२०८३ जेष्ठ १

बेरुजु करिब २२ अर्बले बढ्यो, जेनजी आन्दोलनले १ खर्ब ४७ अर्बको लेखा परिक्षण हुन सकेन

काठमाडौँ । महालेखा परीक्षकको कार्यालयले २०८१/८२ आर्थिक वर्षमा सङ्घीय, प्रदेश, स्थानीय तह, संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित अन्य संस्था र समितिसमेत गरी ९४ खर्ब ८४ अर्ब ५० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरेको जनाएको छ ।

कार्यालयका अनुसार २०८२ भदौ २३ र २४ गते देशभर भएको आन्दोलन तथा घटनाका कारण १७९ कार्यालय र निकायले लेखा तथा सम्बन्धित स्रेस्ता पेश नगर्दा १ खर्ब ४७ अर्ब ९० करोड बराबरको लेखापरीक्षण हुन नसकेको जानकारी दिएको छ ।

लेखापरीक्षणबाट नीतिगत तथा प्रणालीगत सुधार आवश्यक देखिएको उल्लेख गर्दै यस आर्थिक बर्षमा मात्र ८८ अर्ब ९ करोड बेरुजु औँल्याइएको छ । जसमध्ये सङ्घीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ४९ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड तथा समिति र अन्य संस्थातर्फ १० अर्ब ३२ करोड बेरुजु कायम भएको छ ।

गत वर्षसम्मको बेरुजुमध्ये प्रतिवेदन अवधिमा ६६ अर्ब ११ करोड सम्परीक्षण तथा समायोजन भएको छ । बाँकी बेरुजु र चालु वर्षको बेरुजुसहित अद्यावधिक बेरुजु रकम ७ खर्ब ५५ अर्ब १७ करोड पुगेको कार्यालयले जनाएको छ । यस अवधिमा विगतको बेरुजुको सम्परीक्षण तथा चालु वर्षमा औँल्याइएका बेहोराको फर्छ्योटबाट १४ अर्ब ६३ करोड असुल भएको उल्लेख गरिएको छ । प्रतिवेदन अनुसार कुल बेरुजु २१ अर्ब ९८ करोडले बढेको छ । आर्थिक बर्ष २०८०/८१ सम्म कुल बेरुजु ७ खर्ब ३३ अर्ब १९ करोड रहेको थियो । 

प्रतिवेदनअनुसार लेखापरीक्षणका सुझावका आधारमा विभिन्न नीतिगत, कानुनी तथा प्रणालीगत सुधारसमेत भएका छन् ।

प्रदेश मन्त्रालय तथा निकायतर्फ सातै प्रदेशअन्तर्गत १ हजार १२४ निकायको ३ खर्ब २० अर्ब ३० करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । गत वर्षसम्म २४ एकाइको २ अर्ब २३ करोड लेखापरीक्षण बाँकी रहेकामा यस वर्ष चार एकाइले १ अर्ब २२ करोडको लेखापरीक्षण गराएका छन् । यद्यपि तीन प्रदेश कार्यालयले भने यस वर्ष पनि लेखापरीक्षण नगराएको जनाइएको छ ।

स्थानीय तहतर्फ चार महानगरपालिका, १० उपमहानगरपालिका, २६१ नगरपालिका र ४४६ गाउँपालिकासहित ७२१ स्थानीय तहको रु. ११ खर्ब ९ अर्ब ५२ करोड बराबरको लेखापरीक्षण सम्पन्न भएको छ। यस वर्ष एक स्थानीय तहले भने लेखापरीक्षण नगराएको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, ५७७ समिति तथा अन्य संस्थाको ४ खर्ब ४७ अर्ब ७७ करोडको लेखापरीक्षण गरिएको छ। यसमा प्रदेशतर्फका १३३ संस्था पनि समावेश छन् ।

संगठित संस्था तथा सङ्घीय कानुनद्वारा स्थापित संस्थातर्फ ४४ संस्थाको ५४ आर्थिक वर्षसम्बन्धी ४६ खर्ब ८८ अर्ब ९६ करोड बराबरको लेखापरीक्षण सम्पन्न गरिएको छ । यसमा सङ्घीय कानुनद्वारा स्थापित ६ संस्थाको सात आर्थिक वर्षको ९ खर्ब ५६ अर्ब ५४ करोड पनि समावेश रहेको छ ।

यस अतिरिक्त ४० संस्थाको ४६ आर्थिक वर्षसम्बन्धी १८ खर्ब ३२ अर्ब ६२ करोडको लेखापरीक्षणका लागि परामर्श प्रदान गरिएको कार्यालयले जनाएको छ ।

अन्य कोषतर्फ गत वर्षको जिम्मेवारी ३५ अर्ब १६ करोड २६ लाख र चालु वर्षको आम्दानी ३ खर्ब ७२ अर्ब ८८ करोड ७२ लाखसहित कुल ४ खर्ब ८ अर्ब ४ करोड ९८ लाख आम्दानी भएको उल्लेख छ। त्यसमध्ये ३ खर्ब ६६ अर्ब ९५ करोड ९३ लाख खर्च भई वर्षान्तमा ४१ अर्ब ९ करोड ५ लाख मौज्दात रहेको छ।

महालेखा परीक्षकको कार्यालयले यस वर्ष १५ विषयमा कार्यमूलक, एक विषयमा वातावरणीय तथा एक विषयमा विशेष लेखापरीक्षणसमेत गरेको जनाएको छ।

नेपाल सरकार र दातृ निकायबीचको सम्झौताअनुसार सञ्चालित विश्व बैंक, एसियाली विकास बैंक तथा अन्य दातृ निकायअन्तर्गतका ४९ आयोजनाको आयोजना हिसाब प्रमाणीकरण गरी रायसहितको लेखापरीक्षण प्रतिवेदन उपलब्ध गराइएको पनि उल्लेख गरिएको छ ।

Read More

सभामुख अर्यालसँग जापानका राजदूत तोरुको शिष्टाचार भेटवार्ता

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि जापानका राजदूत माएदा तोरुले शिष्टाचार भेटवार्ता गरेका छन् ।

शुक्रबार भेटका क्रममा नेपाल र जापानबीचको दीर्घकालीन मैत्रीपूर्ण सम्बन्ध, आपसी सहकार्य तथा द्विपक्षीय हितका विविध विषयमा सकारात्मक छलफल भएको बताइएको छ ।

सभामुख अर्यालले आफ्नो कार्यकालमा नेपाल–जापान सम्बन्ध अझ सुदृढ, प्रगाढ र परिणाममुखी बन्ने विश्वास व्यक्त गरे । उनले नेपालको विकास, पूर्वाधार, शिक्षा र प्रविधि क्षेत्रमा जापानले पुर्‍याउँदै आएको सहयोगको प्रशंसा गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने अपेक्षा राखेको उनको सचिवालयले जनाएको छ ।

राजदूत माएदा तोरुले नेपालसँगको सम्बन्धलाई जापानले उच्च महत्व दिएको उल्लेख गर्दै आपसी सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Read More

फुकुवा भयो एन्फाको निलम्बन

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथिको निलम्बन फुकुवा गरेको छ । 

एन्फाका प्रवक्ता सुरेश शाहले परिषदले फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरेको जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘नेपाली फुटबलमा देखिएको गतिरोध अन्त्य गर्दै बिना सर्त एन्फा माथिको प्रतिबन्ध फुकुवा गरिदिएकोमा नेपाल सरकार, माननीय शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलज्यू, प्रमुख सल्लाहकार सिद्दी ब्यन्जन्कारज्यू, सल्लाहकार राजु सिंहज्यू, सदस्य सचिव राम चरित्र मेहताज्यू लगायत यस कार्यमा संलग्न सम्पूर्ण व्यक्तित्वहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछु । नेपाली फुटबलको विकासका लागि यो अत्यन्त सराहनीय र ऐतिहासिक निर्णय हो ।’

परिषद्ले एन्फालाई गत चैत ११ मा तीन महिना निलम्बन गरेको थियो ।

Read More

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या ८ बनाउने निर्णय

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । शुक्रवार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागू हुने गरी हाल कायम १२ बाट घटाएर ८ मन्त्रालय कायम गर्ने निर्णय गरको हो ।

लुम्बिनीमा प्रदेशमा शुरुमा ६ मन्त्रालय रहेको भएपनि त्यसपछि ११ हुदै १७ सम्म पुर्याइएको थियो । 

एमाले नेता चेतनारायण आचार्य मुख्यमन्त्री भएपछि मन्त्रालयको संख्या १० बाट १२ पुर्‍याए पनि अहिले उनैले मन्त्रालयको संख्या ८ बनाउने निर्णय गरेका छन् ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले मन्त्रालय घटाउन प्रमुख सचिव कृष्णप्रसाद काप्रीको अध्यक्षतामा कार्यदल गठन गरेको र कार्यदलको सुझावको आधारमा मन्त्रालयको नाम र कार्य विभाजन टुंगो लगाइने बताइएको छ ।

Read More

कालीगण्डकी करिडोरमा सडक विस्तार सुरु, महभिर–भिरकाटे खण्डमा विस्फोटक प्रयोग

काठमाडौँ । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित महभिर र भिरकाटे क्षेत्रमा सडक विस्तारको काम सुरु भएको छ । जोखिमपूर्ण र साँघुरो मानिने यस खण्डमा अहिले विस्फोटक पदार्थ प्रयोग गरेर पहाड काट्ने काम भइरहेको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजना कार्यालयका अनुसार अन्नपूर्ण गाउँपालिका–६ को भिरकाटे र वडा नं ७ अन्तर्गत पर्ने महभिर क्षेत्रमा सडक फराकिलो बनाउन रु सात करोड सात लाख ७४ हजार लागतमा आयोजना अघि बढाइएको हो । निर्माणको जिम्मा कालिमाता–थापाकाजी–रसुवा जेभीले पाएको छ ।

आयोजना प्रमुख तेजस्वी शर्माले हाल चट्टानी पहाडमा ‘ड्रिलिङ’ गरेर विस्फोटको तयारी भइरहेको जानकारी दिए । उनका अनुसार कालीगण्डकी नदी किनारको साँघुरो भूभाग र माथितर्फ रहेको अग्लो चट्टानी पहाडका कारण सडक विस्तार चुनौतीपूर्ण बनेको छ ।

“हाल एकतर्फी रूपमा सञ्चालन भइरहेको सडकलाई दुई लेनको ११ मिटर चौडाइमा विस्तार गरी ढलान गर्ने लक्ष्य छ,” शर्माले भने ।

विसं २०६४ मा नेपाली सेनाले ट्र्याक खोलेको महभिर–भिरकाटे खण्ड करिब ७०० मिटर लामो छ । अहिले पाँचदेखि छ मिटर मात्र चौडाइ रहेको यस सडकमा दुईतर्फी सवारीसाधन सहज रूपमा सञ्चालन हुन सक्दैनन् । मालवाहक र यात्रुवाहक गाडीलाई आलोपालो गरेर गुडाउनुपर्ने अवस्था छ ।

आयोजना कार्यालयले सुरुङमार्ग निर्माणको विकल्पमा समेत अध्ययन गरेको थियो । करिब रु एक अर्ब लागत अनुमानसहित विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भए पनि बजेट अभावका कारण तत्कालका लागि पहाड काटेर सडक विस्तार गर्ने विकल्प रोजिएको प्रमुख शर्माले बताए ।

उनका अनुसार सम्भव भएका स्थानमा कालीगण्डकी किनारमा पक्की पर्खाल निर्माण गरी सडक चौडा पारिनेछ भने विस्तार गर्न नसकिने स्थानमा चट्टानी भित्तो विस्फोटमार्फत फुटाइनेछ ।

आगामी असोजसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको यस आयोजनाले कालीगण्डकी करिडोरमा यातायातलाई थप सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ ।

यसैबीच, चीनको सीमावर्ती कोरला नाका जोड्ने २०२ किलोमिटर लामो बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डका विभिन्न जोखिमयुक्त स्थानमा पहिरो रोकथामको काम पनि जारी रहेको आयोजना कार्यालयले जनाएको छ । चमेरे, बैसरी, सिरुवारी, गुइँठेभिर, खामभित्ता, लाटाखोला, रुप्से र घोप्टेभिर क्षेत्रमा रु २६ करोड लागतमा पहिरो नियन्त्रणका आयोजना सञ्चालन भइरहेका छन् ।

Read More

कांग्रेस सभापति थापा र सुदूरपश्चिमका मुख्यमन्त्री शाहबीच भेटवार्ता

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापासँग सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भेटवार्ता गरेका छन् । 

शुक्रबार पार्टी मुख्यालय सानेपामा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषय, प्रदेश विकास, संगठन सुदृढीकरण तथा जनचासोका विषयमा सकारात्मक छलफल भएको बताइएको छ । 

बैठकमा प्रदेश सरकारको काम प्रभावकारी बनाउनुपर्ने विषयमा चर्चा भएको छ ।  सभापति थापाले काँग्रेसको नेतृत्वमा रहेका प्रदेश र स्थानीय तहसँग बजेट अघि छलफल गर्ने र काँग्रेसको भिजन अनुसार काम गर्नुपर्ने बताउदै आएका छन् । 

Read More

नेप्सेमा सामान्य बृद्धि, ३ अर्ब ९ करोडको कारोबार

काठमाडौँ । नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज शुक्रबार नेप्से १.७७ अंकले बढेर २७३१.९४ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३८ कम्पनिका ७९ लाख ३४ हजार ४४४ कित्ता शेयर ३ अर्ब ९ करोड ७९ लाख ५३ हजार ४८६ मा कारोबार भएको थियो । आज विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्ड बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज, सबैभन्दा बढी नबिल डिभेन्चरको शेयर ७.७१ प्रतिशतले बढेको छ भने मोदी इनर्जीको शेयर ५.२६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको शेयर १४.७९ प्रतिशतले घटेको छ ।  

त्यस्तै आज सबै भन्दा बढी युनियन हाइड्रोको ३० करोड ६६ लाखको कारोबार भएको छ भने अपि पावरको ११ करोड ४४ लाख बराबरको कारोबार भएको छ ।

Read More

प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु

काठमाडौँ । प्युठानमा भ्यान दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

प्यूठानको माण्डवी गाउँपालिका- १ डामूखोला स्थित देवीस्थान दाङ सडक खण्डमा भ्यान सडकबाट करिब २०० मिटर तल खस्दा भ्यानमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

लु. प्र. ०२- ००१ ज ०१० नम्बरको भ्यान दुर्घटनामा परेको र घटनाको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।  

Read More

जेनजी अभियन्ताहरुले छलफल बहिष्कार गरेपछि असिम शाहको आग्रह: उद्देश्य फरक हो, अन्य विषय नमिसाऊ !

काठमाडौँ । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजी प्रतिनिधिहरूसँग आज गर्न लागेको छलफलका विषयमा देखिएका केही अन्योल चिर्दै सकारात्मक संवादका लागि आह्वान गरेको छ । 

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेन्जीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको स्पष्ट पारेका छन् ।

आज साँझ ५ बजे तय गरिएको छलफलका सन्दर्भमा केही जेन्जी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएका सहमतिको विषयलाई लिएर असन्तुष्टि र बहिष्कारका कुरा उठाएपछि संयोजक शाहले त्यसको वास्तविकता प्रष्ट पारेका थिए । 

उनका अनुसार अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा छन् र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको छ। 

यो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनले आग्रह गरेका छन् । कार्यदलले जेनजीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ । बोल्नका लागि समय कम दिइएको भन्ने जस्ता केही भ्रमपूर्ण प्रचारहरू भइरहेकोप्रति संकेत गर्दै संयोजक शाहले कसैका आवाजलाई पनि नजरअन्दाज नगरिने विश्वास दिलाए । उनले कुनै पनि राजनीतिक विवाद वा भ्रमको पछि नलागी आफ्नो अधिकार र दायित्व सम्झेर छलफलमा सहभागी हुन निमन्त्रित सबै जेनजीहरूलाई अनुरोध गरेका छन् ।

कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको थियो । यस क्रममा हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको छ । 

शासकीय स्वरूप, निर्वाचन प्रणाली र संघीयता जस्ता महत्त्वपूर्ण विषयमा सबैको साझा धारणा बनाउन सरकारको १०० बुँदे कार्यसूची अनुसार यो प्रक्रिया अघि बढाइएको हो । विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू सम्मिलित यस कार्यदलले संविधानमा सबै वर्ग र समुदायको अपनत्व सुनिश्चित गर्न जेन्जीहरूको अर्थपूर्ण सहभागिता हुनुपर्नेमा जोड दिएको छ ।

छलफलका लागि बोलाइएका अमृता वन, अमित खनाल उर्जा, अर्णव चौधरी, आयुष बस्याल, उपार्जुन चाम्लिङ, कमल मगर, जनक पोखरेल, तनुजा पाण्डे, प्रभात लाभ, प्रज्वल विक्रम राणा, पेमा वाङमो लामा, माजिद अन्सारी, मोनिश चौधरी, मोनिका निरौला, यतिष ओझा, यादव अर्याल, रक्षा बम, रिजन राना मगर, रुक्शना कपाली, लक्ष्मीई घिमिरे, विप्लवी न्यौपाने, सरिस्मा थापा, सांकेंन राई र सुदिप सेठले शुक्रबार विज्ञप्ति जारी गर्दै आफूहरूसँग विगतमा भएको सम्झौता कार्यान्वयन नभएको र सरकार अपारदर्शी ढंगले अघि बढेको आरोप लगाउदै छलफलमा सहभागी हुन अस्वीकार गरेका थिए ।

उनीहरुले लिखित रूपमै सम्पन्न भइसकेको सम्झौताको कार्यान्वयन नगरेर ३ मिनेट सुझाव दिन आमन्त्रण गर्ने कार्य केवल औपचारिकता पूरा गर्न मात्रै बोलाइको भन्ने संशय उत्पन्न भएको बताउदै छलफलमा सहभागी हुन के कस्तो प्रक्रिया र आधारमा छनौट गरिएको हो भन्ने समेत स्पष्ट नभएको उनीहरुले बताएका छन् ।

Read More

राष्‍ट्रिय दलित आयोगका सदस्य कामीको राजीनामा

काठमाडौँ । राष्‍ट्रिय दलित आयोगको सदस्य टुञ्‍जे बराइली कामीले राजीनामा दिएका छन् ।

कामीले राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई संविधानको धारा २५५ को उपधारा (४) को (क) बमोजिम राष्‍ट्रिय दलित आयोगको सदस्य पदबाट जेठ १ गतेदेखि लागु हुनेगरी राजीनामा दिएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

Read More