काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सरकारसँग तत्काल सहुलियत उपलब्ध गराउन आग्रह गरेका छन्। उनले मध्यपूर्व क्षेत्रमा बढ्दो द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य चर्किँदै गएको र त्यसको प्रत्यक्ष असर नेपालमा पर्न थालेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा उनले पछिल्ला घटनाक्रमले दैनिक जीवनमा खर्चको भार बढाएको उल्लेख गर्दै पेट्रोलियमको मूल्यवृद्धिले समग्र बजारमा महँगी थप चुलिने जोखिम रहेको औंल्याए। मोटरसाइकल प्रयोग गर्नेदेखि घरको अत्यावश्यक सामग्री किन्नेसम्म सबै वर्ग प्रभावित हुने उनले बताएका छन्।
पौडेलका अनुसार, पेट्रोलियमको मूल्यलाई बहाना बनाएर अन्य वस्तु तथा सेवामा अनावश्यक मूल्यवृद्धि हुने सम्भावना बढेको छ। यस्तो अवस्थालाई नियन्त्रण गर्न सरकारले समयमै हस्तक्षेप गर्नुपर्ने उनको जोड छ।
उनले दीर्घकालीन समाधानका रूपमा वैकल्पिक ऊर्जामा आधारित सवारी साधनलाई प्रोत्साहन गर्नुपर्ने धारणा राख्दै पेट्रोलियममाथिको निर्भरता घटाउने उपायहरूलाई प्राथमिकता दिन आग्रह गरे।
साथै, बजारमा हुन सक्ने कालोबजारी र कृत्रिम अभाव रोक्न प्रभावकारी अनुगमन आवश्यक रहेको उल्लेख गर्दै मूल्यवृद्धिको असरबाट सर्वसाधारणलाई जोगाउन ठोस कदम चाल्न उनले सरकारलाई सचेत गराएका छन्।




