबाटै हुने व्यवस्था गरिएको छ। साथै बैंकमा जग्गा रोक्का वा फुकुवा गर्न आवश्यक सिफारिस र अभिलेख व्यवस्थापनको काम पनि स्थानीय तहबाटै हुने भएको छ।

प्रक्रियागत रूपमा वडाले नामसारी निवेदन तथा कानुनअनुसार पारित हुने लिखतमा सेवाग्राहीको सनाखत, ल्याप्चे छाप र दस्तखत प्रमाणित गरी थप प्रक्रिया पूरा गर्न मालपोत कार्यालय पठाउनेछ। हाललाई जग्गाधनी सङ्केत नम्बर कायम भएका तथा स्पष्ट कित्ताकाट भएका जग्गाका कारोबारमा मात्र सेवा केन्द्रित गरिएको छ।

जग्गाधनी सङ्केत नम्बर नभएका हकमा भने विवरण अद्यावधिकका लागि मालपोत कार्यालयमै पठाइने व्यवस्था गरिएको महानगरले जनाएको छ।

नेपालको संविधानले भूप्रशासनसम्बन्धी अधिकार स्थानीय तहलाई दिएको भए पनि आवश्यक पूर्वाधार र जनशक्ति अभावका कारण लामो समयसम्म यी सेवा संघीय निकायमार्फत सञ्चालन हुँदै आएका थिए। अब भने महानगरको यो पहलले स्थानीय तहबाटै सेवा दिने अभ्यासलाई बलियो बनाउने अपेक्षा गरिएको छ।

स्थानीय स्तरमै सेवा उपलब्ध हुन थालेपछि सेवाग्राहीको समय, खर्च र झन्झट घट्ने विश्वास गरिएको छ भने आगामी दिनमा यो सेवा थप वडामा विस्तार गर्ने तयारी पनि महानगरले गरिरहेको छ।

Read More

अनिलको कप्तानीमा अमेरिका र स्कटल्यान्डविरुद्ध खेल्ने नेपाल ए टिमको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाल ‘ए’ टोलीका लागि खेलाडी छनोट गरेको जनाएको छ ।

क्यानले मुलपानीस्थित माथिल्लो क्रिकेट मैदानमा मे ६ देखि ११ सम्म अमेरिका र स्कटल्यान्डविरुद्ध हुने खेलका लागि नेपाल ‘ए’ टोलीको घोषणा गरेको हो । साथै मे १२ देखि २२ सम्म कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुने विश्व क्रिकेट लिग–२ को तयारीमा समेत सहयोग पुग्ने गरी टोली घोषणा गरिएको क्यानले जनाएको छ ।

घोषित टोलीको कप्तानी अनिल कुमार साहले गर्नेछन् । टोलीमा तृतराज दास, देव खनाल, ईशान पाण्डे, सन्दीप जोरा, सन्तोष यादव, हेमन्त धामी, रसिद खान, मयन यादव, नारायण जोशी, आकाश चन्द, दीपक डुम्रे, शेर मल्ल, कुशल मल्ल, विपिन खत्री, युवराज खत्री, पवन सराफ र साहब आलम रहेका छन् ।

Read More

विधिको शासनमा सम्झौता नगर्न प्रम बालेनलाई पूर्वगृहमन्त्री अर्यालको चेतावनी

काठमाडौं । समसामयिक राजनीतिक बहसबीच पूर्वगृहमन्त्री ओमप्रकाश अर्यालले काठमाडौं महानगरका मेयर बालेन शाहलाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्।

उनले साहस र दुस्साहसबीचको अन्तर स्पष्ट छुट्याउनुपर्ने भन्दै दुस्साहसले अन्ततः आत्मघाती परिणाम निम्त्याउने चेतावनी दिएका छन्।

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अर्यालले देशमा विधिको शासन कायम राख्न र समन्यायिक सन्तुलन जोगाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएका हुन्। उनले लेखेका छन्, “साहस के हो र दुस्साहस के हो भन्ने छुट्याउनुपर्छ। दुस्साहस आत्मघाती हुने भएकाले त्याग्नुपर्छ। देशमा विधिको शासनसहितको समन्यायिक सन्तुलन कायम रहोस्, मुलुक, मानवता र संविधानमा थप क्षति नपुगोस्।”

अर्यालको यो अभिव्यक्ति पछिल्लो समय सरकार र काठमाडौं महानगरबीच देखिएको तनावपूर्ण परिस्थितिसँग जोडेर हेरिएको छ। विशेषगरी सुकुम्बासी बस्ती हटाउने सरकारी कदमले विभिन्न ठाउँमा विरोध चर्किरहेको बेला आएको उनको भनाइलाई अर्थपूर्ण रूपमा लिइएको छ।

सरकारले वैकल्पिक व्यवस्था नगरी बस्ती हटाउने निर्णय गरेपछि प्रभावित समुदाय आन्दोलित बनेका छन्। उनीहरूले आफ्नो बसोबासको अधिकार सुनिश्चित गर्न माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन्। यसले सामाजिक र राजनीतिक रूपमा थप संवेदनशील अवस्था सिर्जना गरेको छ।

यस्तो अवस्थामा पूर्वगृहमन्त्री अर्यालले दिएको सन्देशले राज्य सञ्चालनमा संयमता, कानुनी प्रक्रिया र मानवीय दृष्टिकोणको आवश्यकता औंल्याएको विश्लेषण गरिएको छ। उनका भनाइले नीतिगत निर्णय गर्दा दीर्घकालीन प्रभाव र नागरिकको जीवनमा पर्ने असरलाई समेत ध्यान दिनुपर्ने संकेत गरेको छ।

वर्तमान विवादबीच राजनीतिक वृत्तमा बहस झनै चर्किँदै गएको छ। सरकार, स्थानीय तह र नागरिकबीच सन्तुलन कायम गर्दै समाधान खोज्ने चुनौती अझै कायम रहेको देखिन्छ।

Read More

आइपिएलमा राजस्थानमाथि दिल्ली क्यापिटल्स ७ विकेटले विजयी

काठमाडौँ । दिल्ली क्यापिटल्सले जारी आइपिएलमा राजस्थान रोयल्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले राजस्थानलाई ७ विकेटले पराजित गरेको हो ।

राजस्थानले दिएको २२६ रनको लक्ष्य पछाएको दिल्लीले १९.१ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

दिल्लीको जितमा केएल राहुलले सर्बाधिक ७५ रन बनाएका थिए भने पाथुम निसान्काले ६२ रन बनाएका थिए । त्यस्तै नितिस रानाले ३३ र आशुतोष शर्माले २५ रन बनाएका थिए ।

यस अघि टस जितेर पहिला ब्याटिंग गरेको राजस्थानले कप्तान रियान परागको ९०, डोनोभान फरेराले अविजित ४७ र ध्रुव जुरेलको ४२ रनको सहयोगमा २० ओभरमा ६ विकेट गुमाउदै २२५ रन बनाएको थियो ।

यो दिल्लीको ९ खेलमा चौथो जित हो । यो जितपछि दिल्ली ८ अंकसहित छैटौं स्थानमा रहेको छ । त्यस्तै राजस्थानको १० खेलमा १२ अंक रहेको छ र हाल चौथो स्थानमा रहेको छ ।

जारि आइपिएल अन्तर्गत आज चेन्नई सुपर किंग्स र मुम्बई इण्डियन्सबीच खेल हुदैछ ।

Read More

मेडिकल काउन्सिलले थप १९ चिकित्सकको खारेज गर्यो लाइसेन्स

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता प्रमाणपत्र (लाइसेन्स) खारेज गरेको छ ।

काउन्सिलले नेपाली नागरिकता परित्याग गरेका १९ जना चिकित्सकको लाइसेन्स दर्ता खारेज गरेको काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवले जानकारी दिएका हुन् ।

यसअघि काउन्सिलले नेपाली नागरिकता त्यागेर विदेशी राहदानी लिएका १७ जनाको लाइसेन्स खारेज गरेको थियो । 

नेपाल मेडिकल काउन्सिल ऐन २०२०, नियमावली २०२४, नेपाल नागरिकता ऐन २०६३ अनुसार  नेपाली नागरिकता परित्याग गरी विदेशी राहदानी लिएका ती १९ जना चिकित्सकको काउन्सिलको दर्ता किताबबाट नाम दर्ता खारेज गर्ने निर्णय गरिएको हो । लाइसेन्स खारेज गरिएका चिकित्सकहरुमा नेपाली नागरिकता त्यागेर ब्रिटिस, क्यानेडियन, अमेरिकन, न्युजिल्यान्ड, जर्मन, अष्ट्रेलियन र भारतीय नागरिकता  लिएका रहेका छन् ।

जस अनुसार डा सुमिन्द्रा पुन, डा शैलेशकुमार जयसवाल, डा भूपेश खड्का, डा आरती रानाभाट, डा रमेशराज पहारी, डा सञ्जोक घले, डा ऋषिराज बराल, डा प्रभु पाण्डे, डा तृप्ती महर्जन, डा सृजना श्रेष्ठ, डा सुनिता विष्ट, डा दीपा मल्ल, डा सौरब जिसी, डा.जेनिसा श्रेष्ठ, डा प्रभास रेग्मी, डा दिपीका ज्ञवाली, डा हेमु चौरसिया, डा समीक्षा शर्मा र डा मनोरमा पाण्डे रहेका छन् ।

Read More

वुमेन्स च्यालेन्ज ट्रफीमा उपविजेता बन्यो नेपाल

काठमाडौं । नेपाल आईसीसी वुमेन्स च्यालेन्ज ट्रफीको पहिलो संस्करणमा उपविजेता बनेको छ  ।

शुक्रबार अन्तिम खेलमा इटालीलाई पराजित गर्दै नेपाल उपविजेता बनेर प्रतियोगिता सकेको छ । प्रतियोगिताको उपाधि भने अमेरिकाले जितेको छ ।

नेपालले खेलेका ८ खेलमा ५ जित र ३ हार बेहोर्दै १० अंक बटुलेको थियो । नेपालले अमेरिकासँगका दुवै खेल र एक खेल भानुआटुसँग हारेको थियो ।

त्यस्तै अमेरिकाले भने ८ खेलमा ६ जित हासिल गरेको थियो भने एक हार र एक खेल रद्ध भएको थियो ।

त्यसैगरी आयोजक रुवाण्डा ९ अंकसहित तेस्रो भयो भने इटाली चौथो र भानुआटु पाँचौं भएको थियो ।

Read More

बल्खु, बंशीघाट र शंखमूल क्षेत्रका ७४४ घर-टहरा भत्काइयो, ३२३ परिवार सम्पर्कमा

काठमाडौँ । सरकारले शनिबार काठमाडौँका बल्खु, बंशीघाट र शंखमूल क्षेत्रमा रहेका कुल ७४४ घर-टहरा हटाएको छ ।

हटाइएका संरचनामध्ये बल्खुमा ४०१ वटा घर, टहरा र छाप्रो हटाइएको छ भने बंशीघाटमा १९३ वटा संरचना भत्काइएको सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ । त्यस्तै शंखमूल क्षेत्रमा १५० वटा पक्की घर हटाइएको छ ।

यस क्रममा शनिबार ३२३ परिवार सम्पर्कमा आएको र उनीहरूका कुल १ हजार ४१४ सदस्य प्रभावित भएका छन् । प्रभावितमध्ये ८० जनालाई तत्कालका लागि खरिपाटीमा स्थानान्तरण गरी व्यवस्थापन गरिएको सचिवालयले जानकारी दिएको छ ।

Read More