२०८३ बैशाख १३

देउवा निवासमा कांग्रेस नेताहरूको बैठक, विशेष महाधिवेशनबारे छलफल

२१ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू निकटका शीर्ष नेताहरूसँग छलफलका लागि बैठक बोलाएका छन्। सभापति देउवा निवास महाराजगञ्जमा आज दिउँसो २ बजेका लागि वर्तमान तथा पूर्व पदाधिकारीहरूलाई आमन्त्रण गरिएको हो।

देउवा निकट एक पूर्व पदाधिकारीका अनुसार बैठकमा पार्टीभित्र देखिएको आन्तरिक विवाद, विशेष गरी विशेष महाधिवेशनको विषयमा गहन छलफल हुनेछ। विशेष महाधिवेशन गर्ने पक्षको तयारी र संस्थापन पक्षले विशेष महाधिवेशन सम्भव नरहेको अडान लिँदै आएपछि कांग्रेसभित्र मतभेद चर्किएको छ।

यसअघि कार्यसम्पादन समितिले चुनावपछि नियमित महाधिवेशन गर्ने कार्यतालिका पारित गरिसकेको छ। सोही निर्णयअनुसार वैशाख २८ देखि ३१ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका तय भएको छ।

तर महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विधानअनुसार माग परेको अवस्थामा विशेष महाधिवेशन गर्नुपर्ने अडान राख्दै आएका छन्। विशेष महाधिवेशन पक्षधर नेताहरूले यही महिनाको अन्तिम साताभित्रै विशेष महाधिवेशन गराउनुपर्ने तयारी तीव्र पारेका छन्।

आजको बैठकलाई कांग्रेसभित्रको विवाद समाधान र भावी राजनीतिक कार्यदिशा तय गर्ने महत्वपूर्ण छलफलका रूपमा हेरिएको छ।