काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बहिष्कार गरेको छ ।
काँग्रेसले गृह मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका प्रधानमन्त्री बालेनसँग सुकुमवासी बस्ती खाली गराइएको, सुरक्षा प्रशासन लगायतका विषयमा जवाफ दिन समितिको बैठकमा नआएको भन्दै कांग्रेसले बैठक बहिष्कार गरेको हो ।
सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक कांग्रेसबाट प्रतिनिधित्व गर्ने संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, सचेतक निश्कल राई, तथा सांसदहरू अर्जुननरसिंह केसी र रेखाकुमारी यादवले बहिष्कार गरेका थिए ।
समितिका सभापति हरि ढकाललाई प्रधानमन्त्री बालेन शाहलाई समितिमा उपस्थित गराउन काँग्रेसले आग्रह गरेको बताएको छ ।
काठमाडौँ । इजराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले चीनले इरानलाई क्षेप्यास्त्र निर्माणमा सहयोग गरेको दाबी गरेका छन् । उनले चीनले इरानलाई केही सहयोगका साथै क्षेप्यास्त्र उत्पादनसँग सम्बन्धित सामग्री उपलब्ध गराएको बताएका हुन् ।
अमेरिकी समाचार संस्था सिबिएसको कार्यक्रम ‘६० मिनेट्स’ मा दिएको अन्तर्वार्ताका क्रममा नेतन्याहूले यस्तो दाबी गरेका थिए । यद्यपि उनले यसबारे थप विवरण दिन अस्वीकार गरेका छन् ।
रिपोर्टअनुसार अन्तर्वार्ताका क्रममा इरानको आणविक तथा क्षेप्यास्त्र कार्यक्रमबारे प्रश्न सोधिएको थियो । त्यसको जवाफमा नेतन्याहूले इरानको सैन्य क्षमता कमजोर बनाउनु अझै पनि इजराइलको मुख्य प्राथमिकतामध्ये एक रहेको बताएका थिए ।
यसअघि चीनले इरानलाई सैन्य प्रविधि वा क्षेप्यास्त्रसँग सम्बन्धित उपकरण उपलब्ध गराएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ । चीनले सैन्य तथा दोहोरो प्रयोगमा आउने प्रविधिको निर्यातमा कडा नियन्त्रण रहेको बताउँदै आएको छ ।
अमेरिका र इजराइलले लामो समयदेखि चीन र इरानबीच सैन्य तथा प्राविधिक सहकार्य रहेको आरोप लगाउँदै आएका छन् । पछिल्ला केही वर्षमा सार्वजनिक भएका विभिन्न रिपोर्टमा चिनियाँ कम्पनीहरूले इरानको क्षेप्यास्त्र कार्यक्रममा प्रयोग हुने सामग्री र प्रविधि आपूर्ति गर्दै आएको दाबी गरिएको थियो ।
यसैबीच इजराइलका प्रधानमन्त्री नेतन्याहू र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच आइतबार राति टेलिफोन संवाद भएको छ ।
अमेरिकी समाचार संस्था सिएनएनले एक इजराइली अधिकारी र वार्तासँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै यसको जानकारी दिएको हो । यद्यपि दुवै नेताबीच कुन विषयमा विस्तृत छलफल भयो भन्नेबारे आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन ।
काठमाडौँ । २२ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दघाट नगरपालिका-१५ शिवालय टोल बस्ने २० वर्षीय केशब सुनारी मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
केशबले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको छ । निर्माण टिमले आज चलचित्रको स्क्रिप्ट पूजा गर्दै ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरेको हो ।
निर्देशकसहित प्रमुख कलाकारको उपस्थितिमा ललितपुरको बंगलामुखी मन्दिरमा ‘चिरञ्जीवी भव’को शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रको पहिलो सट कलाकार हरिवंश आचार्यले दिएका छन् । उनको पहिलो सटले सिनेमाको नाम कसरी राखिएको भन्ने प्रस्ट पार्छ ।
शुभमुहूर्तमा हरिवंशसँगै आशीर्वाद क्षेत्री, प्रशंसा रायमाझीलगायत कलाकार उपस्थित थिए । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा बन्ने चलचित्र जेठ १५ बाट छायांकनमा जानेछ । चलचित्रको सुटिङ सेड्युल ४५ दिनको रहेको छ । धनकुटा, सुनसरी र काठमाडौंका चलचित्रको छायांकन हुनेछ । यो चलचित्र माघ १ गतेबाट प्रदर्शनमा आउनेछ ।
गत वर्षको ब्लकबस्टर मुभी ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’ले ‘चिरञ्जीवी भव’ निर्देशन गर्दैछन् । ‘परान गत वर्षको सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्र हो ।
उनै ब्लकबस्टर निर्देशकले नयाँ चलचित्र ‘चिरञ्जीवी भव’ निर्देशन गर्न लागेका गरेका हुन् । यो चलचित्रमा कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि दीपकप्रसाद आचार्यसँगै छन् । कुमारको कथामा दीपकले चलचित्र निर्माण गर्न लागेका हुन् ।
यो चलचित्रमा हरिवंशसँगै प्रियंका कार्की, सुवर्ण थापा, आशीर्वाद क्षेत्री, कमलमणि नेपाल, सरोज अर्याल, मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी, हरिस निरौला (कक्रोज), सुमन कार्की, सुस्मिता कुँवरलगायत कलाकार मुख्य भूमिकामा छन् ।
कुमार कट्टेलले तयार पारेका कथा लेखनमा भने सविन अधिकारी र वसन्त न्यौपाने रहेका छन् । सोसल ड्रामा जनरामा निर्माण हुने ‘चिरञ्जीवी भव’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र सम्बन्धको कथालाई मुख्य विषयवस्तु बनाउने निर्माणपक्षले बताएको छ । उमेशकुमार बराल निर्माता रहेको यस चलचित्रको कार्यकारी निर्माताका रूपमा गजित विष्ट र शैलेश खत्री छन् ।
काठमाडौँ । थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाकसिन शिनावात्रालाई बैंककस्थित जेलबाट रिहा गरिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा एक वर्षको सजाय भोगिरहेका ७६ वर्षीय थाकसिनले आठ महिना जेल जीवन बिताएपछि पेरोलमा रिहा भएका हुन् ।
बैंककको क्लोंग प्रेम केन्द्रीय कारागार बाहिर उनको स्वागतका लागि करिब ३ सय समर्थक र राजनीतिक सहयोगी भेला भएका थिए । सेतो पोलो टिसर्ट र निलो पाइन्टमा जेलबाट बाहिरिएका थाकसिनलाई परिवारका सदस्यले अँगालो हालेर स्वागत गरेका थिए । यद्यपि उनले सञ्चारकर्मीसँग कुनै प्रतिक्रिया दिएनन् ।
थाकसिन शिनावात्रा दूरसञ्चार व्यवसायसँग जोडिएका अर्बपति व्यवसायी हुन् । उनले सन् १९९८ मा आफ्नो राजनीतिक दल गठन गरेका थिए भने सन् २००१ मा थाइल्यान्डको प्रधानमन्त्री बनेका थिए । सन् २००६ मा सेना नेतृत्वको सत्ता कब्जापछि उनको सरकार हटाइएको थियो । त्यसबेला उनी विदेश भ्रमणमा रहेका थिए । त्यसपछि थाइल्यान्डको राजनीति झण्डै दुई दशकसम्म तीव्र ध्रुवीकरण र राजनीतिक संघर्षमा फस्यो ।
उनिमाथि सत्ताको दुरुपयोग, आफ्ना व्यावसायिक स्वार्थलाई फाइदा पुर्याएको तथा सरकारी चिठ्ठा परियोजनामा अनियमितता गरेको आरोप लागेको थियो । उनी अनुपस्थितमै दोषी ठहर भएका थिए । तर सन् २०२३ मा स्वदेश फर्किएपछि अदालतमा उपस्थित भएका थिए । सुरुमा उनलाई आठ वर्ष कैद सजाय सुनाइएको भए पनि पछि थाइल्यान्डका राजा महा वजिरालोंगकोर्नले सजाय घटाएर एक वर्षमा सीमित गरेका थिए ।
स्वास्थ्य अवस्थालाई आधार बनाउँदै थाकसिनलाई बैंकक प्रहरी अस्पतालको विशेष कक्षमा बसेर सजाय भोग्न अनुमति दिइएको थियो । यस निर्णयलाई लिएर विपक्षीहरूले उनलाई विशेष सुविधा दिइएको आरोप लगाएका थिए । त्यसपछि सन् २०२५ सेप्टेम्बरमा सर्वोच्च अदालतले उनलाई जेलमै सजाय पूरा गर्न आदेश दिएको थियो ।
हालै न्याय मन्त्रालयअन्तर्गतको एक समितिले राम्रो आचरण, बढ्दो उमेर र पुनः अपराध गर्ने सम्भावना कम रहेको आधारमा उनलाई पेरोल दिने निर्णय गरेको हो । रिहाइपछि आगामी चार महिनासम्म उनी निगरानीमा रहनेछन् । उनले बैंककस्थित आफ्नै घरमा बस्नुपर्ने, विद्युतीय निगरानी उपकरण लगाउनुपर्ने र नियमित रूपमा अधिकारीसमक्ष हाजिर हुनुपर्नेछ ।
थाकसिनकी छोरी पेतोङटार्न शिनावात्रा सन् २०२४ मा थाइल्यान्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन् । तर सन् २०२५ मा सार्वजनिक भएको एक विवादास्पद टेलिफोन संवादपछि संवैधानिक अदालतले उनलाई पदबाट हटाएको थियो । यस वर्ष सम्पन्न आमनिर्वाचनमा थाकसिन समर्थित फेउ थाई पार्टी तेस्रो स्थानमा सीमित भएको थियो ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले वाटर एटीएमको दुरुपयोग नगर्न आग्रह गरेको छ
महानगरले काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डसँगको सहकार्यमा पछिल्लो समय ८ वटा निःशुल्क वाटर एटीएम वुथ सञ्चालनमा ल्याएको र पछिल्लो समयमा यसको दुरुपयोग भएको देखिएपछि त्यस्तो नगर्न आग्रह गरेको हो ।
महानगरले बुधमा गएर कपडा धुने, ठुलो भाडामा पानी थापेर लैजाने जस्ता कार्य नगर्न आग्रह गर्दै पिउने प्रयोजनका लागि सो पानी प्रयोग गर्न आग्रह गरेको छ ।
निर्माणपछि प्रयोग परीक्षण गरेपछि वैशाख ५ गते यी वुथहरुको औपचारिक शुभारम्भ गरिएको थियो । यी ८ वटा वुथको निर्माण लागत २ करोड ६० लाख रुपियाँ हो । यी वुथबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ स्तरको पिउने पानी निःशुल्क उपलब्ध भइरहेको छ ।
नेपाली मौलिक शैलीमा निर्माण गरिएका यी वुथहरुमा ३ हजार लिटर पानी भण्डारण क्षमता छ । काठमाडौँको खुला मञ्च, महावौद्ध, दरबार हाइस्कूलको कम्पाउण्ड (जमलबाट कमलाछी जाने सडक), राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, वडा नं. १७ लिङ्क रोड ढल्को चोक, वडा नं. ५ नरःदे (हाँडीगाउँ), वडा नं. २६ परिसर र वडा नं. ३१ परिसरमा यो प्रणाली जडान भएको छ । वुथमा आधुनिक फिल्टर प्रणाली जडान गरिएको छ । पानीको स्वच्छता नियमित रुपमा परीक्षण गर्ने गरिएको छ । यसमा २४ सै घण्टा पानी उपलब्ध हुन्छ । यसको उपयोग र संरक्षण निगरानीका लागि सीसीटिभी क्यामरा जडान गरिएको छ । यसको डिजाइन गर्दा बालमैत्री संरचनामा ध्यान दिइएको छ ।
यो वुथ काठमाडौँको मौलिक जरु हिटिको परिवर्तित स्वरुप मान्न सकिन्छ । काठमाडौँबासीका घरमा पानीको धारा नजोडिएका समयमा हिटिमा पानी लिन जान्थे । यसरी पानी ल्याउन गाग्रीसँगै एउटा सानो लोटा वा अंखोरा पनि हुन्थ्यो । हिटिबाट पानी भरेर फर्किँदा अंखोरामा भएको पानी बाटोमा बनाइएको पानी संकलन गर्ने ठाउँमा राखिन्थ्यो । टोलभरिका सबैले अलिअलि गरेर जम्मा गरेको त्यो पानी बटुवाको तिर्खा मेटाउनका लागि प्रयोग हुन्थ्यो ।
आफूसँगै अरुलाई बचाउने काठमाडौँवासीको मौलिक परम्परा हो । पहिलेजस्तो अहिले हिटिमा गएर पानी ल्याउनु पर्दैन । यसकारण जरुहिटि पनि सुक्दै गए । यसरी सुक्दै गएका जरुहिटिले वटुवालाई दिने सेवा प्रदान गर्न निःशुल्क वाटर एटीएम वुथ बनाइएको महानगरले जनाएको छ ।
काठमाडौँ । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले संसदको दुवै सदनमा गर्ने सम्बोधन स्वीकृत गरेको छ ।
मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् आज अपराहन्न ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त वैठकलाई गर्ने सम्वोधन स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन् ।
काठमाडौँ । सरकारले आजदेखि शुरु गरेको ‘सरसफाइ सप्ताह २०८३’ को शुभारम्भ गरेको छ ।
सोमबार वीर अस्पतालबाट स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेता सरसफाई गर्दै यस अभियानको शुभारम्भ गरेकी हुन्छ ।
सरकारले सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउन आजदेखि जेठ १ गतेसम्म देशभर ‘सरसफाइ सप्ताह २०८३’ सञ्चालन गर्ने बताएको छ ।
सरकारले सरकारी कार्यालयका शौचालयहरूलाई दुर्गन्धरहित बनाइने र नियमित पानीको व्यवस्था सुनिश्चित गरिने तथा हात धुने स्थानमा साबुन अनिवार्य गरिएको छ भने दैनिक सफाइको अभिलेख राख्नुपर्ने बताएको छ । शौचालयहरू महिलामैत्री, स्यानिटरी डिस्पोजल सुविधायुक्त र सम्भव भएसम्म अपाङ्गतामैत्री बनाउन निर्देशन दिएको छ ।
त्यति मात्रै होइन, कार्यालयहरूले कम्तीमा दुई प्रकारका डस्टबिन राखी कुहिने र नकुहिने फोहोर छुट्याउनुपर्नेछ । पुराना काम नलाग्ने सामानहरूको उचित व्यवस्थापन गरिनुका साथै खुला रूपमा फोहोर जलाउन पूर्ण प्रतिबन्ध लगाइएको छ ।
साथै सरकारले देशभरका सबै कार्यालय परिसरको १०० मिटर वरिपरिको क्षेत्र, नाली र ढलहरू सफा हुनुपर्ने, पार्किङ क्षेत्रको सुधार र अव्यवस्थित तार वा पोस्टरहरू हटाउनुपर्ने सूचक राखिएको जनाएको छ ।
कार्यालयमा हेल्प डेस्कको व्यवस्था गरी सेवाग्राहीले सम्मानित र व्यवस्थित महसुस गर्ने वातावरण बनाइनेछ। सूचना प्रणालीलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने बताइएको छ ।
यो अभियानलाई दिगो बनाउन प्रत्येक निकायले एक ‘सरसफाइ सम्पर्क व्यक्ति’ तोक्नुपर्ने र प्रत्येक हप्ताको सरसफाइ कार्यतालिका निर्माण गरी मासिक रूपमा स्व-मूल्यांकन गर्नुपर्ने व्यवस्था मार्गदर्शनमार्फत गरिएको गरेको छ ।
यस अभियानको कार्यान्वयन र अनुगमनको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायका प्रमुखलाई सुम्पिएको छ भने यसको नियमित अभिलेख राख्नुपर्ने र यो अभियानले सबै संघीय, प्रादेशिक र स्थानीय कार्यालयका साथै सार्वजनिक शैक्षिक संस्थाहरूलाई समेत समेट्ने बताइएको छ ।
काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार सुनको मुल्य तोलाको ४०० ले घटेर तोलाको २ लाख ९८ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ९८ हजार ९ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मुल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर ५३४० मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ५३०० मा कारोबार भएको थियो ।
काठमाडौँ । इरानले होर्मुज जलडमरूमध्य क्षेत्रमा फ्रान्स र बेलायतका युद्धपोत तैनाथ गरिए तत्काल कडा जवाफ दिने चेतावनी दिएको छ । इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुजको सुरक्षामा कुनै पनि विदेशी हस्तक्षेप स्वीकार नगर्ने बताएका हुन् ।
उनले युद्ध होस् वा शान्ति, होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्ने अधिकार केवल इरानसँग रहेको दाबी गरे । कुनै पनि देशले यस क्षेत्रमा हस्तक्षेप गर्न खोजे त्यसको तत्काल र निर्णायक प्रतिकार गरिने उनले चेतावनी दिए ।
इरानका अनुसार फ्रान्स र बेलायतले आफ्ना युद्धपोत क्षेत्रतर्फ पठाउने तयारी गरिरहेका छन् । विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फ्रान्सको विमानवाहक युद्धपोत ‘चार्ल्स डी गॉल’ उक्त क्षेत्रतर्फ अघि बढिरहेको छ भने बेलायतले पनि सैन्य उपस्थिति बढाउने संकेत दिएको छ ।
गरीबाबादीले जहाज सुरक्षाको नाममा विदेशी युद्धपोत तैनाथ गर्नु वास्तवमा क्षेत्रलाई थप सैन्यीकृत बनाउने प्रयास भएको आरोप लगाए । उनले अमेरिकाको कदममा साथ दिने देशहरूले पनि त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिए ।
होर्मुज जलडमरूमध्य विश्वकै महत्वपूर्ण समुद्री व्यापारिक मार्गमध्ये एक मानिन्छ । विश्वको ठूलो परिमाणमा तेल र ग्यास यही मार्ग हुँदै ओसारपसार हुने गर्दछ ।