२०८३ बैशाख १३

स्किल विक २०२६ सम्पन्न: पाँच प्रेरणादायी व्यक्तित्व ‘स्किल हिरो अवार्ड’ बाट सम्मानित

काठमाडौँ । युवाहरूको प्रतिभा, सीप र सिर्जनशीलतालाई उजागर गर्ने उद्देश्यका साथ आयोजना गरिएको ‘स्किल विक २०२६’ सफलतापूर्वक सम्पन्न भएको छ।

ग्लोकल प्रा.लि. अन्तर्गतको ग्लोकल आफ्टर स्कूलको आयोजनामा ललितपुरस्थित द प्लाजामा सोमबार आयोजित भव्य समापन समारोहसँगै सातौँ संस्करणको स्किल विक औपचारिक रूपमा टुंगिएको हो।

सरकारी कूटनीतिज्ञ, ख्यातिप्राप्त उद्यमी र १०० भन्दा बढी उत्साही युवाहरूको उपस्थितिमा सम्पन्न कार्यक्रम युवाहरूका लागि सीप, अवसर र भविष्यबारे गहिरो संवादको मञ्च बनेको थियो। ‘स्किल विक २०२६’ लाई यसपटक कार्यशाला, सिप–केन्द्रित प्रतियोगिता, प्रदर्शनी, सिकाइ सत्र र मनोरञ्जनलाई समेटिएको ‘इन्फोटेनमेन्ट हप्ता’ को रूपमा मनाइएको थियो।

जनवरी ११ देखि १६ सम्म सञ्चालन भएको कार्यक्रममा कला तथा संस्कृति, उद्यमशीलता, पर्यटन तथा आतिथ्य, र विज्ञान तथा प्रविधि गरी चार मुख्य क्षेत्रलाई केन्द्रमा राखिएको थियो। यस अवधिमा रोजगार मेला, केस स्टडी प्रस्तुतीकरणदेखि सांगीतिक कन्सर्टसम्मका गतिविधिहरूले युवाहरूलाई सिकाइसँगै उत्साह पनि प्रदान गरे।

समापन समारोहको मुख्य आकर्षणका रूपमा विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका पाँच दिग्गज व्यक्तित्वलाई ‘स्किल हिरो अवार्ड २०२६’ बाट सम्मान गरिएको थियो।

यी हुन् ‘स्किल हिरो अवार्ड २०२६’ का विजेता

पर्यटन तथा आतिथ्य
पाक कलामा मुम्बई र पेरिसको इकोल डुकासबाट विशेषज्ञता हासिल गरेका ऋषभ अग्रवालले ‘सिल्क आर्टिसनल क्रिमरी’ मार्फत नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरको आइसक्रिमसँग जोडेका छन्।

कला तथा संस्कृति
दुई दशकभन्दा बढी समयदेखि फोटोग्राफीमा सक्रिय किशोर कायस्थले ‘मुस्ताङ नोस्टाल्जिया’ जस्ता प्रोजेक्टमार्फत नेपालको भूगोल र जनजीवनलाई कलात्मक रूपमा दस्तावेज गरेका छन् ।

उद्यमशीलता
मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले ‘मक्कुसे’ लक्जरी डेजर्ट ब्राण्डमार्फत परम्परागत नेपाली मिठाइ पुस्टकारीलाई आधुनिक र विश्वव्यापी बजारसम्म पुर्‍याउन सफल भएकी छिन ।

विज्ञान तथा प्रविधि
ग्लोकल टिन हिरो २०१९ का विजेता समीर फुयाँलले ‘बाइटकेयर टेक्नोलोजी’ अन्तर्गत विकास गरिएको ‘कारोबार एप’ मार्फत साना व्यवसायीलाई डिजिटल लेखा प्रणालीसँग जोड्न योगदान दिएका छन ।

प्रशिक्षुता (Apprenticeship)
डिजिटल सीप र सूचना प्रविधिको क्षेत्रमा प्रशिक्षुता मार्फत सफलता हासिल गरेकी सोनाम नेम्वाङले सीपमूलक शिक्षाको व्यावहारिक महत्त्व उजागर गरेकी छिन ।

स्किल फेस्ट र ‘सिइओ अनप्लग्ड’ ले थप्यो आकर्षण
माघ २ गते पुल्चोकस्थित एम्बार्क कलेजमा आयोजित ‘स्किल फेस्ट’ ले कार्यक्रमलाई थप जीवन्त बनाएको थियो। सो अवसरमा कार्यशाला, प्रदर्शनी र रोजगार मेला सञ्चालन भएका थिए। त्यही दिन ‘सिइओ अनप्लग्ड’ को ११औँ संस्करण पनि सम्पन्न भयो।

‘टुडे मिट्स टुमरो’ नारासहित आयोजित प्यानल छलफलमा सौरभ ज्योति (पद्म ज्योति ग्रुप), संजय गोल्छा (नियोटेरिक नेपाल) र आँचल कुँवर (दराज नेपाल) ले भविष्यको बजार, सीपको आवश्यकता र शिक्षा तथा उद्योगबीचको दूरी कम गर्ने विषयमा धारणा राखेका थिए ।

व्यापक सहकार्य र समर्थन
कार्यक्रमलाई एम्बार्क कलेजले सशक्त बनाएको थियो भने युरोपियन युनियन, भारतीय दूतावास, अष्ट्रेलियाली सरकार, युएई दूतावास, होण्डा, एनसर, डब्लुडब्लुएफ, युएनडिपी र ब्रिटिश काउन्सिललगायत संस्थाहरूले सहयोग गरेका थिए।

सीप विकास, उद्योग र शिक्षालाई एकै सूत्रमा बाँध्दै स्किल विक २०२६ ले युवाहरूलाई आत्मनिर्भर भविष्यतर्फ प्रेरित गर्ने बलियो सन्देश दिएको आयोजकले जनाएको छ।