२०८३ बैशाख १५

विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका- २ स्थित हिमालय माध्यमिक विद्यालयका प्रधानाध्यापक र लेखापालविरुद्ध ९३ लाख ८३ हजारभन्दा बढी रकम हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगले विद्यालयका प्रधानाध्यापक ओमप्रसाद उपाध्याय आचार्य र लेखापाल दयासागर आचार्यविरुद्ध ९३ लाख ८३ हजार ३०९ बराबरको भ्रष्टाचार गरेको अभियोग लगाएको हो ।

अनुसन्धानका क्रममा नमूना विद्यालय भवन निर्माणमा ठूलो अनियमितता भएको पाइएको अख्तियारले जनाएको छ। विवरणअनुसार २०७७ साउन २१ गते दमक नगरपालिकाबाट गरिएको मूल्याङ्कनमा भवनको पहिलो तलाको पहिलो चरणको निर्माण कार्यको लागत ८० लाख ७३ हजार २५९ कायम भएको थियो।

त्यसपछि विद्यालयले आफैं परामर्शदाता नियुक्त गरी २०७८ चैत १० गते दोस्रो चरणको मूल्याङ्कन गर्दा नयाँ प्रशासनिक भवन, अन्य संरचना र विद्युतीय कामसहित ६७ लाख ७९ हजार ९७५ को निर्माण भएको देखिएको थियो।

यसअनुसार भवन निर्माणको कुल मूल्याङ्कन १ करोड ४८ लाख ५३ हजार २३५ भएपनि विद्यालयबाट भने २ करोड ७ लाख ७९ हजार ९२२ भुक्तानी गरिएको भेटिएको छ । यसबाट ५९ लाख २६ हजार ६८६ बढी भुक्तानी गरिएको पुष्टि भएको आयोगले जनाएको छ ।

यस्तै, आर्थिक वर्ष २०७७/७८ देखि नै नगद हिनामिना गरेको बेरुजु रकम १६ लाख ६० हजार १०१ रुपैयाँ र विद्यालयको नगद रकम व्यक्तिगत प्रयोजनमा प्रयोग गरेको १७ लाख ९६ हजार ५२१ पनि फेला परेको छ।

अख्तियारका अनुसार दुवै जनाले मिलेमतोमा सार्वजनिक संस्थाको रकम हिनामिना, दुरुपयोग तथा निजी लाभका लागि प्रयोग गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तर्गत कसुर गरेको ठहर गरिएको छ।

उनीहरूविरुद्ध बिगो असुल, कैद तथा जरिवानाको मागसहित आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।