काठमाडौँ । अमेरिका र इरानबीच युद्धविरामको घोषणा भएपछि विश्व बजारमा राहत देखिएको छ । विशेषगरी कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकी कच्चा तेल करिब १६ प्रतिशत घटेर प्रति ब्यारेल ९४.५९ डलरमा झरेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेल पनि करिब १५ प्रतिशत घटेर ९२.३५ डलरमा पुगेको छ ।
युद्धविराम र तेलको मूल्य घटेसँगै एसियाली शेयर बजारमा पनि सकारात्मक प्रभाव देखिएको छ । कारोबार सुरु भएसँगै बजारमा तीव्र वृद्धि भएको छ ।
जापानको निक्केई सूचक चार प्रतिशतभन्दा बढीले बढेको छ भने दक्षिण कोरियाको कोस्पी सूचक पाँच प्रतिशतभन्दा बढीले उकालो लागेको छ । लगानीकर्तामा विश्वास फर्किँदा बजारले राहत महसुस गरेको विश्लेषकहरूले बताएका छन् ।
उता, मुद्रा बजारमा अमेरिकी डलर कमजोर बनेको छ । डलर जापानी येन र दक्षिण कोरियाली वनको तुलनामा घटेको छ । विज्ञहरूका अनुसार युद्धविराम र तेलको मूल्यमा आएको गिरावटले बजारलाई सकारात्मक बनाएको हो, तर आगामी अवस्था भने यो सहमति कति समय टिक्छ भन्नेमा निर्भर रहनेछ ।
युद्धविराम सम्झौताअनुसार आगामी दुई सातासम्म होर्मुज जलडमरू खुला रहनेछ । यस अवधिमा जहाजहरूको सुरक्षित आवागमन इरानी सेनाको सहयोगमा सुनिश्चित गरिने बताइएको छ ।
युद्धका क्रममा यो समुद्री मार्ग लगभग बन्दजस्तै भएको थियो । अब पुनः सञ्चालनमा आउँदा आपूर्ति प्रणाली सामान्य हुने अपेक्षा गरिएको छ । इरानको प्रस्तावअनुसार यस मार्गबाट गुज्रिने प्रत्येक जहाजबाट करिब २० लाख डलर शुल्क लिइनेछ र उक्त रकम ओमानसँग बाँडफाँट गरिनेछ ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरू पूर्ण रूपमा खोल्नुपर्ने शर्त राखेका थिए, जसपछि मात्र यो युद्धविराम सम्भव भएको बताइएको छ ।
होर्मुज खुल्ने निर्णयको प्रभाव बजारमा स्पष्ट देखिएको छ । तेलको मूल्य १५-१६ प्रतिशतसम्म घटेको छ । यद्यपि यो व्यवस्था अस्थायी भएको र अवस्था अझै अनिश्चित रहेको विज्ञहरूको भनाइ छ ।




