२०८३ बैशाख १४

भानु साहित्य उद्यान शिलान्यासका लागि राष्ट्रपति पौडेल तनहुँ जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (सोमबार) तनहुँ जाने कार्यक्रम रहेको छ। तनहुँको भानु नगरपालिका–४, चुँदीरम्घामा निर्माण हुन लागिरहेको ‘भानु साहित्य उद्यान’ को शिलान्यास गर्न उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो।

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थलसँग सम्बन्धित उक्त क्षेत्रमा साहित्यिक तथा सांस्कृतिक महत्त्व झल्काउने उद्देश्यले उद्यान निर्माण गर्न लागिएको हो। प्रस्तावित उद्यानले नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

राष्ट्रपति पौडेलको उपस्थितिमा हुने शिलान्यास कार्यक्रमले स्थानीय तहदेखि राष्ट्रिय स्तरसम्म साहित्यप्रेमीहरूमा उत्साह थप्ने विश्वास गरिएको छ। साथै, यस परियोजनाले आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुर्‍याउने लक्ष्य राखिएको सम्बन्धित निकायले जनाएको छ।