काठमाडौँ । म्यानमारकी पूर्व नेतृ आङ साङ सूकीलाई निवासमै नजरबन्दमा सारिएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
समाचारअनुसार उनी यसअघि हिरासतमा राखिएकी थिइन् । ८० वर्षीया नोबेल पुरस्कार विजेता सूकीलाई सन् २०२१ मा सैन्य ‘कू’ मार्फत सत्ताच्युत गरिएपछि निरन्तर नियन्त्रणमा राखिएको थियो । उनलाई राजधानी नेपिडोस्थित सैनिक कारागारमा राखिएको अनुमान गरिएको थियो ।
सैन्य प्रमुख मिन आङ ह्लाइङले जारी गरेको वक्तव्यमा सूचीको बाँकी सजाय तोकिएको निवासमै पूरा गर्न आदेश दिइएको उल्लेख गरिएको छ । उनैले म्यानमारमा सैन्य ‘कू’ को नेतृत्व गरेका थिए ।
सूकी सन् २०१५ मा सत्तामा आएकी थिइन्, जतिबेला म्यानमारमा लोकतान्त्रिक सुधार लागू गरिएको थियो । त्यसअघि उनी लामो समयसम्म सैन्य शासनविरुद्ध लोकतन्त्र पक्षधर अभियानमा सक्रिय रहँदै आएकी थिइन् र १५ वर्षभन्दा बढी समय नजरबन्दमै बिताएकी थिइन् ।
यसैबीच सरकारी सञ्चारमाध्यमले सार्वजनिक गरेको एक तस्वीरमा सूकी दुई जना वर्दीधारी सुरक्षाकर्मीसँग बसेको देखिएको छ ।
तर उनका छोरा किम एरिसले उक्त दाबीप्रति शंका व्यक्त गरेका छन् । उनले आफ्नी आमा जीवित रहेको प्रमाणसमेत आफूहरूसँग नभएको बताएका छन् । सार्वजनिक गरिएको तस्वीर सन् २०२२ कै भएको दाबी गर्दै उनले त्यसको विश्वसनीयतामाथि प्रश्न उठाएका छन् ।
उनले यो दाबी सत्य होस् भन्ने आशा गरे पनि अहिलेसम्म स्थानान्तरण भएको पुष्टि गर्ने ठोस प्रमाण नभेटिएको बताएका छन्




