काठमाडौँ । बलिवुडको सुपरहिट फिल्म क्वीन फिल्मको सिक्वेल निर्माणको तयारी सुरु भएको छ । नयाँ फिल्मको नाम ‘क्वीन २’ नराखी ‘क्वीन फरेभर’ राख्ने तयारी भइरहेको जनाइएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार निर्देशक विकास बहलले नै सिक्वेल निर्देशन गर्नेछन् । फिल्म छायांकन आगामी अप्रिलबाट सुरु गर्ने योजना बनाइएको छ । निर्माण पक्षले ‘क्वीन फरेभर’ शीर्षकलाई उपयुक्त मान्दै छिट्टै औपचारिक घोषणा गर्ने तयारी गरेको बताइएको छ ।
नयाँ संस्करणमा कंगना रनौतले निभाएको ‘रानी’ पात्रको यात्रा फरक हुनेछ । यसपटक उनी विदेश नगई भारतका विभिन्न सहर घुम्दै आत्मखोजको यात्रामा निस्कने कथावस्तु रहने जनाइएको छ । फिल्मको निर्माण ट्रिगर ह्याप्पी स्टुडियोले गर्ने बताइएको छ ।
सन् २०१४ मा प्रदर्शनमा आएको ‘क्वीन’ले दर्शकमाझ ठूलो सफलता पाएको थियो । प्रेमीले विवाह तोडिदिएपछि एक युवतीले एक्लै हनिमुन यात्रा गर्ने कथा बोकेको यो फिल्मले समाजमा सकारात्मक सन्देश दिएको थियो ।




