२०८३ बैशाख १३

ऊर्जा महँगी नियन्त्रण गर्न ट्रम्पको ठूलो निर्णय, समुद्री कानुन अस्थायी खारेज

काठमाडौं । मध्यपूर्वमा बढ्दो द्वन्द्वका कारण ऊर्जा मूल्य आकासिँदै गएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पुरानो समुद्री ढुवानीसम्बन्धी कानुनमा अस्थायी छुट दिने निर्णय गरेका छन्। यो कदम ऊर्जा आपूर्ति सहज बनाउन र बजारमा देखिएको मूल्यचाप कम गर्न लक्षित रहेको बताइएको छ।

राष्ट्रपति ट्रम्पले ६० दिनका लागि ‘जोन्स एक्ट’मा छुट दिने घोषणा गरेका छन्। यस निर्णयसँगै विदेशी ध्वजाबाहक जहाजहरूले अमेरिकी बन्दरगाहहरूबीच कार्गो ओसारपसार गर्न पाउनेछन्, जसले आपूर्ति प्रक्रिया थप लचिलो बनाउने अपेक्षा गरिएको छ।

सन् १९२० मा लागू गरिएको उक्त कानुनले अमेरिकी जहाज उद्योगलाई संरक्षण गर्ने उद्देश्य राखेको भए पनि यसले व्यापारमा अवरोध सिर्जना गर्ने र उपभोक्तामाथि अतिरिक्त लागत थप्ने भन्दै आलोचना हुँदै आएको छ।

ह्वाइट हाउसका अनुसार हालैको सैन्य गतिविधिपछि तेल बजारमा देखिएको अस्थिरता कम गर्न यो निर्णय लिइएको हो। यसले तेल, ग्यास, मल र कोइलाजस्ता अत्यावश्यक स्रोतहरूको आपूर्ति सहज बनाउने विश्वास गरिएको छ।

युद्ध सुरु भएयता अमेरिकी बजारमा पेट्रोलको मूल्य उल्लेखनीय रूपमा बढेको छ, जसले उपभोक्तालाई थप दबाबमा पारेको छ। यस्तो अवस्थामा प्रशासनले आपूर्ति श्रृङ्खला मजबुत बनाउँदै मूल्य स्थिर राख्ने प्रयास तीव्र बनाएको जनाएको छ।

Read More

हुरीको प्रहारले सिन्धुलीको व्यावसायिक केराखेती तहसनहस

काठमाडौं । सिन्धुलीको दुधौली नगरपालिका-१ बङ्कामा आएको शक्तिशाली हुरीले व्यावसायिक केराखेतीमा ठूलो क्षति पुर्‍याएको छ। सोमबार पानीसँगै आएको तीव्र हुरीका कारण किसानहरूको मेहनतमा गम्भीर असर परेको हो।

स्थानीय किसान रामकुमार घिमिरेका अनुसार करिब सात बिघा क्षेत्रफलमा गरिएको केराखेतीमध्ये तीन बिघा पूर्ण रूपमा नष्ट भएको छ भने बाँकी क्षेत्रमा आंशिक क्षति पुगेको छ। उनले चार वर्षअघि अन्य साझेदारहरूसँग मिलेर व्यावसायिक रूपमा केरा खेती सुरु गरेका थिए।

जयप्रसाद पडाडी, युवराज पहाडी र घिमिरेले संयुक्त रूपमा सञ्चालन गरेको फार्ममा भएको क्षतिको प्रारम्भिक अनुमान करिब १३ लाख रुपैयाँ बराबर रहेको बताइएको छ। गत वर्ष मात्रै यस फार्मबाट ४३ लाख रुपैयाँ बराबरको केरा बिक्री भएको थियो, जसले यस खेतीको सम्भावना देखाएको थियो।

कृषि विकास कार्यालय, सिन्धुलीका अनुसार जिल्लाभर करिब ३६४ हेक्टर क्षेत्रफलमा व्यावसायिक केराखेती हुँदै आएको छ। तर पछिल्लो हुरीले धेरै स्थानमा आंशिक क्षति पुर्‍याएको किसानहरूको भनाइ छ।

प्राकृतिक विपत्तिका कारण लगानी र उत्पादन दुवैमा असर पर्दा किसानहरू थप चिन्तित बनेका छन्।

Read More

मध्यपूर्वका नेपालीका लागि एनआरएनएको १ करोड राहत कोष

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले मध्यपूर्व क्षेत्रमा रहेका नेपाली नागरिकलाई सहयोग पुर्‍याउने उद्देश्यले १ करोड रुपैयाँको राहत कोष स्थापना गर्ने निर्णय गरेको छ। हालै सम्पन्न महाधिवेशनपछि गठन भएको नयाँ कार्यसमितिको पहिलो बैठकले यो पहल अघि बढाएको हो।

अध्यक्ष डा. हेमराज शर्माका अनुसार तत्काल उक्त रकम जुटाएर आवश्यक राहत कार्यमा परिचालन गरिनेछ। यसका लागि संघभित्रैबाट स्रोत संकलन गर्ने योजना बनाइएको छ भने प्रभावित क्षेत्रमा सहयोग पुर्‍याउन विशेष कार्यदल (टास्क फोर्स) पनि गठन गरिनेछ।

संघले आफ्ना करिब १ लाख ३० हजार सदस्यहरूबाट न्यूनतम एक डलरका दरले योगदान संकलन गर्ने लक्ष्य राखेको छ। दीर्घकालीन रूपमा यो कोषलाई ६ करोड रुपैयाँसम्म विस्तार गर्ने योजना समेत तय गरिएको छ।

त्यसैगरी, संघका पदाधिकारीहरूले राजनीतिक निष्पक्षता कायम राख्ने प्रतिबद्धता जनाएका छन्। कुनै पनि दल वा भ्रातृ संगठनसँग आबद्ध नहुने, सामाजिक सञ्जालमा राजनीतिक टिप्पणी नगर्ने तथा व्यक्तिविरुद्ध आक्षेप नलगाउने विषयमा उनीहरूले सहमति जनाएका छन्। आवश्यक परे राजनीतिक सम्बन्ध त्याग्ने तयारीसमेत गरिएको जनाइएको छ।

बैठकले सचिवालय व्यवस्थापनलगायत अन्य प्रशासनिक विषयहरूमा पनि निर्णय गरेको छ। नवगठित कार्यसमितिको छलफल क्रम केही दिनसम्म जारी रहने बताइएको छ।

Read More

नयाँ सांसदको औपचारिकता सुरु, बिहिबार ११० सांसदले पाउँदैछन् प्रमाणपत्र

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक प्रणाली अन्तर्गत निर्वाचित सांसदहरूलाई भोलि औपचारिक रूपमा प्रमाणपत्र प्रदान गर्ने तयारी गरेको छ। आयोगका अनुसार बिहीबार बिहान साढे ११ बजे आयोजित कार्यक्रममा निर्वाचित प्रतिनिधिहरूलाई प्रमाणपत्र हस्तान्तरण गरिनेछ।

यस प्रणालीबाट कुल ११० जना सांसद निर्वाचित भएका छन्। तीमध्ये सबैभन्दा धेरै प्रतिनिधित्व राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को रहेको छ, जसबाट ५७ जना सांसद चयन भएका छन्।

त्यसैगरी नेपाली कांग्रेसबाट २०, नेकपा (एमाले) बाट १६, नेकपाबाट ९, श्रम संस्कृति पार्टीबाट ७ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट ५ जना समानुपातिक सांसद निर्वाचित भएका छन्।

प्रमाणपत्र वितरणसँगै उनीहरूको संसदीय यात्राको औपचारिक सुरुवात हुनेछ।

Read More

रास्वपाका नवनिर्वाचित सांसदहरुको अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको दुई दिनको अभिमुखीकरण तथा परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि आयोजना गरिएको यो कार्यक्रम “परिवर्तनको नेतृत्व, परिणामको राजनीति” भन्ने मूल नारासहित चैत्र ३ र ४ गते ललितपुरमा सम्पन्न भएको हो । 

कार्यक्रमको सुरुवातमा पार्टीका सभापतिद्धय डीपी अर्याल र डा.स्वर्णिम वाग्लेले घण्टी बजाएर संयूक्त रुपमा उदघाटन गर्नुहुँदै जनताबाट प्राप्त विश्वासलाई परिणाममुखी उपलब्धिमा रूपान्तरण गर्न सांसदहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । उपसभापति डा. वाग्लेले आफ्नो सम्बोधनमा प्रभावकारी संसदीय अभ्यास, नीतिगत स्पष्टता र उत्तरदायित्वपूर्ण नेतृत्वमार्फत् जनअपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए । त्यस्तै उपसभापति अर्यालले चुनावी अभियानका अनुभवहरू साझा गर्दै सांसदहरूलाई जनतासँग नजिक रहेर काम गर्न निर्देशन दिए । 

सहमहामन्त्री विपिनकुमार आर्चायले संचालन गरेको सो कार्यक्रममा नवनिर्वाचित सांसदहरूलाई प्रभावकारी, उत्तरदायी र परिणाममुखी संसदीय भूमिकातर्फ उन्मुख गराउने उद्देश्य लिएको थियो । दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा सांसदहरूलाई नेपालको संवैधानिक व्यवस्था, संघीय संसदको संरचना तथा कार्यप्रणाली, विधायन प्रक्रिया, संसदीय समितिहरूको भूमिका, बजेट तथा योजना निर्माण, नीति विश्लेषण, सुशासन र पारदर्शिताका मापदण्ड जस्ता विषयहरूमा विस्तृत जानकारी प्रदान गरिएको थियो। पूर्व सचिवहरू, विषय विज्ञहरूले सहजीकरण गरेका सत्रहरूले सांसदहरूलाई व्यवहारिक ज्ञान र दृष्टिकोण विकासमा सहयोग पुगेको छ । 

कृत्रिम बुद्धिमत्ता र एल्गोरिदमले लोकतन्त्र, शक्ति सन्तुलन र सुशासनमा पार्ने प्रभावबारे पनि विशेष प्रस्तुति राखिएको थियो । कार्यक्रममा पुन: निर्वाचित सांसदहरूले आफ्नो संसदीय अनुभव प्रस्तुत गर्दै चुनौती, सिकाइ र कार्यशैलीबारे जानकारी दिएका थिए । साथै समूहगत छलफल तथा ब्रेनस्टोर्मिङमार्फत् सांसदहरूलाई विभिन्न रणनीतिक सवालहरूमा छलफल चलाइएको थियो । आगामी संसदीय कार्यदिशा तय गर्न महत्वपूर्ण आधार तयार भएको कार्यक्रममा योग तथा ध्यानसहितको माइण्डफुलनेस अभ्यास समेत गरिएको थियो । 

समापन सत्रमा पार्टी सभापति रवि लामिछानेले पार्टीको रणनीति, दृष्टिकोण तथा नीतिगत प्राथमिकताबारे स्पष्ट पार्दै सांसदहरूलाई अनुशासित, उत्तरदायी र परिणाममुखी राजनीति अभ्यास गर्न आग्रह गरे । उनले जनताको विश्वासलाई कार्यसम्पादनमार्फत् प्रमाणित गर्नुपर्ने उल्लेख गर्दै संसदभित्र र बाहिर दुवै क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिए ।

रास्वपाले आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने प्राप्त गरेकाे उल्लेख गर्दै सभापति लामिछानेले  यो जित रास्वपाको नभइ जनताको हो भएकाले अझै धेरै जिम्मेवार बन्नुपर्नेतर्फ सचेत गराएका थिए । साथै महान् शहिदहरुको त्याग लाई मनन गर्दै सबैभन्दा महत्वपूर्ण मुद्दा सामाजिक न्याय भएको बताए ।

सो अवसरमा उनले मधेश र कर्णालीको विकासलाई पहिलो प्रथमिकतामा राख्दै सिगों देशलाई विकास गर्ने योजनाहरु तर्जुमा गर्नमा जोड दिए । विपक्षीहरुलाई कटाक्ष नगर्न आग्रहसमेत गरे । विश्वविद्यालयहरूले काचुली फेर्नु पर्ने, उद्योग कलकारखाना चल्नुपर्ने, कामधन्दा निरन्तर चल्नुपर्ने, रोजगारी श्रृजना गर्नुपर्ने लगायतका सवालहरुमा पनि जोड दिइएको छ ।

विधानमा भएको राइट टु रिकल लागू गर्छौं भन्दै उनले मन्त्री आदिका लागि कुनैखालको भनसुन तथा समय व्यतित गर्ने कार्य आदि समेत नगर्न आग्रह गरे । विज्ञता, क्षमताका आधारमा सरकारको गठन हुने प्रष्ट्याउँदशे कसैले नेतृत्वका अगाडि नपर्दा मन्त्री नभइने भन्ने पुरानो दृष्टिकोण त्यागी जनताका सवालमा लाग्न ध्यानाकर्षण गरे । 

अभिमुखीकरणले नवनिर्वाचित सांसदहरूलाई आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न आवश्यक ज्ञान, सीप,  दृष्टिकोण र संस्कार विकासमा टेवा पुर्याउने विश्वास गरिएको छ ।

Read More

उत्तर कोरियामा निर्वाचन, किमले पाएनन शतप्रतिशत मत 

काठमाडौँ । उत्तर कोरियामा सन् २०२६ को संसदीय निर्वाचनले फेरि अन्तर्राष्ट्रिय ध्यान तानेको छ । राज्य सञ्चालित समाचार संस्थाका अनुसार सर्वोच्च नेता किम जोङ उन र उनको सत्तारुढ पार्टीले भारी मतसहित जित हासिल गरेका छन् ।

गत मार्च १५ मा सम्पन्न निर्वाचनबाट १५औँ सर्वोच्च जनसभाका सदस्य चयन गरिएको हो । सरकारी तथ्याङ्कअनुसार झण्डै सबै मतदाता मतदानमा सहभागी भएका छन्, जसलाई सरकारले जनसमर्थनको संकेतका रूपमा प्रस्तुत गरेको छ ।

निर्वाचन परिणामअनुसार सत्तारुढ पक्षले ९९.९३ प्रतिशत मत प्राप्त गरेको छ । बाँकी करिब ०. ०७ प्रतिशत मत विपक्षमा परेको तथ्य सार्वजनिक भएपछि यसबारे चर्चा बढेको छ । प्रत्येक क्षेत्रमा एक मात्र उम्मेदवार भएकाले धेरैले यसलाई औपचारिक प्रक्रिया मात्र भएको टिप्पणी गरेका छन् । विरोधमा कसले मत दियो भन्ने थाहा हुने भएकाले उत्तर कोरियाले जानी जानी विपक्षमा यो मत देखाएको विश्लेषण गरिएको छ ।

 उत्तर कोरियामा मतदान प्रक्रिया अन्य देशभन्दा फरक हुने गर्छ । मतपत्रमा एक मात्र उम्मेदवारको नाम हुन्छ र विरोध गर्न चाहने मतदाताले छुट्टै स्थानमा गएर नाम काट्नुपर्छ । यस्तो प्रक्रिया पूर्ण रूपमा गोप्य नहुने भएकाले धेरैले औपचारिकताका रूपमा मात्रै मतदान गर्ने गर्छन् ।

सरकारी विवरणअनुसार दर्ता भएका ९९.९९ प्रतिशत मतदाताले मतदान गरेका छन् । अत्यन्तै सानो प्रतिशत मात्रै अनुपस्थित रहेको जनाइएको छ ।

विशेषज्ञहरूका अनुसार सन् १९५७ पछि पहिलो पटक राज्य सञ्चालित माध्यमले केही मत उम्मेदवारविरुद्ध परेको स्वीकार गरेको हो । यद्यपि संख्या निकै सानो भए पनि यस्तो तथ्यलाई महत्वपूर्ण मानिएको छ ।

निर्वाचनबाट कामदार, किसान, बुद्धिजीवी र सरकारी कर्मचारीसहित कुल ६८७ प्रतिनिधि चयन भएका छन् । 

निर्वाचनपछि नयाँ संसदको पहिलो बैठक बस्ने तयारी गरिएको छ । सो बैठकले नयाँ नेतृत्व चयन गर्नुका साथै महत्वपूर्ण नीतिगत विषयमा निर्णय गर्ने अपेक्षा गरिएको छ ।

यसपटक संसदमा ठूलो परिवर्तन गरिएको छ । अघिल्लो कार्यकालका करिब ७० प्रतिशतभन्दा बढी सदस्य परिवर्तन भएका छन् । किम जोङ उन निकट नेताहरू नयाँ भूमिकामा आउने अनुमान गरिएको छ भने केही पुराना नेताहरू सूचीबाट बाहिरिएका छन् ।

राज्य सञ्चालित माध्यमका अनुसार नयाँ प्रतिनिधिहरूले पार्टीका नीतिहरू कार्यान्वयन गर्नेछन् । निर्वाचनमा परेको थोरै विपक्षी मतलाई पनि धेरैले प्रचारको हिस्सा मात्र भएको विश्लेषण गरेका छन् ।

Read More

रास्वपाका बाचा जनताले पत्याए, कसरी चलाउछन उनीहरुको कुरा हो- गोकुल बास्कोटा

काठमाडौँ । नेकपा एमालेका नेता गोकुल बास्कोटाले यसपटक जनताको रोजाइमा राष्ट्रिय स्वतन्त्र पार्टी परेको बताएका छन् ।

उनले रास्वपाले चुनाव जितेको उल्लेख गर्दै सरकार सञ्चालन कसरी गर्ने भन्ने जिम्मेवारी अब सोही दलको भएको स्पष्ट पारे । नयाँ सरकारले काम सुरु गरेको तीन महिनासम्म अन्य दलले टिप्पणी गर्नु उचित नहुने उनको भनाइ छ ।

बास्कोटाले जनता सधैं साझा रहने भए पनि यसपटक मतदाताले रास्वपालाई विश्वास गरेको बताउदै जनताले उक्त दलका प्रतिबद्धतामा भरोसा गरेका कारण चुनावी परिणाम त्यसअनुसार आएको बताएका छन् ।

उनले भनेका छन्- ‘रास्वपाले चुनाव जित्यो । चलाउछन कसरी ? त्यो उनीहरुकै कुरा । नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो । जनता साझा थिए, छन र हुने नै छन । फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे, अझ यसो भनौ उनका बाचा जनताले पत्याए । खाँबो चिथोर्न बन्द गरे हुने !’

Read More

स्वदेश फर्किने महिला फुटबल खेलाडीलाई इरानमा स्वागत गरिने

काठमाडौँ । इरानले स्वदेश फर्किने महिला फुटबल खेलाडीहरूको स्वागत गरिने जनाएको छ । संसदका सभामुख मोहम्मद बाकर कालीबाफले उनीहरूलाई जनताले सम्मानपूर्वक स्वागत गर्ने बताएका हुन् ।

अष्ट्रेलियामा भएको एक खेलका क्रममा इरानको राष्ट्रगान गाउन अस्वीकार गरेपछि ती खेलाडी विवादमा परेका थिए । त्यसपछि उनीहरूलाई देशद्रोहीको आरोप समेत लगाइएको थियो ।

उक्त घटनापछि टोलीका ६ खेलाडी र एक सहयोगी सदस्यले अष्ट्रेलियामै शरण लिने निर्णय गरेका थिए । तर पछि उनीहरूमध्ये पाँच जनाले आफ्नो निर्णय परिवर्तन गर्दै इरान फर्किने निर्णय गरेका हुन् ।

सभामुख कालीबाफले सामाजिक सञ्जालमार्फत ती खेलाडीलाई देशका प्रिय छोरीहरू भन्दै स्वागत गरिने बताएका छन् । उनले विदेशी दबाब र प्रलोभनका बाबजुद खेलाडीहरूले हिम्मत नहारेको उल्लेख गर्दै अब उनीहरू गर्वका साथ स्वदेश फर्किने बताएका छन् ।

Read More

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेटवार्ता

काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । अध्यक्ष दाहालले आज वालुवाटारस्थित प्रधानमन्त्रीको निवासमा पुगेर प्रधानमन्त्री कार्कीसँग भेट गरेका हुन् ।

भेटमा अध्यक्ष दाहालले कठिन र चुनौतीपूर्ण परिस्थितिमा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरेकोमा प्रधानमन्त्री कार्कीलाई धन्यवाद दिएका थिए । 

जवाफमा प्रधानमन्त्री कार्कीले आफू एक्लैले भन्दा पनि सबैको सहयोग, सद्भाव र क्रियाशीलताले शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएको बताएकी थिइन् ।

Read More

टुँडिखेलमा घोडेजात्रा समारोह सम्पन्न, राष्ट्रपति र प्रधानमन्त्रीसहित विशिष्टहरु सरिक

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की आज काठमाडौँको सैनिक मञ्च टुँडिखेलमा नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा समारोहमा सरिक भएकी छन् ।

काठमाडौँ उपत्यकामा मनाइने यस प्रसिद्ध जात्राका अवसरमा नेपाली सेनाको क्याभलरीले घोडा दौड तथा अश्वकलाहरु प्रदर्शन गर्नुका साथै भैरव वाहन गुल्मका कुकुरहरुका पनि विभिन्न प्रस्तुति रहेका थिए ।

समारोहमा जीवित देवी कुमारी, राष्ट्रपति, उपराष्ट्रपति लगायत विभिन्न उच्च पदस्थ अधिकारी, कूटनीतिज्ञहरुले पनि समारोह अवलोकन गरेका थिए ।

कार्यक्रममा विभिन्न प्रतियोगिताका विजेताहरुलाई पुरस्कार पनि प्रदान गरिएको थियो । हरेक वर्ष चैत कृष्ण औँसीका दिन यो पर्व मनाउने गरिन्छ ।

Read More