काठमाडौं । अमेरिका, इजरायल र इरानबीच बढ्दो तनावका बीच भारतले होर्मुज स्ट्रेट आसपास आफ्नो नौसैनिक उपस्थिति बढाएको छ। भारतले उक्त क्षेत्रमा दुईवटा युद्धपोत तैनाथ गरी व्यापारिक जहाजहरूको सुरक्षा व्यवस्था कडा बनाएको हो।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतीय नौसेनाको टास्क फोर्स अन्तर्गत रहेका ती युद्धपोतहरूले भारततर्फ आउने तेल तथा ग्यास बोकेका व्यापारी जहाज र ट्याङ्करलाई सुरक्षा प्रदान गर्ने उद्देश्य राखेका छन्।
यसैबीच, युद्धको संवेदनशील परिस्थितिका बीच भारततर्फ आउने ऊर्जा आपूर्ति पनि निरन्तर जारी छ। भारतको पहिलो एलपीजी बोकेको जहाज ‘शिवालिक’ आज गुजरातस्थित मुन्द्रा बन्दरगाहमा सुरक्षित रूपमा आइपुगेको छ।
उक्त जहाजमा करिब ४६ हजार मेट्रिक टन एलपीजी रहेको बताइएको छ, जुन झण्डै ३२ लाख ४० हजार घरायसी ग्यास सिलिन्डर बराबर हुने जनाइएको छ।
त्यस्तै, ‘नन्द देवी’ र ‘जग लडकी’ नामका दुई थप भारतीय जहाज पनि तेल तथा ग्यास लिएर भारततर्फ आउँदै छन्। ती जहाजहरू भोलिसम्म भारतको बन्दरगाहमा पुग्ने अपेक्षा गरिएको छ।




