२०८३ जेष्ठ १

इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई रिहा गर्न आदेश दिएको छ ।

शुक्रबार न्यायाधीशद्वय शारङ्गा सुवेदी र शान्तिसिंह थापाको इजलासले पाण्डेलाई रिहा गर्न आदेश दिएको हो । 

उनकी श्रीमती निरु दाहालले बुधबार दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिटमा सर्वोच्चले सो आदेश दिएको छ ।

यसअघि बिहीबार न्यायाधीश अजीज मुसलमानको इजलासले रिटमाथि सुनुवाइ गर्दै कारण देखाउ आदेश जारी गरेको थियो । सर्वोच्चले अन्तरिम आदेश दिने कि नदिनेबारे निर्णय गर्न दुवैपक्षलाई आज छलफलका लागि बोलाएको थियो ।

नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले स्मार्ट टेलिकमका उपकरण लिलामी गरेको विषयमा ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै पाण्डेलाई मंगलबार राति पक्राउ गरेको थियो। 

Read More

जापानको मियागी क्षेत्रमा शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

काठमाडौँ । जापानको मियागी क्षेत्रमा शुक्रबार शक्तिशाली भूकम्प गएको छ । रिक्टर स्केलमा ६.७ मापन गरिएको भूकम्पपछि उत्तरी जापानका पाँच प्रान्तमा आपतकालीन सतर्कता जारी गरिएको छ ।

जापानी अधिकारीहरूले हालसम्म सुनामीको तत्काल खतरा नरहेको बताएका छन् । भूकम्प जापानी समयअनुसार राति ८ बजेर २२ मिनेटमा गएको थियो । यसको केन्द्र मियागी प्रान्तको तटीय क्षेत्र नजिक जमिनबाट करिब ४३ किलोमिटर गहिराइमा रहेको जनाइएको छ ।

अमेरिकी भूगर्भ सर्वेक्षणले सुरुमा भूकम्पको तीव्रता ६.६ जनाएको थियो । पछि त्यसलाई संशोधन गर्दै ६.७ कायम गरिएको हो । जापानको १ देखि ७ सम्मको भूकम्प तीव्रता मापन प्रणालीमा यसलाई पाँच श्रेणीमा राखिएको छ ।

भूकम्पपछि सुरक्षाका कारण टोकियो र सिन–ओमोरी स्टेशनबीचको द्रुतगतिको रेल सेवा अस्थायी रूपमा रोकिएको छ । मियागीका तोमे, ओसाकी र इशिनामाकी सहरमा भूकम्पको धक्का निकै शक्तिशाली महसुस गरिएको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

हालसम्म ठूलो क्षति वा मानवीय हताहतीको विवरण सार्वजनिक भएको छैन । यद्यपि प्रशासनले अवस्थामाथि निरन्तर निगरानी राखेको जनाएको छ ।

यसअघि अप्रिल २० मा पनि उत्तरी जापानमा ७.७ मापनको शक्तिशाली भूकम्प गएको थियो । त्यसपछि सुनामीको चेतावनीसमेत जारी गरिएको थियो । लगातार भूकम्पीय गतिविधि बढेपछि अन्तर्राष्ट्रिय यात्रा एजेन्सीहरू तथा बेलायतको विदेश मन्त्रालयले जापान भ्रमण गर्ने यात्रुलाई सतर्क रहन आग्रह गरेका छन् ।

जापानी प्रशासनले यात्रुहरूलाई स्थानीय निकायका निर्देशन पालना गर्न र भूकम्प सम्भावित क्षेत्रमा अतिरिक्त सावधानी अपनाउन अनुरोध गरेको छ ।

Read More

कति छ स्थानीय तहको बेरुजु ?

काठमाडौँ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदनले स्थानीय तहमा १९ अर्ब ५ कारोड रुपैयाँ बेरुजु देखाएको छ । आर्थिक बर्ष २०८१/८२ मा ४ महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको ११ खर्ब ९ अर्ब ५२ करोड करोड ३८ लाख रुपैयाँ बराबरको लेखापरीक्षण सम्पन्न भएको छ ।

लेखापरीक्षणका क्रममा ७२१ स्थानीय तहमा २१ अर्ब ४७ करोड ५० लाख रुपैयाँ बेरुजु देखिएको थियो । प्रारम्भिक प्रतिवेदन उपलब्ध गराइएपछि २ अर्ब ४२ करोड ७३ लाख रुपैयाँ फस्यौट भएको छ भने अझै १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ फस्यौट हुन बाँकी रहेको उल्लेख गरिएको छ ।

बाँकी बेरुजुमध्ये २ अर्ब १ करोड ३३ लाख रुपैयाँ असुल गर्नुपर्ने, १५ अर्ब १८ करोड ९४ लाख रुपैयाँ नियमित गर्नुपर्ने तथा १ अर्ब ८४ करोड ५० लाख रुपैयाँ म्याद नाघेको पेश्की रहेको जनाइएको छ ।

यस वर्ष लेखापरीक्षणबाट औँल्याइएपछि ४९१ स्थानीय तहले ३२ करोड १९ लाख रुपैयाँ असुल गरेका छन् । त्यस्तै प्रारम्भिक प्रतिवेदन जारी भएपछि ५०२ स्थानीय तहले थप ४७ करोड ९६ लाख रुपैयाँ असुल गरेका छन् । यसरी कुल ८० करोड १४ लाख रुपैयाँ असुली भएको छ । 

यस्तै विगत वर्षको बेरुजु सम्परीक्षणका क्रममा ४८२ स्थानीय तहबाट १ अर्ब १ करोड ८७ लाख रुपैयाँ असुल गरिएको छ । यस वर्ष कुल १ अर्ब ८२ करोड १ लाख रुपैयाँ असुल भई सम्बन्धित राजस्व खातामा दाखिला भएको प्रतिवेदनमा उल्लेख छ ।

स्थानीय तहतर्फ गत वर्षसम्मको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ रहेकोमा यस वर्ष सम्परीक्षणबाट ८ अर्ब १४ करोड ६४ लाख रुपैयाँ फस्यौट भएको छ । साथै समायोजन तथा सम्परीक्षणबाट २८ करोड २२ लाख रुपैयाँ थप भएको र चालु वर्षको १९ अर्ब ४ करोड ७७ लाख रुपैयाँ बेरुजुसमेत जोडिँदा अद्यावधिक बेरुजु २ खर्ब २० अर्ब ४७ करोड २६ लाख रुपैयाँ पुगेको छ ।

Read More

विश्वासको मत लिनबाट पछि हटे मधेशका मुख्यमन्त्री, अब जेठ ८ गते लिने

जनकपुरधाम ।  मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ ८ गते विश्वासको मत लिने भएका छन् ।  शुक्रबारका लागि तय गरिएको विश्वासको मत जेठ ८ गते लिने गरी नयाँ मिति तोकिएको हो । 

नेपाली कांग्रेसका प्रमुख सचेतक कुमरकान्त झाले मुख्यमन्त्रीले जेठ ८ गते विश्वासको मत लिने जानकारी गराएका छन् । 

सत्ता गठबन्धन र पार्टीभित्रको असन्तुष्टिका कारण मुख्यमन्त्री यादवले फ्लोर क्रसको जोखिम देखेर विश्वासको मत लिनबाट पछि हटेको बताइएको छ ।

मुख्यमन्त्री यादव नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलको समर्थनमा सरकार गठन गरेका थिए । तर, जनमत पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता बनेको हो । जनमत पार्टीका संसदीय दलका नेता चन्दनकुमार सिंहले समर्थन फिर्ता लिएसँगै प्रदेश सरकारको राजनीतिक समीकरण फेरिएको छ ।

यसैबीच, नेपाली कांग्रेस, जसपा नेपाल, नेकपा तथा लोसपाबीच गठबन्धनलाई निरन्तरता दिने सहमति भएपनि आन्तरिक असन्तुष्टि बढेको बताइएको छ । 

मधेश प्रदेशसभामा कांग्रेसका २२, जसपाका १७, नेकपाका १५ र लोसपाका ८ सांसद रहेका छन् । यी चार दलको गरेर कुल ६२ सिट रहेको जुन बहुमतका लागि आवश्यक ५२ भन्दा बढी हो ।  

Read More

काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित

काठमाडौँ ।  नेपाली काँग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनित भएका छन् । 

कांग्रेस सभापति गगन थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (४) बमोजिम केन्द्रीय कार्यसमितिका सदस्य श्रेष्ठलाई कांग्रेस केन्द्रीय कार्यसमितिको कोषाध्यक्ष पदमा मनोनयन गरेको कावा मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

Read More

बेल्जियमको फुटबल विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

काठमाडौँ । बेल्जियमले सन् २०२६ विश्वकपका लागि अन्तिम २६ सदस्यीय टोली घोषणा गरेको छ । मुख्य प्रशिक्षक रुडी गार्सियाले प्रतियोगिताका लागि आफ्नो अन्तिम टोली सार्वजनिक गरेका हुन् ।

सन् २०१८ को विश्वकपमा तेस्रो स्थान हासिल गर्दै इतिहासकै उत्कृष्ट नतिजा निकालेको बेल्जियम सन् २०२२ मा कतारमा भएको विश्वकपमा भने समूह चरणबाटै बाहिरिएको थियो । त्यसक्रममा बेल्जियम मोरक्कोसँग पराजित भएको थियो भने क्रोएसियासँग गोलरहित बराबरी खेलेको थियो ।

यसपटक बेल्जियम अपेक्षाकृत सहज समूहमा परेको छ । बेल्जियमको समूहमा इजिप्ट, इरान र न्युजिल्यान्ड रहेका छन् । म्यानचेस्टर सिटीका विङ्गर जेरेमी डोकु यसपटक टोलीका सबैभन्दा प्रभावशाली खेलाडीका रूपमा हेरिएका छन् । पछिल्लो समय उनले निरन्तर उत्कृष्ट प्रदर्शनसँगै गोल गर्न पनि थालेपछि उनको लय निकै राम्रो देखिएको छ ।

गोलरक्षकतर्फ थिबाउट कोर्टुवासँगै बलिया वैकल्पिक खेलाडी रहेकाले टोली सन्तुलित देखिएको छ । रियल मड्रिडबाट खेल्ने कोर्टुवा पछिल्लो सिजन चोट समस्याबाट गुज्रिए पनि उनी टोलीका प्रमुख रोजाइ बनेका छन् । मिडफिल्डमा प्रिमियर लिगमा खेलिरहेका अनुभवी खेलाडीहरूको उपस्थितिले बेल्जियमलाई थप मजबुत बनाएको छ ।

तर रक्षापंक्तिलाई भने टोलीको कमजोर पक्षका रूपमा हेरिएको छ । अनुभवी रक्षकहरूको कमी देखिएको अवस्थामा नयाँ पुस्ताका जेनो डेबास्ट र म्याक्सिम डे क्युपरले अपेक्षाअनुसार पर्याप्त खेल समय पाउन नसकेको चर्चा भइरहेको छ ।

बेल्जियमको विश्वकप खेल्ने टिम: 

गोलरक्षक

थिबाउट कोर्टुवा (रियल मड्रिड)
सेन्ने लामेन्स (म्यानचेस्टर युनाइटेड)
माइक पेन्डर्स (स्ट्रासबर्ग)

रक्षक

टिमोथी कास्टान्ये (फुलहम)
जेनो डेबास्ट (स्पोर्टिङ सिपी)
म्याक्सिम डे क्युपर (ब्राइटन)
कोनी डे विन्टर (एसी मिलान)
ब्रान्डन मेचेले (क्लब ब्रुग)
थोमस म्युनिएर (लिल)
नाथन न्गोय (लिल)
जोक्विन सेइस (क्लब ब्रुग)
आर्थर थिएट (आइन्ट्राख्ट फ्राङ्कफर्ट)

मिडफिल्डर

केभिन डी ब्रुने (नापोली)
अमाडु ओनाना (एस्टन भिल्ला)
निकोलस रास्किन (रेन्जर्स)
युरी टिलेमान्स (एस्टन भिल्ला)
हान्स भानाकेन (क्लब ब्रुग)
आक्सेल भिट्सेल (जिरोना)

फरवार्ड

चार्ल्स डे केटेलाएर (अटलान्टा)
जेरेमी डोकु (म्यानचेस्टर सिटी)
माटियास फर्नान्डेज पार्दो (लिल)
रोमेलु लुकाकु (नापोली)
डोडी लुकेबाकियो (बेन्फिका)
डिएगो मोरेइरा (स्ट्रासबर्ग)
अलेक्सिस सालेमाकर्स (एसी मिलान)
लियान्ड्रो ट्रोसार्ड (आर्सनल)

Read More

कस्तो छ चलचित्र रोल नम्बर १ को ट्रेलर ?

काठमाडौं । चलचित्र ‘रोल नं १’ को ट्रेलर सार्वजनिक भएको छ । सिनेमाको प्रचारप्रसारमा व्यस्त रहेको निर्माण टिमले शुक्रबार चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा बालमनोविज्ञान प्रस्ट देखिन्छ । छोराले राम्रोसँग पढेर गाउँमा इज्जत राखिदियोस् भन्ने बुवाको चाहना तर अर्कैतिर छोराको रुचि रहेको कथा ट्रेलरमा समेटिएको छ । परिवाको इच्छा पूरा गरिदिन प्रयास गरे पनि रुचि नहुँदा असफल भएको कथा प्रस्तुत गर्दै ट्रेलरले बालमनोविज्ञानलाई देखाएको छ ।

गरिब भएकै कारण कसरी विद्यार्थी छात्रवृत्ति पाउनबाट बञ्चित हुन्छन् । र, पहिलो हुनेको मात्रै हुने इज्जतलाई ट्रेलरमा देखाइएको छ । पुरानै सोचमा जकेडिएको समाज र त्यसले गरिबलाई दिने दुःख तथा समाज पारिवारिक र सामाजिक द्वन्द्व ट्रेलरमा देख्न सकिन्छ ।

घोकन्ते विद्याले समाजमा पारेको प्रभाव र त्यसको पछि लाग्ने अभिभावकका कारण सानासाना विद्यार्थीको बालमनोविज्ञानमा पारिरहेको प्रभावलाई मिहिन ढंगले बाबु र छोरामार्फत सिनेमाले देखाएको छ । ट्रेलरमा सिनेमाका मुख्य कलाकार देख्न सकिन्छ ।

विनोद पौडेलको निर्माण रहेको चलचित्र ‘रोल नं १’ जेठ १५ गते प्रदर्शनमा आउँदै छ । यो चलचित्रले विद्यार्थीको मनोविज्ञानको कथा भन्ने निर्माणपक्षले बताएको छ । अहिलेको शैक्षिक प्रणालीले बालमनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा यो सिनेमामा समेटेको बताइएको छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । चलचित्रको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् ।

विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् । ‘रोल नं १’लाई महेश दवाडीले लेखेका हुन् । यो सिनेमाको डीओपी शिवराम श्रेष्ठ रहेका छन् ।

चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, रोहित शाक्यको विजिएम, फिरोड खड्का चिफ एडी, प्रोडक्सन डिजाइनरमा कला संग्रौला र प्रोडक्सन हेड मनोज जोशी रहेका छन् । चलचित्रका सम्पादक मदन घिमिरे हुन् । निर्माता पौडेलका अनुसार यो चलचित्र नेपालका साथै विदेशमा पनि एकसाथ प्रदर्शन हुनेछ । चलचित्रलाई रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।

Read More

आर्थिक वर्ष २०८१/८२ मा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण प्रतिवेदनअनुसार वैदेशिक सहायता अपेक्षित अनुमानभन्दा कम प्राप्त भएको देखिएको छ ।

प्रतिवेदनअनुसार प्राविधिक सहायतालाई अलग राख्दा वास्तविक रूपमा वैदेशिक अनुदान २९ अर्ब ६५ करोड २५ लाख मात्र प्राप्त भएको छ । यस्तै वैदेशिक ऋणतर्फ १ खर्ब २६ अर्ब ९४ करोड ७६ लाख प्राप्त भएको उल्लेख छ । यसअनुसार कुल वैदेशिक सहायता १ खर्ब ५६ अर्ब ६० करोड १ लाख मात्र प्राप्त भएको देखिएको छ ।

प्रतिवेदनमा उल्लेख भएअनुसार बजेट वक्तव्यमा गरिएको अनुमानको तुलनामा यस आर्थिक वर्षमा वैदेशिक अनुदान ५६.६७ प्रतिशत मात्र प्राप्त भएको छ । त्यस्तै वैदेशिक ऋण प्राप्ति ५८.३२ प्रतिशतमा सीमित रहेको छ ।

महालेखा नियन्त्रक कार्यालयबाट प्राप्त एकीकृत वित्तीय विवरणअनुसार आर्थिक बर्ष २०८१/८२ मा कुल २ खर्ब ७० अर्ब बराबर वैदेशिक सहायता प्राप्त हुने अनुमान गरिएको थियो । जसमा वैदेशिक अनुदान ५२ अर्ब ३२ करोड ६५ लाख र वैदेशिक ऋण २ खर्ब १७ अर्ब ६७ करोड ३५ लाख रहने अनुमान थियो ।

महालेखा परीक्षकको कार्यालयले वैदेशिक सहायता अपेक्षित स्तरमा नआउनु विकास आयोजना तथा सरकारी खर्च व्यवस्थापनमा असर पार्ने देखिएको जनाएको छ ।

Read More

महालेखाको निष्कर्ष: वित्तीय अनुशासन र जवाफदेहिता नहुदा बेरुजु बढ्यो

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक बर्ष २०८१/८२ को प्रतिवेदनअनुसार देशभरका सरकारी निकाय, स्थानीय तह, समिति तथा अन्य संस्थामा बेरुजु रकम बढ्दै गएको देखिएको छ ।

प्रतिवेदनमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ अनुसार कायम हुनुपर्ने राजस्व तथा खर्चको अभिलेख व्यवस्थित नहुँदा ठूलो रकम बेरुजु देखिएको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार आर्थिक बर्ष २०८१/८२ मा सङ्घीय सरकार, प्रदेश सरकार, स्थानीय तह, समिति तथा अन्य संस्थासमेतको लेखापरीक्षणबाट कुल ८८ अर्ब ९ करोड ११ लाख बेरुजु कायम भएको छ ।

महालेखा परीक्षकको कार्यालयले बेरुजु घटाउन नीतिगत, कानुनी र प्रणालीगत सुधार आवश्यक रहेको जनाएको छ । कार्यालयका अनुसार बेरुजु फर्छ्योट नगर्ने, जिम्मेवारी नलिने, प्रमाण कागजात पेश नगर्ने, नियमित गर्नुपर्ने खर्च अनियमित रूपमा गर्ने तथा राजस्व व्यवस्थापन कमजोर हुँदा बेरुजु बढेको हो ।

प्रतिवेदनमा बेरुजुको अवस्थालाई विभिन्न शीर्षकमा वर्गीकरण गरिएको छ । असुल गर्नुपर्ने बेरुजु, नियमित गर्नुपर्ने बेरुजु, प्रमाण कागजात पेश नगरेको, पेश्की तथा सोधभर्ना नगरेको लगायतका शीर्षकमा रकम देखाइएको छ ।

लेखापरीक्षण सम्पन्न भएका निकायमध्ये सबैभन्दा बढी बेरुजु सङ्घीय सरकारी कार्यालयतर्फ देखिएको छ । त्यसपछि स्थानीय तह, समिति तथा अन्य संस्था र प्रदेश सरकारका कार्यालय रहेका छन् ।

प्रतिवेदनअनुसार सङ्घीय सरकारी कार्यालय, स्थानीय तह, समिति र अन्य संस्थासमेतको ४७ खर्ब ५८ अर्ब २० करोड १८ लाख बराबरको लेखापरीक्षण सम्पन्न गरिएको थियो । सो क्रममा कुल बेरुजु  ८८ अर्ब ९ करोड ११ लाख कायम भएको हो ।

यस्तै, सङ्घीय मन्त्रालय तथा निकायतर्फ सबैभन्दा बढी बेरुजु भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा देखिएको छ । त्यसपछि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय, खानेपानी मन्त्रालय तथा गृह मन्त्रालय रहेका छन् ।

प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेश सरकारतर्फ लेखापरीक्षण अंक पनि बढेको छ । प्रदेश सरकारी कार्यालयतर्फ १ खर्ब ५३ अर्ब बराबरको लेखापरीक्षण भएकोमा ५ अर्ब २३ करोडभन्दा बढी बेरुजु देखिएको छ । प्रदेश सरकारको बेरुजु औसत १.६३ प्रतिशत रहेको उल्लेख गरिएको छ ।

स्थानीय तहतर्फ ७२१ स्थानीय तहको लेखापरीक्षण गर्दा १९ अर्ब ५ करोडभन्दा बढी बेरुजु कायम भएको छ । स्थानीय तहमा बेरुजुको प्रतिशत प्रदेश र सङ्घीय निकायको तुलनामा उच्च देखिएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले समयमा बेरुजु फर्छ्योट नगर्ने प्रवृत्ति बढेको जनाएको छ। प्रतिवेदनअनुसार अघिल्ला वर्षको बेरुजु अझै ठूलो परिमाणमा बाँकी रहेको छ ।

कार्यालयले सार्वजनिक खरिद, योजना कार्यान्वयन, पेश्की व्यवस्थापन, राजस्व असुली, कार्यक्रम सञ्चालन तथा अनुदान व्यवस्थापनमा कमजोरी देखिएको उल्लेख गरेको छ ।

यस्तै, समयमै काम सम्पन्न नगर्दा, लागत अनुमानभन्दा बढी खर्च गर्दा, बिल भरपाई तथा प्रमाण कागजात नराख्दा र अनियमित भुक्तानी गर्दा बेरुजु बढेको प्रतिवेदनमा उल्लेख गरिएको छ । प्रतिवेदनमा कारबाही टुंगो लगाउनुपर्ने रकम पनि उल्लेख गरिएको छ। विभिन्न सरकारी कार्यालय, स्थानीय तह, समिति तथा संस्थाबाट ८७ करोडभन्दा बढी रकम कारबाही टुंगो लगाउनुपर्ने अवस्थाको रहेको उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले बेरुजु नियन्त्रणका लागि वित्तीय अनुशासन, पारदर्शिता, आन्तरिक नियन्त्रण प्रणाली सुदृढीकरण तथा जवाफदेहितामा सुधार आवश्यक रहेको जनाएको छ ।

Read More

निर्माणाधीन ऊर्जा परियोजनामा निर्धारित समयमै सम्पन्न गर्न मन्त्री श्रेष्ठको निर्देशन

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले निर्माणाधीन ऊर्जा परियोजनामा ढिलाइ हुँदा लागत वृद्धि हुने भएकाले निर्धारित समयमै सम्पन्न हुने गरी तीव्र गतिमा काम गर्न निर्देशन दिएका छन् ।

शुक्रबार विद्युत उत्पादन कम्पनी लिमिटेड र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले आयोजना कार्यान्वयनमा ढिलासुस्ती नगर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

उनले एक दिन काम रोकिँदा समेत परियोजनाको लागत उल्लेख्य रूपमा बढ्ने भएकाले त्यसतर्फ गम्भीर हुन आग्रह गर्दै स्पष्ट कार्यतालिका बनाएर पूर्ण क्षमताका साथ काम अघि बढाउन निर्देशन दिए ।

दुवै कम्पनी मन्त्रालयका लागि अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै मन्त्री श्रेष्ठले परिणाम देखिने गरी काम गर्नुपर्नेमा जोड दिए । कुन आयोजनालाई कहिले र कसरी अगाडि बढाउने भन्ने विषयमा स्पष्ट प्राथमिकता निर्धारण गर्नुपर्ने उनको भनाइ थियो ।

उनले वित्तीय क्षमता र स्रोतको अवस्थालाई आधार मानेर यथार्थपरक कार्ययोजना तयार गर्न निर्देशन दिँदै नीतिगत समस्याको समाधानका लागि मन्त्रालय सदैव सहकार्य गर्न तयार रहेको बताए । कुनै परियोजनामा नीतिगत वा प्रशासनिक अवरोध भए त्यसको समाधानका लागि मन्त्रालयले आवश्यक पहल गर्ने उनले स्पष्ट पारे ।

मन्त्री श्रेष्ठले जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी ऊर्जा पूर्वाधार विकासलाई अघि बढाउनुपर्ने उल्लेख गर्दै पूर्वतयारी पूरा भएका आयोजनालाई तत्काल कार्यान्वयनमा लैजान सम्बन्धित निकायलाई निर्देशन दिए । त्यसक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव चिरन्जीवी चटौतले कम्पनीका प्राथमिकता र प्रतिफलको विषयमा गम्भीर हुन आग्रह दिए ।

Read More