२०८३ बैशाख १९

ट्रम्पका दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेट, आर्थिक साझेदारीमा छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प का दक्षिण तथा मध्य एसियाली विशेष दूत सर्जियो गोरले राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछाने सँग भेटवार्ता गरेका छन्।

शनिबार भएको उक्त भेटमा नेपाल र अमेरिका बीचको आर्थिक साझेदारीलाई कसरी थप सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल भएको गोरले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

भेटपछि प्रतिक्रिया दिँदै गोरले नेपालमा हालै बनेको सरकारप्रति सकारात्मक धारणा व्यक्त गरेका छन्। उनले नयाँ सरकारसँग परिवर्तनका लागि बलियो जनादेश रहेको र अघि सारिएका सुधारका एजेन्डा आशाजनक देखिएको उल्लेख गरेका छन्।

गोर बिहीबार साँझ काठमाडौं आइपुगेका थिए। उनको यो भ्रमणलाई कूटनीतिक दृष्टिले अर्थपूर्ण मानिएको छ। तय कार्यक्रमअनुसार उनी शनिबार राति नयाँ दिल्ली प्रस्थान गर्नेछन्।

यो भेटले नेपाल–अमेरिका सम्बन्धमा आर्थिक सहकार्य र राजनीतिक संवादलाई थप गति दिने संकेतका रूपमा हेरिएको छ।