काठमाडौँ — इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहूले इरानी मिसाइल आक्रमणको रातलाई ‘अत्यन्त कठिन’ भन्दै देशले गम्भीर चुनौती सामना गर्नुपरेको बताएका छन्।इरानले इजरायलको दक्षिणी सहर अरदमा गरेको आक्रमणबाट ठूलो क्षति भएपछि सरकारले सुरक्षा सतर्कता बढाउँदै शिक्षण संस्थाहरू बन्द गर्ने निर्णय गरेको हो।
इजरायलका शिक्षामन्त्रीले डिमोना र अरद क्षेत्रमा भएको हमलापछि होम फ्रन्ट कमान्डका मेजर जनरलसँग परामर्श गरेर आइतबार र सोमबार सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी दिएका छन्।उनका अनुसार उक्त अवधिमा कुनै पनि भौतिक कक्षा सञ्चालन गर्न अनुमति दिइने छैन भने विशेष शिक्षाका लागि दिइएका सबै छुटहरू पनि रद्द गरिएका छन्।
देशभरका विद्यार्थीहरूका लागि अनलाइन कक्षा सञ्चालन गरिनेछ।मंगलबारपछि अवस्थाको मूल्याङ्कन गरेर मात्र आगामी निर्णय लिइने जनाइएको छ। इजरायलको आपतकालीन सेवाले उक्त आक्रमणबाट ठूलो क्षति पुगेको जनाएको छ।




