२०८३ बैशाख १५

मर्मत र पहिरो नियन्त्रणका लागि मेची राजमार्ग दैनिक साढे सात घण्टा बन्द हुने, वैकल्पिक बाटो प्रयोग गर्न सुझाव

काठमाडौँ । मेची राजमार्ग अन्तर्गतका विभिन्न खण्डमा मर्मत र पहिरो नियन्त्रणको काम गरिने भएकाले केही दिन सवारी आवागमन प्रभावित हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय इलाम ले जारी गरेको सूचनाअनुसार वैशाख १८ गतेदेखि २५ गतेसम्म प्रत्येक दिन बिहान ९:३० बजेदेखि बेलुका ५ बजेसम्म सडक बन्द गरिनेछ।

प्रशासनका अनुसार राजदुवाली क्षेत्रस्थित पुरानो स्टिल ट्रस पुल मर्मत, सोही खण्डमा पहिरो नियन्त्रण तथा रोङ गाउँपालिका को वाघखोर क्षेत्रमा कडा चट्टान काट्ने कामका लागि सवारी सञ्चालन रोक्न लागिएको हो।

निर्धारित समयमा सडक बन्द हुँदा यात्रु र चालकलाई असहज नहोस् भनेर वैकल्पिक मार्ग प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ। राजदुवाली खण्डका लागि मेची कोरिडोर (गोलाखर्क–वेलासे) वा सिमलगोला–तिल्केनी सडक प्रयोग गर्न सकिनेछ।

त्यस्तै वाघखोर खण्डमा साना सवारी साधनहरूले हाँसपोखरी–हापेन चोक सडक प्रयोग गर्न सक्ने जनाइएको छ।

सडक डिभिजन कार्यालय इलाम को अनुरोध र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सम्भावित दुर्घटना न्यूनीकरण तथा कामलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको सहायक प्रमुख जिल्ला अधिकारी सरुज प्रसाद पौडेलद्वारा जारी सूचनामा उल्लेख छ।

प्रशासनले यात्रुहरूलाई यात्रा अघि समय तालिका र वैकल्पिक मार्गबारे जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको छ।