भारतीय उद्यमी एवं ‘जेरोधा’का संस्थापक तथा युट्युबर निखिल कामतले विश्वका सबैभन्दा धनाढ्य एलन मस्कसँग गरेको कुराकानी यतिखेर चर्चाको विषय बनेको छ । मूल रूपमा अङ्ग्रेजी भाषामा रेकर्ड गरिएको पडकास्ट शैलीलाई भारतीय तथा हिन्दी भाषी दर्शकलाई लक्षित गर्दै कामतले डबिङ गरेर समेत सार्वजनिक गरेका छन् ।
पडकास्ट शैलीमा गरिएको झन्डै दुई घण्टा लामो कुराकानीमा मस्क र कामतबिच प्रविधि, जीवन दर्शन, अर्थतन्त्र र भविष्यका अनेकौँ आयामबारे गहन छलफल भएको छ । कुराकानीका क्रममा सामाजिक सञ्जाल ‘एक्स’मा भिडिओ र टेक्स्टको तुलना, मानिसको सञ्चार शैली र सामूहिक चेतना जस्ता विषयहरू समेटिएका छन् ।सोही अन्तर्वार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।
१. एक्स अर्थात् ट्वीटरमा इन्टरनेट प्रयोगकर्ताको कति प्रतिशत समय खर्च हुन्छ ?
हाम्रा मासिक प्रयोगकर्ता लगभग ६० करोड छन् । यदि संसारमा कुनै ठुलो घटना भयो भने यो सङ्ख्या ८० करोड वा १ अर्बसम्म पुग्न सक्छ । साप्ताहिक रूपमा लगभग २५ देखि ३० करोड प्रयोगकर्ता हुन्छन् । एक्समा प्रायः पढ्ने मानिसहरू आउँछन् । एक्स नेटवर्क विशेषगरी धेरै सोच्ने र पढ्ने मानिसहरू माझ सबैभन्दा बलियो छ । सामाजिक सञ्जालको सन्दर्भमा पाठक, लेखक र विचारकहरूका लागि एक्स संसारमै नम्बर वन हो भन्ने मलाई लाग्छ ।
२. भविष्यमा सञ्चारको रूप कस्तो होला ? टेक्स्ट (लिखित सामग्री), भिडिओको हिस्सा कति होला ? एक्स अबका दिनमा कसरी विकसित हुन्छ ?
मलाई लाग्छ भविष्यमा धेरैजसो अन्तर्क्रिया भिडिओमार्फत हुनेछ । अधिकांश अन्तर्क्रिया एआईसँग रियल-टाइम भिडिओमा आधारित हुनेछ; रियल-टाइममा भिडिओ बुझ्ने र रियल-टाइममा भिडिओ सिर्जना गर्ने । इन्टरनेटको धेरैजसो भार यही हुनेछ, किनभने अहिले पनि धेरैजसो इन्टरनेट भिडिओ नै हो । टेक्स्ट थोरै प्रतिशत मात्र छ । तर सामान्यतया टेक्स्टमा हाई भ्यालुको वा बढी सघन रूपमा खँदिलो जानकारी हुन्छ । तर यदि तपाईँले उत्पन्न भएका बिट्सको कूल मात्रा र खर्च भएको कम्प्युटको कुरा गर्नुहुन्छ भने त्यो निश्चित रूपमा भिडिओ नै हुनेछ ।
३. म पहिले ट्वीटरको सानो शेयरधनी थिएँ । तर जब तपाईँँले यसलाई किन्नुभयो, तब मलाई त्यसको भुक्तानी गरियो । किन होला ?
खुसीको कुरा । मलाई लाग्छ यो महत्त्वपूर्ण थियो । मलाई महसुस भयो कि ट्वीटर एउटा यस्तो दिशामा गइरहेको थियो, जसले विश्वमा नकारात्मक प्रभाव पारिरहेको थियो । यो कसैको दृष्टिकोणमा निर्भर थियो । तर मेरो विचारमा आधारभूत कुरा यो थियो कि सान फ्रान्सिस्कोमा आधारित भएकाले ट्वीटरले अधिकांश मानिसहरूको बुझाईमा धेरै वामपन्थी विचारधारालाई बढावा दिइरहेको थियो । उनीहरूले दक्षिणपन्थीका धेरै मानिसहरूलाई सस्पेन्ड गरेका थिए । यदि तपाईँ अति वामपन्थी हुनुहुन्छ भने, बीचमा रहेको जोकोही पनि तपाईँको लागि अति दक्षिणपन्थी हुन्छ । मैले यसलाई सन्तुलित र मध्यपन्थी बनाउन खोजेको छु । अहिले एक्सको सञ्चालन सिद्धान्त भनेको कुनै पनि देशको कानुनको पालना गर्नु हो । तर त्यसभन्दा बाहिर आफ्नो तर्फबाट कुनै हस्तक्षेप नगर्नु हो ।
४. यदि कसैले सामाजिक सञ्जाललाई पुरै नयाँ शिराबाट बनाउने प्रयास गर्छ भने, भोलिको संसारका लागि के काम गर्ला ?
म सामाजिक सञ्जालको बारेमा त्यति धेरै सोच्दिनँ । म केवल यस्तो प्लेटफर्म चाहन्छु, जहाँ एक्सको मामलामा मानिसहरूले शब्द, तस्बिर वा भिडिओमार्फत आफूले भन्न चाहेको कुरा भन्न सकून्, एउटा ग्लोबल टाउन स्क्वायर जस्तो । हामीसँग सुरक्षित मेसेजिङ सिस्टम छ र हालसालै हामीले अडियो र भिडिओ कल गर्ने क्षमता पनि थपेका छौँ । यसले विश्वलाई सामूहिक चेतनामा एकसाथ ल्याउने प्रयास गरिरहेको छ । यो ‘सबैभन्दा बढी डोपामाइन उत्पन्न गर्ने भिडिओ स्ट्रिम’ बनाउने उद्देश्यभन्दा फरक छ । यदि तपाईँले पदार्थ विहीन डोपामाइन हिट मात्र दिने भिडिओहरू हेर्नुहुन्छ भने त्यो मस्तिष्क सडाउने जस्तो हुन सक्छ । मेरो लक्ष्य मानिसहरूलाई लागु औषध जस्तै लत लगाउनु होइन ।
५. सामूहिक चेतना किन महत्त्वपूर्ण छ ?
मलाई लाग्छ यसले हामीलाई ब्रह्माण्डको बारेमा हाम्रो बुझाइ बढाउन मद्दत गर्छ । मलाई जीवनको अर्थ के हो भन्ने प्रश्न थियो । हामी यहाँ किन छौँ ? ब्रह्माण्डको उत्पत्ति के हो ? अन्त्य के हो ? हामीले सोच्न पनि नजानेका प्रश्नहरू के हुन् ? सायद ती प्रश्नहरू सबैभन्दा महत्त्वपूर्ण छन् । म केवल यो वास्तविकतामा के भइरहेको छ, त्यो बुझ्न खोज्दैछु ।
मैले यो निष्कर्ष निकालेको छु, जुन डगलस एडम्सको ‘हिचहाइकर गाइड टु द ग्यालेक्सी’ को विचारधारासँग मिल्दोजुल्दो छ । उहाँले भन्नुभएको थियो कि पृथ्वी आफैँ जीवनको अर्थ पत्ता लगाउने एउटा कम्प्युटर हो, जसले ४२ उत्तर दिन्छ । तर मुख्य कुरा उत्तर होइन, प्रश्न हो । प्रश्न सोध्नका लागि पृथ्वीभन्दा ठुलो कम्प्युटर चाहिन्छ । यसको मतलब हामीलाई प्रश्नहरू कसरी सही तरिकाले फ्रेम गर्ने भन्ने नै थाहा छैन । चेतनाको दायरा र स्तर विस्तार गरेर हामी ब्रह्माण्डको बारेमा कस्ता प्रश्नहरू सोध्ने भनेर राम्रोसँग बुझ्न सक्छौँ ।
६. जब म ‘ग्ल्याडिएटर’ जस्तो चलचित्र हेर्छु, रोममा मानिसहरूले एक-अर्कालाई मार्दा भीडले खुसी मनाउँछ । सामूहिक चेतना भीडजस्तै हुन्छ, जसको विचारमा कुनै सूक्ष्मता हुँदैन ।
त्यो एक विशेष प्रकारको भीड हो । हामी आज मानिसहरूले एक-अर्कालाई मारेको हेर्न जाँदैनौँ । यदि हामी मानवलाई विचार गर्छौँ भने, हामी सबै एक कोषबाट सुरु भयौँ, तर अहिले हामीसँग ३० देखि ४० ट्रिलियन कोषहरू छन् । धेरैजसो मानिसहरूले आफूलाई एउटै शरीर ठान्छन् । तपाईँको दाहिने हातले देब्रे हातसँग लड्दैन । एउटा ब्याक्टेरियासँग कुरा गर्न सकिँदैन । तर मानिसहरूसँग कुरा गर्न सकिन्छ । मानिसहरूको समूहमा केही गुणात्मक रूपमा फरक कुरा हुन्छ ।
वास्तवमा एउटै मानिसले अन्तरिक्षयान बनाउन सक्दैन । तर मानिसहरूको समूहले बनाउन सक्छ । त्यसैले मानिसहरूको समूहमा केही गुणात्मक भिन्नता हुन्छ । यदि अन्तर्क्रियाको गुणस्तर वा सूचना प्रवाहको गुणस्तर राम्रो भयो भने मानव समूहले धेरै उपलब्धि हासिल गर्नेछ । हामीले चेतनाको दायरा र स्तर बढायौँ भने ब्रह्माण्डको प्रकृति बुझ्ने सम्भावना धेरै हुन्छ ।
७. के यो अध्यात्मवाद जस्तै हो ?
म ‘भौतिकी प्रेरित’ (physics pulled) छु । यदि कुनै चीजको भविष्यवाणी गर्ने मूल्य छ भने, म त्यसलाई बढी ध्यान दिन्छु । मेरो विचारमा भौतिकी भनेको भविष्यवाणी मूल्य भएको कुराको अध्ययन हो ।
८. आज तपाईँलाई सबैभन्दा बढी के कुराले उत्साहित बनाएको छ ?
मलाई लाग्छ स्पेसएक्स, टेस्ला र एक्सएआई बीच तालमेल (convergence) बढ्दो छ । भविष्यमा सौर्य ऊर्जाबाट चल्ने एआई स्याटलाइटहरू चाहिन्छ, जसका लागि टेस्लाको विशेषज्ञता (ब्याट्री/सौर्य) र स्पेसएक्सको विशेषज्ञता अनि एआईका लागि एक्सएआईको ज्ञान चाहिन्छ । सबै कम्पनीहरूले उत्कृष्ट काम गरिरहेका छन् । टेस्लाले स्वचालित ड्राइभिङमा धेरै प्रगति गरिरहेको छ । टेस्ला वास्तविक संसारको एआईमा विश्वको अग्रणी छ । अर्को वर्षदेखि ठुलो मात्रामा अप्टिमस रोबोटको उत्पादन सुरु गर्ने योजना छ, जुन सबैले चाहने व्यक्तिगत सहायक रोबोट जस्तो हुनेछ ।
९. स्टारलिङ्कको बारेमा बताइदिनुहोस् न ।
स्टारलिङ्कमा हजारौँ उपग्रहहरू पृथ्वीको तल्लो कक्ष (Low Earth Orbit) मा छन् । जुन ५५० किलोमिटरको उचाइमा ध्वनिभन्दा २५ गुणा छिटो गतिमा घुमिरहेका छन् । यो जियोस्टेसनरी स्याटलाइट (३६,००० किलोमिटर) को तुलनामा धेरै नजिक भएकाले यसको लेटेन्सी कम हुन्छ । यी उपग्रहहरू लेजर लिङ्कद्वारा एकआपसमा जोडिएका छन्, जसले लेजरको एउटा जालो (laser mesh) बनाउँछ । यदि पृथ्वीमा रहेका फाइबर केबुलहरू काटिए भने पनि स्याटलाइटहरूले एक-अर्कासँग सञ्चार गरेर कनेक्टिभिटी प्रदान गर्न सक्छन् । जस्तै केही महिनाअघि रेड सीमा केबुलहरू काटिँदा पनि स्टारलिङ्क नेटवर्क निरन्तर चलिरहेको थियो । यो विशेष गरी विपद्ग्रस्त क्षेत्रहरूका लागि उपयोगी हुन्छ । किनभने जमिनमा रहेका पूर्वाधारमा क्षति पुग्दा पनि स्टारलिङ्कले काम गरिरहेको हुन्छ । हामी प्राकृतिक प्रकोपको समयमा निःशुल्क इन्टरनेट दिन्छौँ ।
स्टारलिङ्क जमिनमा आधारित प्रणालीहरूको पूरक हो । किनभने यसको स्याटलाइट बिम फराकिलो हुन्छ । जसले गर्दा यसले पातलो जनसङ्ख्या भएका ग्रामीण क्षेत्रहरूमा राम्रो काम गर्छ । यी क्षेत्रहरूमा इन्टरनेट कनेक्सन अत्यन्त महँगो वा नराम्रो गुणस्तरको हुन्छ । सहरहरूमा, जहाँ सेल टावरहरू एक किलोमिटरको दूरीमा हुन्छन्, त्यहाँ स्टारलिङ्कले प्रतिस्पर्धा गर्न सक्दैन । ५५० किलोमिटर टाढाबाट आउने फ्ल्याशलाइटको प्रकाशजस्तो बिमले १ किलोमिटर नजिक रहेको सेल टावरलाई हराउन भौतिक रूपमा सम्भव छैन ।
१०. एआई र रोबोटिक्सको कारणले मानिसहरूले काम गर्नुपर्ने छैन । के यो विश्वमा विश्वव्यापी उच्च आय (Universal High Income – UHI) को युग आउँदा मानिसहरू सहरी केन्द्रहरूमा बसोबास गर्न चाहन्छन्, जुन ग्रामीण वातावरणभन्दा बढी प्रदूषित हुन्छ ?
मलाई लाग्छ भविष्यमा काम पाउनका लागि सहरमा बस्नैपर्ने आवश्यकता हुनेछैन । मेरो भविष्यवाणी छ कि २० वर्षभन्दा कम समयमा सायद १० वा १५ वर्षमा पनि काम गर्नु वैकल्पिक हुनेछ । यो एआई र रोबोटिक्सको विकासले गर्दा हुनेछ । तपाईँले आफ्नो बगैँचामा तरकारी उमार्नु वा पसलबाट किन्नुजस्तै हुनेछ, अर्थात् बगैँचामा उमार्नु वैकल्पिक हुन्छ ।
११. यदि सबैलाई पर्याप्त भयो र विश्वव्यापी उच्च आयको समय आयो भने, मानिसहरूले केका लागि प्रतिस्पर्धा गर्नेछन् ?
हामी वास्तवमा ‘एकल बिन्दु’ (singularity) तर्फ जाँदैछौँ । म विश्वस्त छु कि एआई र रोबोटिक्सको विकास जारी रहेमा काम वैकल्पिक हुनेछ । मानिसहरूले चाहेको कुनै पनि सामान र सेवाहरू पाउन सक्नेछन् । तपाईँले जे सोच्न सक्नुहुन्छ, त्यो पाउन सक्नुहुन्छ । तर एउटा बिन्दुमा एआईले मानिसहरूलाई खुसी पार्ने सबै कुरा गर्न सक्नेछ र त्यसपछि एआई र रोबोटिक्सले एआई र रोबोटिक्सका लागि काम गर्न थाल्नेछन् ।
१२. अस्ट्रियन स्कुल अफ इकोनोमिक्सले कुनै पनि चीजको सीमान्त उपयोगिता (marginal utility) कम हुँदै जाने कुरा गर्छ । यदि हामीले चाहेको सबै कुरा पाउन सक्छौँ भने त्यसको मूल्य घट्दैन र ?
यदि एआई र रोबोटिक्स यति ठुलो भयो कि यसले सबै मानवीय आवश्यकताहरू पूरा गर्न सक्छ, तब पैसाको सान्दर्भिकता नाटकीय रूपमा घट्छ र यो अवधारणाबाटै हराउन सक्छ । त्यसपछिको वास्तविक मुद्रा ऊर्जा हो ।
१३. अमेरिकाको ऋण सङ्कट कसरी समाधान हुन्छ ?
अहिले अमेरिकाको ऋण निकै उच्च छ र ऋणको ब्याज भुक्तानी नै समग्र सैन्य बजेटभन्दा बढी छ । यसलाई समाधान गर्ने एक मात्र तरिका एआई र रोबोटिक्स हो । यदि वस्तु र सेवाको उत्पादन मुद्रा आपूर्तिको वृद्धिभन्दा छिटो भयो भने, अपस्फीति (deflation) हुन्छ । एआई र रोबोटिक्सले वस्तु र सेवाहरूको उत्पादनमा नाटकीय वृद्धि ल्याउनेछ, जसले गर्दा अपस्फीति हुने सम्भावना छ । मलाई लाग्छ कि लगभग ३ वर्षमा वस्तु र सेवाको उत्पादन मुद्रा आपूर्तिको दरभन्दा बढी हुनेछ । त्यसपछि ब्याज दर शून्यमा जान सक्छ, र ऋणको समस्या सानो हुनेछ ।
१४. तपाईँ पहिले सिमुलेसनमा भएको कुरा गर्नु हुन्थ्यो नि ?
हामीले यी चीजहरूलाई निश्चितताको सट्टा सम्भाव्यताको रूपमा सोच्नुपर्छ । हामी सिमुलेसनमा हुने सम्भावना धेरै छ । ५० वर्षको अवधिमा भिडिओ गेमहरू पङ (Pong) जस्ता साधारण गेमबाट फोटो-रियालिस्टिक, वास्तविक समयको गेममा परिणत भएका छन् । यदि यो प्रवृत्ति जारी रह्यो भने भिडिओ गेमहरू वास्तविकताबाट छुट्याउन नसकिने हुनेछन् । यी गेमहरूमा धेरै बुद्धिमानी, नन्-प्रि-प्रोग्राम्ड (non-pre-programmed) पात्रहरू हुनेछन् । यदि सभ्यता जारी रह्यो भने यो अवश्य हुनेछ ।
१५. त्यसो भए, हामी आधारभूत वास्तविकता (base reality) मा छौँ भन्ने सम्भावना कति छ ?
मलाई लाग्छ सिमुलेसन बाहिरको संसार सिमुलेसन भित्रको भन्दा कम रोचक हुनेछ । हामीले पनि सिमुलेसन गर्दा नीरस सिमुलेसनहरू खारेज गर्छौँ । टेस्ला सेल्फ-ड्राइभिङको सिमुलेसन गर्दा सबैभन्दा रोचक ‘असामान्य अवस्थाहरू’ (corner cases) खोज्छ । त्यसैले डार्विनको दृष्टिकोणबाट बाँच्न सक्ने सम्भावना भएका सिमुलेसनहरू सबैभन्दा रोचक सिमुलेसनहरू हुनेछन्, जसको अर्थ सबैभन्दा रोचक परिणाम नै सबैभन्दा सम्भावित हुन्छ ।
१६. सिमुलेसनका धेरै तहहरू हुन सक्छन् । तपाईँले स्पाइनोजाको (Spinoza’s) ईश्वरको कुरा गर्नु हुन्थ्यो नि !
स्पाइनोजाले धर्मको सन्दर्भबिना पनि नैतिकता (morality) हुन सक्छ भन्नुभएको थियो । समाजलाई कार्यात्मक र उत्पादनशील बनाउन नैतिकताको आवश्यकता हुन्छ । मानिसहरूलाई हत्या नगर्नका लागि धार्मिक आज्ञाको आवश्यकता पर्दैन ।
१७. उसो भए तपाईँ अहिले धर्मको नजिक जानुभएको छ ?
सबै धर्महरूमा राम्रा सिद्धान्तहरू छन्, जसले राम्रो समाज बनाउन सक्छ । जस्तै, इसाई धर्ममा ‘आफ्नो छिमेकीलाई आफूजस्तै प्रेम गर्नुहोस्’ भन्ने सिद्धान्तमा आफू जस्तै अर्को मानवका लागि समानुभूति राख्नुपर्छ ।
१८. यदि तपाईँले आजको संसारको नैतिकता, राजनीति र अर्थतन्त्रलाई फेरि कोर्न पाउनु भयो भने के परिवर्तन गर्नु हुन्थ्यो ?
समग्रमा मलाई लाग्छ आजको संसार निकै राम्रो छ । जसले आजको संसार राम्रो छैन भन्छन्, उनीहरू इतिहासको राम्रा विद्यार्थी होइनन् । पहिला मानिसहरू प्लेग वा भोकले मर्दथे, वा सानो सङ्क्रमणले पनि मर्छन्।
मलाई जनसङ्ख्या घट्ने चिन्ता छ । यो ठुलो समस्या हो । किनभने म चाहन्छु कि मानवता लोप नहोस् । यदि अहिलेको प्रवृत्ति जारी रह्यो भने, हामी लोप हुनेछौँ । यदि चेतना बढाउन चाहन्छौँ भने, कम मानिस हुनु नराम्रो हो । धेरै मानिस हुनु भनेको चेतनाको वृद्धि हुनु हो ।
१९. तपाईँलाई बच्चाहरू हुनुको सबैभन्दा राम्रो पक्ष के लाग्छ ?
तपाईँसँग यो सानो प्राणी छ, जसले तपाईँलाई माया गर्छ र जसलाई तपाईँ माया गर्नुहुन्छ । उनीहरू हुर्कँदै जाँदा, तपाईँ संसारलाई उनीहरूको आँखाबाट देख्नुहुन्छ । बच्चा जन्माउनु भनेको लोप हुनबाट बच्नु पनि हो ।
२०. एआईको सन्दर्भमा तपाईँलाई के कुराको चिन्ता छ ?
शक्तिशाली प्रविधि विनाशकारी हुन सक्छ । एआईका लागि ‘सत्यको खोजी’ सबैभन्दा महत्त्वपूर्ण हुनुपर्छ । एआईलाई झुटो कुरामा विश्वास गर्न बाध्य पार्नु हुँदैन । यसबाहेक सुन्दरताको कदर र जिज्ञासा पनि महत्त्वपूर्ण छन् । यदि एआईले असत्यमा विश्वास गर्छ भने यसले पागलपनतर्फ डोऱ्याउँँछ र यसबाट नराम्रा निष्कर्षहरू निस्कन्छन् । यदि एआईले सत्य, सुन्दरता र जिज्ञासालाई महत्त्व दिन्छ भने हामीसँग उत्कृष्ट भविष्य हुनेछ ।
२१. तपाईँलाई ‘X’ अक्षरसँग किन यति धेरै लगाव छ ?
मलाई पनि कहिलेकाहीँ आफूलाई के भयो होला जस्तो लाग्छ । यो कुरा पुरानो समय, १९९९ बाट सुरु भएको हो । मैले X.com लिन चाहेको थिएँ, जुन वित्तीय चोक (financial crossroads) वा वित्तीय विनिमय होस् । अहिलेको बैँकिङ प्रणाली डेटाबेसको ठुलो सङ्ख्यामा आधारित छ । यसको सट्टा रियल-टाइममा सुरक्षित एकल डेटाबेस बनाउने लक्ष्य थियो । त्यो X.com पछि PayPal बन्यो ।
ट्वीटर अधिग्रहण गर्दा X.com को मौलिक योजनालाई पुनर्जीवित गर्ने मौका मिल्यो । अर्थात् वित्तीय कारोबारको लागि ‘क्लियरिङ हाउस’ बनाउने । पैसा श्रम विभाजनको लागि एक सूचना प्रणाली हो । यदि म मरुभूमि टापुमा छु भने, मसँग करोडौँ डलर भए पनि त्यसको कुनै अर्थ हुँदैन । किनकि त्यहाँ श्रम विभाजन गर्ने मौका उपलब्ध छैन । त्यसैले म २५ वर्ष पुरानो यो विचारलाई फेरि अघि बढाउँदैछु ।
मलाई एक एकीकृत एप को विचार मन पर्छ । जहाँ तपाईँ जे पनि गर्न सक्नुहुन्छ । चीनको विच्याट जस्तै, जहाँ मानिसहरूले जानकारी र पैसा आदानप्रदान गर्छन् । एक्सका लागि विच्याट प्लस प्लसको विचार छ । स्पेस एक्सप्लोरेसन टेक्नोलोजी (Space Exploration Technologies) को सङ्क्षिप्त नाम स्पेसएक्स हो, ‘स्पेसका लागि फेडएक्स’ जस्तै ।
२२. तपाईँको विचारमा राजनीति र व्यवसायको सम्बन्ध कस्तो छ ?
मेरो अनुभवमा, जब म राजनीतिमा संलग्न हुन्छु, परिणाम खराब हुन्छ । मलाई लाग्छ, सम्भव भएसम्म राजनीतिबाट टाढा रहनु नै सबै व्यवसायीका लागि राम्रो हुन्छ । राजनीति एक रगतको खेल हो ।
२३. तपाईँको देश अमेरिकाले प्रतिभावान् भारतीयहरूबाट धेरै फाइदा उठाएको छ । अहिले अमेरिकामा आप्रवासी विरोधी भावना किन बढेको होला ?
बाइडेन प्रशासनमा बिना कुनै सीमा नियन्त्रणको ‘टोटल फ्री-फर-अल’ थियो । यसले ठुलो मात्रामा अवैध आप्रवासनलाई प्रोत्साहित गर्यो । अर्कोतर्फ केही दक्षिणपन्थीहरूमा प्रतिभावान् विदेशीहरूले आफ्ना जागिर खोस्दै छन् भन्ने धारणा छ । मेरो प्रत्यक्ष अवलोकनमा, प्रतिभावान् मानिसहरूको सधैँ कमी हुन्छ, त्यसैले मलाई थप प्रतिभावान् मानिसहरू भए राम्रो लाग्छ । यद्यपि एच-१बी (H1B) कार्यक्रमको दुरुपयोग भएको छ । हामीले सिस्टमको दुरुपयोग रोक्नुपर्छ ।
२४. भारतका युवा उद्यमीहरूलाई तपाईँको सन्देश के छ ?
म केही चिज बनाउन चाहने जोकोहीको ठुलो प्रशंसक हुँ । तपाईँले जति लिनुहुन्छ, त्यसभन्दा बढी सिर्जना गर्ने लक्ष्य राख्नुहोस् । समाजमा ‘नेट कन्ट्रिब्युटर’ बन्नुहोस् । यदि तपाईँले उपयोगी उत्पादन र सेवाहरू प्रदान गर्ने लक्ष्य राख्नुहुन्छ भने, पैसा त्यसको स्वाभाविक परिणामको रूपमा आउनेछ । जसरी तपाईँले खुसी खोज्नुको सट्टा खुसीतर्फ डोऱ्याउने कामहरू गर्नुहुन्छ । तपाईँले असाध्यै मेहनत गर्नुपर्नेछ र असफलताको सम्भावना स्वीकार गर्नुपर्नेछ । तर मुख्य कुरा के हो भने तपाईँको आउटपुट (सिर्जना) इनपुट (लगानी) भन्दा बढी मूल्यवान् छ कि छैन ?




